अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा १०७: स्तिफनसलाई ढुंगाले हान्छन्

कथा १०७: स्तिफनसलाई ढुंगाले हान्छन्

चित्रमा हेर त! घुँडा टेकेर बसेको यो मान्छे स्तिफनस हो। ऊ येशूको विश्वासी चेला हो। तर हेर, उसलाई अहिले मान्छेहरूले ढुङ्गा हान्दैछन्। उनीहरूले स्तिफनससित किन त्यस्तो खराब व्यवहार गरेका होलान्?

स्तिफनसलाई ढुङ्गाले हान्दै

किनभने परमेश्वरले स्तिफनसलाई अचम्मलाग्दा चमत्कारहरू गर्ने शक्ति दिनुभएको थियो। तर यी मान्छेहरूलाई उसले त्यसो गरेको मन पर्दैन। त्यसकारण तिमीले किन अरूलाई प्रचार गरेको भनेर उनीहरू निहुँ खोज्न थाल्छन्। तर परमेश्वरले स्तिफनसलाई धेरै बुद्धि दिनुहुन्छ र बरु उल्टो उनीहरूले नै झूटा कुरा सिकाइरहेका छन् भनेर स्तिफनसले छर्लंग पारिदिन्छ। यसले गर्दा उनीहरू रिसले मुरमुरिन्छन् अनि स्तिफनसलाई समात्छन्। त्यसपछि अरू मान्छेहरू जम्मा गरेर स्तिफनसको विषयमा झूटो कुरा बोल्न लगाउँछन्।

अरूको झूटो कुरा सुनिसकेपछि प्रधान पूजाहारीले स्तिफनसलाई यसो भनेर सोध्छ: ‘के यिनीहरूले भनेको कुरा साँचो हो?’ अनि स्तिफनसले बाइबलबाट एउटा राम्रो भाषण दिएर आफ्नो जवाफ दिन्छ। पहिले-पहिले पनि खराब मान्छेहरूले यहोवाका अगमवक्ताहरूलाई दुःख दिएका थिए भनेर स्तिफनसले आफ्नो भाषणको अन्तमा बताउँछ। त्यसपछि उसले यसो भन्छ: ‘तिमीहरू पनि त्यही खराब मान्छेहरू जस्तै छौ। तिमीहरूले परमेश्वरको सेवक येशूलाई माऱ्यौ। तिमीहरू परमेश्वरको आज्ञा पनि मान्दैनौ।’

यो सुनेर धर्मगुरुहरू रिसाउनसम्म रिसाउँछन्! उनीहरू रिसले दाह्रा किट्न थाल्छन्। तर स्तिफनस शीर उठाएर यसो भन्छ: ‘हेर, म येशूलाई स्वर्गमा परमेश्वरको दाहिनेपट्टि उभिरहेको देख्छु।’ स्तिफनसले बोल्न सिध्याउन नपाउँदै धर्मगुरुहरू आ-आफ्नो कान थुन्छन् र स्तिफनसमाथि झम्टन्छन्। उनीहरूले स्तिफनसलाई घिसार्दै सहरबाहिर लैजान्छन्।

त्यहाँ उनीहरूले आ-आफ्नो बाहिरी लुगा फुकालेर एक जना जवान मान्छे शावलको जिम्मा लगाउँछन्। चित्रमा हेर त, के तिमी शावललाई उभिएर हेरिरहेको देख्छौ? त्यसपछि मान्छेहरूको हूलले स्तिफनसलाई ढुंगा हान्न थाल्छ। मान्छेहरूले ढुङ्गाले हिर्काइरहेको बेला तिमीले चित्रमा देखेजस्तै स्तिफनस घुँडा टेकेर परमेश्वरलाई यसो भन्दै प्रार्थना गर्छ: ‘हे यहोवा, उनीहरूलाई यो खराब कामको सजाय नदिनुहोस्।’ धेरैजसो मान्छे धर्मगुरुहरूको लहैलहैमा लागेर उसलाई ढुङ्गा हिर्काउन तम्सिएका हुन् भनेर स्तिफनसलाई थाह थियो। त्यसपछि स्तिफनस मर्छ।

अरूले तिमीसित नराम्रो व्यवहार गऱ्यो भने के तिमी त्यसको बदला लिन्छौ अथवा तिनीहरूलाई दण्ड दिनुहोस् भनेर के तिमी परमेश्वरलाई बिन्ती गर्छौ? तर येशू र स्तिफनसले त्यसो गर्नुभएन। उहाँहरूले खराब व्यवहार गर्नेहरूलाई समेत दया देखाउनुभयो। हामीले पनि उहाँहरूले जस्तै गर्ने कोसिस गर्नुपर्छ।

प्रेरित ६:८-१५; ७:१-६०.



प्रश्नहरू

  • स्तिफनस को हो? परमेश्वरले उसलाई के गर्न मदत गर्नुहुन्छ?
  • स्तिफनसले भनेको कुन कुराले गर्दा धर्मगुरुहरू असाध्यै रिसाउँछन्?
  • स्तिफनसलाई सहरबाहिर घिसारेर ल्याएपछि मान्छेहरूको भीडले उसलाई के गर्छ?
  • चित्रमा हात बाँधेर लुगानेर उभिरहेको मान्छे को हो?
  • मर्नुअघि स्तिफनसले के भनेर यहोवालाई प्रार्थना गर्छ?
  • अरूले हामीलाई खराब व्यवहार गर्दा स्तिफनसले जस्तै हामीले पनि के गर्नुपर्छ?

थप प्रश्नहरू

  • प्रेरित ६:८-१५ पढ्नुहोस्।

    यहोवाका साक्षीहरूको प्रचार कार्यलाई रोक्न धर्मगुरुहरूले के-कस्ता छली चालहरू चलेका छन्? (प्रेरि. ६:९, ११, १३)

  • प्रेरित ७:१-६० पढ्नुहोस्।

    के कारणले गर्दा स्तिफनसले महासभाअघि सुसमाचारको पक्ष लिन सक्यो र उसको उदाहरणबाट हामी के सिक्न सक्छौं? (प्रेरि. ७:५१-५३; रोमी १५:४; २ तिमो. ३:१४-१७; १ पत्रु. ३:१५)

    हाम्रो कामको विरोध गर्नेहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ? (प्रेरि. ७:५८-६०; मत्ती ५:४४; लूका २३:३३, ३४)