सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय चार

“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”

“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”

१, २. (क) नाओमी र रूथको यात्राबारे बताउनुहोस्। (ख) तिनीहरूमाथि कस्तो शोक आइपरेको थियो? (ग) रूथको यात्रा नाओमीको भन्दा कसरी फरक थियो?

रूथ नाओमीको पछि-पछि हिंडिरहेकी छिन्‌। तिनीहरू हुरीबतास चलिरहने मोआबको अग्लो मैदानको बाटो हिंडिरहेका छन्‌। त्यो विशाल भूमिमा ती दुई प्राणी मात्र हिंड्‌दैछन्‌। दिन ढल्कँदै गइरहेको रूथ याद गर्छिन्‌। तिनी आफ्नी सासूलाई पुलुक्क हेर्छिन्‌। तिनको हेराइमा कहाँ बास बस्ने होला भन्ने प्रश्न देखिन्छ। तिनी नाओमीलाई औधी माया गर्छिन्‌। सासूको हेरचाहको लागि आफूले सकेजति सबै गर्न तिनी तयार छिन्‌।

ती दुवै स्त्रीलाई पर्नु पीर परेको छ। तिनीहरू शोकमा डुबेका छन्‌। धेरै वर्ष पहिला नाओमीले आफ्नो श्रीमान्‌ गुमाएकी थिइन्‌। बुढेसकालको सहारा भनेकै दुई छोरा महलोन र किल्योन थिए। तर अहिले आएर तिनीहरूको पनि मृत्यु भयो। महलोन रूथका श्रीमान्‌ थिए। त्यसैले रूथ पनि शोकमा डुबेकी छिन्‌। रूथ र नाओमीको गन्तव्य एउटै छ, इस्राएलको सहर बेतलेहेम। गन्तव्य एउटै भए तापनि यस यात्राले तिनीहरूको जीवनमा फरक अर्थ राख्छ। नाओमी आफ्नो घर फर्किरहेकी छिन्‌। रूथ भने बिरानो ठाउँतिर जाँदैछिन्‌—आफ्नो माइती, त्यहाँको परम्परा, त्यहाँका देवीदेवता सब छोडेर।—रूथ १:३-६ पढ्‌नुहोस्।

३. कुन-कुन प्रश्नका जवाफले हामीलाई मोआबी रूथको विश्वास अनुकरण गर्न जुरमुऱ्याउँछ?

यी जवान स्त्री रूथले किन यत्ति गम्भीर निर्णय गरिन्‌? तिनी अबको नयाँ जीवन कसरी बिताउँछिन्‌? तिनले आफ्नी प्यारी सासूको हेरविचार कसरी गर्नेछिन्‌? यी प्रश्नका जवाफले हामीलाई मोआबी रूथको विश्वास अनुकरण गर्न जुरमुऱ्याउँछ। (“ सूक्ष्म तर अनमोल रत्न” शीर्षकको पेटी पनि हेर्नुहोस्) यी दुई स्त्री कसरी यस्तो अवस्थामा आइपुगे, सबैभन्दा पहिला त्यो विचार गरौं।

शोकमा डुबेको परिवार

४, ५. (क) नाओमीको परिवार किन मोआब सऱ्यो? (ख) मोआबमा नाओमीलाई के-कस्ता चुनौती आइपऱ्यो?

मृत सागरको पूर्वतिर पर्ने सानो सहर मोआबमा रूथ हुर्केकी थिइन्‌। मोआब अग्लो भूभागमा रहेको छ। त्यहाँ फाट्टफुट्ट मात्र रूख-बिरुवा भेटिन्छन्‌। त्यहाँको जमिनको बीच-बीचमा गहिरा धाँजा फाटेका छन्‌। इस्राएलमा अनिकाल परेको  बेलामा समेत “मोआबीहरूको देशमा” अक्सर उब्जनी हुन्थ्यो। इस्राएलमा अनिकाल परेको कारणले नै रूथले महलोनलाई र तिनको परिवारलाई मोआबमा भेटेकी थिइन्‌।—रूथ १:१.

