सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

तीतस ३:१-१५

 तिनीहरूलाई यो कुरा सम्झाइरहनू, कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि तिनीहरूप्रति आज्ञाकारी होऊन्‌, हरेक असल कामको लागि तत्पर होऊन्‌, २  कसैको बदनाम नगरून्‌, झगडालु नहोऊन्‌, बरु व्यावहारिक होऊन्‌ र सबै मानिसहरूसित व्यवहार गर्दा नम्रता देखाऊन्‌। ३  किनकि कुनै समय हामी पनि अबुझ, अनाज्ञाकारी, बहकिएका, विभिन्न कुइच्छा र सुखविलासको दासत्वमा परेका, खराबी र ईर्ष्या गर्ने, घृणित र एक-अर्कालाई घृणा गर्ने मानिसहरू थियौं। ४  तर मानिसजातिको निम्ति हाम्रा उद्धारक, परमेश्वरको दया र प्रेम प्रकट भयो, ५  अनि उहाँको स्तरबमोजिम हामीले गरेका असल कामहरूको कारण होइन तर उहाँको कृपाद्वारा उहाँले हामीलाई उद्धार गर्नुभयो। जीवन दिने स्नानद्वारा अनि पवित्र शक्तिले* नयाँ बनाएर उहाँले हामीलाई उद्धार गर्नुभयो। ६  हाम्रा उद्धारक येशू ख्रीष्टमार्फत उहाँले यो पवित्र शक्ति हामीमाथि प्रचुर मात्रामा खन्याउनुभयो, ७  ताकि उहाँको असीम अनुग्रहले गर्दा परमेश्वरको नजरमा असल ठहरिसकेपछि हाम्रो आशाअनुसारै अनन्त जीवनको उत्तराधिकारी बन्न सकौं। ८  यो कुरा विश्वासयोग्य छ अनि यी कुराको विषयमा तिमी सधैं विश्वस्त भएर बोलिरहेको म चाहन्छु, ताकि ज-जसले परमेश्वरमा विश्वास गरेका छन्‌, तिनीहरूले आफ्नो ध्यान असल कामहरूमा लगाइरहन सकून्‌। यी कुराहरू मानिसहरूका लागि असल र फाइदाजनक छन्‌। ९  तर मूर्ख सवालजबाफ, वंशावलीको खोजीनीति, कलह अनि मोशाको व्यवस्थाको विषयमा झगडा गर्नदेखि टाढै बस, किनकि त्यसबाट कुनै फाइदा हुँदैन, ती बेकारका कुराहरू हुन्‌। १०  कुनै मानिसले गुटबन्दीलाई प्रश्रय दिन्छ भने उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि पनि चेतावनी दिइसकेपछि ऊसित कुनै सरोकार नराख, ११  यो जानेर कि यस्तो मानिस सत्यको मार्गबाट तर्केको छ अनि उसले पाप गरिरहेको छ र आफूले आफैलाई दोषी ठहराइरहेको छ। १२  मैले अर्तिमास वा टाइकिकसलाई तिमीकहाँ पठाएपछि, मकहाँ निकोपोलिस आउन सक्दो प्रयास गर, किनकि मैले हिउँद त्यहीं काट्ने निधो गरेको छु। १३  जीनस, जो मोशाको व्यवस्थामा पोख्त छन्‌, तिनी र अपोल्लसका लागि यात्राको सम्पूर्ण बन्दोबस्त मिलाइदिन भरमग्दुर गर, ताकि तिनीहरूलाई कुनै कुराको अभाव नहोस्। १४  तर तिनीहरूका लागि अत्यावश्यक कुराहरू प्रबन्ध गरिदिन हाम्रा मानिसहरूले पनि असल काम गर्न सिकून्‌, ताकि तिनीहरू निष्फल नहोऊन्‌। १५  मसित भएकाहरू सबैले तिमीलाई अभिवादन पठाएका छन्‌। हामीप्रति स्नेहभाव राख्ने, विश्वासमा भएकाहरूलाई मेरो अभिवादन छ भनिदेऊ। परमेश्वरको असीम अनुग्रह तिमीहरू सबैमाथि रहोस्।

फुटनोटहरू

ती ३:५ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।