अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ७: साहसी मान्छे

कथा ७: साहसी मान्छे
हनोक

पृथ्वीमा मान्छे बढ्दै गएपछि धेरैजसोले कयिनले जस्तै नराम्रो काम गर्न थाले। तर एक जना मान्छे भने बेग्लै थियो। उसको नाउँ हनोक थियो। हनोक साहसी थियो। अरूले असाध्यै नराम्रो काम गरे तापनि हनोकले चाहिं परमेश्वरलाई मनपर्ने काम गरिरह्यो।

त्यतिखेरका मान्छेहरू किन धेरै नराम्रो काम गर्थे, तिमीलाई थाह छ? आदम र हव्वालाई कसले रूखको फल खान लगायो, सोच त। हो, एउटा खराब स्वर्गदूतले। बाइबलले त्यसलाई शैतान भन्छ। त्यसले आदम र हव्वालाई परमेश्वरको आज्ञा तोड्न लगायो। त्यसले अरूलाई पनि खराब बनाउन खोज्छ।

लुटपाट र हत्या

एकदिन यहोवा परमेश्वरले हनोकलाई एउटा कुरा भन्न लगाउनुभयो। तर मान्छेहरू उसको कुरा सुन्न चाहँदैन थिए। त्यो कुरा थियो: ‘एकदिन परमेश्वरले सबै खराब मान्छेहरूलाई नाश गर्नुहुनेछ।’ यो सुनेर उनीहरूलाई हनोकसित असाध्यै रिस उठ्यो। उनीहरूले हनोकलाई मार्न पनि खोजे। परमेश्वरले भन्नुभएको कुरा बताउन हनोक धेरै साहसी हुनुपरेको थियो।

थुप्रै मान्छे खराब भएकोले परमेश्वरले हनोकलाई धेरै दिनसम्म राख्नुभएन। हनोक ३६५ वर्षसम्म मात्र बाँचे। किन “३६५ वर्षसम्म मात्र” भनेको? किनभने त्यतिखेर मान्छेहरू अहिलेभन्दा धेरै बलिया हुन्थे। उनीहरू धेरै समयसम्म बाँच्थे। हनोकको छोरा मतूशेलह त ९६९ वर्षसम्म बाँचे!

मानिसहरू खराब काम गर्दै

तर हनोक मरेपछि मान्छेहरू झन्झन् खराब हुँदै गए। बाइबलले ‘उनीहरूले सोचेको सबै कुरा हरसमय खराब मात्र हुन्थ्यो’ र ‘पृथ्वी हिंसाले भरिएको थियो’ भन्छ।

त्यतिबेला पृथ्वीमा यत्ति धेरै गोलमाल किन भयो, तिमीलाई थाह छ? किनकि शैतानले मान्छेहरूलाई खराब कुरा गर्न लाउन एउटा नयाँ तरिका भेट्टाएको थियो। यस विषयमा अब हामी अर्को कथा पढौं है।

उत्पत्ति ५:२१-२४, २७; ६:५; हिब्रू ११:५; यहूदा १४, १५.



प्रश्नहरू

  • हनोक कसरी अरू मान्छेभन्दा फरक थियो?
  • हनोकको समयमा मान्छेहरूले धेरै खराब कामहरू किन गर्थे?
  • मान्छेहरूले कस्ता खराब काम गरिरहेका थिए, चित्र हेरेर बताऊ।
  • हनोक किन साहसी हुनुपरेको थियो?
  • त्यति बेला मान्छेहरू कति वर्ष बाँच्थे तर हनोक कति वर्ष बाँच्यो?
  • हनोक मरेपछि के भयो?

थप प्रश्नहरू

  • उत्पत्ति ५:२१-२४, २७ पढ्नुहोस्।

    यहोवासित हनोकको सम्बन्ध कस्तो थियो? (उत्प. ५:२४)

    बाइबलअनुसार अहिलेसम्म सबैभन्दा धेरै वर्ष बाँचेको व्यक्ति को हो र ऊ कति वर्ष बाँच्यो? (उत्प. ५:२७)

  • उत्पत्ति ६:५ पढ्नुहोस्।

    हनोकको मृत्युपछि पृथ्वीको अवस्था कत्तिको खराब भयो र हाम्रो समयसित यो कसरी मेल खान्छ? (२ तिमो. ३:१३)

  • लूका ३:२३, ३७ पढ्नुहोस्।

    ‘परमेश्वरको साथसाथ हिंडेको’ कारण हनोकले कस्तो इनाम पायो? (उत्प. ५:२२)

  • यहूदा १४, १५ पढ्नुहोस्।

    आउँदै गरेको आर-मागेडोनको युद्धबारे मानिसहरूलाई चेतावनी दिंदा आज मसीहीहरू कसरी हनोक जस्तै साहसी हुन सक्छन्? (२ तिमो. ४:२; हिब्रू १३:६)