अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश १८:१-२४

१८  यी कुराहरू भएपछि मैले अर्को एउटा स्वर्गदूत ठूलो अख्तियारसहित स्वर्गबाट ओर्लंदै गरेको देखें। तिनको महिमाले गर्दा पृथ्वी नै उज्यालो भयो। २  अनि तिनले जोडदार आवाजमा यसो भने: “पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ; त्यो, दुष्ट स्वर्गदूतहरू बास गर्ने ठाउँ र हरकिसिमका विषालु हावाले भरिएको ठाउँ अनि हरप्रकारका अशुद्ध र घृणित चराहरूको बासस्थान भएको छ! ३  किनकि सबै राष्ट्रहरू त्यसको अवैध यौनसम्बन्धको* क्रोधको मद्यले मात्तिएका छन्‌। पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे अनि पृथ्वीका व्यापारीहरू * त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।” ४  अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनें: “हे मेरा मानिसहरू हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ। ५  किनभने त्यसका पापहरू चुलिएर स्वर्गसम्मै पुगेको छ अनि त्यसले गरेका अन्यायहरू परमेश्वरले सम्झनुभएको छ। ६  त्यसले जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्, त्यसलाई दुई गुणा गरियोस्, हो, त्यसले गरेका कामहरूको दुई गुणा गरियोस्; त्यसले जुन कचौरामा मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्। ७  त्यसले आफूलाई जति महिमित पारेकी छे र जति निर्लज्ज विलासी जीवन बिताएकी छे, त्यसलाई त्यसैअनुसारको सास्ती दिइयोस् र शोकाकुल बनाइयोस्। त्यसले मनमनै यसो भन्छे: ‘म महारानी भएर बसेकी छु, म विधवा होइन, त्यसैले मैले कहिल्यै शोक गर्नु पर्नेछैन।’ ८  त्यसैले एकै दिनमा त्यसमाथि विपत्तिहरू आइपर्नेछ, अर्थात्‌ मृत्यु, शोक र अनिकाल। अनि त्यसलाई आगोमा भस्म पारिनेछ, किनकि यहोवा परमेश्वर, जसले त्यसको न्याय गर्नुभयो, उहाँ बलवान्‌ हुनुहुन्छ। ९  “अनि त्यससित अवैध यौनसम्बन्ध राख्ने अनि निर्लज्ज विलासी जीवन बिताउने पृथ्वीका राजाहरू त्यो जलेर धुवाँ निस्केको देखेपछि त्यसको निम्ति रुनेछन्‌ अनि छाती पिट्दै बिलौना गर्नेछन्‌। १०  त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर तिनीहरू यसो भन्नेछन्‌, ‘हे महान्‌ सहर, हे बलियो सहर बेबिलोन, हाय, हाय, किनकि छिनभरमै तिम्रो न्याय भएको छ!’ ११  “साथै, पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुन्छन्‌ र शोक गर्छन्‌, किनकि तिनीहरूले थुपारेको मालसामान किन्ने कोही छैन, १२  सुन, चाँदी, बहुमूल्य रत्न, मोती, मलमल कपडा, बैजनी, रेसमी र चहकिलो रातो रङ्गको कपडा; हरकिसिमका सुगन्धित काठहरू, हस्तिदन्तले बनेका चीजबीजहरू अनि बहुमूल्य काठ, तामा, फलाम र सङ्गमर्मरका विभिन्न सरसामानहरू। १३  साथै, दालचिनी, अलैंची, धूप, सुगन्धित तेल, सेतो धूप, दाखमद्य, जैतुनको तेल, मसिनो पीठो, गहुँ, गाईवस्तु, भेडा, घोडा, बग्गी, दास र मानिसहरू। १४  हो, तैंले इच्छा गरेको असल फल तँबाट खोसिएको छ अनि तँसित भएका सबै आकर्षक र सुन्दर चीजबीजहरू नष्ट भएका छन्‌; मानिसहरूले ती फेरि कहिल्यै पाउनेछैनन्‌। १५  “यी सरसामानका व्यापारीहरू, जो त्यस सहरको कारण धनी भएका थिए, त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर रुँदै र शोक गर्दै १६  यसो भन्नेछन्‌: ‘मलमल कपडा अनि बैजनी र चहकिलो रातो रङ्गको कपडा लगाएकी अनि सुनका गरगहना, बहुमूल्य रत्न र मोतीले झकिझकाउ भएकी महान्‌ सहर, हाय, हाय, १७  किनकि छिनभरमै यत्तिका धनसम्पत्ति नष्ट भएको छ!’ “जहाजका कप्तानहरू, समुद्री यात्रा गर्ने मानिसहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू सबै जना टाढै उभिए १८  अनि त्यो जलेर निस्किरहेको धुवाँ हेर्दै यसो भनेर बिलौना गरे: ‘त्यो महान्‌ सहरजस्तो सहर अरू कुन छ र?’ १९  तिनीहरूले आफ्नो टाउकोमा धूलो छर्के अनि रुँदै र शोक गर्दै यसो भने: ‘हे महान्‌ सहर, जसका महँगा-महँगा चीजबीजहरूले गर्दा समुद्रमा जहाज हुनेहरू सबै धनी भएका थिए, हाय, हाय, किनकि छिनभरमै त्यो नष्ट भएको छ!’ २०  “हे स्वर्ग अनि हे पवित्र जनहरू, प्रेषितहरू र भविष्यवक्ताहरू हो, त्यसको जे हाल भएको छ, त्यसमा रमाओ, किनकि परमेश्वरले तिमीहरूको खातिर त्यसको न्याय गरेर सजाय दिनुभएको छ!” २१  अनि एउटा बलवान्‌ स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान्‌ सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन। २२  अनि वीणा बजाउँदै गाउने गायक, संगीतकार, बाँसुरीवादक र बिगुल फुक्नेहरूको आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। कुनै किसिमको कालिगड तँकहाँ फेरि कहिल्यै पाइनेछैन अनि जाँतोको कुनै आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। २३  दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै सोर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ, किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैंले गरेको तन्त्रमन्त्रद्वारा सबै राष्ट्रहरू बहकिएका थिए। २४  हो, भविष्यवक्ता र पवित्र जनहरू अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत त्यसैमा पाइयो।”

फुटनोटहरू

प्रका १८:३ * अतिरिक्त लेख ४ हेर्नुहोस्।
प्रका १८:३ * वा, “व्यापारको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँ यात्रा गर्ने व्यापारीहरू।”