अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश ९:१-२१

 त्यसपछि, पाँचौं स्वर्गदूतले आफ्नो बिगुल फुके। तब आकाशबाट जमिनमा खसेको एउटा तारा मैले देखें अनि अगाध खाडलको साँचो त्यो तारालाई दिइयो। २  त्यसले अगाध खाडल उघार्दा ठूलो भट्टीबाट धुवाँ निस्केझैं धुवाँको मुस्लो त्यहाँबाट निस्क्यो अनि त्यस खाडलको धुवाँले गर्दा सूर्यका साथै हावालाई अन्धकारले छोप्यो। ३  अनि धुवाँबाट सलहहरू निस्केर पृथ्वीमा आए र पृथ्वीका बिच्छीहरूसित भएजस्तै अख्तियार तिनीहरूलाई पनि दिइयो। ४  पृथ्वीको कुनै वनस्पति वा कुनै घाँसपात वा कुनै रूखलाई हानि नगर्नू तर निधारमा परमेश्वरको छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनेर तिनीहरूलाई भनियो। ५  तिनीहरूलाई नमार्न तर पाँच महिनासम्म सास्ती दिन ती सलहहरूलाई अनुमति दिइयो। बिच्छीले डस्दा जस्तो सास्ती हुन्छ, तिनीहरूले भोग्ने सास्ती पनि त्यस्तै थियो। ६  ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्‌ तर कुनै हालतमा भेट्टाउनेछैनन्‌ अनि तिनीहरू मर्न चाहनेछन्‌ तर मृत्यु भने तिनीहरूबाट पर-पर भाग्नेछ। ७  ती सलहहरू लडाइँको लागि तयार पारिएका घोडाहरूजस्तै देखिन्थे; तिनीहरूको टाउकोमा सुनको मुकुटजस्तै केही चीज थियो अनि तिनीहरूको अनुहार मानिसको जस्तो थियो, ८  तर तिनीहरूको केश भने आइमाईको जस्तो थियो। तिनीहरूका दाँतचाहिं सिंहका जस्ता थिए ९  र तिनीहरूको कवच फलामको कवचजस्तो थियो। अनि तिनीहरूको पखेटाको आवाज भने लडाइँ गर्न दगुरिरहेका धेरै घोडाले तान्ने रथहरूको आवाज जस्तो थियो। १०  साथै, तिनीहरूको पुच्छर र खील बिच्छीको जस्तो थियो अनि मानिसहरूलाई पाँच महिनासम्म हानि गर्ने अख्तियार तिनीहरूको पुच्छरमा थियो। ११  तिनीहरूको राजा अगाध खाडलका दूत थिए। हिब्रू भाषामा तिनको नाम एबाड्डोन* थियो तर ग्रीक भाषामा भने तिनको नाम अपोल्लियोन * थियो। १२  एउटा विपत्ति गइसक्यो। हेर, यसपछि अझै दुई वटा विपत्ति आउँदैछ। १३  त्यसपछि, छैटौं स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि परमेश्वरसामु भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज निस्केको मैले सुनें। १४  अनि बिगुल लिएका छैटौं स्वर्गदूतलाई त्यस आवाजले यसो भन्यो: “महानदी यूफ्रेटिसमा बाँधिएका चार वटा स्वर्गदूतलाई फुकाइदेऊ।” १५  अनि एक तिहाइ मानिसहरूलाई मार्न यही समय, दिन, महिना र वर्षका लागि तयार पारिएका ती चार वटा स्वर्गदूतलाई फुकाइयो। १६  घोडचढीको फौजमा भएका सैनिकहरूको सङ्ख्या मैले सुनें: तिनीहरूको सङ्ख्या बीस करोड थियो। १७  मैले दर्शनमा देखेका घोडाहरू र त्यसमाथि सवार हुनेहरू यस्ता थिए: तिनीहरूले आगोजस्तो रातो, गाढा नीलो र गन्धकजस्तो पहेंलो रङ्गको कवच लगाएका थिए; अनि ती घोडाहरूको टाउको सिंहका टाउकोजस्ता थिए र तिनीहरूको मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो। १८  यी तीन विपत्ति अर्थात्‌ तिनीहरूको मुखबाट निस्केको आगो, धुवाँ र गन्धकले गर्दा एक तिहाइ मानिसहरू मारिए। १९  ती घोडाहरूको अख्तियार तिनीहरूको मुख र पुच्छरमा थियो, किनकि तिनीहरूको पुच्छर सर्पजस्तै थियो र त्यसको टाउको पनि थियो। यसैद्वारा तिनीहरूले हानि गर्थे। २०  तर यी विपत्तिहरूद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना कामहरूको लागि पश्‍चात्ताप गरेनन्‌ अनि तिनीहरूले दुष्ट स्वर्गदूतहरूको र सुन, चाँदी, तामा, ढुङ्गा र काठका मूर्तिहरूको उपासना गर्न छोडेनन्‌, जसले न देख्न सक्छन्‌, न सुन्न सक्छन्‌ न ती हिंड्न नै सक्छन्‌; २१  अनि आफूले गरेको हत्या, तन्त्रमन्त्र, अवैध यौनसम्बन्ध वा चोरीको लागि तिनीहरूले पश्‍चात्ताप गरेनन्‌।

फुटनोटहरू

प्रका ९:११ * यो नामको अर्थ हो, विनाश।
प्रका ९:११ * यो नामको अर्थ हो, विनाशक।