अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ९: नूहले ठूलो जहाज बनाउँछ

कथा ९: नूहले ठूलो जहाज बनाउँछ
मानिसहरू नूहको कुरा सुनेर हाँस्दै

नूहकी एउटी पत्नी र तीन छोरा थिए। छोराहरूको नाउँ शेम, हाम र येपेत थियो। उनीहरूको पनि आ-आफ्नो पत्नी थिए। यसरी नूहको परिवारमा जम्मा आठ जना थिए।

एकदिन परमेश्वरले नूहलाई एउटा अचम्मको काम गर्न लगाउनुभयो। उहाँले नूहलाई ठूलो जहाज बनाउनू भन्नुभयो। त्यो ठूलो जहाज हेर्दा लामो र ठूलो बाकसजस्तै देखिन्थ्यो। परमेश्वरले ‘त्यसको तीन तला बनाउनू र त्यसमा कोठाहरू पनि राख्नू’ भन्नुभयो। जहाजभित्र नूह, उसको परिवार, जनावर अनि उनीहरू सबैलाई चाहिने खानेकुरा राख्न पुग्ने कोठाहरू थिए।

जहाजको कोठाभित्र पानी नपस्ने गरी बनाउनू भनेर पनि परमेश्वरले नूहलाई अह्राउनुभयो। परमेश्वरले यसो भन्नुभयो: ‘म एउटा ठूलो जलप्रलय गराउनेछु र सारा संसारलाई नाश गर्नेछु। जहाजबाहिर हुने सबै मर्नेछन्।’

नूह र उसका छोराहरूले यहोवाको आज्ञा माने। उनीहरूले जहाज बनाउन थाले। तर अरू मान्छेहरू चाहिं नूहले जहाज बनाएको देखेर हाँसे। उनीहरू खराब थिए। नूहले परमेश्वरले भन्नुभएको कुरा सुनाउँदा कसैले पनि पत्याएन।

नूहको परिवार जनावर र खानेकुरा जहाजभित्र राख्दै

जहाज असाध्यै ठूलो भएकोले त्यसलाई बनाउन धेरै समय लाग्यो। अन्तमा धेरै वर्षपछि नूहले जहाज बनाउन सिध्यायो। त्यसपछि परमेश्वरले नूहलाई जहाजभित्र जनावरहरू राख्न लगाउनुभयो। परमेश्वरले कुनै-कुनै जनावरको एक जोडी भाले-पोथी ल्याउनू भन्नुभयो। तर अरू जनावरको चाहिं सात जोडी भाले-पोथी ल्याउनू भन्नुभयो। परमेश्वरले नूहलाई धेरै थरीको चराचुरुंगीहरू पनि भित्र ल्याउनू भन्नुभयो। परमेश्वरले जे-जे भन्नुभयो, नूहले ती सबै गरे।

केही समयपछि नूह र उसको परिवार पनि जहाजभित्र पसे। त्यसपछि परमेश्वरले जहाजको ढोका बन्द गरिदिनुभयो। जहाजभित्र नूह र उसको परिवार जलप्रलय कहिले हुन्छ भनेर पर्खेर बसे। तिमी पनि त्यहाँ जहाजभित्र नूह र उसको परिवारसँगै पर्खेर बसेको कल्पना गर त। के परमेश्वरले भन्नुभएझैं जलप्रलय हुन्छ होला?

उत्पत्ति ६:९-२२; ७:१-९.



प्रश्नहरू

  • नूहको परिवारमा कति जना थिए र उसका तीन जना छोराहरूको नाउँ के-के थियो?
  • परमेश्वरले नूहलाई कस्तो अनौठो काम गर्न लगाउनुभयो र किन?
  • नूहले जहाज बनाएको देखेर अरू मान्छेहरूले के गरे?
  • जनावरहरूलाई जहाजमा राख्नेबारे परमेश्वरले के भन्नुभयो?
  • परमेश्वरले जहाजको ढोका बन्द गरिदिनुभएपछि नूह र उसको परिवारले के गर्नुपऱ्यो?

थप प्रश्नहरू

  • उत्पत्ति ६:९-२२ पढ्नुहोस्।

    कुन कुराले नूहलाई साँचो परमेश्वरको विशेष उपासक बनायो? (उत्प. ६:९, २२)

    यहोवालाई हिंसा कस्तो लाग्छ र मनोरञ्जन गर्दा हामीले विचार गर्नुपर्ने कुराबारे यसले के औंल्याउँछ? (उत्प. ६:११, १२; भज. ११:५)

    यहोवाको संगठनबाट निर्देशन पाउँदा हामी कसरी नूहको अनुकरण गर्न सक्छौं? (उत्प. ६:२२; १ यूह. ५:३)

  • उत्पत्ति ७:१-९ पढ्नुहोस्।

    असिद्ध मानिस नूहलाई यहोवाले धर्मी व्यक्तिको रूपमा हेर्नु हाम्रो लागि किन प्रोत्साहनजनक कुरा हो? (उत्प. ७:१; हितो. १०:१६, NRV; यशै. २६:७)