सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ७१: परमेश्वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

कथा ७१: परमेश्वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

यो प्रमोदवनको चित्र हो। परमेश्वरले आफ्नो अगमवक्ता यशैयालाई चित्रमा देखाइएको जस्तै राम्रो ठाउँको वर्णन गर्नुभएको थियो। यशैया योनाभन्दा अलि पछिका व्यक्ति थिए।

प्रमोदवनमा मानिसहरू

प्रमोदवनको अर्थ “बगैंचा” हो। प्रमोदवनको चित्र देखेर तिमीलाई हामीले पहिल्यै यो किताबमा पढिसकेको कुनै कुरा याद आयो कि? हो, यो चित्र यहोवाले आदम र हव्वाका लागि बनाउनुभएको सुन्दर बगैंचाजस्तै छ नि, होइन र? तर के पूरै पृथ्वी नै प्रमोदवन हुन्छ होला त?

यहोवाले आफ्ना जनहरूका लागि नयाँ प्रमोदवन बनाउनुहुनेछ भनेर आफ्नो अगमवक्ता यशैयालाई लेख्न लगाउनुभयो। परमेश्वरले यसो भन्नुभयो: ‘ब्वाँसा र भेडा मिलेर बस्नेछन्। भर्खर जन्मेका बाछा र सिंहका डमरूहरू एकैसाथ चर्नेछन् र साना केटाकेटीहरूले तिनीहरूको हेरविचार गर्नेछन्। विषालु सर्पको नजिक गएर खेल्दासमेत सानो बच्चालाई केही हानि हुनेछैन।’

‘यस्तो पनि कतै हुन सक्ला र’ भनेर धेरैले भन्न सक्छन्। ‘किनकि पृथ्वीमा पहिलेदेखि दुःखै-दुःख मात्र छ, त्यसकारण पछि पनि त्यस्तै हुने त हो नि।’ तर एकछिन यसो विचार गर त, परमेश्वरले आदम र हव्वालाई कस्तो घर दिनुभएको थियो।

परमेश्वरले आदम र हव्वालाई प्रमोदवनमा राख्नुभएको थियो। परमेश्वरको आज्ञा पालन नगरेको हुनाले मात्र उनीहरूले आफ्नो सुन्दर घर गुमाए, बूढो भए अनि अन्तमा मरे। तर ज-जसले परमेश्वरलाई माया गर्छ, उनीहरूलाई उहाँले आदम र हव्वाले पाएकै जस्तो सुन्दर बगैंचा फेरि दिने प्रतिज्ञा गर्नुभएको छ।

नयाँ प्रमोदवनमा अरूलाई दुःख दिने वा बिगार्ने कुनै पनि कुरा हुनेछैन। चारैतिर शान्ति नै शान्ति हुनेछ। सबै जना स्वस्थ र सुखी हुनेछन्। परमेश्वरले पहिले जस्तो चाहनुभएको थियो, ठीक त्यस्तै हुनेछ। तर परमेश्वरले यी सबै कुरा कसरी गर्नुहुनेछ, हामी पछि बुझ्नेछौं।

यशैया ११:६-९; प्रकाश २१:३, ४.



प्रश्नहरू

  • यशैया को थियो, ऊ कहिलेको मान्छे थियो र यहोवाले उसलाई के देखाउनुभयो?
  • “प्रमोदवन”-को अर्थ के हो र यो शब्द सुन्दा तिमीलाई कुन कुरा सम्झना आउँछ?
  • नयाँ प्रमोदवनबारे यहोवाले यशैयालाई के लेख्न अह्राउनुहुन्छ?
  • आदम र हव्वाले किन आफ्नो सुन्दर घर गुमाए?
  • यहोवाले उहाँलाई माया गर्नेहरूलाई के गरिदिने प्रतिज्ञा गर्नुभएको छ?

थप प्रश्नहरू

  • यशैया ११:६-९ पढ्नुहोस्।

    प्रमोदवनमा मान्छे र जनावरबीच कस्तो शान्ति हुनेछ भनेर परमेश्वरको वचन बाइबल बताउँछ? (भज. १४८:१०, १३; यशै. ६५:२५; इज. ३४:२५)

    यहोवाका जनहरूमाझ यशैयाले गरेको भविष्यवाणीको कस्तो आध्यात्मिक पूर्ति भइरहेको छ? (रोमी १२:२; एफि. ४:२३, २४)

    अहिले अनि पछि भविष्यमा मान्छेको व्यक्तित्वमा हुने परिवर्तनको श्रेय कसलाई दिनुपर्छ? (यशै. ४८:१७, १८; गला. ५:२२, २३; फिलि. ४:७)

  • प्रकाश २१:३, ४ पढ्नुहोस्।

    परमेश्वरको बासस्थान मान्छेहरूसित हुनुको अर्थ पृथ्वीमा उहाँ शारीरिक नभई लाक्षणिक तवरमा उपस्थित हुनु हो भनेर बाइबलले कसरी देखाउँछ? (लेवी २६:११, १२; २ इति. ६:१८; यशै. ६६:१; प्रका. २१:२, ३, २२-२४)

    कस्तो खाले आँसु र पीडा हुनेछैन? (लूका ८:४९-५२; रोमी ८:२१, २२; प्रका. २१:४)