अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

एफिसी २:१-२२

 यसबाहेक परमेश्वरले जीवित पार्नुभएका मानिसहरू तिमीहरू नै हौ, किनकि तिमीहरू आफ्ना अपराध अनि पापहरूले गर्दा मरिसेकका थियौ। २  तिमीहरू कुनै बेला यस युगका मानिसहरूझैं अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको इच्छाबमोजिम चल्थ्यौ, जुन मनोभावले अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको छ। ३  हो, तिनीहरूजस्तै कुनै बेला हामी पनि शरीरका कुइच्छाहरूबमोजिम चल्थ्यौं र हाम्रो शरीर अनि सोचविचारले जे गर्न लगाउँथ्यो, त्यसै गर्थ्यौं। यसरी अरू मानिसहरूजस्तै हामी पनि जन्मैदेखि क्रोधका सन्तान भएका थियौं। ४  तर हामीप्रतिको गहिरो प्रेमले गर्दा कृपाका धनी परमेश्वरले ५  हामी आफ्ना अपराधहरूले गर्दा मरिसकेको भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रीष्ट येशूसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो। ६  अनि हामी ख्रीष्ट येशूसित एकतामा भएकोले परमेश्वरले उहाँसँगै हामीलाई पनि ब्यूँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो, ७  ताकि आउँदै गरेको युगमा आफ्नो असीम अनुग्रहको महानता प्रकट होस्। हामी ख्रीष्ट येशूसित एकतामा भएकोले उहाँले हामीमाथि कृपा गरी त्यस्तो अनुग्रह देखाउनुहुनेछ। ८  हो, यही असीम अनुग्रहले गर्दा विश्वासद्वारा तिमीहरूको उद्धार भएको छ; अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन, यो त परमेश्वरको वरदान हो। ९  अहँ, यस्तो उद्धार तिमीहरूको कामले गर्दा भएको पनि होइन, नत्र त मानिसले घमन्ड गर्ने कारण पाउनेछ। १०  किनकि हामी उहाँको कामका उपज हौं। हामी ख्रीष्ट येशूसित एकतामा भएकोले उहाँले हामीलाई असल कामका लागि सृष्टि गर्नुभयो, जुन काम हामीले गरोस् भनेर उहाँले पहिल्यै तय गरिसक्नुभएको थियो। ११  त्यसैले, नबिर्स, कुनै बेला तिमीहरू जन्मैदेखि अन्यजातिका मानिसहरू थियौ अनि मानव हातद्वारा शरीरमा “खतना* भएकाहरूले” तिमीहरूलाई “खतना नभएकाहरू” भनी बोलाउँथे। १२  त्यतिखेर तिमीहरूले ख्रीष्टलाई चिनेका थिएनौ, तिमीहरू इस्राएल राष्ट्रदेखि टाढा थियौ, अपरिचित जाति भएकोले प्रतिज्ञाको करारमा तिमीहरूको कुनै हिस्सा थिएन अनि संसारमा तिमीहरूसित कुनै आशा थिएन र तिमीहरूले परमेश्वरलाई चिनेका पनि थिएनौ। १३  तर अहिले भने ख्रीष्ट येशूसित एकतामा भएकोले तिमीहरू, जो परमेश्वरदेखि टाढा थियौ, ख्रीष्टको रगतले गर्दा परमेश्वरसित नजिक भएका छौ। १४  ख्रीष्ट नै हाम्रो शान्ति हुनुहुन्छ, किनकि उहाँले दुई समूहलाई एक बनाउनुभयो अनि दुईबीचको पर्खाल भत्काउनुभयो। १५  उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गर्नुभयो, अर्थात्‌ मोशाको व्यवस्था खारेज गर्नुभयो, जसमा आज्ञा अनि आदेशहरू थिए, ताकि यी दुई समूहलाई आफूसित एकतामा गाँसेर एक जना नयाँ मानिस बनाउन र तिनीहरूबीच शान्ति कायम गर्न सकियोस्, १६  अनि आफ्नो शरीरद्वारा शत्रुताको अन्त गरिसक्नुभएकोले यी दुई समूहलाई एउटा सिङ्गो शरीरको रूपमा यातनाको खम्बामार्फत* परमेश्वरसित शान्ति कायम गर्न पूर्णतया मदत गर्न सकियोस्। १७  उहाँ आउनुभयो र तिमीहरू, जो परमेश्वरदेखि टाढा थियौ, तिमीहरूलाई उहाँले शान्तिको सुसमाचार सुनाउनुभयो, त्यसैगरि तिनीहरूलाई पनि, जो परमेश्वरसित नजिक थिए, १८  किनभने हामी दुवै समूहका मानिसहरू एउटै पवित्र शक्तिद्वारा उहाँमार्फत बुबासामु जान सकेका छौं। १९  त्यसैले, अबदेखि तिमीहरू पक्कै पनि अपरिचित जाति अनि परदेशीहरू होइनौ, बरु पवित्र जनहरूको सँगी नागरिक अनि परमेश्वरको घरानाका सदस्यहरू हौ। २०  तिमीहरू प्रेषित अनि भविष्यवक्ताहरूको जगमाथि निर्माण गरिएको भवनसमान छौ, अनि ख्रीष्ट येशूचाहिं त्यही जगको कुनाको शिरढुङ्गो हुनुहुन्छ। २१  उहाँसित एकतामा भएको अनि सम्पूर्ण भाग एक-आपसमा राम्ररी जोडिएको यो भवन यहोवाको पवित्र मन्दिर बन्नको लागि बढ्दैछ। २२  ख्रीष्टसित एकतामा भएकोले तिमीहरूलाई पनि एउटा यस्तो निवासस्थानको रूपमा निर्माण गरिंदैछ, जहाँ परमेश्वर पवित्र शक्तिद्वारा बास गर्नुहुनेछ।

फुटनोटहरू

एफि २:११ लूका १:५९ को फुटनोट हेर्नुहोस्।
एफि २:१६ * अतिरिक्त लेख ६ हेर्नुहोस्।