सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा १५: लूतकी पत्नीले पछाडि फर्केर हेरी

कथा १५: लूतकी पत्नीले पछाडि फर्केर हेरी

लूत र उसको परिवार अब्राहामसँगै कनान देशमा बस्थो। एकदिन अब्राहामले लूतलाई यसो भन्यो: ‘हाम्रा सबै गाईवस्तुका लागि यहाँ ठाउँ पुगेन। यसकारण हामी अलग-अलग बसौं। तिमी एकातिर जाऊ, म अर्कोतिर जान्छु।’

लूतले वरिपरि टाढा-टाढासम्म हेर्न थाल्यो। उसले एउटा असाध्यै राम्रो ठाउँ देख्यो। त्यो ठाउँ यर्दन जिल्ला थियो। त्यहाँ उसका गाईवस्तुका लागि धेरै पानी र राम्रो घाँस पनि थियो। यसकारण लूत आफ्नो परिवार अनि गाईवस्तु जम्मै लिएर त्यहाँ गयो। अन्तमा उनीहरूले सदोम भन्ने सहरमा घर बनाए।

सदोमका मान्छेहरू असाध्यै खराब थिए। यो देखेर लूतलाई धेरै दुःख लाग्थ्यो। किनभने ऊ असल मान्छे थियो। परमेश्वरलाई पनि सदोम देखेर धेरै दुःख लाग्यो। त्यसैकारण परमेश्वरले सदोम अनि नजिकै पर्ने सहर गमोरालाई नाश गर्ने विचार गर्नुभयो। अनि यो खबर लूतलाई बताउन उहाँले दुई स्वर्गदूत पठाउनुभयो।

स्वर्गदूतहरूले लूतलाई यसो भने: ‘छिटो गर! तिम्री पत्नी र दुइटी छोरीलाई लिएर यहाँबाट गइहाल!’ तर लूत र उसको परिवारले आलेटाले गरिरहे। यसकारण स्वर्गदूतहरूले उनीहरूको हात समातेर सहरबाहिर लगे। त्यसपछि एक जना स्वर्गदूतले उनीहरूलाई यसो भने: ‘आफ्नो ज्यान बचाउन भाग! पछाडि फर्केर नहेर। पहाडतिर भाग नत्र तिमीहरू मर्नेछौ।’

लूत र उसका छोरीहरूले स्वर्गदूतको कुरा मानेर सदोमबाट भागे। उनीहरू कतै पनि रोकिएनन्, पछाडि फर्केर पनि हेरेनन्। तर लूतकी पत्नीले स्वर्गदूतको कुरा मानिन। सदोमबाट अलि पर पुगेपछि ऊ रोकिई र पछाडि फर्केर हेरी। तब लूतकी पत्नी नुनको खम्बा भई। लूतकी पत्नी नुनको खम्बा बनेको तल चित्रमा हेर त।

परमेश्वरले उहाँको कुरा मान्ने मान्छेहरूलाई बचाउनुहुन्छ तर उहाँले भनेको नटेर्नेहरूले आफ्नो ज्यान गुमाउनेछन् भनेर हामी यो कथाबाट राम्रो पाठ सिक्छौं।

उत्पत्ति १३:५-१३; १८:२०-३३; १९:१-२९; लूका १७:२८-३२; २ पत्रुस २:६-८.

लूत सदोमबाट भाग्दै


प्रश्नहरू

  • अब्राहाम र लूत किन छुट्टिए?
  • लूतले किन सदोममा बस्न रोज्यो?
  • सदोमका मानिसहरू कस्ता थिए?
  • दुई जना स्वर्गदूतले लूतलाई कस्तो चेतावनी दिए?
  • लूतकी पत्नी किन नुनको खम्बा भई?
  • लूतकी पत्नीको घटनाबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्नहरू

  • उत्पत्ति १३:५-१३ पढ्नुहोस्।

    व्यक्तिगत समस्याहरू सुल्झाउने सन्दर्भमा हामी अब्राहामबाट के पाठ सिक्न सक्छौं? (उत्प. १३:८, ९; रोमी १२:१०; फिलि. २:३, ४)

  • उत्पत्ति १८:२०-३३ पढ्नुहोस्।

    यहोवाले अब्राहामसित गर्नुभएको व्यवहारले यहोवा र येशूले सही न्याय गर्नुहुनेछ भनेर हामी कसरी विश्वस्त हुन सक्छौं? (उत्प. १८:२५, २६; मत्ती २५:३१-३३)

  • उत्पत्ति १९:१-२९ पढ्नुहोस्।

    यस बाइबल विवरणबाट समलिङ्गीलाई परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ भनेर देखिन्छ? (उत्प. १९:५, १३; लेवी २०:१३)

    लूत र अब्राहामले कसरी परमेश्वरको निर्देशनप्रति भिन्ना-भिन्नै प्रतिक्रिया देखाए र यसबाट हामी के सिक्न सक्छौं? (उत्प. १९:१५, १६, १९, २०; २२:३)

  • लूका १७:२८-३२ पढ्नुहोस्।

    लूतकी पत्नीको हृदयमा भौतिक कुराप्रति कस्तो मनोवृत्ति लुकेको थियो र यो हाम्रो लागि कसरी एउटा चेतावनीसरह भएको छ? (लूका १२:१५; १७:३१, ३२; मत्ती ६:१९-२१, २५)

  • दोस्रो पत्रुस २:६-८ पढ्नुहोस्।

    लूतको अनुकरण गर्दै हामीले वरपरको अभक्त संसारप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? (इज. ९:४; १ यूह. २:१५-१७)