सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ९५: येशू राम्ररी सिकाउनुहुन्छ

कथा ९५: येशू राम्ररी सिकाउनुहुन्छ

एकदिनको कुरा हो, येशूले एक जना मान्छेलाई छिमेकीलाई माया गर भन्नुहुन्छ। येशूको कुरा सुनेर त्यो मान्छेले सोध्छ: ‘मेरो छिमेकीचाहिं को हो नि?’ येशूलाई उसको मनको कुरा थाह थियो। त्यो मान्छे आफ्नै धर्म र जातका मान्छेहरूलाई मात्र आफ्नो छिमेकी सम्झन्थ्यो। अब येशूले के भन्नुहुन्छ, हामी हेरौं।

येशूले कहिलेकाहीं कथा पनि भन्ने गर्नुहुन्थ्यो। त्यो मान्छेलाई राम्रो पाठ सिकाउन येशूले अब त्यसै गर्नुहुन्छ। उहाँले यहूदी र सामरीको कथा भन्नुहुन्छ। धेरैजसो यहूदीहरू सामरीहरूलाई मन पराउँदैनन् भनेर हामीले पढिसक्यौं नि हगि! येशूले भन्नुभएको कथा सुन है त!

एकदिन एक जना यहूदी पहाडको बाटो हुँदै तल यरीहो झरिरहेको थियो। तर बाटैमा डाँकुहरूले उसलाई आक्रमण गर्छन्। उसको पैसा लुट्छन् र उसलाई बेहोस हुने गरी कुट्छन्।

केही समयपछि त्यही बाटो हुँदै एक जना यहूदी पूजाहारी आइपुग्छ। उसले पिटाइ खाएर लडिरहेको त्यो मान्छेलाई देख्छ। देखेर उसले के गर्छ? तर्केर आफ्नै सुरमा हिंड्छ। यसपछि त्यही बाटो हुँदै एक जना असाध्यै धर्मकर्म गर्नुपर्ने मान्छे पनि आउँछ। ऊ लेवी थियो। तर उसले रोकिएर त्यो मान्छेलाई हेर्दा पनि हेरेन। चित्रमा राम्ररी हेर त। तिमीले त्यो पूजाहारी र लेवीलाई टाढा गइसकेको देख्छौ।

त्यसो भए, त्यो घाइते मान्छेसँगै बस्ने को हो त? ऊ सामरी हो। उसैले त्यो घाइते यहूदीलाई मदत गर्दैछ। सामरीले उसका घाउहरूमा औषधी लगाइदिन्छ र आराम पाएर ऊ छिट्टै निको होस् भनेर उसलाई बोकेर अर्कै ठाउँमा पनि लैजान्छ।

असल सामरी छिमेकी

यो कथा सुनाइसक्नुभएपछि येशू सुरुको मान्छेलाई सोध्नुहुन्छ: ‘तिम्रो विचारमा डाँकुको कुटाइ खाने मान्छेको छिमेकी यी तीन जनामध्ये कुनचाहिं होला? पूजाहारी, लेवी कि सामरी?’

त्यो मान्छेले जवाफ दिंदै भन्छ: ‘सामरी। किनकि उसैले त्यो घाइतेलाई दया देखायो।’

त्यसपछि येशूले उसलाई यसो भन्नुहुन्छ: ‘तिमीले ठीकै भन्यौ। जाऊ, तिमी पनि त्यसै गर।’

येशूले कत्ति राम्ररी त्यो मान्छेलाई सिकाउनुभयो। के तिमीलाई मन पऱ्यो? येशूले बाइबलमा भन्नुभएका कुराहरू राम्ररी सुन्यौं भने हामी थुप्रै असल कुराहरू सिक्न सक्नेछौं!

लूका १०:२५-३७.



प्रश्नहरू

  • एक जना मान्छेले येशूलाई के सोध्छ र किन?
  • अरूलाई सिकाउन येशूले कहिलेकाहीं के भन्नुहुन्थ्यो? हामीले यहूदी र सामरीहरूबारे पहिल्यै के कुरा थाह पाइसकेका छौं?
  • येशूले भन्नुभएको कथामा यरीहोको बाटो हुँदै गइरहेको यहूदीलाई के हुन्छ?
  • यहूदी पूजाहारी र लेवी त्यही बाटो भएर आउँदा के हुन्छ?
  • घाइते यहूदीलाई कसले मदत गर्छ, चित्र हेरेर बताऊ।
  • कथा भनिसिध्याउनु भएपछि येशूले के सोध्नुहुन्छ र उसले के जवाफ दिन्छ?

थप प्रश्नहरू

  • लूका १०:२५-३७ पढ्नुहोस्।

    सीधै प्रश्नको जवाफ दिनुको साटो येशूले व्यवस्थाको अध्यापकलाई कसरी तर्क चलाउन मदत गर्नुभयो? (लूका १०:२६; मत्ती १६:१३-१६)

    स्रोताहरूको पूर्वाग्रह हटाउन येशूले कसरी उदाहरणहरू प्रयोग गर्नुहुन्थ्यो? (लूका १०:३६, ३७; १८:९-१४; ती. १:९)