सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

प्रकाश ३:१-२२

 “अनि सार्डिसको मण्डलीको दूतलाई लेख: परमेश्वरको सात वटा पवित्र शक्ति अनि सात वटा तारा हुनेले यसो भन्नुहुन्छ, ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी जिउँदो त देखिन्छौ तर वास्तवमा मरिसकेका छौ। २  जागा बस अनि मर्न तयार भएर बसेका बाँकी कुराहरूलाई बलियो बनाऊ, किनकि मेरो परमेश्वरसामु तिम्रो कुनै काम पूरा भएको मैले पाएको छैन। ३  त्यसैले तिमीले के पाएका छौ अनि के सुन्यौ, त्यसलाई सम्झ र ती कुराहरू पक्रिराख अनि पश्‍चात्ताप गर। तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ। ४  “ ‘तर सार्डिसमा तिमीकहाँ केही यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू सेतो लुगा लगाएर मसित हिंड्नेछन्‌, किनकि तिनीहरू योग्य छन्‌। ५  जसले विजय हासिल गर्छ, उसले यसरी सेतो लुगा पहिरिनेछ र म उसको नाम जीवनको पुस्तकबाट कुनै हालतमा मेटाउनेछैन, बरु मेरो बुबा अनि उहाँका दूतहरूसामु उसको नाम स्वीकार गर्नेछु। ६  पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्।’ ७  “अनि फिलाडेल्फियाको मण्डलीको दूतलाई लेख: जो पवित्र र सत्य हुनुहुन्छ अनि जससित दाऊदको साँचो छ, अनि जसले कसैले बन्द नगरोस् भनेर खोल्नुहुन्छ र कसैले नखोलोस् भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्नुहुन्छ, ८  ‘मलाई तिम्रा कामहरू थाह छ, (हेर, कसैले बन्द गर्न नसक्ने ढोका मैले तिम्रो निम्ति खोलेको छु) तिम्रो बल क्षीण भएको छ र तिमीले मेरो वचन पालन गरेका छौ अनि आफूलाई मप्रति वफादार साबित गरेका छौ। ९  हेर, ती मानिसहरू, जो आफूलाई यहूदी भनेर झूट बोलिरेहका छन्‌ तर वास्तवमा सैतानको दलका* हुन्‌, म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रो पाउमा दण्डवत्‌ गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु। १०  सहनशीलताबारे मैले भनेको कुरा तिमीले पालन गरेको हुनाले पृथ्वीका सबै बासिन्दाहरूको परीक्षा गर्न सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म पनि तिमीलाई बचाउनेछु। ११  म छिट्टै आउँदैछु। तिमीसित जे छ, त्यसलाई पक्रिराख, ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्। १२  “ ‘जसले विजय हासिल गर्छ, म उसलाई मेरो परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र कुनै कुराले उसलाई त्यहाँबाट हटाउन सक्नेछैन। अनि म उसमा मेरो परमेश्वरको नाम, मेरो परमेश्वरको सहरको नाम अर्थात्‌ मेरो परमेश्वरबाट तल ओर्लने नयाँ यरूशलेमको नाम र मेरो नयाँ नाम लेखिदिनेछु। १३  पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्।’ १४  “अनि लाओडिसियाको मण्डलीको दूतलाई लेख: जो आमिन, विश्वासी अनि साँचो साक्षी हुनुहुन्छ र परमेश्वरको सृष्टिको सुरुवात हुनुहुन्छ, उहाँ यसो भन्नुहुन्छ, १५  ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी न चिसो न तातो छौ। तिमी कि चिसो कि तातो भइदिए त हुनेथियो। १६  तिमी न तातो न चिसो तर मनतातो भएकोले म तिमीलाई मुखबाट ओकलिदिनेछु। १७  “म धनी छु र मैले धेरै धनसम्पत्ति थुपारेको छु; त्यसैले मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्गो छौ, तिमीलाई थाह छैन। १८  म तिमीलाई के सुझाव दिन्छु भने, आगोले खारिएको सुन मसित किन र धनी बन, मसित सेतो लुगा किनेर लगाऊ, ताकि आफ्नो नग्नताले गर्दा तिमी लाजमा पर्न नपरोस् अनि तिम्रो आँखामा लगाउन मसित गाजल किन र देख्न सक्ने बन। १९  “ ‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु। त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर। २०  हेर, म ढोकामा उभिएर ढकढक्याउँदैछु। यदि कसैले मेरो सोर सुन्छ र ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र ऊसित साँझको खाना खानेछु अनि उसले मसित खानेछ। २१  जसले विजय हासिल गर्छ, म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु, जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु। २२  पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्।’ ”

फुटनोटहरू

प्रका ३:९ * शाब्दिक, “सभाघरका।”