सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ५७: परमेश्वर दाऊदलाई रोज्नुहुन्छ

कथा ५७: परमेश्वर दाऊदलाई रोज्नुहुन्छ
दाऊद भेडाको बच्चालाई बचाउँदै

ल भन त, यो केटोले के गरेको हो? यो केटोले पाठोलाई भालुबाट बचाएको हो। भालुले पाठोलाई लगेर झन्डै खान लागेको थियो। तर यो केटो दगुर्दै गयो र पाठोलाई भालुको मुखबाट खोसेर ल्यायो। भालुले उसलाई झम्टन खोज्दा त्यो केटोले भालुलाई समातेर कुटीकुटी माऱ्यो। यो केटोले पछि पनि भेडालाई सिंहबाट बचायो। यो केटो त कत्ति सहासी रहेछ! यो केटो को हो, तिमीलाई थाह छ?

ऊ दाऊद हो। ऊ बेतलेहेम सहरमा बस्छ। उसको बाजे रूथ र बोअजका छोरा ओबेद थिए। के तिमीलाई रूथ र बोअज को हो याद छ? दाऊदको बुबाको नाउँचाहिं यिशै हो। दाऊद आफ्नो बुबाका भेडाहरू चराउँछ। यहोवाले शाऊललाई राजा हुन छान्नुभएको १० वर्षपछि दाऊदको जन्म भएको थियो।

एकदिन यहोवाले शमूएललाई यसो भन्नुहुन्छ: ‘अलिकता विशेष तेल लिएर तँ बेतलेहेममा बस्ने यिशैको घरमा जा। त्यसको एक जना छोरालाई मैले राजा हुन छानेको छु।’ शमूएलले यिशैको जेठो छोरा एलीआबलाई देख्ने बित्तिकै मनमनै ‘यहोवाले पक्कै पनि यिनैलाई छान्नुभएको हुनुपर्छ’ भनेर सोच्न थाल्छ। तर यहोवा यसो भन्नुहुन्छ: ‘त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर। मैले त्यसलाई छानेको छैन।’

यसकारण, यिशैले आफ्नो छोरा अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याउँछ। तर शमूएलले ‘होइन, यहोवाले उसलाई रोज्नुभएको छैन’ भन्छ। अनि यिशैले अर्को छोरा शम्मालाई ल्याउँछ तर शमूएलले फेरि ‘होइन, यहोवाले उसलाई पनि रोज्नुभएको छैन’ भन्छ। यसरी यिशैले आफ्ना सातै जना छोरा शमूएलकहाँ ल्याउँछ तर यहोवाले कुनैलाई पनि रोज्नुहुन्न। अन्तमा शमूएलले ‘के तपाईंका जम्मै छोराहरू यी नै हुन्?’ भनेर सोध्छ।

यिशैले यस्तो जवाफ दिन्छ: ‘कान्छो पनि छ। तर त्यो त बाहिर भेडा चराउन गएको छ।’ एकछिन पछि यिशैले एउटा सुन्दर केटोलाई कोठाभित्र ल्याएको शमूएलले देख्छ। ऊ दाऊद थियो। दाऊद आउने बित्तिकै यहोवाले शमूएललाई यसो भन्नुहुन्छ: ‘यही हो। तैंले यसैमाथि तेल खन्याइदिनू।’ शमूएलले त्यसै गर्छ। समय आएपछि कुनै दिन दाऊद इस्राएलको राजा हुनेछ।

१ शमूएल १७:३४, ३५; १६:१-१३.



प्रश्नहरू

  • चित्रमा देखाइएको केटोको नाउँ के हो र ऊ बहादुर केटो हो भनेर हामी कसरी भन्न सक्छौं?
  • दाऊद कहाँ बस्छ र उसको बुबा र हजुरबुबाको नाउँ के हो?
  • यहोवाले किन शमूएललाई बेतलेहेममा यिशैको घर जान अह्राउनुहुन्छ?
  • यिशैले आफ्ना सात छोराहरूलाई शमूएलकहाँ ल्याउँदा के हुन्छ?
  • दाऊदलाई ल्याउने बित्तिकै यहोवाले शमूएललाई के भन्नुहुन्छ?

थप प्रश्नहरू

  • पहिलो शमूएल १७:३४, ३५ पढ्नुहोस्।

    दाऊद साहसी हुनुका साथै परमेश्वरमाथि अटल भरोसा पनि राख्थ्यो भनेर यी घटनाहरूबाट कसरी प्रस्टै देखिन्छ? (१ शमू. १७:३७)

  • पहिलो शमूएल १६:१-१४ पढ्नुहोस्।

    पहिलो शमूएल १६:७ मा परमेश्वरले भन्नुभएको कुराले हामीलाई निष्पक्ष हुन र बाहिरी रूपरंगको आधारमा पक्षपात नगर्न कसरी मदत गर्छ? (प्रेरि. १०:३४, ३५; १ तिमो. २:४)

    यहोवाले आफ्नो पवित्र आत्मा हटाउनुभयो भने त्यसको ठाउँमा खराब आत्मा अथवा खराब काम गर्ने इच्छाले मात्र बास गर्छ भन्ने कुरा शाऊलको उदाहरणबाट कसरी बुझ्न सक्छौं? (१ शमू. १६:१४; मत्ती १२:४३-४५; गला. ५:१६)