अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश १४:१-२०

१४   अनि हेर, मैले थुमालाई सियोन पर्वतमा उभिरहेको देखें। तिनीसित एक लाख चवालीस हजार जना थिए, जसको निधारमा तिनको र तिनको बुबाको नाम लेखिएको थियो। २  मैले धेरै पानी बगिरहेको आवाजजस्तो र गर्जनको चर्को आवाजजस्तो एउटा आवाज स्वर्गबाट आएको सुनें। मैले सुनेको त्यो आवाज आ-आफ्नो वीणा बजाउँदै गाइरहेका गायकहरूको आवाजजस्तो थियो। ३  तिनीहरूले सिंहासनसामु, चार वटा करूबसामु र एल्डरहरूसामु नयाँ गीत गाएजस्तै गरी एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका एक लाख चवालीस हजार जनाबाहेक अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो। ४  यिनीहरू तिनै हुन्‌, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्‌; भनौं भने, तिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्‌। यिनीहरू तिनै हुन्‌, जो थुमा जता-जता जान्छन्‌, त्यतै-त्यतै तिनको पछि लाग्छन्‌। यिनीहरू परमेश्वर र थुमाको लागि अगौटे फलको रूपमा मानिसहरूमध्येबाट किनिएका थिए, ५  अनि तिनीहरूको मुखमा कुनै झूट पाइएन; तिनीहरू निष्खोट छन्‌। ६  त्यसपछि, मैले अर्को एउटा स्वर्गदूत आकाशमा उडिरहेको देखें। पृथ्वीमा बास गर्नेहरू अनि हरेक राष्ट्र, कुल, भाषा र जातिलाई खुसीको सन्देशको रूपमा घोषणा गर्न तिनीसित अनन्त सुसमाचार थियो। ७  तिनी चर्को सोरमा यसो भन्दैथिए: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ, किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ। त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।” ८  अनि अर्को एउटा, दोस्रो स्वर्गदूत यसो भन्दै पछि-पछि आए: “पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ, जसले सबै राष्ट्रहरूलाई आफ्नो अवैध यौनसम्बन्धको* क्रोधको मद्य पिउन लगाएकी थिई!” ९  अनि अर्को एउटा, तेस्रो स्वर्गदूत चर्को सोरमा यसो भन्दै तिनीहरूको पछि-पछि आए: “यदि कसैले त्यस जङ्गली जनावर र त्यसको मूर्तिको उपासना गर्छ अनि त्यसको चिन्ह आफ्नो निधारमा वा हातमा लिन्छ भने १०  उसले पनि परमेश्वरको क्रोधको त्यो कडा मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र उहाँको क्रोधको कचौरामा खन्याइएको छ। अनि उसलाई पवित्र स्वर्गदूतहरू र थुमासामु आगो र गन्धकमा सास्ती दिइनेछ। ११  ज-जसले त्यस जङ्गली जनावर र त्यसको मूर्तिको उपासना गर्छन्‌ अनि त्यसको नामको चिन्ह लिन्छन्‌, तिनीहरूलाई दिइने सास्तीको धुवाँ सदासर्वदा माथि उठिरहनेछ र तिनीहरूलाई दिनरात चैन हुनेछैन। १२  परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथिको विश्वासअनुसार जीवन बिताउने पवित्र जनहरूले सहनशीलता देखाउनुपर्ने यस्तै बेला हो।” १३  अनि मैले स्वर्गबाट एउटा यस्तो आवाज आएको सुनें: “लेख: आनन्दित हुन्‌ तिनीहरू, जो प्रभुसित एकतामा भएर अबउसो मर्नेछन्‌। हो, पवित्र शक्ति भन्छ, तिनीहरूले आ-आफ्ना कामहरूबाट विश्राम लेऊन्‌, किनकि तिनीहरूले गरेका कामहरू तिनीहरूसँगसँगै जानेछन्‌।” १४  अनि हेर, मैले एउटा सेतो बादल देखें र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए। तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो। १५  अनि अर्को एउटा स्वर्गदूत मन्दिरबाट निस्के र बादलमा बस्नेलाई चर्को सोरमा यसो भने: “आफ्नो हँसिया चलाएर कटनी गर्नुहोस्, किनकि कटनी गर्ने बेला आएको छ, पृथ्वीको बाली पूरै पाकिसकेको छ।” १६  अनि बादलमा बस्नेले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको कटनी गरियो। १७  फेरि अर्को एउटा स्वर्गदूत स्वर्गमा भएको मन्दिरबाट निस्के। तिनीसित पनि एउटा धारिलो हँसिया थियो। १८  अनि फेरि अर्को एउटा स्वर्गदूत वेदीबाट निस्के। तिनीसित आगोमाथि अख्तियार थियो। धारिलो हँसिया लिनेलाई तिनले चर्को सोरमा यसो भने: “आफ्नो धारिलो हँसिया चलाएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल्नुहोस्, किनकि ती पाकिसकेका छन्‌।” १९  अनि ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्गुर बटुले। त्यसपछि, तिनले त्यसलाई परमेश्वरको रिसको ठूलो कोलमा फ्याँके। २०  अनि सहरबाहिर अङ्गुर पेलियो र अङ्गुर पेल्ने कोलबाट निस्केको रगत घोडाको लगामसम्म र लगभग तीन सय किलोमिटर* परसम्म पुग्यो।

फुटनोटहरू

प्रका १४:८ * अतिरिक्त लेख ४ हेर्नुहोस्।
प्रका १४:२० * शाब्दिक, “एक हजार छ सय स्टेडिया।”