सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ४२: गधा बोल्छ

कथा ४२: गधा बोल्छ

के तिमीले कहिल्यै गधा बोलेको सुनेका छौ? ‘अहँ छैन! जनावरले पनि कतै बोल्न सक्छ र?’ तर एउटा गधा बोल्यो भनेर बाइबल बताउँछ। कसरी? हामी हेरौं ल।

स्वर्गदूत

इस्राएलीहरू कनान देशमा जान तयार भइसकेका थिए। तर इस्राएलीहरू देखेर मोआबका राजा बालाक डराउँछ। यसकारण इस्राएलीहरूलाई सराप्न उसले बिलाम नाउँ भएको धूर्त मान्छेलाई बोलाउँछ। बालाकले बिलामलाई धेरै पैसा दिने वचन दिन्छ। त्यसकारण, बिलाम आफ्नो गधा चढेर बालाकलाई भेट्न जान्छ।

बिलामले इस्राएलीहरूलाई सरापेको यहोवा चाहनुहुन्न। त्यसैले बिलामलाई रोक्न उहाँले स्वर्गदूतलाई लामो तरबार बोकेर बाटो छेक्न पठाउनुहुन्छ। बिलामले स्वर्गदूतलाई देख्दैन तर उसको गधाले चाहिं देख्छ। स्वर्गदूतलाई देखेर गधा फर्कन मात्र खोज्छ र अन्तमा भुमै थचक्क बस्छ। बिलाम आफ्नो गधासित असाध्यै रिसाउँछ र लट्ठीले बेस्सरी पिट्छ।

तब यहोवाले चमत्कार गर्नुहुन्छ र बिलामले आफ्नो गधा बोलेको सुन्छ। गधाले सोध्छ: ‘मैले तपाईंलाई के गरेको छु र यसरी बेस्सरी पिट्नुहुन्छ?’

बिलाम गधामा

बिलामले भन्छ: ‘तँ मेरो बदनाम गर्न खोज्दैछस्। अहिले मसित तरबार भएको भए, तँलाई यहीं मार्ने थिएँ।’

गधाले फेरि सोध्छ: ‘के मैले पहिले कहिल्यै यस्तो व्यवहार गरेको थिएँ र?’

बिलामले भन्छ: ‘गरेको थिइनस्।’

त्यति नै खेर यहोवाले बिलामको आँखा खोलिदिनुहुन्छ र उसले लामो तरबार भिरेको स्वर्गदूत बाटोमा उभिरहेको देख्छ। स्वर्गदूतले बिलामलाई सोध्छ: ‘तँ किन आफ्नो गधालाई पिट्छस्? म तेरो बाटो छेक्न आएको हुँ। किनभने तँ इस्राएललाई सराप्न जान खोज्दैछस्। तेरो गधा फर्केर जान नखोजेको भए मैले तँलाई मारिसक्थें। तर तेरो गधालाई चाहिं कुनै हानि गर्ने थिइनँ।’

स्वर्गदूतको कुरा सुनेर बिलाम यसो भन्दै बिलौना गर्छ: ‘मैले पाप गरेछु। तपाईं बाटोमा उभिनुभएको मैले देखिनँ।’ त्यसपछि स्वर्गदूतले बिलामलाई जान दिन्छ अनि बिलाम बालाकलाई भेट्न जान्छ। बालाकको कुरा सुनेर बिलामले फेरि इस्राएललाई सराप्न खोज्छ। तर यहोवाले बिलामको मुखबाट सराप निस्कनै दिनुहुन्न। बरु उल्टो बिलामले तीन-तीन पटक इस्राएलीहरूलाई आशिष् पो दिन्छ।

गन्ती २१:२१-३५; २२:१-४०; २३:१-३०; २४:१-२५.



प्रश्नहरू

  • बालाक को हो र ऊ किन बिलामलाई बोलाउँछ?
  • बिलामको गधा किन बाटोमा थचक्क बस्छ?
  • गधाले के भनेको बिलामले सुन्छ?
  • स्वर्गदूत बिलामलाई के भन्छन्?
  • बिलामले इस्राएलीहरूलाई सराप्न खोज्दा के हुन्छ?

थप प्रश्नहरू

  • गन्ती २१:२१-३५ पढ्नुहोस्।

    इस्राएलीहरूले एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगलाई किन हराउँछन्? (गन्ती २१:२१, २३, ३३, ३४)

  • गन्ती २२:१-४० पढ्नुहोस्।

    बिलाम इस्राएलीहरूलाई किन सराप्न खोज्दैथियो र यसबाट हामी के पाठ सिक्न सक्छौं? (गन्ती २२:१६, १७; हितो. ६:१६, १८; २ पत्रु. २:१५; यहू. ११)

  • गन्ती २३:१-३० पढ्नुहोस्।

    बिलामले आफू यहोवाको उपासक हुँ भने जस्तै गरी कुरा गरे तापनि वास्तवमा उसको कामले के देखाइरहेको थियो? (गन्ती २३:३, ११-१४; १ शमू. १५:२२)

  • गन्ती २४:१-२५ पढ्नुहोस्।

    यहोवाले आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ भनेर बाइबलको यो घटनाले हाम्रो विश्वासलाई कसरी बलियो बनाउँछ? (गन्ती २४:१०; यशै. ५४:१७)