सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

गलाती २:१-२१

 त्यसको चौध वर्षपछि बर्णाबाससित म फेरि यरूशलेम उक्लें अनि तीतसलाई पनि आफूसँगै लगें।  मलाई यरूशलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएको थिएँ। अनि आफूले अन्यजातिका मानिसहरूलाई प्रचार गर्दै गरेको सुसमाचारबारे मैले त्यहाँका गण्यमान्य पुरुषहरूलाई मात्र बताएँ। किनकि कतै आफू बेकारमा दौडधूप गरिरहेको छु कि अथवा बेकारमा दौडधूप गरें कि भन्ने मलाई डर थियो।  यद्यपि, मसँगै गएका तीतस ग्रीक भए तापनि उनलाई समेत तिनीहरूले खतना* गर्न कर गरेनन्‌।  तर ख्रीष्टको चेलाको नाताले हामीले पाइरहेको स्वतन्त्रतालाई नोक्सान पुऱ्याउन मण्डलीभित्र सुटुक्क घुसेका झूटा भाइहरू जो हामीलाई पूरै आफ्नो दास बनाउन चाहन्थे,  तिनीहरू सामु, अहँ हामी एकछिन पनि झुकेनौं। किनकि सुसमाचारको सत्यलाई तिमीहरूले पक्रिरहो भन्ने हामी चाहन्थ्यौं।  तर जहाँसम्म गण्यमान्य भनी चिनिएका ती मानिसहरूको कुरा छ, तिनीहरूले वास्तवमा मलाई कुनै नयाँ कुरा बताएनन्‌। तिनीहरू पहिले जे-जस्तै भए तापनि मलाई केही फरक पर्दैन, किनकि परमेश्वरले मानिसको बाहिरी रूप हेर्नुहुन्न।  तर त्यसो नभई, खतना भएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी पत्रुसलाई सुम्पिइएजस्तै खतना नभएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी मलाई सुम्पिइएको छ भनी जब तिनीहरूले देखे,  (किनकि खतना भएकाहरूको प्रेषित बन्न पत्रुसलाई जसले अख्तियार दिनुभयो, उहाँले नै मलाई अन्यजातिका मानिसहरूको प्रेषित बन्न अख्तियार दिनुभयो।)  हो, ममाथि देखाइएको यस असीम अनुग्रहबारे जब तिनीहरूले थाह पाए, तब मण्डलीका खम्बाहरू ठानिएका याकूब, केफास अनि यूहन्नाले बर्णाबास र मसित हात मिलाउँदै, हामी अन्यजातिका मानिसहरूकहाँ जाने अनि तिनीहरूचाहिं खतना भएका मानिसहरूकहाँ जाने सहमति जनाए। १०  तिनीहरूले यति मात्र भने कि गरिब भाइहरूको ख्याल गर्नू। अनि मैले त्यसै गर्ने पूरापूर कोसिस गरेको छु। ११  तथापि, जब केफास एन्टिओक आए, तिनकै सामने मैले तिनको विरोध गरें, किनकि तिनी दोषी थिए। १२  किनभने याकूबका मानिसहरू आउनुअघि तिनी अन्यजातिका मानिसहरूसित खान्थे तर जब तिनीहरू आए तब खतना भएका मानिसहरूसित डराएर तिनी अन्यजातिका मानिसहरूदेखि पर-पर सरेर सङ्‌गतै गर्न छाडे। १३  यो देखेर अरू यहूदीहरूले पनि तिनले जस्तै देखावटी व्यवहार गर्न थाले। यहाँसम्म कि तिनीहरूको लहैलहैमा लागेर बर्णाबासले समेत त्यस्तै देखावटी व्यवहार गरे। १४  जब मैले यी मानिसहरूलाई सुसमाचारको सत्यबमोजिम ठीकसित चलिरहेको देखिनँ तब तिनीहरू सबैको सामने केफासलाई यसो भनें: “यदि तपाईं यहूदी भएर पनि यहूदीहरू जस्तो नभई अन्यजातिका मानिसहरू जस्तो गरी चल्नुहुन्छ भने तपाईंले अन्यजातिका मानिसहरूलाई यहूदी रीतिरिवाजबमोजिम चल्न बाध्य पार्न कसरी मिल्छ र?” १५  हामी जो जन्मजात यहूदी हौं र अन्यजातिका पापीहरू होइनौं १६  हामीलाई यो थाह छ कि, मानिस व्यवस्था पालन गरेर होइन तर ख्रीष्ट येशूमाथि विश्वास गरेर मात्र परमेश्वरको नजरमा असल ठहरिन्छ। हामीले पनि ख्रीष्ट येशूमाथि यो कारणले विश्वास राखेका छौं, ताकि ख्रीष्टमाथि राखेको विश्वासले गर्दा हामी परमेश्वरको नजरमा असल ठहरिन सकौं, व्यवस्था पालन गरेकोले त होइन, किनकि व्यवस्था पालन गरेर कोही मानिस परमेश्वरको नजरमा असल ठहरिन सक्दैन। १७  अब यदि हामी जो ख्रीष्टद्वारा परमेश्वरको नजरमा असल ठहरिने कोसिस गर्दैछौं, हामी नै पापी ठहरियौं भने के वास्तवमा ख्रीष्टले नै पाप गर्न प्रोत्साहन दिइरहनुभएको हुँदैन र? त्यस्तो कहिल्यै नहोस्! १८  किनकि जुन कुरा मैले भत्काइसकें, त्यसलाई फेरि बनाउन थालें भने म आफैलाई अपराधी साबित गरिरहेको हुन्छु। १९  जहाँसम्म मेरो कुरा छ, म व्यवस्थाद्वारा व्यवस्थाको नजरमा मरिसकें ताकि परमेश्वरको निम्ति म जीवित हुन सकूँ। २०  खीष्टसँगै म टाँगिएको छु; त्यसैले अब म जिउँदो छैन तर ख्रीष्ट ममा जीवित हुनुहुन्छ। भनौं भने, अहिले म जुन जीवन जिइरहेको छु, त्यो परमेश्वरको छोरामाथि विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। २१  म परमेश्वरको असीम अनुग्रहलाई पन्छयाउँदिनँ। किनकि यदि व्यवस्था पालन गरेरै परमेश्वरको नजरमा असल ठहरिने भए ख्रीष्ट वास्तवमा बेकारमा मर्नुभयो।

फुटनोटहरू

लूका १:५९ को फुटनोट हेर्नुहोस्।