अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश २१:१-२७

२१  अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें; किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए अनि समुद्र छँदै थिएन। २  मैले पवित्र सहर, नयाँ यरूशलेमलाई आफ्नो दुलहाको लागि सिंगारिएकी दुलहीझैं तयार भएर स्वर्गबाट अर्थात्‌ परमेश्वरकहाँबाट तल झरिरहेको पनि देखें। ३  तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनें: “हेर, परमेश्वरको बासस्थान* मानिसहरूसित भएको छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जनहरू हुनेछन्‌। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ। ४  उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।” ५  अनि सिंहासनमा बस्नुहुनेले भन्नुभयो: “हेर, म सबै थोक नयाँ बनाउँदैछु।” उहाँले यसो पनि भन्नुभयो: “लेख, किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्‌।” ६  अनि उहाँले मलाई भन्नुभयो: “यी वचनहरू पूरा भइसकेका छन्‌! अल्फा र ओमेगा* अर्थात्‌ सुरुवात र अन्त म नै हुँ। जो तिर्खाउँछ, उसलाई म जीवन दिने पानीको मुहानबाट सित्तैंमा पिउन दिनेछु। ७  जसले विजय हासिल गर्छ, उसले यी कुराहरू पाउनेछ अनि म उसको परमेश्वर हुनेछु र ऊ मेरो छोरा हुनेछ। ८  तर डरपोकहरू, विश्वास नगर्नेहरू, अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू, अवैध यौनसम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू सबै गन्धकको अग्निकुण्डमा फ्याँकिनेछन्‌। यसको अर्थ दोस्रो मृत्यु हो।” ९  अनि सात वटा अन्तिम विपत्तिले भरिएका सात वटा कचौरा लिएका सात वटा स्वर्गदूतमध्ये एउटा आए र तिनले मलाई यसो भने: “यहाँ आऊ, म तिमीलाई दुलही देखाउनेछु, थुमाकी दुलही।” १०  त्यसैले तिनले मलाई पवित्र शक्तिद्वारा एउटा ठूलो र अग्लो पर्वतमा लगे अनि स्वर्गबाट अर्थात्‌ परमेश्वरकहाँबाट तल झर्दै गरेको पवित्र सहर यरूशलेम देखाए। ११  परमेश्वरको महिमाले त्यो भरिपूर्ण थियो। त्यसको चमक मणिभझैं चम्कने बहुमूल्य रत्न यशवमणिको जस्तो थियो। १२  त्यसको पर्खाल ठूलो र अग्लो थियो अनि त्यसका बाह्र वटा ढोका थिए। ती ढोकाहरूमा बाह्र वटा स्वर्गदूत थिए अनि त्यसमा इस्राएलका छोराहरूको बाह्र कुलको नाम लेखिएको थियो। १३  पूर्वपट्टि तीन वटा ढोका, उत्तरपट्टि तीन वटा ढोका, दक्षिणपट्टि तीन वटा ढोका र पश्‍चिमपट्टि तीन वटा ढोका थिए। १४  त्यस सहरको पर्खालको जगमा बाह्र वटा ढुङ्गा थिए र ती ढुङ्गाहरूमा थुमाका बाह्र जना प्रेषितको बाह्रै नाम लेखिएको थियो। १५  मसित कुरा गर्ने स्वर्गदूतले त्यस सहर, त्यसको ढोका र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो लिएका थिए। १६  त्यो सहर वर्गाकार थियो अनि त्यसको लम्बाइ त्यसको चौडाइजत्तिकै थियो। अनि तिनले त्यो टाँगोले सहर नापे, जुन लगभग दुई हजार दुई सय किलोमिटर* थियो। यसको लम्बाइ, चौडाइ र उचाइ बराबर थियो। १७  यसबाहेक, तिनले त्यसको पर्खाल नापे, जुन मानिसका साथै स्वर्गदूतको नापअनुसार एक सय चवालीस हात* थियो। १८  त्यस सहरको पर्खाल यशवमणिले बनेको थियो अनि त्यो सहर सफा काँचजस्तै निखुर सुनको थियो। १९  त्यस सहरको पर्खालका जगहरू हरकिसिमका बहुमूल्य रत्नहरूले बनेका थिए: पहिलो जग यशवमणिले, दोस्रो नीलमले, तेस्रो चाल्सेडोनीले, चौथो पन्नाले, २०  पाँचौं सार्डोनिक्सले, छैटौं लालमणिले, सातौं क्रिसोलाइटले, आठौं हरितनीलमणिले, नवौं पुष्पराजले, दसौं क्रिसोप्रेजले, एघारौं नीलो गोमेदले र बाह्रौंचाहिं कलेजी स्फटिकले बनेको थियो। २१  साथै, बाह्र वटा मोती त्यसका बाह्र ढोका थिए; हरेक ढोका एउटा मोतीले बनेको थियो। त्यस सहरको मूल बाटो निखुर सुनको र पारदर्शी काँचजस्तै थियो। २२  त्यस सहरमा मैले मन्दिर भने देखिनँ, किनकि सर्वशक्तिमान्‌ परमेश्वर यहोवा नै त्यसको मन्दिर हुनुहुन्छ, त्यसैगरि थुमा पनि। २३  त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्यकता पर्दैनथ्यो, किनकि परमेश्वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँथ्यो अनि थुमा नै त्यसको बत्ती हुनुहुन्थ्यो। २४  राष्ट्रहरू त्यसको उज्यालोमा हिंड्नेछन्‌ र पृथ्वीका राजाहरूले आफ्नो वैभव त्यस सहरभित्र ल्याउनेछन्‌। २५  त्यसका ढोकाहरू दिनमा कहिल्यै बन्द हुनेछैनन्‌ र त्यहाँ रात नै पर्नेछैन। २६  अनि तिनीहरूले राष्ट्रहरूको वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्‌। २७  तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि, घिनलाग्दो कुरा गरिरहने र झूट बोलिरहने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन, बरु ज-जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएको छ, तिनीहरू मात्र पस्न पाउनेछन्‌।

फुटनोटहरू

प्रका २१:३ * शाब्दिक, “पाल।”
प्रका २१:६ * अल्फा र ओमेगा ग्रीक वर्णमालाका पहिलो र अन्तिम अक्षर हुन्‌।
प्रका २१:१६ * शाब्दिक, “बाह्र हजार स्टेडिया।”
प्रका २१:१७ * अर्थात्‌, “लगभग ६४ मिटर।”