अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

कलस्सी ३:१-२५

 यदि तिमीहरू ख्रीष्टसितै ब्यूँताइएका थियौ भने माथिका कुराहरू खोजिरहो, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बस्नुभएको छ। २  तिमीहरू माथिका कुराहरूमा ध्यान देओ, पृथ्वीका कुराहरूमा होइन। ३  किनकि तिमीहरू मरिसक्यौ र परमेश्वरको इच्छाअनुसार ख्रीष्टमा तिमीहरूको जीवन लुकाइएको छ। ४  जब हाम्रो जीवनको अर्थात्‌ ख्रीष्टको महिमा प्रकट हुनेछ, तब उहाँसँगै तिमीहरूको महिमा पनि प्रकट हुनेछ। ५  त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच, जो मूर्तिपूजा हो। ६  यिनै कुराहरूले गर्दा परमेश्वरको क्रोध आउँदैछ। ७  कुनै समय तिमीहरू पनि यिनै कुराहरू गर्थ्यौ। ८  तर अब यी सबै कुराहरूबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी, दुर्वचन, अनि तिमीहरूको मुखबाट निस्कने अश्‍लील बोली। ९  एक-अर्कालाई नढाँट। पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ १०  अनि परमेश्वरले दिनुहुने नयाँ व्यक्तित्व धारण गर, अर्थात्‌ आफ्नो व्यक्तित्वलाई सही ज्ञानद्वारा परमेश्वरको प्रतिरूपअनुसारको नयाँ बनाओ, ११  जसमा न कोही ग्रीक हुन्छ, न कोही यहूदी, न खतनावाल, न बेखतना, न विदेशी, न सिथियन,* न दास, न स्वतन्त्र मानिस, तर ख्रीष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ। १२  त्यसैगरि, परमेश्वरका चुनिएका, पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर। १३  यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर। १४  तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो। १५  साथै, ख्रीष्टको शान्तिले तिमीहरूको मनलाई नियन्त्रण गरोस्, किनकि तिमीहरू एउटै शरीर बनोस् भनेर वास्तवमा यसैको निम्ति बोलाइएका थियौ। अनि तिमीहरू कृतज्ञ छौ भनी देखाओ। १६  ख्रीष्टको वचनले तिमीहरूमा प्रशस्त गरी बास गरोस् र यसरी तिमीहरू सारा बुद्धिले परिपूर्ण होओ। तिमीहरू भजन, परमेश्वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाएर एक-अर्कालाई सिकाउँदै र सम्झाउँदै गर अनि मनमनै यहोवाको निम्ति गाइरहो। १७  तिमीहरू जे बोल्छौ वा गर्छौ, सबै कुरा प्रभु येशूको नाममा गर अनि उहाँद्वारा परमेश्वर, हाम्रा बुबालाई धन्यवाद चढाइरहो। १८  हे पत्नीहरू हो, आ-आफ्नो पतिको अधीनमा बस, किनकि ख्रीष्टका चेलाहरूले यसै गर्नु उचित हो। १९  हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ। २०  हे छोराछोरीहरू हो, सबै कुरामा आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ, किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ। २१  हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्‌। २२  हे दासहरू हो, सबै कुरामा पृथ्वीमा तिमीहरूका आ-आफ्ना मालिकहरूप्रति आज्ञाकारी होओ, मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको सामुन्ने मात्र होइन तर यहोवाको डर मान्दै निष्कपट मनले त्यसो गर। २३  चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तै गरी होइन तर यहोवाको लागि जस्तै गरी तनमनले गर, २४  किनकि तिमीहरूलाई थाह छ, यहोवाले नै तिमीहरूलाई त्यस उत्तराधिकारको उचित इनाम दिनुहुनेछ। आफ्नो मालिक ख्रीष्टको दास बनेर सेवा गर। २५  जसले गल्ती गर्छ, उसले पक्कै पनि आफ्नो गल्तीको सजाय पाउनेछ अनि कुनै पक्षपात हुनेछैन।

फुटनोटहरू

कल ३:५ * अतिरिक्त लेख ४ हेर्नुहोस्।
कल ३:११ * “सिथियन” शब्दले अति असभ्य मानिसहरूलाई पनि बुझाउँथ्यो।