अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा १९: याकूबको ठूलो परिवार

कथा १९: याकूबको ठूलो परिवार
याकूब र उसका छोराहरू

यो ठूलो परिवार कसको हो, तिमीलाई थाह छ? यो याकूबको परिवार हो। याकूबका १२ छोरा अनि केही छोरी पनि थिए। के तिमीलाई याकूबका छोराछोरीको नाउँ थाह छ? उनीहरूको नाउँ के हो, थाह पाऔं है त।

लेआले रूबेन, शिमोन, लेवी र यहूदालाई जन्माई। राहेलको छोराछोरी थिएन। त्यसकारण ऊ असाध्यै दुःखी भई। आफ्नै छोराछोरी नभएकोले राहेलले आफ्नी दासी बिल्हासित याकूबको बिहे गराइदिई। बिल्हाले दुई छोरा जन्माई। उनीहरूको नाउँ दान र नप्ताली राखियो। यसपछि, लेआले पनि आफ्नी दासी जिल्पासित याकूबको बिहे गराइदिई। जिल्पाले गाद र आशेरलाई जन्माई। अन्तमा लेआले अरू दुई छोरा इस्साकार र जबूलनलाई जन्माई।

आखिरमा राहेलले पनि एउटा बालक जन्माई। उसले बालकको नाउँ यूसुफ राखी। यूसुफ पछि गएर धेरै ठूलो मान्छे बन्यो। हामी यूसुफबारे अझ धेरै कुरा सिक्नेछौं। याकूबले आफ्नो ससुरा लाबानको घरमा जन्माएका ११ जना छोरा यिनै हुन्।

याकूबका केही छोरीहरू पनि थिए तर बाइबलमा तीमध्ये एक जनाको मात्र नाउँ दिइएको छ। उसको नाउँ दीना थियो।

एकदिन याकूबले लाबानको घर छोडेर कनान फर्कने फैसला गऱ्यो। यसकारण उसले आफ्नो ठूलो परिवार, भेडाको ठूलो बथान र गाईवस्तुहरू सबै जम्मा गरेर लामो यात्रा सुरु गऱ्यो।

याकूब र उसको परिवार कनान पुगेको केही समयपछि राहेलले अर्को एउटा छोरो जन्माई। उनीहरू यात्रा गरिरहेको बेला छोरो जन्मेको थियो। यसपालि बच्चा जन्माउँदा राहेललाई धेरै गाह्रो भयो र जन्माउँदा जन्माउँदै ऊ मरी। तर सानो बालकलाई चाहिं केही भएन। याकूबले बालकको नाउँ बिन्यामीन राख्यो।

हामीले याकूबका १२ जना छोराको नाउँ सम्झिराख्नुपर्छ। किनभने उनीहरूकै सन्तान पछि गएर इस्राएली जाति बन्यो। इस्राएलको १२ गोत्रका नाउँहरू याकूबका १० जना छोरा र यूसुफका दुई जना छोराकै नाउँबाट लिइएका हुन्। यी जम्मै केटाहरू जन्मेपछि पनि इसहाक धेरै वर्षसम्म बाँचिरह्यो। यतिका थुप्रै नाति-नातिना देख्न पाउँदा इसहाक असाध्यै खुसी भयो। तर उसकी नातिनी दीनालाई के भयो, हामी अर्को कथा पढौं है त।

उत्पत्ति २९:३२-३५; ३०:१-२६; ३५:१६-१९; ३७:३५.



प्रश्नहरू

  • याकूबकी जेठी पत्नी लेआबाट जन्मिएका छ जना छोराहरूको नाउँ के-के थियो?
  • लेआकी दासी जिल्पाले याकूबबाट कुन-कुन दुई जना छोरा जन्माई?
  • राहेलकी दासी बिल्हाले याकूबबाट जन्माएकी दुई जना छोराको नाउँ के-के थियो?
  • राहेलले कुन-कुन दुई जना छोरा जन्माई तर दोस्रो छोरा जन्मँदा के भयो?
  • याकूबका कति जना छोराहरू थिए, चित्र हेरेर बताऊ। पछि गएर उनीहरूबाट कुन जाति बन्यो?

थप प्रश्नहरू

  • उत्पत्ति २९:३२-३५; ३०:१-२६; र ३५:१६-१९ पढ्नुहोस्।

    प्राचीन समयमा हिब्रू केटाहरूको नाउँ अक्सर कसरी राखिन्थ्यो भनेर याकूबका १२ जना छोराहरूको नाउँहरूबाट थाह पाउन सक्छौं?

  • उत्पत्ति ३७:३५ (NRV) पढ्नुहोस्।

    बाइबलमा दीनाको नाउँ मात्र उल्लेख गरिएको भए तापनि याकूबका अरू छोरीहरू पनि थिए भनेर हामी कसरी थाह पाउँछौं? (उत्प. ३७:३४, ३५, NRV)