अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश १६:१-२१

१६  अनि मैले महापवित्रस्थानबाट आएको चर्को आवाजले ती सात वटा स्वर्गदूतलाई यसो भनेको सुनें: “जाओ, परमेश्वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।” २  तब पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए। त्यसले गर्दा जङ्गली जनावरको चिन्ह हुने र त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूमा पीडादायी अनि डरलाग्दो खटिरा निस्क्यो। ३  त्यसपछि, दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए। त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो र त्यसमा भएका सबै जीवजीवात* मरे। ४  त्यसपछि, तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी अनि पानीका मुहानहरूमा खन्याए र ती रगत भए। ५  अनि पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनें: “तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, तपाईं वफादार अनि न्यायी हुनुहुन्छ, किनकि तपाईंले यी फैसलाहरू गर्नुभएको छ। ६  किनकि तिनीहरूले पवित्र जन र भविष्यवक्ताहरूको रगत बगाए अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। तिनीहरू यसकै लायक छन्‌।” ७  तब मैले वेदीले यसो भनेको सुनें: “हे सर्वशक्तिमान्‌ परमेश्वर यहोवा, हो, तपाईंका न्यायिक फैसलाहरू सत्य अनि न्यायोचित छन्‌।” ८  त्यसपछि, चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए अनि आफ्नो रापले मानिसहरूलाई डढाउने अनुमति सूर्यलाई दिइयो। ९  तब घामको चर्को रापले गर्दा मानिसहरू डढे तर तिनीहरूले यी विपत्तिहरूमाथि अख्तियार हुने परमेश्वरको नामको निन्दा गरे। तिनीहरूले पश्‍चात्ताप गरेनन्‌ र उहाँलाई महिमा दिएनन्‌। १०  त्यसपछि, पाँचौं स्वर्गदूतले आफ्नो कचौरा जङ्गली जनावरको सिंहासनमाथि खन्याए। त्यसले गर्दा त्यसको राज्यलाई अन्धकारले छोप्यो र पीडाले गर्दा तिनीहरूले आफ्नो जिब्रो टोक्न थाले। ११  आफूले भोग्नुपरेको पीडा अनि खटिराको कारण तिनीहरूले स्वर्गका परमेश्वरको निन्दा गरे। तिनीहरूले आफ्नो कुकर्मको पश्‍चात्ताप गरेनन्‌। १२  त्यसपछि, छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए। तब सूर्योदय हुने ठाउँबाट आउने राजाहरूको निम्ति बाटो तयार होस् भनेर त्यो महानदी सुकिहाल्यो। १३  त्यसपछि, मैले अजिङ्गरको मुखबाट, जङ्गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखें र ती भ्यागुताजस्तै देखिन्थे। १४  ती वास्तवमा दुष्ट स्वर्गदूतका प्रेरित वचनहरू हुन्‌ र ती वचनहरूले चमत्कारहरू गर्छन्‌ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्वरको महान्‌ दिनको लडाइँको निम्ति जम्मा गर्छन्‌। १५  “हेर, म चोरजस्तै गरी आउँदैछु। आनन्दित हो त्यो मानिस, जो जागा बस्छ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिंड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्‌।” १६  अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा हार-मागेडोन* भन्ने ठाउँमा जम्मा गरे। १७  त्यसपछि सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब महापवित्रस्थानको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!” १८  तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, गर्जनहरू भए अनि यति ठूलो र शक्तिशाली भूकम्प भयो कि पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि अहिलेसम्म भएकै छैन। १९  त्यसले गर्दा त्यो ठूलो सहर तीन टुक्रा भयो अनि राष्ट्र-राष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई आफ्नो भयानक क्रोधको दाखमद्यको कचौराबाट पियाउन परमेश्वरले त्यसलाई सम्झनुभयो। २०  साथै, सबै टापुहरू भागे अनि पर्वतहरू भेटिएनन्‌। २१  अनि लगभग बीस किलो* तौल भएका ठूलठूला असिनाहरू आकाशबाट मानिसहरूमाथि बर्सिए। असिनाको विपत्तिले गर्दा मानिसहरूले परमेश्वरको निन्दा गरे, किनकि यो विपत्ति ज्यादै विनाशकारी थियो।

फुटनोटहरू

प्रका १६:३ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
प्रका १६:१६ * वा, “आरमागेडोन।” हिब्रूमा यसको अर्थ हो, “मगिद्दोको पर्वत।”
प्रका १६:२१ * शाब्दिक, “एक टालेन्टोन।”