अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश ६:१-१७

 अनि थुमाले सात वटा लाहाछापमध्ये एउटा हटाएको मैले देखें र चार वटा करूबमध्ये एउटाले गर्जनको जस्तो आवाजमा यसो भनेको मैले सुनें: “आऊ!” २  अनि हेर, मैले एउटा सेतो घोडा देखें। त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे। ३  अनि थुमाले दोस्रो लाहाछाप हटाउँदा दोस्रो करूबले यसो भनेको मैले सुनें: “आऊ!” ४  तब अर्को एउटा घोडा आयो। त्यो चहकिलो रातो रङ्गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट गराएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार पनि दिइयो। ५  अनि थुमाले तेस्रो लाहाछाप हटाउँदा तेस्रो करूबले यसो भनेको मैले सुनें: “आऊ!” अनि हेर, मैले एउटा कालो घोडा देखें। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। ६  तब मैले एउटा यस्तो आवाज सुनें, जुन चार वटा करूबको बीचबाट आएकोजस्तो मलाई लाग्यो: “एक दिनारमा* एक किलो गहुँ र एक दिनारमा तीन किलो जौ; अनि जैतुनको तेल र दाखमद्यलाई * हानि नगर।” ७  अनि थुमाले चौथो लाहाछाप हटाउँदा चौथो करूबले यसो भनेको आवाज मैले सुनें: “आऊ!” ८  अनि हेर, रङ्ग फुङ्ग उडेको एउटा पहेंलो घोडा मैले देखें। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान* तिनी सँगसँगै पछि-पछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल, घातक महामारी र जङ्गली जनावरहरूद्वारा मानिसहरूलाई मारून्‌ भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो। ९  अनि थुमाले पाँचौं लाहाछाप हटाउँदा मैले वेदीमुनि ती मानिसहरूको रगत देखें, जो परमेश्वरको वचनको कारण अनि तिनीहरूले दिने गरेको साक्षीको कारण मारिएका थिए। १०  तिनीहरू यसो भन्दै चर्को सोरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र सत्य हुनुहुन्छ, तपाईं कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्न?” ११  तब तिनीहरू हरेकलाई एउटा सेतो लुगा दिइयो अनि तिनीहरूका सँगी दास र भाइहरू, जो तिनीहरूजस्तै मारिन लागेका थिए, उनीहरूको सङ्ख्या पूरा नहोउन्जेल अझै केही समय पर्खन तिनीहरूलाई भनियो। १२  अनि मैले देखें, थुमाले छैटौं लाहाछाप हटाउँदा ठूलो भूकम्प भयो। सूर्य कालो भाङ्ग्राजस्तै कालो भयो, सिङ्गै चन्द्रमा रगतजस्तै रातो भयो, १३  र आकाशका ताराहरूचाहिं अन्जीरको रूखलाई ठूलो बतासले हल्लाउँदा काँचो अन्जीर झरेझैं जमिनमा झरे। १४  आकाश पनि मुठाजस्तै गरी बेरिएर लोप भयो अनि हरेक पहाड र टापुलाई त्यसको ठाउँबाट हटाइयो। १५  तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू,* धनीहरू, ठूलाठालु अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफा र पहाडका चट्टानहरूमा लुके। १६  अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भन्न थाले: “हामीमाथि खस र सिंहासनमा बस्नुहुनेको नजरबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ, १७  किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ; यसको सामु को खडा हुन सक्छ?”

फुटनोटहरू

प्रका ६:६ मत्ती २०:२ को फुटनोट हेर्नुहोस्।
प्रका ६:६ * वा, “अङ्गुरबाट बनेको मद्य।”
प्रका ६:८ * ग्रीकमा “हेडिज।” अतिरिक्त लेख ८ हेर्नुहोस्।
प्रका ६:१५ * वा, “हजार जना सिपाहीको नाइके।”