अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १०:१-४८

१०  सिजरियामा कर्नीलियस नाम गरेका एक जना मानिस थिए। तिनी इटालेली गण भनिने सैन्यदलका अफिसर* थिए। २  तिनी परमेश्वरको भक्त थिए अनि तिनी र तिनको घरमा हुनेजति सबैले परमेश्वरको भय मान्थे। तिनी धेरै दानपुण्य गर्थे अनि परमेश्वरलाई निरन्तर उत्कट बिन्ती चढाउँथे। ३  दिउँसो तीन बजेतिर तिनले दर्शनमा परमेश्वरको स्वर्गदूत आफूकहाँ आइरहेको प्रस्टै देखे र ती स्वर्गदूतले तिनलाई भने: “ए कर्नीलियस!” ४  तिनले एकटक लगाएर ती स्वर्गदूतलाई हेरे अनि डराउँदै यसो भने: “हजुर प्रभु।” तब ती स्वर्गदूतले तिनलाई भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्वरकहाँ पुगेको छ र उहाँले ती सम्झनुभएको छ। ५  त्यसैले अब जोप्पामा मानिसहरू पठाएर पत्रुस नाम गरेको सिमोनलाई बोलाऊ। ६  तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।” ७  तब ती स्वर्गदूत जानेबित्तिकै कर्नीलियसले दुई जना नोकरलाई र दिनरात तिनको सेवामा हाजिर हुने सिपाहीहरूमध्ये एक जना भक्तालु सिपाहीलाई बोलाए ८  अनि सबै कुरा बेलीबिस्तार सुनाए। त्यसपछि तिनले उनीहरूलाई जोप्पा पठाए। ९  भोलिपल्ट यात्रा गरेर उनीहरू सहर आइपुग्नैलाग्दा पत्रुसचाहिं मध्यान्ह बाह्र बजेतिर प्रार्थना गर्न कौसीमा गएका थिए। १०  असाध्यै भोकाएकोले तिनी केही खान चाहन्थे तर खानेकुरा तयार हुँदाहुँदै तिनले दर्शन देखे। ११  तिनले आकाश उघ्रेको अनि चारै किनारा बाँधिएको ठूलो तन्नाजस्तो केही चीज पृथ्वीमा झर्दै गरेको देखे। १२  त्यसमा पृथ्वीमा भएका सबै खाले चारखुट्टे जनावर, घस्रने जन्तु अनि आकाशका चराहरू थिए। १३  अनि तिनले यस्तो आवाज सुने: “उठ पत्रुस, मारेर खाऊ!” १४  तर पत्रुसले जवाफ दिए: “नाइँ प्रभु, किनकि अपवित्र अनि अशुद्ध थोक मैले कहिल्यै खाएको छैन।” १५  अनि दोस्रो पटक तिनले फेरि यस्तो आवाज सुने: “परमेश्वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्न छोड।” १६  तिनले तेस्रो पटक पनि त्यस्तै आवाज सुने अनि उत्तिखेरै त्यो तन्नाजस्तो चीज माथि आकाशतिर लगियो। १७  आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अलमल्ल परिरहेको बेला हेर, कर्नीलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोकामै आइपुगे। १८  अनि तिनीहरूले घरधनीलाई बोलाएर त्यहाँ पत्रुस नाम गरेको सिमोन पाहुना बसेका छन्‌ कि भनेर सोधे। १९  आफूले देखेको दर्शनबारे पत्रुसले सोचिरहेको बेला पवित्र शक्तिले तिनलाई यसो भन्यो: “हेर, तीन जना मानिस तिमीलाई खोज्दैछन्‌। २०  अब उठ, तल ओर्लेर कुनै शङ्का नगरी ती मानिसहरूसित जाऊ, किनकि तिनीहरूलाई मैले नै पठाएको हुँ।” २१  तब पत्रुस ओर्लेर ती मानिसहरूकहाँ गए अनि भने: “तपाईंहरूले खोजिरहनुभएको मानिस मै हुँ। भन्नुहोस्, के कति कारणले तपाईंहरू यहाँ उपस्थित हुनुभयो?” २२  तिनीहरूले जवाफ दिए: “सैनिक अफिसर कर्नीलियस परमेश्वरको स्तरबमोजिम असल काम गर्ने अनि उहाँको डर मान्ने मानिस हुनुहुन्छ र यहूदीहरूको सारा राष्ट्रले उहाँबारे राम्रो कुरा गर्छन्‌। तपाईंलाई बोलाएर आफ्नो घरमा ल्याउनू अनि तपाईंको कुरा सुन्नू भनेर पवित्र स्वर्गदूतले उहाँलाई ईश्वरीय निर्देशन दिएको हुनाले हामी यहाँ आएका हौं।” २३  पत्रुसले उनीहरूलाई भित्र बोलाएर सत्कार गरे। अनि भोलिपल्ट तिनी उठेर उनीहरूसित गए। जोप्पाका केही भाइहरू पनि तिनीसित गए। २४  त्यसको भोलिपल्ट पत्रुस सिजरिया पसे। कर्नीलियस तिनलाई नै पर्खेर बसिरहेका थिए। उनीसित उनका नातेदार अनि घनिष्ठ मित्रहरू पनि थिए। २५  तब पत्रुस भित्र पस्नेबित्तिकै कर्नीलियसले तिनलाई भेटे र तिनको चरणमा लम्पसार परेर दण्डवत्‌ गरे। २६  तर उनलाई उठाउँदै पत्रुसले भने: “उठ्नुहोस्, म पनि त मानिस नै हुँ।” २७  