इस्राएलमा अनिकाल परेकोले नाओमीका श्रीमान्‌ एलीमेलेकले आफ्नी श्रीमती र दुई छोरालाई लिएर मोआबमा परदेशी जीवन बिताउने निर्णय गरे। परदेशमा बसेर आफ्नो विश्वास जोगाउनु त्यस परिवारका प्रत्येक सदस्यको लागि चुनौतीपूर्ण कुरा थियो। किनभने इस्राएलीहरू यहोवाले तोक्नुभएको पवित्रस्थानमा नियमित रूपमा उपासना गर्न जानुपर्थ्यो। (व्यव. १६:१६, १७) विदेशी भूमिमा भए तापनि नाओमीले आफ्नो विश्वास ढलपल हुन दिइनन्‌। तर श्रीमान्‌को मृत्यु हुँदा उनको मुटु छियाछिया भयो।—रूथ १:२, ३.

६, ७. (क) छोराहरूले मोआबी स्त्रीहरूसँग विवाह गर्दा नाओमी किन चिन्तित भएकी हुनुपर्छ? (ख) नाओमीले आफ्ना बुहारीहरूसँग गरेको व्यवहार किन प्रशंसनीय छ?

आफ्ना छोराहरूले मोआबी स्त्रीहरूसँग विवाह गरेकोले पनि नाओमी दुःखी भएकी हुनुपर्छ। (रूथ १:४) आफ्नो पुर्खा अब्राहामले छोरा इसहाकको लागि आफ्नै जातिका मानिसहरूबाट यहोवाको उपासना गर्ने दुलही खोज्न कत्ति मेहनत गरेका थिए भनेर नाओमीलाई थाह थियो। (उत्प. २४:३, ४) पछि मोशाको व्यवस्थाले पनि अरू जातिका मानिसहरूसँग आफ्ना छोराछोरीको विवाह गराउन इस्राएलीहरूलाई निषेध गरेको थियो। परमेश्वरका जनहरू मूर्तिपूजामा नफसून्‌ भनेर नै त्यस्तो नियम दिइएको थियो।—व्यव. ७:३, ४.

दुःखको कुरा महलोन र किल्योनले मोआबी स्त्रीहरूसितै विवाह गरे। त्यसले गर्दा नाओमी चिन्तित वा निराश भएकी हुन सक्छिन्‌। तैपनि उनले आफ्ना दुवै बुहारीहरू ओर्पा र रूथलाई मायाममता देखाइरहिन्‌। सायद उनले यस्तो आशा गरेकी थिइन्‌: ‘बुहारीहरूले पनि त पछि यहोवाको उपासना गर्लान्‌ नि!’ जेहोस्, ओर्पा र रूथको लागि नाओमी प्यारी सासू भइन्‌। यस्तो घनिष्ठ सम्बन्धले गर्दा नै विपद्‌ले घेरेको बेला तिनीहरूले एक-अर्कालाई साथ दिन सके। छोराछोरी नहुँदै ती बुहारीहरू विधवा भए।—रूथ १:५.

८. रूथ कसरी यहोवासित घनिष्ठ भएकी हुन सक्छिन्‌?

माइतीमा छँदा मानेको धर्मले के रूथलाई यस्तो विपद्‌ सहन मदत गऱ्यो? सायद गरेन। मोआबीहरू थुप्रै देवीदेवताको उपासना गर्थे। तिनीहरूको कुलदेवताको नाम कमोश थियो। (गन्ती २१:२९) मोआबीहरूको उपासना डरलाग्दो र क्रूर किसिमको हुन्थ्यो। तिनीहरू आफ्ना देवीदेवतालाई साना नानीहरूको बलिसमेत चढाउँथे। तर इस्राएलका परमेश्वर यहोवा मायालु हुनुहुन्छ भनेर रूथले महलोन र नाओमीबाट सिकेकी थिइन्‌। मोआबीहरूको धर्मभन्दा कत्ति फरक! यहोवा आफ्ना जनहरूलाई डर देखाएर उपासना गराउनुहुन्न। बरु तिनीहरू प्रेमले उत्प्रेरित भएर उपासना गरेको चाहनुहुन्छ। (व्यवस्था ६:५ पढ्‌नुहोस्) आफ्नो परिवारमा विपद्‌ आइपरेको बेला रूथ नाओमीसँग पहिलाभन्दा  झनै घनिष्ठ भएकी हुनुपर्छ। आफ्नी सासूले सर्वशक्तिमान्‌ परमेश्वर यहोवाबारे, उहाँले गरेका अचम्मका कामहरूबारे र आफ्ना जनहरूसित गरेको मायालु र दयालु व्यवहारबारे बताउँदा रूथले ध्यान दिएर सुनेकी हुनुपर्छ।

दुःखकष्ट र वियोगको बेला नाओमीसित घनिष्ठ भएर रूथले बुद्धि झल्काइन्‌

९-११. (क) नाओमी, रूथ र ओर्पाले कस्तो निर्णय गरे? (ख) तिनीहरूमाथि आइपरेको विपद्‌बाट हामी के सिक्न सक्छौं?

