सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

एफिसी ६:१-२४

 हे छोराछोरीहरू हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ, किनकि परमेश्वरको नजरमा यो असल छ। २  “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू,” जुन प्रतिज्ञासहितको पहिलो आज्ञा हो: ३  “ताकि तिम्रो भलो होस् र पृथ्वीमा तिम्रो आयु लामो होस्।” ४  अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, बरु यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ। ५  हे दासहरू हो, ख्रीष्टप्रति आज्ञाकारी भएजस्तै डर अनि आदरसहित तिमीहरूका मानव मालिकहरूप्रति निष्कपट मनले आज्ञाकारी होओ। ६  मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको सामुन्ने मात्र होइन तर ख्रीष्टको दासको रूपमा तनमनले परमेश्वरको इच्छा पूरा गर। ७  मानिसको लागि जसरी होइन तर यहोवाका लागि जस्तै गरी तिमीहरू असल मनसाय भएको दास बन, ८  किनकि तिमीहरूलाई थाह छ, चाहे दास होस् वा स्वतन्त्र मानिस, यदि कसैले असल काम गर्छ भने उसले यहोवाबाट इनाम पाउनेछ। ९  त्यसैगरि, हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर। उनीहरूलाई धम्काउन छोड, किनकि उनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ र उहाँले कसैको पक्षपात गर्नुहुन्न भनेर तिमीहरूलाई थाह छ। १०  अन्तमा, प्रभुको चेलाको नाताले तिमीहरू उहाँबाट अनि उहाँको पराक्रमी शक्तिबाट तागत हासिल गरिरहो। ११  परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर, ताकि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा हुन सकोस्, १२  किनकि हाम्रो यो लडन्त मानिसहरूसित* होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित हो। १३  यसकारण, परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार लेओ, ताकि तिमीहरूले त्यस खराब दिनको सामना गर्न सकोस् र तिमीहरूले सबै काम राम्ररी गरिसकेपछि दृढ भई खडा हुन सकोस्। १४  त्यसैले सत्यले आफ्नो कम्मर कसेर, परमेश्वरको स्तरबमोजिमको असल कामको कवच लगाएर १५  अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता लगाएर तिमीहरू दृढ भई खडा होओ। १६  सबैभन्दा मुख्य कुरा, विश्वासको ठूलो ढाल लेओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका* सबै अग्निबाणहरू निभाउन सक्नेछौ। १७  साथै, मुक्तिको टोप लगाओ अनि पवित्र शक्तिको तरबार अर्थात्‌ परमेश्वरको वचन पनि भिर। १८  यसबाहेक, हरकिसिमका प्रार्थना अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्तिद्वारा हरबखत प्रार्थना गरिरहो। यो कुरा मनमा राख्दै तिमीहरू निरन्तर जागा बस र सबै पवित्र जनहरूका निम्ति उत्कट बिन्ती चढाओ १९  अनि मेरो निम्ति पनि, ताकि मैले आफ्नो मुख खोलेर निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ। २०  त्यही सुसमाचारको निम्ति म साङ्लाले बाँधिएको राजदूतको रूपमा सेवा गर्दैछु; त्यसैगरि, मैले जे बोल्नुपर्ने हो, साहसी भई बोल्न सकूँ भनेर पनि तिमीहरूले प्रार्थना गर। २१  जहाँसम्म मेरो परिस्थितिको कुरा छ, म के गर्दैछु, त्यस विषयमा हाम्रा प्रिय भाइ अनि प्रभुका वफादार सेवक टाइकिकसले तिमीहरूलाई सबै कुरा थाह दिनेछन्‌। २२  यही उद्देश्यले म तिनलाई तिमीहरूकहाँ पठाउँदैछु, ताकि तिमीहरूले हाम्रो विषयमा थाह पाउनुका साथै तिनले तिमीहरूको मनलाई सान्त्वना पनि दिऊन्‌। २३  परमेश्वर, हाम्रा बुबाका साथै येशू ख्रीष्ट, हाम्रा प्रभुबाट भाइहरूले विश्वाससँगसँगै शान्ति अनि प्रेम पाऊन्‌। २४  हाम्रा प्रभु येशू ख्रीष्टलाई अविनाशी प्रेम गर्नेजति सबैमाथि परमेश्वरको असीम अनुग्रह रहोस्।

फुटनोटहरू

एफि ६:१२ * शाब्दिक, “रगत र मासुसित।”
एफि ६:१६ * अर्थात्‌, “सैतानका।”