तब उनीसित कुरा गर्दै पत्रुस भित्र पसे र त्यहाँ थुप्रै मानिस भेला भएर बसिरहेको देखे। २८  त्यसपछि तिनले यसो भने: “यहूदी भईकन अर्को जातिको मानिससित सङ्गत गर्नु वा भेट्नु कत्तिको अनुचित कुरा हो भनेर तपाईंहरूलाई राम्ररी थाहै छ। तैपनि, कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्नुहुँदैन भनेर परमेश्वरले मलाई प्रकट गर्नुभएको छ। २९  त्यसैले, मलाई यहाँ पठाउँदा कुनै नाइँनास्ति नगरी म आएँ। त्यसकारण, तपाईंहरूले मलाई बोलाउनुको कारण म जान्न चाहन्छु।” ३०  तब कर्नीलियसले जवाफ दिए: “ठीक चार दिनअघि तीन बजेतिर म आफ्नो घरमा प्रार्थना गर्दै थिएँ। तब अचानक चम्किलो लुगा लगाएको एक जना मानिस मेरो अगाडि उभिए ३१  र तिनले भने, ‘कर्नीलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिम्रो दानपुण्य सम्झनुभएको छ। ३२  अब जोप्पामा मानिसहरू पठाएर पत्रुस नाम गरेको सिमोनलाई बोलाऊ। तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।’ ३३  त्यसैले मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र यहाँ आएर तपाईंले धेरै असल गर्नुभयो। अनि यहोवाले तपाईंलाई जे-जे भन्न आज्ञा दिनुभएको छ, ती सुन्न अहिले हामी सबै जना यहाँ परमेश्वरसामु उपस्थित भएका छौं।” ३४  तब पत्रुसले मुख खोले र भने: “अब मलाई पक्का भयो, कि परमेश्वर पक्षपाती हुनुहुन्न, ३५  बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ। ३६  येशू ख्रीष्टद्वारा प्राप्त हुने शान्तिको सुसमाचार घोषणा गरेर उहाँले इस्राएलका सन्तानलाई यो सन्देश पठाउनुभयो, कि येशू नै सबैको प्रभु हुनुहुन्छ। ३७  यूहन्नाले बप्तिस्माबारे प्रचार गरेपछि गालीलदेखि सुरु भएर पूरै यहूदियाभरि कसको चर्चा हुनथाल्यो, त्यो त तपाईंहरूलाई थाहै छ। ३८  अर्थात्‌ नासरतबाट आउनुभएको येशूको, कि कसरी परमेश्वरले उहाँलाई पवित्र शक्ति अनि तागतले अभिषेक गर्नुभयो अनि कसरी उहाँले सारा देशभरि असल काम गर्दै दियाबलले* दबाइराखेकाहरूलाई निको पार्नुभयो। परमेश्वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो। ३९  उहाँले यहूदीहरूको देशमा अनि यरूशलेममा के-के गर्नुभयो, ती सबैको हामी साक्षी छौं। तर तिनीहरूले नै उहाँलाई खम्बामा टाँगेर मारे। ४०  तर परमेश्वरले उहाँलाई तेस्रो दिनमा ब्यूँताउनुभयो र अरूहरूसामु प्रकट हुने अनुमति दिनुभयो, ४१  सबैकहाँ त होइन तर परमेश्वरले पहिल्यै रोज्नुभएका साक्षीहरू अर्थात्‌ हामीकहाँ, जसले उहाँ मृत्युबाट ब्यूँतनुभएपछि उहाँसितै खानपिन गऱ्यौं। ४२  साथै, जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न परमेश्वरले नियुक्त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी बुझाउन उहाँले हामीलाई आदेश दिनुभयो। ४३  उहाँमाथि विश्वास गर्नेजति सबैले उहाँको नामद्वारा आ-आफ्ना पापहरूको क्षमा पाउँछन्‌ भनेर सबै भविष्यवक्ताहरूले उहाँकै विषयमा साक्षी दिएका छन्‌।” ४४  पत्रुसले यी कुरा भनिरहेकै बेला वचन सुन्नेहरूजति सबैमाथि पवित्र शक्ति आयो। ४५  अन्यजातिका मानिसहरूले पनि परमेश्वरले सित्तैंमा दिनुहुने पवित्र शक्ति पाएको देखेर पत्रुससँगै आउने ती भाइहरू छक्क परे, जसको खतना भएको थियो। ४६  किनकि उनीहरूले विभिन्न भाषामा बोलेको अनि परमेश्वरको प्रशंसा गरेको तिनीहरूले सुने। तब पत्रुसले यसो भने: ४७  “हामीले जस्तै यिनीहरूले पनि पवित्र शक्ति पाएका छन्‌। त्यसैले, यिनीहरूले पानीमा बप्तिस्मा गर्न मिल्दैन भनेर के कसैले रोक्न सक्छ र?” ४८  तब पत्रुसले येशू ख्रीष्टको नाममा उनीहरूको बप्तिस्मा गराउने आदेश दिए। त्यसपछि उनीहरूले तिनलाई अझै केही दिन बस्न आग्रह गरे।

फुटनोटहरू

प्रे १०:१ * वा, “सय जना सिपाहीको नाइके।”
प्रे १०:३८ * ग्रीकमा “दियाबोलोस,” जसको अर्थ हो, “निन्दक।”