अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित ११:१-३०

११  अब यहूदियामा भएका प्रेषितहरू र भाइहरूले अन्यजातिका मानिसहरूले पनि परमेश्वरको वचन स्वीकारेछन्‌ भनी सुने। २  त्यसैले जब पत्रुस यरूशलेम आए, तब खतनाका समर्थकहरूले तिनीसित बहस गर्न लागे। ३  खतना नगरेका मानिसहरूको घरमा गएर तिनले खानपिन गरे भनी उनीहरूले दोष लगाए। ४  तब पत्रुसले उनीहरूलाई घटनाको पूरै विवरण यसरी सुनाउन लागे: ५  “जोप्पा सहरमा म प्रार्थना गर्दैथिएँ। तब मैले एउटा दर्शनमा चारै किनारा बाँधिएको ठूलो तन्नाजस्तो केही चीज आकाशबाट झर्दै गरेको देखें र त्यो सीधै मकहाँ नै आयो। ६  त्यसलाई नियालेर हेर्दा मैले त्यसमा पृथ्वीका चारखुट्टे जनावर, जङ्गली जन्तु, घस्रने जन्तु अनि आकाशका चराहरू देखें। ७  अनि मलाई यसो भन्दै गरेको आवाज मैले सुनें: ‘उठ पत्रुस, मारेर खाऊ!’ ८  तर मैले भनें: ‘नाइँ प्रभु, किनकि अपवित्र अनि अशुद्ध थोक मैले कहिल्यै मुखमा हालेको छैन।’ ९  अनि दोस्रो पटक आकाशबाट फेरि यस्तो आवाज आयो, ‘परमेश्वरले शुद्ध पार्नुभएको कुरालाई तिमी अपवित्र भन्न छोड।’ १०  तेस्रो पटक पनि त्यस्तै आवाज आयो अनि सबै थोक फेरि आकाशतिरै लगियो। ११  त्यत्तिनैखेर, सिजरियाबाट मकहाँ पठाइएका तीन जना मानिस हामी बसेको घरको ढोकामा टुप्लुक्क आइपुगे। १२  अनि पवित्र शक्तिले मलाई कुनै शङ्का नगरी तिनीहरूसित जाऊ भन्यो। तर यी छ जना भाइ पनि मसँगै आए अनि हामी ती मानिसको घरभित्र पस्यौं। १३  “अनि तिनले आफ्नो घरमा स्वर्गदूत आएर यसो भनेको कुरा हामीलाई सुनाए, ‘जोप्पामा मानिसहरू पठाएर पत्रुस नाम गरेको सिमोनलाई खोज, १४  अनि तिनले तिमीलाई ती कुराहरू बताउनेछन्‌, जसद्वारा तिमी र तिम्रो घरमा हुनेहरूको उद्धार हुनेछ।’ १५  तर जब मैले बोल्न थालें, तब पवित्र शक्ति तिनीहरूमाथि आयो, जसरी सुरुमा हामीमाथि पनि आएको थियो। १६  तब प्रभुले भन्ने गर्नुभएको यो वचन मैले सम्झें, ‘यूहन्नाले पानीमा बप्तिस्मा गराए तर तिमीहरूको बप्तिस्मा पवित्र शक्तिद्वारा हुनेछ।’ १७  प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेर हामीले परमेश्वरबाट जुन वरदान सित्तैंमा पायौं, त्यही वरदान यदि उहाँले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?” १८  जब तिनीहरूले यी कुरा सुने, तब बहस गर्न छोडे अनि यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे: “अन्यजातिका मानिसहरूले पनि जीवन पाऊन्‌ भनेर परमेश्वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनुभएको छ भनेर अब स्पष्ट भयो।” १९  स्तिफनसको घटनापछि आइपरेको सङ्कष्टले गर्दा तितरबितर भएकाहरू फोनिसिया, साइप्रस र एन्टिओकसम्म पुगे तर तिनीहरूले यहूदीहरूबाहेक अरू कसैलाई सुसमाचार सुनाएनन्‌। २०  तिनीहरूमध्ये कोही-कोही साइप्रस र साइरेनीका मानिसहरू थिए, जो एन्टिओक आएका थिए र तिनीहरूले ग्रीकभाषीहरूलाई प्रभु येशूको सुसमाचार सुनाउन थाले। २१  साथै, यहोवा तिनीहरूको साथमा हुनुहुन्थ्यो र थुप्रै मानिसले प्रभुमा विश्वास गर्न थाले र उहाँको अनुयायी बने। २२  तिनीहरूको खबर यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो अनि उनीहरूले बर्णाबासलाई एन्टिओक पठाए। २३  त्यहाँ पुगेर परमेश्वरको असीम अनुग्रह देखेपछि तिनी रमाए अनि तिनीहरू सबैलाई मनैदेखि प्रभुप्रति वफादार भइरहन प्रोत्साहन दिए; २४  तिनी असल मानिस थिए अनि पवित्र शक्ति र विश्वासले भरिपूर्ण थिए। मानिसहरूको ठूलो भीडले प्रभुमा विश्वास गऱ्यो। २५  तब शावललाई खोज्न बर्णाबास टार्सस गए २६  अनि भेट्टाएपछि तिनलाई एन्टिओक ल्याए। त्यसपछि तिनीहरू पूरै एक वर्ष त्यहाँको मण्डलीसित एकसाथ भेला भए र ठूलो भीडलाई सिकाए। यहीं एन्टिओकमा पहिलो पटक चेलाहरूलाई ईश्वरीय निर्देशनद्वारा ‘ख्रीष्टियन’ भन्न थालियो। २७  अब ती दिनहरूमा केही भविष्यवक्ताहरू यरूशलेमबाट एन्टिओक आए। २८  तिनीहरूमध्ये एक जनाको नाम अगाबस थियो। अनि पवित्र शक्तिको निर्देशन पाएर तिनले सारा पृथ्वीभरि ठूलो अनिकाल पर्नेछ भनी बताउन थाले। तिनले भनेजस्तै क्लौडियसको समयमा साँच्चै नै अनिकाल पऱ्यो। २९  त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे। ३०  तिनीहरूले त्यसै गरे; तिनीहरूले बर्णाबास र शावलको हातमा ती सामग्री एल्डरहरूकहाँ* पठाए।

फुटनोटहरू

प्रे ११:३० * शाब्दिक, “वृद्ध पुरुष।” ग्रीकमा प्रेसबाइटेरोस, जसले वृद्ध व्यक्ति र उमेरमा जेठो व्यक्तिलाई मात्र नभई समुदाय वा राष्ट्रमा अख्तियार तथा जिम्मेवारी पाएको व्यक्तिलाई पनि बुझाउँछ।