सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश २०:१-१५

२०  त्यसपछि, मैले स्वर्गबाट एउटा स्वर्गदूत ओर्लिरहेको देखें। तिनको हातमा अगाध खाडलको साँचो र ठूलो साङ्‌लो थियो।  तिनले त्यस अजिङ्‌गर अर्थात्‌ पुरानो सर्प, जो दियाबल र सैतान हो, त्यसलाई पक्रे अनि एक हजार वर्षसम्मका लागि बाँधे,  अनि एक हजार वर्ष नबितेसम्म राष्ट्रहरूलाई नबहकाओस् भनेर त्यसलाई अगाध खाडलमा हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि, केही समयका लागि त्यो मुक्त गरिनै पर्छ।  अनि मैले सिंहासनहरू र त्यसमा बस्नेहरूलाई देखें अनि तिनीहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखें, जो येशूको विषयमा आफूले दिएको साक्षी अनि परमेश्वरको विषयमा आफूले बोलेको कुराले गर्दा बन्चरोले काटिएका थिए। साथै, जङ्‌गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई पनि मैले देखें। तिनीहरू सबै जीवित भए अनि ख्रीष्टसित एक हजार वर्षसम्म राजाको रूपमा शासन गरे।  (बाँकी मरेकाहरूचाहिं एक हजार वर्ष नबितेसम्म जीवित भएनन्‌।) पहिलो पुनर्जीवन* यही हो।  ज-जसले पहिलो पुनर्जीवनमा भाग पाउँछन्‌, तिनीहरू धन्य अनि पवित्र हुन्‌; यिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार चल्दैन। बरु तिनीहरू परमेश्वर अनि ख्रीष्टका पुजारी हुनेछन्‌ र राजाको रूपमा एक हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।  एक हजार वर्ष सकिनेबित्तिकै सैतानलाई कैदबाट मुक्त गरिनेछ  र पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात्‌ गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ। यिनीहरूको सङ्‌ख्या समुद्रको बालुवा जत्तिकै हुनेछ।  तब तिनीहरू पृथ्वीको चारैतिर जानेछन्‌ र पवित्र जनहरूको छाउनी अनि परमेश्वरको प्रिय सहरलाई घेरा हाल्नेछन्‌। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म गर्नेछ। १०  त्यसपछि, तिनीहरूलाई बहकाउने त्यस दियाबल आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइनेछ, जहाँ जङ्‌गली जनावर र झूटो भविष्यवक्तालाई पहिल्यै हुर्ऱ्याइसकेको छ; तिनीहरूले सदासर्वदा दिनरात सास्ती भोग्नेछन्‌। ११  त्यसपछि, मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखें। पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे र तिनीहरू कतै भेटिएनन्‌। १२  अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेको मैले देखें र पुस्तकहरू खोलिएको पनि मैले देखें। तब अर्को एउटा पुस्तक पनि खोलियो; त्यो जीवनको पुस्तक थियो। अनि ती पुस्तकहरूमा लेखिएबमोजिम ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो। १३  त्यसपछि, समुद्रले मरिसकेका ती मानिसहरू दिइहाल्यो, जो त्यससँग थियो। मृत्यु र चिहानले* पनि मरिसकेका ती मानिसहरू दिइहाले, जो तिनीहरूसँग थिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो। १४  त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो। यस अग्निकुण्डको अर्थ दोस्रो मृत्यु हो। १५  यसबाहेक, ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, तिनीहरूलाई पनि अग्निकुण्डमा हुर्ऱ्याइयो।

फुटनोटहरू

वा, “पुनरुत्थान।”
ग्रीकमा “हेडिज।” अतिरिक्त लेख ८ हेर्नुहोस्।