अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ११०: पावलको नयाँ सहयोगी तिमोथी

कथा ११०: पावलको नयाँ सहयोगी तिमोथी

पावलसित उभिरहेको यो ठिटो तिमोथी हो। उसकी आमाको नाउँ युनिस र बज्यैको नाउँचाहिं लोइस हो। तिमोथी आफ्नो परिवारसित लिस्त्रामा बस्छ।

पावल लिस्त्रामा आएको यो तेस्रो पटक हो। एक वर्षजति अगाडि पावल र बर्णाबास यहाँ प्रचार गर्न पहिलो चोटि आएका थिए। अहिलेचाहिं पावल आफ्नो साथी सिलाससित यहाँ फेरि आएका छन्।

पावल र तिमोथी

चित्रमा हेर त। पावलले तिमोथीलाई के भनिरहेको होला? ‘के तिमी सिलास र मसित आउन चाहन्छौ? हामीलाई टाढा-टाढाका मान्छेहरूलाई प्रचार गर्न तिम्रो मदत चाहिएको छ।’ पावलले तिमोथीलाई यही कुरा भन्दैछ।

तिमोथीले ‘हुन्छ, म जान चाहन्छु’ भन्छ। अनि त्यसको केही समयपछि तिमोथी आफ्नो परिवारलाई छोडेर पावल र सिलाससित जान्छ। तर उनीहरू अब कता जान्छन् भनेर थाह पाउनुअघि यतिका दिनसम्म पावल के गरिरहेका थिए, त्यो पहिले पत्ता लगाऔं है त! यतिखेर, दमीशक जाने बाटोमा उसले येशूको दर्शन पाएको पनि १७ वर्ष भइसक्यो।

तिमीलाई याद छ, पावल येशूका चेलाहरूलाई दुःख दिन भनेर दमीशक जान लागेको थियो? तर अहिले ऊ आफै येशूको चेला भइसकेको छ! उसले त्यसपछि येशूको विषयमा प्रचार गर्न थाल्छ। तर कसै-कसैलाई यो कुरा मन पर्दैन। त्यसकारण उनीहरू पावललाई मार्न खोज्छन्। यो कुरा चाल पाएर अरू चेलाहरूले पावललाई टोकरीमा हालेर सहरको पर्खालबाहिर डोरीबाट तल झारिदिन्छन् र अन्तै भगाइदिन्छन्।

यसपछि पावल एन्टिओकमा प्रचार गर्न जान्छ। यही ठाउँदेखि येशूका चेलाहरूलाई मसीही भनेर बोलाउने चलन सुरु हुन्छ। त्यसपछि पावल र बर्णाबासलाई एन्टिओकबाट अरू टाढा-टाढाको देशमा प्रचार गर्न पठाइन्छ। यसरी उनीहरू प्रचार गर्न पुगेको एउटा सहरको नाउँ लिस्त्रा हुन्छ। हो, यही लिस्त्रामै पावलले तिमोथीलाई भेट्छ।

लगभग एक वर्षपछि पावल दोस्रो पल्ट फेरि लिस्त्रा आइपुग्छ। तिमोथीलाई लिएर पावल र सिलास कहाँ-कहाँ जान्छन्, तिमीलाई थाह छ? नक्सामा हेर त!

उनीहरू सबैभन्दा पहिला नजिकैको आइकोनियम भन्ने ठाउँमा जान्छन्। त्यसपछि एन्टिओक भन्ने अर्कै सहरमा जान्छन्। पछि उनीहरू त्रोआस, फिलिप्पी, थिस्सलोनिका र बिरियासम्म जान्छन्। के तिमीले चित्रमा एथेन्स देख्यौ? पावलले त्यहाँ पनि प्रचार गर्छ। यसपछि उनीहरू कोरिन्थमा प्रचार गर्दै डेढ वर्ष बिताउँछन्। अन्तमा उनीहरू केही समयको लागि एफिसस पनि जान्छन्। त्यसपछि पानी-जहाज चढेर सिजरिया फर्कन्छन् र पावलको घर एन्टिओक जान्छन्।

यसरी तिमोथीले “सुसमाचार” प्रचार गर्न र थुप्रै मसीही मण्डली स्थापना गर्न पावल सँगसँगै हजारौं किलोमिटर यात्रा गर्छ। अलि ठूलो भएपछि के तिमी पनि तिमोथीजस्तै परमेश्वरको विश्वासी सेवक हुन चाहन्छौ?

