अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ३१: मोशा र हारून फिरऊनलाई भेट्न जान्छन्

कथा ३१: मोशा र हारून फिरऊनलाई भेट्न जान्छन्

मिश्र पुगेपछि मोशाले आफ्नो दाइ हारूनलाई सबै कुरा बतायो। मोशा र हारूनले इस्राएलीहरूलाई चमत्कार गरेर देखाएपछि यहोवाले भन्नुभएको कुरा उनीहरूले पत्याए।

तब मोशा र हारून फिरऊनलाई भेट्न गए। उनीहरूले फिरऊनलाई यसो भने: ‘इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “मेरा मान्छेहरूलाई तीन दिनको बाटो हिंडेर उजाड-स्थानमा मेरो उपासना गर्न जान दे।” ’ तर फिरऊनले मानेन। बरु उल्टो यस्तो जवाफ पो दियो: ‘म यहोवालाई चिन्दिनँ र इस्राएलीहरूलाई जान पनि दिन्नँ।’

इस्राएलीहरूले यहोवाको उपासना गर्न कामबाट छुट्टी मागे भनेर फिरऊन रिसायो। यसकारण उसले झन् बेस्सरी काममा दलायो। फिरऊनले यसरी झन् दुःख दिएको देखेर इस्राएलीहरूले मोशालाई दोष लगाए। मोशा दुःखी भयो। तर यहोवाले मोशालाई चिन्ता नगर्नू भन्नुभयो। उहाँले भन्नुभयो: ‘मेरा मान्छेहरूलाई मिश्र देशबाट नफर्काएसम्म म फिरऊनलाई छोड्नेछैन।’

फिरऊनसामु मोशा र हारून

मोशा र हारून फेरि फिरऊनलाई भेट्न गए। यस पटक उनीहरूले एउटा चमत्कार गरेर देखाए। हारूनले आफ्नो लट्ठी भुइँमा फाल्यो र त्यो ठूलो सर्प बन्यो। तर फिरऊनका जादूगरहरूले पनि आ-आफ्ना लट्ठीहरू फालेर सर्प बनाए। तर चित्रमा हेर त। हारूनको सर्पले ती जादूगरहरूका सर्पहरूलाई निल्दैछ। तैपनि, फिरऊनले इस्राएलीहरूलाई जान दिएन।

यहोवाले त्यो घमन्डी फिरऊनलाई पाठ सिकाउने निधो गर्नुभयो। उहाँले के गर्नुभयो, तिमीलाई थाह छ? उहाँले मिश्रमाथि १० वटा ठूल्ठूला विपत्ति ल्याउनुभयो।

एकपछि अर्को विपत्ति भोगेपछि फिरऊनले मोशालाई बोलाउन पठाउँथ्यो र यसो भन्थ्यो: ‘यी विपत्तिहरू रोक, म इस्राएलीहरूलाई जान दिन्छु।’ तर विपत्ति रोकिएपछि फिरऊनको मन फेरि बद्लिन्थ्यो। ऊ इस्राएलीहरूलाई जान दिंदैनथ्यो। तर अन्तमा, १० औं विपत्ति भोगेपछि फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट पठायो।

ती १० विपत्तिहरू के-के हुन्, के तिमीलाई थाह छ? हामी अर्को कथाबाट पत्ता लगाऔं है।

प्रस्थान ४:२७-३१; ५:१-२३; ६:१-१३, २६-३०; ७:१-१३.



प्रश्नहरू

  • मोशा र हारूनले चमत्कारहरू गरेको देखेपछि इस्राएलीहरूले के गरे?
  • मोशा र हारूनले फिरऊनलाई के भने? फिरऊनले के जवाफ दियो?
  • हारूनले आफ्नो लट्ठी फ्याँकेपछि के भयो, चित्र हेरेर बताऊ।
  • यहोवाले फिरऊनलाई कसरी पाठ सिकाउनुभयो? अनि त्यसपछि फिरऊनले के गऱ्यो?
  • दसौं विपत्ति भएपछि के भयो?

थप प्रश्नहरू

  • प्रस्थान ४:२७-३१ र ५:१-२३ पढ्नुहोस्।

    ‘म यहोवालाई चिन्दिनँ’ भनेर फिरऊनले के भन्न खोजेको थियो? (प्रस्थ. ५:२; १ शमू. २:१२; रोमी १:२१)

  • प्रस्थान ६:१-१३, २६-३० पढ्नुहोस्।

    कुन अर्थमा यहोवाले आफूलाई अब्राहाम, इसहाक र याकूबसामु चिनाउनु भएन? (प्रस्थ. ३:१३, १४; ६:३; उत्प. १२:८)

    मोशाले आफूलाई अयोग्य महसुस गरे तापनि यहोवाले उसलाई नै आफ्नो काम गर्न अह्राउनुभएको घटना पढेर तपाईंलाई कस्तो लाग्यो? (प्रस्थ. ६:१२, ३०; लूका २१:१३-१५)

  • प्रस्थान ७:१-१३ पढ्नुहोस्।

    निडर भई फिरऊनलाई यहोवाको न्यायदण्ड घोषणा गरेर मोशा र हारूनले आज परमेश्वरका सेवकहरूका लागि कस्तो नमुना बसाले? (प्रस्थ. ७:२, ३, ६; प्रेरि. ४:२९-३१)

    यहोवाले कसरी आफूलाई मिश्रका देवीदेवताहरूभन्दा सर्वश्रेष्ठ प्रमाणित गर्नुभयो? (प्रस्थ. ७:१२; १ इति. २९:१२)