अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

एफिसी ५:१-३३

 त्यसैले, प्यारा केटाकेटीहरूझैं परमेश्वरको देखासिकी गर्नेहरू होओ, २  अनि जसरी ख्रीष्टले तिमीहरूलाई प्रेम गर्नुभयो र तिमीहरूको निम्ति आफूलाई मीठो बास्ना भएको भेटी अनि बलिदानको रूपमा परमेश्वरसामु अर्पण गर्नुभयो, त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिंडिरहो। ३  जस्तो कि पवित्र जनहरूलाई पनि सुहाउँछ, तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्; ४  निर्लज्ज आचरण, मूर्खताले भरिएको कुराकानी, अश्‍लील ठट्टा पनि तिमीहरूमाझ नहोस्, किनकि यस्ता कुराहरूले शोभा दिंदैन, बरु तिमीहरू धन्यवाद दिने गर। ५  किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ, कि अवैध यौनसम्बन्ध राख्ने वा अशुद्ध काम गर्ने वा लोभी, जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कसैले पनि ख्रीष्ट अनि परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैनन्‌। ६  कुनै मानिसले तिमीहरूलाई खोक्रा वचनहरूद्वारा नबहकाओस्, किनभने माथि भनिएका कुराहरूले गर्दा अनाज्ञाकारी सन्तानहरूमाथि परमेश्वरको क्रोध आउँदैछ। ७  तसर्थ, तिनीहरूका कामको हिस्सेदार नबन; ८  किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रीष्टसित एकतामा भएकोले तिमीहरू अहिले ज्योतिमा छौ। त्यसैले ज्योतिका सन्तानहरूझैं चल, ९  किनकि हरकिसिमका भलाइ, परमेश्वरको स्तरबमोजिमको असल काम अनि सत्य नै ज्योतिको फल हो। १०  प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो; ११  अनि तिनीहरूले गर्ने अन्धकारका निष्फल कामहरूमा भाग लिन छोड, बरु तिनीहरूलाई हप्काओ, १२  किनकि तिनीहरू गुप्तमा जे गर्छन्‌, त्यो बताउनसमेत लाजमर्दो छ। १३  जति पनि कुराहरू पर्दाफास भएका छन्‌, ज्योतिले गर्दा नै ती प्रकट भएका हुन्‌, किनकि प्रकट भएको हरेक कुरा ज्योति हो। १४  त्यसैले परमेश्वर भन्नुहुन्छ:* “ए सुतुवा, जाग अनि मृत्युबाट ब्यूँत, तब ख्रीष्टले तिमीमाथि ज्योति छर्नुहुनेछ।” १५  त्यसैले कसरी हिंडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान्‌ मानिस जसरी हिंड, १६  समयको पूर्ण सदुपयोग गर,* किनभने हामी खराब समयमा बाँचिरहेका छौं। १७  यसकारण अव्यावहारिक हुन छोड, बरु यहोवाको इच्छा के हो, सो बुझ। १८  साथै, मद्य पिएर नमात्तिओ, किनकि त्यसले दुराचारी बनाउँछ, बरु तिमीहरू पवित्र शक्तिले भरिओ, १९  तिमीहरू आपसमा भजन, परमेश्वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाओ अनि मनमनै यहोवाको भजन गुनगुनाओ। २०  साथै, हाम्रा परमेश्वर अनि बुबालाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा सबै कुराका लागि सधैं धन्यवाद चढाइरहो। २१  ख्रीष्टको डर मान्दै एक-अर्काको अधीनमा बस। २२  ख्रीष्टको अधीनमा बसेजस्तै पत्नीहरू आ-आफ्नो पतिको अधीनमा बसून्‌, २३  किनकि पत्नीको शिर पति हो, जसरी ख्रीष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर अनि उद्धारक हुनुहुन्छ। २४  भनौं भने, मण्डली ख्रीष्टको अधीनमा बसेजस्तै पत्नीहरू पनि सबै कुरामा आ-आफ्नो पतिको अधीनमा बसून्‌। २५  हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, २६  ताकि त्यसलाई परमेश्वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस् २७  र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्, बरु पवित्र अनि निष्खोट होस्। २८  त्यसैगरि, पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ, २९  किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन, बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रीष्टले पनि मण्डलीलाई गर्नुहुन्छ, ३०  किनभने हामी सबै उहाँकै शरीरका अङ्ग हौं। ३१  “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ अनि आफ्नी पत्नीसित बस्नेछ*ती दुई एउटै शरीर हुनेछन्‌।” ३२  यो पवित्र रहस्य महान्‌ छ। यो कुरा म ख्रीष्ट र मण्डलीको सन्दर्भमा भन्दैछु। ३३  तथापि, तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्।

फुटनोटहरू

एफि ५:१४ * वा, “त्यसले भन्छ,” अर्थात्‌ धर्मशास्त्रले।
एफि ५:१६ * शाब्दिक, “आफ्नो निम्ति समय किन।”
एफि ५:३१ * यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई बुझाउँछ।