प्रेरित ९:१९-३०; ११:१९-२६; अध्याय १३ देखि १७ सम्म; १८:१-२२.

नक्सा

1. रोम; 2. माल्टा; 3. बिरिया; 4. थिस्सलोनिका; 5. कोरिन्थ; 6. फिलिप्पी; 7. एथेन्स; 8. क्रेट; 9. त्रोआस; 10. एफिसस; 11. मिलेटस; 12. कलस्सी; 13. एन्टिओक; 14. आइकोनियम; 15. लिस्त्रा; 16. साइप्रस; 17. एन्टिओक; 18. सिजरिया; 19. जोप्पा; 20. दमीशक; 21. यरूशलेम; 22. महासागर (भूमध्य सागर)



प्रश्नहरू

  • चित्रमा देखाइएको यो युवक को हो? ऊ कहाँ बस्छ? उसकी आमा र बज्यैको नाउँ के हो?
  • सिलास र आफूसित धेरै टाढा प्रचार गर्न जान चाहन्छौ भनी पावलले सोध्दा तिमोथीले के जवाफ दिन्छ?
  • येशूका चेलाहरूलाई कुन ठाउँदेखि मसीही भनेर बोलाइन थाल्यो?
  • लिस्त्रा छोडेपछि पावल, सिलास र तिमोथीले यात्रा गरेका केही सहरहरूको नाउँ के हो?
  • तिमोथीले पावललाई कसरी मदत गर्छ र आज केटाकेटीहरूले आफैलाई कस्तो प्रश्न सोध्नुपर्छ?

थप प्रश्नहरू

  • प्रेरित ९:१९-३० पढ्नुहोस्।

    मानिसहरूले सुसमाचार प्रचारको विरोध गर्दा प्रेरित पावलले कसरी विवेक चलायो? (प्रेरि. ९:२२-२५, २९, ३०; मत्ती १०:१६)

  • प्रेरित ११:१९-२६ पढ्नुहोस्।

    प्रेरित ११:१९-२१, २६ ले यहोवाले आफ्नो पवित्र आत्मा चलाउनुभएर प्रचार कार्यलाई डोऱ्याउनुहुन्छ भनेर कसरी देखाउँछ?

  • प्रेरित १३:१३-१६, ४२-५२ पढ्नुहोस्।

    सतावटको कारण चेलाहरू निरुत्साहित भएनन् भनेर प्रेरित १३:५१, ५२ ले कसरी देखाउँछ? (मत्ती १०:१४; प्रेरि. १८:६; १ पत्रु. ४:१४)

  • प्रेरित १४:१-६, १९-२८ पढ्नुहोस्।

    “प्रभुको जिम्मामा सुम्पिदिए” भन्ने वाक्यांशले हामीलाई नयाँ व्यक्तिहरूलाई मदत गर्दा अत्यन्तै चिन्तित नहुन कसरी मदत गर्छ? (प्रेरि. १४:२१-२३; २०:३२; यूह. ६:४४)

  • प्रेरित १६:१-५ पढ्नुहोस्।

    खतना गर्न तिमोथी राजी हुनुले “सुसमाचारको खातिर सब थोक” गर्न तयार हुनु महत्त्वपूर्ण छ भनेर कसरी प्रस्ट हुन्छ? (प्रेरि. १६:३; १ कोरि. ९:२३; १ थिस्स. २:८)

  • प्रेरित १८:१-११, १८-२२ पढ्नुहोस्।

    येशूले व्यक्तिगत तवरमै प्रचार कार्यलाई निर्देशित गरिरहनुभएको छ भनेर प्रेरित १८:९, १० ले कसरी देखाउँछ र यो आज हाम्रो लागि पनि कसरी प्रोत्साहनदायी भएको छ? (मत्ती २८:२०)

अझ बढी सिक्नुहोस्

अरूलाई मदत गर्ने केटो

तिमी पनि तिमोथी जस्तै कसरी खुसी हुन सक्छौ र रमाइलो जीवन बिताउन सक्छौ?