अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

गलाती ६:१-१८

 भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चालिहाल्यो भने पनि तिमीहरू जो परिपक्व छौ, आफू पनि परीक्षामा नपर्न होसियार हुँदै नम्रताको मनोभावले यस्तो मानिसलाई सच्याउने कोसिस गर। २  एक-अर्काको बोझ बोक्ने गर र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। ३  किनकि यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको हुन्छ। ४  तर हरेकले आफ्नो काम जाँचोस्, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ। ५  किनकि हरेकले आफ्नो भारी आफै बोक्नेछ। ६  साथै, जसले मौखिक शिक्षा पाइरहेको छ, उसले यस्तो मौखिक शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्। ७  नबहकिओ: परमेश्वरलाई झुक्क्याउन सकिंदैन। किनकि मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ; ८  किनकि जसले शरीरको लागि छर्दैछ, उसले आफ्नो शरीरबाट विनाशको कटनी गर्नेछ तर जसले पवित्र शक्तिको लागि छर्दैछ, उसले पवित्र शक्तिबाट अनन्त जीवनको कटनी गर्नेछ। ९  त्यसैले आओ, हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं। १०  त्यसैले समय अनुकूल छँदै आओ, हामी सबैको भलाइ गरौं, अझ विशेष गरी एउटै विश्वास हुने हाम्रा भाइबहिनीहरूको। ११  हेर, मैले आफ्नै हातले कत्ति ठूलठूला अक्षरहरूमा यो चिठी लेखेको छु। १२  जो देखावटी रूपमा मानिसहरूलाई खुसी पार्न चाहन्छन्‌, तिनीहरू नै तिमीहरूलाई खतना गराउन कर गर्ने मानिसहरू हुन्‌। ख्रीष्ट येशूको यातनाको खम्बाको* खातिर खेदो सहन नपरोस् भनेर मात्र तिनीहरूले त्यसो गरेका हुन्‌। १३  किनकि खतना गराउनेहरू आफैले पनि मोशाको व्यवस्था पालन गर्दैनन्‌ तर तिमीहरूको विषयमा घमन्ड गर्न सकौं भनेर तिमीहरूले चाहिं खतना गरेको तिनीहरू चाहन्छन्‌। १४  हाम्रा प्रभु येशू ख्रीष्टको यातनाको खम्बाबाहेक अरू कुनै कुरामा मैले कहिल्यै घमन्ड गर्न नपरोस्। उहाँद्वारै संसार मेरो नजरमा टाँगिएको छ अनि म संसारको नजरमा। १५  किनकि न खतना गर्नु महत्त्वपूर्ण कुरा हो न त खतना नगर्नु नै, तर नयाँ सृष्टि महत्त्वपूर्ण कुरा हो। १६  यस नियमबमोजिम ठीकसित चल्नेहरू जति सबैमाथि अर्थात्‌ परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा होस्। १७  त्यसैले आइन्दा कसैले मलाई दुःख नदेओस्, किनकि म येशूको दास हुँ भनी चिनाउने डाम मेरो शरीरमा छ। १८  भाइहरू हो, तिमीहरूले देखाउने मनोभावमा हाम्रा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्। आमिन।

फुटनोटहरू

गला ६:१२ * अतिरिक्त लेख ६ हेर्नुहोस्।