सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश १५:१-८

१५  अनि मैले स्वर्गमा अर्को एउटा चिन्ह देखें, जुन ठूलो अनि अचम्मलाग्दो थियो। मैले सात वटा विपत्ति लिएका सात वटा स्वर्गदूत देखें। यी अन्तिम विपत्तिहरू हुन्‌, किनकि यीद्वारा परमेश्वरको क्रोध समाप्त हुन्छ। २  अनि मैले जे देखें, त्यो समुद्र हो कि जस्तो मलाई लाग्यो र त्यो समुद्र काँचजस्तो देखिन्थ्यो अनि त्यसमा आगो मिसिएको थियो। मैले तिनीहरूलाई पनि देखें, जसले जङ्गली जनावर, त्यसको मूर्ति अनि त्यसको नामको सङ्ख्यामाथि विजय हासिल गरेका थिए। तिनीहरू काँचजस्तो देखिने समुद्रको छेउमा परमेश्वरको वीणा लिएर उभिरहेका थिए। ३  तिनीहरू यसो भन्दै परमेश्वरको दास, मोशाको अनि थुमाको गीत गाइरहेका थिए: “हे सर्वशक्तिमान्‌ परमेश्वर यहोवा, तपाईंका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌। हे युगयुगका महाराजा, तपाईंका मार्गहरू न्यायोचित अनि सत्य छन्‌। ४  हे यहोवा, तपाईं मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईंको डर मान्दैन अनि कसले पो तपाईंको नामको प्रशंसा गर्दैन र? सबै राष्ट्रहरू तपाईंसामु आएर तपाईंको उपासना गर्नेछन्‌, किनकि तपाईंका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्‌।” ५  यी कुराहरू भएपछि मैले स्वर्गमा बासस्थानको* महापवित्रस्थान उघारिएको देखें, ६  अनि सात वटा विपत्ति लिएका सात वटा स्वर्गदूत त्यहाँबाट निस्के। तिनीहरूले सफा र चहकिलो लुगा लगाएका थिए अनि तिनीहरूको छातीमा सुनको फित्ता बाँधिएको थियो। ७  तब चार वटा करूबमध्ये एउटाले ती सात वटा स्वर्गदूतलाई सुनको सात वटा कचौरा दिए। ती कचौराहरू सदासर्वदा जीवित हुनुहुने परमेश्वरको क्रोधले भरिएका थिए। ८  अनि परमेश्वरको महिमा र शक्तिले गर्दा महापवित्रस्थान धुवैं-धुवाँले भरियो। सात वटा स्वर्गदूतका सात वटा विपत्ति नसिद्धिएसम्म कोही पनि त्यहाँ भित्र पस्न सकेन।

फुटनोटहरू

प्रका १५:५ * शाब्दिक, “साक्षीको पालको।”