नाओमी आफ्नो पुर्ख्यौली घर इस्राएलको अवस्था थाह पाउन उत्सुक थिइन्‌। सायद घुमन्ते व्यापारीहरूबाट होला, एकदिन नाओमीले इस्राएलमा अनिकालको समय सकिएको कुरा थाह पाइन्‌। यहोवाले फेरि आफ्ना जनहरूको हेरचाह गर्न थाल्नुभएको थियो। नाओमीको पुर्ख्यौली घर बेतलेहेमको अर्थ हो, “रोटीको घर।” त्यस नामअनुसारै अहिले बेतलेहेममा प्रशस्त उब्जनी भइरहेको थियो। त्यसैले नाओमीले घर फर्कने निर्णय गरिन्‌।—रूथ १:६.

१० रूथ र ओर्पाले चाहिं के गर्ने थिए? (रूथ १:७) आफ्ना पतिहरूको मृत्यु भएपछि उनीहरू नाओमीसँग झनै घनिष्ठ भएका थिए। नाओमीको दयालु व्यवहार र यहोवाप्रतिको वफादारी देखेर रूथचाहिं अझ प्रभावित भएकी थिइन्‌ जस्तो देखिन्छ। तीन जना विधवा अब यहूदाको यात्रामा निस्कन्छन्‌।

११ दुःख-पीडा भन्ने कुरा दुष्ट-सज्जन सबैमाथि आइपर्छ भनेर रूथको विवरणबाट हामी थाह पाउन सक्छौं। (उप. ९:२, ११) हामीमाथि पनि असह्य दुःख आइपर्दा अरूबाट सान्त्वना खोज्नु बुद्धिमानी कुरा हो भनेर यस विवरणले देखाउँछ। त्यसमाथि पनि नाओमीका परमेश्वर यहोवामा भरोसा गर्ने मानिसहरूबाट सान्त्वना खोज्नु झन्‌ कत्ति असल!—हितो. १७:१७.

रूथले वफादार प्रेम देखाइन्‌

१२, १३. नाओमीले बुहारीहरू आफ्नो पछि-पछि लाग्नुभन्दा माइतीमै फर्कून्‌ भन्ने इच्छा किन व्यक्त गरिन्‌? ती बुहारीहरूले सुरुमा के भने?

१२ ती तीन जना विधवा कोसौं पार गर्छन्‌। तर नाओमीलाई अर्को चिन्ताले सताउँछ। उनी आफूसँगै आएका दुई जवान बुहारीबारे सोच्छिन्‌। ती बुहारीहरूले आफूलाई र आफ्ना छोराहरूलाई देखाएको प्रेमबारे पनि सोच्छिन्‌। नाओमी ती दुई विधवा बुहारीलाई अझै बोझ बोकाउन चाहँदिनन्‌। उनीहरू आफ्नो जन्मघर छोडेर नाओमीको पछि-पछि बेतलेहेम जाँदैछन्‌। तर बिचरी नाओमीले उनीहरूको लागि के नै गरिदिन सक्छिन्‌ र?

१३ त्यसैले नाओमी उनीहरूलाई यसो भन्छिन्‌: “तिमीहरू दुवै आफ्ना-आफ्ना माइती-घर  फर्क जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति कृपालु व्यवहार गरेका थियौ, त्यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति कृपालु व्यवहार गरून्‌।” यहोवाले उनीहरू दुवैलाई नयाँ जीवनसाथी दिएर आशिष्‌ दिनुहुनेछ भन्ने विश्वास पनि नाओमीले व्यक्त गरिन्‌। त्यसपछि नाओमीले “उनीहरूलाई चुम्मन गरिन्‌, र तिनीहरू डाँको छोडी छोडीकन रोए” भनी बाइबल विवरण बताउँछ। दयाकी खानी र उदार मनकी यी सासूसँग ती दुई बुहारी किन त्यत्तिको घनिष्ठ थिए भनेर हामी सजिलै बुझ्न सक्छौं। ती दुवै बुहारीहरू यसो भन्दै ढिपी गरिरहन्छन्‌: “हामी तपाईंका मानिसहरूकहाँ जानेछौं।”—रूथ १:८-१०.

