सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ६९: एउटी केटीले शक्तिशाली मान्छेलाई मदत गर्छे

कथा ६९: एउटी केटीले शक्तिशाली मान्छेलाई मदत गर्छे

यो सानी केटी के भन्दैछे, तिमीलाई थाह छ? ऊ यहोवाको अगमवक्ता एलीशाबारे बताउँदैछे। एलीशाले यहोवाको शक्ति पाएर ठूलठूलो चमत्कार गरेको कुरा उसले सुनाउँदैछे। तिमीले चित्रमा देखेको आइमाईलाई यहोवाबारे केही पनि थाह छैन। किनभने ऊ इस्राएली होइन। त्यसोभए त्यो केटी कसरी यो आइमाईको घरमा पुगी त?

यो आइमाई अराम देशकी बासिन्दा हो। उसको पति अरामका प्रधान सेनापति नामान हो। अरामका मान्छेहरूले यो सानी केटीलाई पक्रेर नामानकी पत्नीकी नोकर्नी बनाएका थिए।

नामानकी पत्नी र उसकी नोकर्नी

नामानलाई कोर भन्ने नराम्रो रोग लागेको थियो। यो रोग लागेको मान्छेको मासु कुहिएर झर्न सक्छ। यसकारण, यो केटीले नामानकी पत्नीलाई यसो भन्छे: ‘मेरो मालिकले इस्राएलमा यहोवाको अगमवक्तासित भेट्नुभए हुन्थ्यो। किनकि उहाँले मेरो मालिकको कोर निको पारिदिनुहुने थियो।’ केही समयपछि त्यो आइमाईले यो कुरा आफ्नो पतिलाई भन्छे।

नामान निको हुन असाध्यै इच्छुक छ। यसकारण उसले इस्राएल जाने फैसला गर्छ। त्यहाँ पुगेपछि ऊ एलीशाको घरमा जान्छ। एलीशाले आफ्नो नोकरलाई पठाएर नामानलाई यर्दन नदीमा सात पटक नुहाउन लगाउँछ। यो सुनेर नामान धेरै रिसाउँछ र भन्छ: ‘इस्राएलको नदीभन्दा त हाम्रै देशका नदीहरू कता हो कता असल छन्!’ यति भनेर नामान आफ्नो बाटो लाग्छ।

तर उसको एक जना नोकरले यसो भन्छ: ‘हजुर, एलीशाले अरू नै गाह्रो कुरा गर्न लगाएको भए हजुरले गर्नुहुने थियो। यसकारण, अहिले पनि उहाँले भनेझैं गर्दा के बिग्रन्छ र?’ नामानले आफ्नो नोकरको कुरा सुन्छ र यर्दनमा सात पटक डुबुल्की लगाउँछ। त्यसपछि उसको शरीर स्वस्थ हुन्छ!

नामान असाध्यै खुसी हुन्छ। ऊ एलीशाकहाँ फर्कन्छ र यसो भन्छ: ‘सारा पृथ्वीमा इस्राएलको परमेश्वर मात्रै साँचो परमेश्वर हुनुहुन्छ भनेर अब मलाई थाह भयो। यसकारण, कृपया यो उपहार मबाट लिनुहोस्।’ तर एलीशाले लिन मान्दैन। एलीशालाई यो उपहार लिनु गलत हो भनेर थाह थियो। किनभने नामानलाई वास्तवमा यहोवाले निको पार्नुभएको थियो। तर एलीशाको नोकर गेहजीले त्यो उपहारको लोभ गर्छ।

यसकारण नामान हिंड्ने बित्तिकै गेहजी पछिपछि दगुर्दै जान्छ र नामानलाई भेट्टाएर यसो भन्छ: ‘एलीशाले भर्खरै आइपुगेका केही साथीहरूका लागि उपहार लिएर आऊ भनेर मलाई तपाईंकहाँ पठाउनु भएको छ।’ तर यो सरासर झूट थियो। यो झूट हो भनेर नामानलाई चाहिं थाह छैन। यसकारण उसले गेहजीलाई केही सामान दिन्छ।

तर गेहजी घर पुग्नुभन्दा पहिल्यै उसले गरेको काम एलीशालाई थाह भइसकेको हुन्छ। किनकि उसलाई यहोवाले सबै कुरा बताउनुहुन्छ। गेहजी आउने बित्तिकै एलीशाले उसलाई यसो भन्छ: ‘तैंले यो खराब काम गरेको हुनाले अबदेखि नामानको कोर तँलाई लाग्नेछ।’ अनि तुरुन्तै, त्यस्तै भइहाल्छ!

हामी यो कथाबाट तीन वटा कुरा सिक्न सक्छौं। पहिलो, हामीले त्यो सानी केटीले जस्तै यहोवाको विषयमा कुरा गर्नुपर्छ। किनकि हामीले त्यसो गऱ्यौं भने यसको नतिजा धेरै राम्रो हुन सक्छ। दोस्रो, नामान सुरुसुरुमा घमन्डी भएजस्तै हामी घमण्डी हुनु हुँदैन। बरु हामी परमेश्वरका सेवकहरूप्रति आज्ञाकारी हुनुपर्छ। तेस्रो, हामीले गेहजीले जस्तो झूट बोल्नु हुँदैन। बाइबल पढेर हामी साँच्चै कत्ति धेरै कुरा सिक्न सक्छौं!

२ राजा ५:१-२७.



प्रश्नहरू

  • त्यो सानी केटीले त्यो आइमाईलाई के भनिरहेकी छे, चित्र हेरेर बताऊ।
  • चित्रमा देखाइएकी आइमाई को हो र त्यो सानी केटी त्यो घरमा के गरिरहेकी छे?
  • एलिशाले आफ्नो नोकर पठाएर नामानलाई के गर्न अह्राउँछ तर नामान किन रिसाउँछ?
  • आफ्ना चाकरहरूको कुरा सुनेपछि नामानलाई के हुन्छ?
  • नामानले दिएको उपहार लिन एलिशा किन मान्दैन तर गेहजीले भने के गर्छ?
  • गेहजीलाई के हुन्छ र यसबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्नहरू

  • दोस्रो राजा ५:१-२७ पढ्नुहोस्।

    सानी इस्राएली केटीको उदाहरणले आजका कलिला केटाकेटीलाई कसरी प्रोत्साहन दिन सक्छ? (२ राजा ५:३; भज. ८:२; १४८:१२, १३)

    हामीले धर्मशास्त्रीय सल्लाह पाउँदा नामानलाई सम्झनु किन बेस हुन्छ? (२ राजा ५:१५; हिब्रू १२:५, ६; याकू. ४:६)

    एलिशा र गेहजी दुवैको उदाहरणलाई दाँजेर हामी के सिक्न सक्छौं? (२ राजा ५:९, १०, १४-१६, २०; मत्ती १०:८; प्रेरि. ५:१-५; २ कोरि. २:१७)