सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश ११:१-१९

११  अनि मलाई नर्कटको एउटा टाँगो दिइयो र यसो भनियो: “उठ, परमेश्वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ।  तर मन्दिर बाहिरको चोकलाई भने छोड, त्यसलाई नाप्दै ननाप, किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्‌।  अनि म आफ्ना दुई जना साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्‌ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।”  जैतुनका दुई वटा रूख अनि दुई वटा पानसको अर्थ यी दुई साक्षी हुन्‌ र पृथ्वीका प्रभुको अगाडि तिनीहरू उभिरहेका छन्‌।  अनि जसले तिनीहरूलाई हानि पुऱ्याउन खोज्छ, तिनीहरूको मुखबाट निस्कने आगोले तिनीहरूका शत्रुहरूलाई भस्म गर्नेछ अनि यदि कसैले तिनीहरूलाई हानि पुऱ्याउन खोज्यो भने यसै गरी ऊ मारिनेछ।  आफूले भविष्यवाणी गरिरहेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई बन्द गर्ने अख्तियार तिनीहरूसित छ, अनि पानीलाई रगत बनाउने र आफूलाई जति मन लाग्छ उति खेप पृथ्वीमा हर किसिमका विपत्ति ल्याउने अख्तियार पनि तिनीहरूसित छ।  अनि तिनीहरूले साक्षी दिने काम सिध्याएपछि, अगाध खाडलबाट निस्केर आउने जङ्‌गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।  अनि तिनीहरूको लास त्यस सहरको चौबाटोमा त्यत्तिकै छोडिनेछ, जुन सहरलाई प्रतीकात्मक अर्थमा सदोम र मिश्र भनिन्छ अनि जहाँ तिनीहरूका प्रभुलाई पनि टाँगिएको थियो।  तब जाति-जाति, कुल-कुल, भाषा-भाषा र राष्ट्र-राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म तिनीहरूको लास हेर्नेछन्‌ तर तिनीहरूको लासलाई चिहानमा गाड्‌न भने दिनेछैनन्‌। १०  अनि पृथ्वीमा बास गर्नेहरू तिनीहरूको मृत्यु भएकोमा रमाउनेछन्‌, खुसीयाली मनाउनेछन्‌ र उपहार आदानप्रदान गर्नेछन्‌, किनकि ती दुई भविष्यवक्ताले पृथ्वीमा बास गर्नेहरूलाई सास्ती दिएका थिए। ११  साढे तीन दिनपछि, परमेश्वरले दिनुहुने जीवनशक्ति तिनीहरूभित्र पस्यो र तिनीहरू आफ्नो खुट्टामा उभिए अनि ज-जसले तिनीहरूलाई देखे, तिनीहरूमा ठूलो डर छायो। १२  अनि स्वर्गबाट आएको एउटा चर्को आवाजले आफूलाई यसो भनिरहेको तिनीहरूले सुने: “यहाँ माथि आओ।” त्यसपछि, तिनीहरू माथि आकाशमा बादलतिर गए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे। १३  तब उत्तिखेरै ठूलो भूकम्प भयो र त्यस सहरको दस भागको एक भाग नष्ट भयो; अनि त्यो भूकम्पले गर्दा सात हजार मानिस मरे। बाँकीचाहिं डराए अनि स्वर्गका परमेश्वरलाई महिमा दिए। १४  दोस्रो विपत्ति गइसक्यो। हेर, तेस्रो विपत्ति छिट्टै आउँदैछ। १५  त्यसपछि, सातौं स्वर्गदूतले आफ्नो बिगुल फुके। तब स्वर्गमा चर्का आवाजहरू सुनिए, जसले यसो भनिरहेका थिए: “संसारको राज्य साँच्चै हाम्रा परमेश्वरको अनि उहाँको ख्रीष्टको राज्य भएको छ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।” १६  तब परमेश्वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका चौबीस जना एल्डर घोप्टो परे अनि परमेश्वरको उपासना गर्दै १७  यसो भने: “हे सर्वशक्तिमान्‌ परमेश्वर यहोवा, जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, किनभने तपाईंले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ। १८  तर राष्ट्रहरू क्रोधित भए अनि तपाईंले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक, मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईंका दास अर्थात्‌ भविष्यवक्ताहरूका साथै पवित्र जनहरूलाई अनि के साना, के ठूला तपाईंको डर मान्ने जति सबैलाई तिनीहरूको आ-आफ्नो इनाम दिने र पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने तपाईंको तोकिएको समय आएको छ।” १९  त्यसपछि, स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो। तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, गर्जनहरू भए, भूकम्प भयो अनि ठूलठूलो असिना पऱ्यो।

फुटनोटहरू