कथा १०८: दमीशक जाने बाटो
भुइँमा लडिरहेको यो मान्छेलाई तिमी चिन्छौ? ऊ शावल हो नि। तिमीलाई याद छ, स्तिफनसलाई ढुंगा हिर्काउने मान्छेहरूको लुगा कुरेर बस्ने मान्छे ऊ त हो नि। उसको वरिपरि कस्तो उज्यालो छ हेर त! यो के भएको होला?
स्तिफनस मरेपछि शावलले येशूका चेलाहरूलाई खोजी-खोजी दुःख दिन थाल्छ। ऊ घर-घर पसेर चेलाहरूलाई घिसार्दै जेलमा हाल्न थाल्छ। त्यसपछि, थुप्रै चेलाहरू भागेर अरू सहरमा जान्छन् र त्यहीं “सुसमाचार” प्रचार गर्न थाल्छन्। त्यसकारण, शावल येशूका चेलाहरू खोज्न अरू सहरमा जान्छ। अहिले ऊ दमीशकतिर जाँदैछ। तर बाटोमा हिंडिरहेको बेला अचम्मको घटना हुन्छ।
अचानक आकाशबाट शावलको वरिपरि ज्योति चम्कन्छ। अनि तिमीले चित्रमा देखेझैं, उज्यालो हेर्न नसकेर शावल भुइँमा पछारिन्छ। अनि ऊ भुइँमा लडिरहेको बेला यस्तो आवाज आउँछ: ‘हे शावल, हे शावल! तिमी मलाई किन दुःख दिन्छौ?’ शावलसँग जाने मान्छेहरूले पनि त्यो ज्योति देख्छन् र आवाज पनि सुन्छन् तर के भनेको बुझ्नचाहिं बुझ्दैनन्।

‘प्रभु, तपाईं को हुनुहुन्छ?’ शावलले सोध्छ।
अनि फेरि यस्तो आवाज सुनिन्छ: ‘म येशू हुँ जसलाई तिमी दुःख दिइरहेछौ।’ येशूले किन यसो भन्नुभएको होला? किनकि शावलले येशूका चेलाहरूलाई दिएको दुःखलाई येशूले आफैलाई दिएको दुःख ठान्नुहुन्छ!
शावलले अब सोध्छ: ‘प्रभु, अब म के गरूँ?’
येशू यसो भन्नुहुन्छ: ‘उठ र दमीशक जाऊ। तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई त्यहीं बताइनेछ।’ त्यसपछि उठेर आफ्नो आँखा खोल्दा शावलले केही देख्नै सक्दैन। ऊ अन्धो पो हुन्छ! उसँगै आएका अरू मान्छेहरूले उसको हात समातेर उसलाई दमीशक लैजान्छन्।
येशूले त्यसपछि दमीशकमा बस्ने आफ्नो एक जना चेलालाई यसो भन्नुहुन्छ: ‘हननिया, उठ। सीधा भन्ने बाटोमा जाऊ। त्यहाँ यहूदाको घरमा शावल नाउँ गरेको मान्छेलाई खोज। मैले उसलाई आफ्नो विशेष सेवक बनाउन छानेको छु।’
हननियाले त्यसै गर्छ। शावललाई भेटेपछि हननियाले शावलमाथि आफ्नो हात राख्छ र भन्छ: ‘तिमीले फेरि देख्न सकोस् अनि तिमीले पनि पवित्र आत्मा पाओस् भनेर प्रभुले मलाई तिमीकहाँ पठाउनुभएको हो।’ तुरुन्तै चिप्रा जस्तो कुन्नि के हो शावलको आँखाबाट खस्छ र उसले फेरि देख्न थाल्छ।
त्यसपछि शावलले कस्सिएर धेरै ठाउँका मान्छेहरूलाई प्रचार गर्छ। ऊ पछि प्रेरित पावल बन्छ। उसको विषयमा पनि हामी धेरै कुरा सिक्नेछौं। तर त्योभन्दा पहिले परमेश्वरले पत्रुसलाई के गर्न पठाउनुहुन्छ, त्यो थाह लगाऔं।
प्रेरित ८:१-४; ९:१-२०; २२:६-१६; २६:८-२०.
प्रश्नहरू
- स्तिफनस मरिसकेपछि शाऊलले के गर्छ?
- दमीशक जाने बाटोमा कस्तो अचम्मको घटना हुन्छ?
- येशूले शाऊललाई के गर्न अह्राउनुहुन्छ?
- येशूले हननियालाई कस्तो निर्देशन दिनुहुन्छ? शाऊलले फेरि कसरी आँखा देख्न थाल्छ?
- पछि शाऊल कुन नाउँद्वारा परिचित हुन्छ? उसले के गर्न सुरु गर्छ?
थप प्रश्नहरू
- प्रेरित ८:१-४ पढ्नुहोस्।
भर्खरै स्थापित मसीही मण्डलीमाथि आएको सतावटले कसरी मसीही धर्म फैलाउन मदत गर्छ? आधुनिक समयमा पनि कसरी त्यस्तै घटना भएका छन्? (प्रेरि. ८:४; यशै. ५४:१७)
- प्रेरित ९:१-२० पढ्नुहोस्।
शाऊलको लागि साँचेर राख्नुभएको कुन तीन पक्षीय कामबारे येशूले बताउनुभयो? (प्रेरि. ९:१५; १३:५; २६:१; २७:२४; रोमी ११:१३)
- प्रेरित २२:६-१६ पढ्नुहोस्।
हामी कसरी हननिया जस्तै हुन सक्छौं र यस्तै हुनु किन महत्त्वपूर्ण छ? (प्रेरि. २२:१२; १ तिमो. ३:७; १ पत्रु. १:१४-१६; २:१२)
- प्रेरित २६:८-२० पढ्नुहोस्।
शाऊलले मसीहीधर्म अंगालेको घटना आज बेग्लै धर्म मान्ने पति वा पत्नी हुने मसीहीहरूका लागि किन प्रोत्साहनदायी छ? (प्रेरि. २६:११; १ तिमो. १:१४-१६; २ तिमो. ४:२; १ पत्रु. ३:१-३)