अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा २२: यूसुफलाई जेलमा हालिन्छ

कथा २२: यूसुफलाई जेलमा हालिन्छ

इश्माएलीहरूले मिश्र देशमा लैजाँदा यूसुफ १७ वर्षको मात्र थियो। त्यहाँ उसलाई पोतीफर भन्ने मान्छेले किन्छ। पोतीफर मिश्र देशको राजा, फिरऊनकहाँ काम गर्छ।

यूसुफ जेलमा

यूसुफ आफ्नो मालिक पोतीफरको घरमा खूब काम गर्छ। यसकारण यूसुफ अलि ठूलो भएपछि पोतीफरले आफ्नो घरको सारा जिम्मा उसलाई सुम्पिदिन्छ। त्यसोभए, यूसुफलाई किन जेलमा हालेको त? पोतीफरकी स्वास्नीले गर्दा।

यूसुफ जवान भएपछि हेर्नमा अति सुन्दर हुन्छ। यूसुफलाई सुन्दर देखेर पोतीफरकी पत्नी ऊसित सुत्न चाहन्छे। तर यसो गर्नु गलत हो भनेर यूसुफलाई थाह थियो। ऊ आफ्नी मालिककी पत्नीसित सुत्न मान्दैन। पोतीफरकी पत्नी साह्रै रिसाउँछे। यसकारण, लोग्ने घर फर्केपछि उसले झूटो कुरा गर्छे: ‘यूसुफ मसित जबरजस्ती सुत्न खोज्यो!’ आफ्नी पत्नीको कुरा सुनेपछि पोतीफर असाध्यै रिसाउँछ। उसले यूसुफलाई जेलमा हालिदिन्छ।

तर छिट्टै जेलको हाकिमले यूसुफ असल केटो रहेछ भनेर थाह पाउँछ। उसले यूसुफलाई अरू जम्मै कैदीहरूको हेरविचार गर्न खटाउँछ। एकदिन फिरऊन आफ्नो दुई जना नोकरसित असाध्यै रिसाउँछ। उनीहरूमध्ये एक जना फिरऊनलाई रक्सी दिने काम गर्थ्यो भने अर्कोचाहिं रोटी पकाउने काम गर्थ्यो। एक रात उनीहरू दुवैले बेग्लाबेग्लै सपना देख्छन्। उनीहरूले आफ्नो सपनाको अर्थचाहिं बुझ्दैनन्। भोलिपल्ट यूसुफ उनीहरूलाई यसो भन्छ: ‘मलाई तिमीहरूको सपना बताओ।’ उनीहरूले सपना बताएपछि यूसुफले परमेश्वरको मदत पाएर उनीहरूको सपनाको अर्थ खोलिदिन्छ।

राजालाई रक्सी दिने नोकरलाई यूसुफ यसो भन्छ: ‘तीन दिनपछि तिमी जेलबाट निस्कनेछौ र तिमीले फेरि फिरऊनको दरबारमा पहिलेकै काम पाउनेछौ।’ यूसुफ उसलाई यो कुरा पनि भन्छ: ‘तिमी बाहिर निस्केपछि, फिरऊनलाई मेरो विषयमा भन र मलाई यस ठाउँबाट निस्कन मदत गर है।’ तर रोटी पकाउने नोकरलाई चाहिं यूसुफ यसो भन्छ: ‘अबको तीन दिनपछि नै फिरऊनले तिम्रो टाउको काट्नेछ।’

तीन दिनपछि यूसुफले भने जस्तै हुन्छ। फिरऊनले रोटी पकाउने नोकरको टाउको काट्न लगाउँछ। रक्सी दिने नोकरचाहिं जेलबाट निस्केर फेरि राजाको सेवा गर्न थाल्छ। तर उसले यूसुफलाई भुसुक्कै बिर्सिहाल्छ! उसले फिरऊनलाई यूसुफबारे केही भन्दैन। त्यसैले यूसुफ जेलमै बसिरहनुपर्छ।

उत्पत्ति ३९:१-२३; ४०:१-२३.



प्रश्नहरू

  • यूसुफलाई मिश्रमा लैजाँदा ऊ कति वर्षको थियो र ऊ त्यहाँ पुगेपछि के हुन्छ?
  • यूसुफ कसरी जेलमा पर्छ?
  • जेलमा यूसुफलाई के गर्न खटाइन्छ?
  • जेलमा यूसुफले फिरऊनलाई रक्सी दिने नोकर र रोटी पकाउने नोकरका लागि के काम गरिदिन्छ?
  • फिरऊनलाई रक्सी दिने नोकर जेलबाट निस्केपछि के हुन्छ?

थप प्रश्नहरू

  • उत्पत्ति ३९:१-२३ पढ्नुहोस्।

    यूसुफको समयमा व्यभिचार निषेध गर्ने कुनै लिखित नियम परमेश्वरले नदिनुभए तापनि कुन कुराले उसलाई पोतिफरकी स्वास्नीदेखि भाग्न उत्प्रेरित गऱ्यो? (उत्प. २:२४; २०:३; ३९:९)

  • उत्पत्ति ४०:१-२३ पढ्नुहोस्।

    पियाउनेको सपना र यहोवाले यूसुफलाई बताउनुभएको त्यसको अर्थ छोटकरीमा बताउनुहोस्। (उत्प. ४०:९-१३)

    पकाउनेले कस्तो सपना देख्यो र त्यसको अर्थ के थियो? (उत्प. ४०:१६-१९)

    आज विश्वासी र बुद्धिमान् दास वर्गले कसरी यूसुफको मनोवृत्ति अनुकरण गरेका छन्? (उत्प. ४०:८; भज. ३६:९; यूह. १७:१७; प्रेरि. १७:२, ३)

    जन्मोत्सवहरूप्रति मसीहीहरूले राख्नुपर्ने दृष्टिकोणबारे उत्पत्ति ४०:२०, २२ ले के प्रकाश पार्छ? (उप. ७:१; म. ६:२१-२८)