अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ६६: दुष्ट रानी ईजेबेल

कथा ६६: दुष्ट रानी ईजेबेल

राजा यारोबाम मरेपछि उत्तरको १० गोत्रे इस्राएल राज्यको सबै राजा खराबै मात्र हुन्छन्। सबैभन्दा खराबचाहिं आहाब हुन्छ। किन, तिमीलाई थाह छ? आहाब खराब हुनुको मुख्य कारण, उसकी पत्नी दुष्ट रानी ईजेबेल हो।

ईजेबेल इस्राएली थिइन। ऊ सिदोनको राजाकी छोरी थिई। अनि ऊ झूटो देवता बालको पूजा गर्थी। उसले आहाब र थुप्रै इस्राएलीहरूलाई पनि बालको पूजा गर्न लगाई। ईजेबेल यहोवालाई घृणा गर्थी। उसले यहोवाका थुप्रै अगमवक्ताहरूको हत्या गरी। अरू अगमवक्ताहरू चाहिं ज्यान जोगाउन गुफाहरूमा लुक्न गए। ईजेबेल आफूले चाहेको कुरा पाउन जसलाई मार्न पनि तयार हुन्थी।

एकदिन राजा आहाब असाध्यै दुःखी हुन्छ। यसकारण ईजेबेलले उसलाई सोध्छे: ‘तपाईं किन यति उदास हुनुहुन्छ?’

आहाबले यस्तो जवाफ दिन्छ: ‘मलाई नाबोतको दाखबारी किन्न मन लागेको थियो। तर नाबोत त्यो बेच्न चाहँदैन।’

अनि ईजेबेल यसो भन्छे: ‘उदास नहुनुहोस्। म त्यो तपाईंलाई उपहार दिनेछु।’

यसपछि ईजेबेलले नाबोत बस्ने सहरका केही नाइकेहरूलाई यसो भन्दै चिठी पठाउँछे: ‘नाबोतले परमेश्वर र राजालाई सराप्यो भनेर दोष लगाउन दुई-चार जना नीच मान्छेहरू खोज। अनि नाबोतलाई सहरबाहिर ढुंगाले हानेर मार।’

नाबोत मरेको खबर पाउने बित्तिकै ईजेबेलले आहाबलाई यसो भन्छे: ‘अब जानुहोस् र उसको दाखबारी लिनुहोस्।’ यस्तो दुष्ट काम गर्ने ईजेबेलले पक्कै पनि सजाय पाउनुपर्छ!

रानी ईजेबेल

यसकारण केही समयपछि ईजेबेललाई सजाय दिन यहोवाले येहू भन्ने मान्छे पठाउनुहुन्छ। येहू आउँदैछ भन्ने खबर पाउने बित्तिकै ईजेबेल गाजल लाउँछे र आफूलाई राम्री बनाउन खोज्छे। तर येहू आएर ईजेबेललाई झ्यालमा देखेपछि उसले दरबारभित्रका मान्छेहरूलाई तलबाट यसो भन्छ: ‘त्यसलाई तल झारिदेओ!’ उनीहरूले त्यसै गर्छन्। यो चित्रमा तिमीले देखेझैं उनीहरूले ईजेबेललाई तल फालिदिन्छन् र ऊ मर्छे। दुष्ट रानी ईजेबेलको यसरी अन्त हुन्छ।

१ राजा १६:२९-३३; १८:१-४; २१:१-१६; २ राजा ९:३०-३७.



प्रश्नहरू

  • ईजेबेल को हो?
  • एकदिन राजा आहाब किन दुःखी हुन्छ?
  • नाबोतको दाखबारी खोसेर आफ्नो पति आहाबलाई दिन ईजेबेलले के गर्छे?
  • ईजेबेललाई सजाय दिन यहोवाले कसलाई पठाउनुहुन्छ?
  • येहू ईजेबेलको दरबारमा पुगेपछि के हुन्छ, चित्र हेरेर बताऊ।

थप प्रश्नहरू

  • पहिलो राजा १६:२९-३३ र १८:३, ४ पढ्नुहोस्।

    राजा आहाबको समयमा इस्राएलको अवस्था कस्तो थियो? (१ राजा १६:३३)

  • पहिलो राजा २१:१-१६ पढ्नुहोस्।

    नाबोतले कसरी साहस अनि यहोवाप्रतिको वफादारी प्रदर्शन गऱ्यो? (१ राजा २१:१-३; लेवी २५:२३-२८)

    निराश हुँदा हामीले गर्न नहुने के कुरा आहाबको उदाहरणबाट सिक्छौं? (१ राजा २१:४; रोमी ५:३-५)

  • दोस्रो राजा ९:३०-३७ पढ्नुहोस्।

    यहोवाको इच्छा पूरा गर्न येहूले देखाएको जोसबाट हामी के सिक्न सक्छौं? (२ राजा ९:४-१०; २ कोरि. ९:१, २; २ तिमो. ४:२)