कलस्सी १:१-२९
१ परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेषित* बनेको म पावल अनि हाम्रा भाइ तिमोथी
२ कलस्सीका पवित्र जन तथा विश्वासी भाइहरू, जो ख्रीष्टसित एकतामा छन्, उनीहरूलाई यो पत्र लेख्दैछौं:
परमेश्वर, हाम्रा बुबाबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
३ तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी सधैं हाम्रा प्रभु येशू ख्रीष्टका बुबा, हाम्रा परमेश्वरलाई धन्यवाद दिन्छौं,
४ किनकि तिमीहरूले ख्रीष्ट येशूमाथि राखेको विश्वास अनि पवित्र जनहरूतर्फ देखाएको प्रेमबारे हामीले सुन्यौं।
५ तिमीहरूले यो विश्वास त्यस आशाले गर्दा राख्यौ, जुन तिमीहरूको निम्ति स्वर्गमा साँचिएको छ अनि यस आशाबारे तिमीहरूले तब सुन्यौ, जब सत्य अर्थात् त्यो सुसमाचार सुनाइयो।
६ त्यो सुसमाचार तिमीहरूकहाँ पनि आइपुग्यो। त्यो सुसमाचार सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि फलाइरहेको छ अनि तिमीहरूले परमेश्वरको असीम अनुग्रहबारे सत्य कुरा सुनेर ठीकसित बुझेको दिनदेखि तिमीहरूमाझ पनि त्यस्तै भइरहेको छ।
७ तिमीहरूले इपाफ्रासबाट यही कुरा सुन्यौ, जो हाम्रा प्रिय सँगी दास अनि हाम्रो तर्फबाट ख्रीष्टका वफादार सेवक हुन्।
८ पवित्र शक्तिले तिमीहरूमा उत्पन्न गरेको प्रेमबारे पनि तिनले हामीलाई बताए।
९ यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौं र तिमीहरूले सारा बुद्धि पाउनुका साथै पवित्र शक्तिद्वारा प्राप्त हुने समझ पाओस् अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओस् भनेर हामीले बिन्ती गरिरहेका छौं।
१० अनि यहोवाको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूरै प्रसन्न बनाउन सकोस्, साथै हर किसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओस्,
११ उहाँको महिमित तागतबाट ठूलो बल पाएर तिमीहरूले सबै कुरा सहन सकोस् अनि तिमीहरू धीरजी र आनन्दित होओस्,
१२ अनि तिमीहरूले हाम्रा बुबालाई धन्यवाद चढाइरहोस् भनेर पनि हामी बिन्ती गरिरहेका छौं, जसले तिमीहरूलाई ज्ञानको ज्योति पाएका पवित्र जनहरूले हासिल गर्ने उत्तराधिकारको हिस्सेदार हुन योग्य बनाउनुभयो।
१३ उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो,
१४ जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौं अर्थात् हामीले आफ्ना पापहरूको क्षमा पायौं।
१५ उहाँ अदृश्य परमेश्वरको प्रतिरूप अनि सारा सृष्टिमध्ये जेठो सन्तान हुनुहुन्छ,
१६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती थोकहरू दृश्य हुन् वा अदृश्य, अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्। अरू सबै थोक उहाँद्वारै अनि उहाँकै निम्ति सृष्टि भएका हुन्।
१७ साथै, अरू सबै थोकभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो अनि उहाँद्वारै अरू सबै थोक अस्तित्वमा ल्याइयो,
१८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ। उहाँ सुरुवात अनि मृत्युबाट सबैभन्दा पहिले ब्यूँतनुभएको जेठो सन्तान हुनुहुन्छ। यसप्रकार उहाँ सबै थोकहरूमा पहिलो हुनुहुन्छ।
१९ किनकि परमेश्वरलाई यही असल लाग्यो, कि उहाँ सबै थोकमा पूर्ण होस्
२० र उहाँले यातनाको खम्बामा* बगाउनुभएको रगतद्वारा शान्ति कायम होस् अनि चाहे पृथ्वीका हुन् वा स्वर्गका, अरू सबै थोक उहाँद्वारै आफूसित फेरि मिलापमा होस्।
२१ हो, एक समय तिमीहरू परमेश्वरको शत्रु अनि उहाँबाट टाढा थियौ, किनकि तिमीहरूले आफ्नो दिमाग दुष्ट कामहरूमा लगाएका थियौ,
२२ तर तिमीहरूलाई पवित्र, निष्खोट अनि निर्दोष मानिसहरूको रूपमा आफूसामु प्रस्तुत गर्न सकियोस् भनेर परमेश्वरले ख्रीष्ट, जसले आफूलाई मृत्युको निम्ति सुम्पनुभयो, उहाँको शरीरद्वारा तिमीहरूलाई आफूसित फेरि मिलाप गराउनुभयो।
२३ तथापि, यसका लागि तिमीहरू आफ्नो विश्वासमा अटल हुनुका साथै विश्वासको जगमा दृढ अनि स्थिर हुनुपर्छ र आफूले सुनेको सुसमाचारले दिएको आशादेखि तर्कनुहुँदैन। यो सुसमाचार आकाशमुनि भएका सबै मानिसहरूमाझ प्रचार भयो अनि म पावल, यही सुसमाचारको सेवक भएँ।
२४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखकष्टमा रमाइरहेको छु अनि ख्रीष्टको शरीर अर्थात् मण्डलीको निम्ति भोग्नुपर्ने सङ्कष्टमा जुन कमी थियो, त्यसलाई आफ्नो शरीरमा भोगेर पूरा गर्दैछु।
२५ परमेश्वरले मलाई दिनुभएको भण्डारेको जिम्मेवारीबमोजिम म यस मण्डलीको सेवक भएँ, ताकि तिमीहरूको हितको लागि परमेश्वरको वचन पूर्णतया प्रचार गर्न सकूँ।
२६ त्यो पवित्र रहस्य, जुन युगौंयुग अनि पुस्तौंपुस्तादेखि लुकाइराखिएको थियो, तर अब भने उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ,
२७ अनि तिनीहरूसामु यस पवित्र रहस्यको महिमा अनि धन राष्ट्र-राष्ट्रका मानिसहरूमाझ प्रकट गर्न परमेश्वरलाई असल लाग्यो। यो रहस्य, ख्रीष्ट तिमीहरूसित एकतामा हुनु अर्थात् उहाँसितै महिमित हुने तिमीहरूको आशा हो।
२८ उहाँ उही हुनुहुन्छ, जसको हामी प्रचार गर्दैछौं, अर्थात् हरेक मानिसलाई ख्रीष्टको परिपक्व चेलाको रूपमा परमेश्वरसामु प्रस्तुत गर्न सकियोस् भनेर हरेक मानिसलाई हामी सारा बुद्धिसहित सिकाउँदै अनि सम्झाउँदैछौं।
२९ यही काम पूरा गर्न म कडा परिश्रम गर्दैछु अनि उहाँले मलाई दिनुभएको शक्तिको मदतद्वारा सङ्घर्ष गर्दैछु।