अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ३३: इस्राएलीहरू लाल समुद्र पार गर्छन्

कथा ३३: इस्राएलीहरू लाल समुद्र पार गर्छन्

हेर, यहाँ के हुँदैछ? चित्रमा ऊ त्यो लाल समुद्रको छेऊमा उभिएर आफ्नो लट्ठी तेर्साउने मान्छे मोशा हो। उसको वरपर ढुक्कसित बसिरहेका मान्छेहरू चाहिं इस्राएलीहरू हुन्। तर फिरऊन र उसको जम्मै सेना समुद्रमा डुब्दैछ। कसरी यस्तो भयो, हामी थाह लगाऔं है त।

मिश्री सेना समुद्रमा डुब्दै

परमेश्वरले मिश्रीहरूमाथि १० औं विपत्ति ल्याउनुभएपछि फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट पठाउन हतार गरेको थियो भनेर हामीले पढिसक्यौं। इस्राएलीहरू मिश्रबाट निसकँदा स्वास्नीमान्छे अनि केटाकेटीबाहेक लगभग ६,००,००० थिए। यसबाहेक यहोवामाथि विश्वास गर्न थालेका थुप्रै मिश्रीहरू पनि इस्राएलीहरूसितै गए। उनीहरू सबैले आ-आफ्ना भेडा, बाख्रा र गाईवस्तुहरू आफूसित लगे।

इस्राएलीहरूले निस्कनुअघि मिश्रीहरूसित लुगाफाटा, सुन-चाँदीका सर-सामान मागे। आफूमाथि आइपरेको अन्तिम विपत्तिले गर्दा मिश्रीहरू असाध्यै डराएका थिए। यसकारण इस्राएलीहरूले मागेका जम्मै कुरा तिनीहरूले दिए।

केही दिनपछि इस्राएलीहरू लाल समुद्रमा आइपुगे। उनीहरूले त्यहाँ थकाइ मारे। तर उता मिश्रमा फिरऊन र उसका मान्छेहरू इस्राएलीहरूलाई जान दिएकोमा पछुताउन थाले। तिनीहरूले यसो भने: ‘हामीले बित्थामा आफ्ना कमाराहरूलाई जान दियौं!’

यसकारण फिरऊनले फेरि एक पटक आफ्नो मन बदल्यो। उसले तुरुन्तै आफ्नो रथ र सिपाही तयार पाऱ्यो। अनि उसले आफ्नो ६०० वटा खास रथहरूका साथै मिश्रका अरू जम्मै रथहरू लिएर इस्राएलीहरूको पिछा गर्न थाल्यो।

आफ्नो पछिपछि फिरऊन र उसका सिपाहीहरू आएको देखेर इस्राएलीहरू साह्रै डराए। उम्कने कुनै बाटो थिएन। उनीहरूको एकापट्टि लाल समुद्र थियो भने अर्कोपट्टिबाट मिश्रीहरू आइरहेका थिए। तर यहोवाले बीचमै बादल लगाइदिनुभयो। बादलले गर्दा मिश्रीहरूले इस्राएलीहरूलाई देख्नै सकेनन्।

त्यसपछि यहोवाले मोशालाई लाल समुद्रतिर आफ्नो लट्ठी तेर्साउन लगाउनुभयो। मोशाले लट्ठी तेर्साउने बित्तिकै यहोवाले पूर्वबाट जोडसित बतास चलाउनुभयो। बतासको जोडले गर्दा समुद्रको पानी दुई भाग भयो र दुवैतिर पानी अडेर बस्यो।

अनि इस्राएलीहरू समुद्रको बीचबाट सुक्खा जमीनमा हिंड्न थाले। धेरै मान्छे अनि उनीहरूका भेडा-बाख्रा र गाईवस्तु पनि धेरै भएकोले समुद्रको बीचबाट हिंड्दै पारिपट्टि पुग्न घण्टौं लाग्यो। अन्तमा मिश्रीहरूले इस्राएलीहरूलाई फेरि देख्न सके। तिनीहरूका कमाराहरू उिम्करहेका थिए! यसकारण इस्राएलीहरूलाई समात्न तिनीहरू हतार गर्दै समुद्रमा ओर्लन थाले।

