अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ५३: यिप्तहको भाकल

कथा ५३: यिप्तहको भाकल
यिप्तहकी छोरी

के तिमीलाई कहिल्यै आफूले गर्छु भनेको कुरा पूरा गर्न गाह्रो भएको छ? यो चित्रमा तिमीले देखिरहेको मान्छेलाई एक चोटि त्यस्तै भएको थियो। हेर त, ऊ कत्ति दुःखी देखिन्छ। ऊ इस्राएलको वीर न्यायकर्ता यिप्तह हो।

यिप्तहको समयमा इस्राएलीहरूले यहोवाको उपासना गर्न छोडिसकेका थिए। उनीहरूले फेरि नराम्रो काम गरिरहेका थिए। यसकारण अम्मोनका मान्छेहरूले इस्राएलीहरूलाई दुःख दिंदा यहोवाले केही पनि गर्नुहुन्न। तर इस्राएलीहरू यहोवालाई यसो भन्दै पुकार्न थाल्छन्: ‘हामीले तपाईंको विरुद्धमा पाप गऱ्यौं। कृपया, हामीलाई बचाउनुहोस्!’

यिप्तह र उसका मान्छे

इस्राएलीहरू आफूले गरेका गल्तीहरूका लागि धेरै दुःखी छन्। उनीहरू फेरि यहोवाको उपासना गर्न थाल्छन्। यसकारण यहोवाले उनीहरूलाई फेरि दया देखाउनुहुन्छ।

खराब अम्मोनीहरूसित लडाइँ गर्न इस्राएलीहरू यिप्तहलाई रोज्छन्। यिप्तह यो लडाइँ जित्न यहोवाले मदत गरून् भनेर चाहन्छ। यसकारण उसले यहोवालाई यस्तो भाकल गर्छ: ‘अम्मोनीहरूलाई लडाइँमा हराउन मलाई मदत गर्नुभयो भने म घर फर्कंदा मेरो घरबाट मलाई भेट्न निस्कने पहिलो मान्छे तपाईंलाई दिनेछु।’

यहोवाले यिप्तहको भाकल स्वीकार्नुहुन्छ र उसलाई विजयी हुन मदत गर्नुहुन्छ। यिप्तह घर फर्कंदा उसलाई भेट्न सबैभन्दा पहिला को आउँछ, तिमीलाई थाह छ? उसको एक मात्र सन्तान, उसकी एक्ली छोरी। आफ्नी छोरीलाई देखेर यिप्तह रुन थाल्छ: ‘हे मेरी छोरी! तिमीले कस्तो कष्ट ममाथि ल्यायौ! किनभने मैले यहोवासित भाकल गरेको छु र त्यसलाई म टार्न सक्तिनँ।’

यिप्तहकी छोरी आफ्नो बुबाको भाकल थाह पाएपछि सुरुमा असाध्यै दुःखी हुन्छे। किनभने आफ्नो बुबाको भाकल पूरा गर्न उसले आफ्नो बुबा अनि सबैलाई छोडेर जानुपर्छ। उसले शिलो भन्ने ठाउँमा यहोवाको बासस्थानमा गएर आफ्नो बाँकी जीवन बिताउनुपर्छ। तर ऊ आफ्नो बुबालाई यसो भन्छे: ‘तपाईंले यहोवासित गर्नुभएको भाकल पूरा गर्नै पर्छ।’

यसकारण यिप्तहकी छोरी शिलो जान्छे र उसले यहोवाको बासस्थानमा सेवा गर्दै आफ्नो बाँकी जीवन बिताउँछे। इस्राएली केटीहरू हरेक वर्ष उसलाई भेट्न जान्छन् र त्यहाँ उनीहरू चार दिनसम्म रमाइलो गर्छन्। इस्राएलीहरू यिप्तहकी छोरीलाई माया गर्छन्। किनभने ऊ यहोवाको असल सेवक हो।

न्यायकर्त्ता १०:६-१८; ११:१-४०.



प्रश्नहरू

  • यिप्तह को हो र उसको समयमा के भइरहेको थियो?
  • यिप्तहले यहोवासित कस्तो भाकल गर्छ?
  • अम्मोनीहरूलाई हराएर घर फर्कंदा यिप्तह किन दुःखी हुन्छ?
  • आफ्नो बुबाले गरेको भाकलबारे थाह पाएपछि यिप्तहकी छोरी के भन्छे?
  • इस्राएलीहरू यिप्तहकी छोरीलाई किन माया गर्छन्?

थप प्रश्नहरू

  • न्यायकर्त्ता १०:६-१८ पढ्नुहोस्।

    इस्राएलीहरूले यहोवाको उपासना गर्न छोड्दा भोग्नुपरेको दुःखबाट हामी के चेतावनी पाउँछौं? (न्याय. १०:६, १५, १६; रोमी १५:४; प्रका. २:१०)

  • न्यायकर्त्ता ११:१-११, २९-४० पढ्नुहोस्।

    यिप्तहले आफ्नी छोरी “होमबलि” चढाउनुको अर्थ छोरीलाई आगोमा हालेर बलि चढाएको होइन भनेर हामी कसरी भन्न सक्छौं? (न्याय. ११:३१; लेवी १६:२४; व्यव. १८:१०, १२)

    यिप्तहले कुन अर्थमा आफ्नी छोरी बलिदान गऱ्यो?

    यहोवासित गरेको भाकलप्रतिको यिप्तहको दृष्टिकोणबाट हामी के सिक्न सक्छौं? (न्याय. ११:३५, ३९; उप. ५:४, ५; मत्ती १६:२४)

    पूर्ण-समय सेवालाई पेशा बनाउन चाहने आजका मसीही युवायुवतीहरूका लागि यिप्तहकी छोरी किन राम्रो नमुना हो? (न्याय. ११:३६; मत्ती ६:३३; फिलि. ३:८)