तिनीहरू समुद्रभित्र पस्ने बित्तिकै परमेश्वरले रथका पांग्राहरू फुस्काइदिनुभयो। मिश्रीहरू असाध्यै डराए अनि यसो भन्दै चिच्याउन थाले: ‘यहोवाले इस्राएलीहरूलाई बचाउन हामीसित लडाइँ गर्नुहुँदैछ। हामी यहाँबाट निस्किहालौं!’ तर तिनीहरूले त्यसो गर्ने समय नै पाएनन्।

यहोवाले मोशालाई त्यति नै खेर लाल समुद्रमाथि आफ्नो लट्ठी तेर्साउन लगाउनुभयो। तिमीले चित्रमा अघि हेरिसक्यौ नि होइन? मोशाले लट्ठी तेर्साएको मात्र के थियो, दुवैपट्टिका पानीका पर्खालहरू मिश्रीहरू र उनीहरूको रथमाथि खस्यो। फिरऊन आफ्ना सबै सिपाहीहरू लिएर समुद्रमा ओर्लेको थियो। यसकारण एक जना मिश्री पनि उम्कन सकेन! सबै डुबे।

इस्राएलीहरू जिउँदै लाल समुद्र पार तर्न पाएकोमा असाध्यै खुसी थिए! त्यसपछि लोग्नेमान्छेहरूले यहोवालाई धन्यवाद चढाउँदै यो गीत गाए: ‘यहोवाको ठूलो जीत भएको छ। उहाँले घोडाहरू र तिनीहरूमाथि सवार हुनेहरूलाई समुद्रमा फालिदिनुभएको छ।’ मोशाकी दिदीले खैंजडी लिएपछि अरू बाँकी आइमाईहरूले पनि आ-आफ्ना खैंजडीहरू बजाउन थाले। अनि उनीहरू पनि आनन्दले नाच्दै ‘यहोवाको एउटा ठूलो जीत भएको छ। उहाँले घोडाहरू र तिनीहरूमाथि सवार भएकाहरूलाई समुद्रमा फालिदिनुभएको छ’ भनेर गाउन थाले।

प्रस्थान १२ देखि १५ अध्यायसम्म।



प्रश्नहरू

  • स्वास्नीमान्छे र केटाकेटीबाहेक मिश्र छोड्ने इस्राएली लोग्नेमान्छेहरू कति जना थिए? तिनीहरूसँगै अरू कसले पनि मिश्र छोडे?
  • इस्राएलीहरूलाई जान दिएपछि फिरऊनलाई कस्तो लाग्यो र त्यसपछि उसले के गऱ्यो?
  • मिश्रीहरूले इस्राएलीहरूलाई आक्रमण गर्न नपाऊन् भनेर यहोवाले के गर्नुभयो?
  • लाल समुद्रतिर मोशाले आफ्नो लौरो तेर्साएपछि के भयो? अनि त्यसपछि इस्राएलीहरूले के गरे?
  • इस्राएलीहरूको पछि-पछि कुद्दै समुद्रमा झर्ने मिश्रीहरूलाई के भयो?
  • यहोवाले बचाउनुभएपछि खुसी भएका इस्राएलीहरूले कसरी उहाँलाई धन्यवाद चढाए?

थप प्रश्नहरू

  • प्रस्थान १२:३३-३६ पढ्नुहोस्।

    इस्राएलीहरूले मिश्रीहरूको दास भएर गरेको कामको ज्याला पाऊन् भनी यहोवाले के गर्नुभयो? (प्रस्थ. ३:२१, २२; १२:३५, ३६)

  • प्रस्थान १४:१-३१ पढ्नुहोस्।

    प्रस्थान १४:१३, १४ मा लेखिएका मोशाका शब्दहरूले अहिले यहोवाको सेवकहरूलाई आरमागेडोनको युद्धको सामना गर्न कसरी ढाडस दिन्छ? (२ इति. २०:१७; भज. ९१:८)

  • प्रस्थान १५:१-८, २०, २१ पढ्नुहोस्।

    यहोवाका सेवकहरूले किन गीत गाएर उहाँको प्रशंसा गर्नुपर्छ? (प्रस्थ. १५:१, २; भज. १०५:२, ३; प्रका. १५:३, ४)

    लाल समुद्रमा मरियम र अरू आइमाईहरूले गरेझैं अहिलेका मसीही आइमाईहरूले कसरी यहोवाको प्रशंसा गर्न सक्छन्? (प्रस्थ. १५:२०, २१; भज. ६८:११)