१४, १५. (क) ओर्पा किन माइती फर्किन्‌? (ख) आफ्नो पछि नलाग्न नाओमीले रूथलाई कसरी सम्झाइन्‌?

१४ तर नाओमी उनीहरूको कुरा सजिलै मान्नेवाला थिइनन्‌। इस्राएलमा गएर उनीहरूको लागि केही गर्न सक्दिनँ भनेर नाओमीले तर्क गरिन्‌। पालनपोषण गर्ने श्रीमान्‌ पनि नभएकोले र उनीहरूको लागि छोराहरू जन्माइदिन पनि नसक्ने भएकोले अब अरू कुनै आशा बाँकी छैन भनेर उनले बताइन्‌। बुहारीहरूका लागि आफूले केही पनि गर्न नसक्ने भएकोले नमीठो लागिरहेको छ भनेर पनि उनले बताइन्‌। नाओमीको कुरा ओर्पालाई चित्त बुझ्यो। मोआबमा ओर्पाको परिवार थियो। माइतीमा उनकी आमा अनि बाँकी अरू परिवारले बाटो कुर्दै थिए। त्यसैले उनले मोआबमा बस्नु नै उचित सम्झिन्‌। मन गह्रौं बनाएर उनले नाओमीलाई चुम्बन गरिन्‌ र माइतीतर्फ लागिन्‌।—रूथ १:११-१४.

१५ रूथ नि? नाओमीको कुरा रूथले पनि सुनेकी थिइन्‌। तर हामी यस्तो लेखिएको पाउँछौं: “रूथचाहिं तिनीसितै टाँसिरहिन्‌।” सायद बुहारीहरूलाई त्यसो भनिसकेपछि नाओमी बिस्तारै अघि बढेकी हुनुपर्छ। अलि पर पुगेपछि उनले रूथ अझै पनि आफ्नो पछि-पछि आइरहेकी देख्छिन्‌। त्यसैले फेरि पनि नाओमी तिनलाई यसो भन्छिन्‌: “हेर त, तिम्रो बहिनी ता आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।” (रूथ १:१५) नाओमीका शब्दहरूबाट हामी एउटा महत्त्वपूर्ण कुरा थाह पाउन सक्छौं। ओर्पा आफ्नो माइतीघर मात्र फर्केकी होइनन्‌ तर “आफ्ना  देवताहरूकहाँ” पनि फर्किन्‌ भनेर नाओमीले बताइन्‌। हो, ओर्पा फेरि कमोश देव अनि अरू झूटा देवताहरूको उपासना गर्न राजी थिइन्‌। रूथको विचार पनि त्यस्तै थियो कि?

१६-१८. (क) रूथले कसरी वफादार प्रेम देखाइन्‌? (ख) रूथले देखाएको वफादार प्रेमबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (पृष्ठ ३६-३७ को चित्र पनि हेर्नुहोस्)

१६ त्यो एकान्त बाटोमा रूथ नाओमीको अनुहार पुलुक्क हेर्छिन्‌। तिनको हेराइमा नाओमीलाई नछोड्‌ने दृढता देखिन्छ। नाओमीप्रति र नाओमीका परमेश्वरप्रति तिनको प्रेम हिउँचुली जत्तिकै चुलिएको छ। त्यसैले रूथ यसो भन्छिन्‌: “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीं नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्‌। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीं मर्नेछु, र त्यहीं नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले हामीलाई अलग गर्नेछैन भनी परमप्रभु तपाईंका परमेश्वरको सामने म यो गम्भीर शपथ खाएर भन्छु।”—रूथ १:१६, १७.

“तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, . . . तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्‌”

१७ रूथले भनेका कुराहरू उल्लेखनीय छन्‌। अहिले ३,००० वर्ष बितिसकेपछि पनि थुप्रै मानिसहरू तिनका शब्दहरूलाई औधी मन पराउँछन्‌। तिनका शब्दहरूमा वफादार प्रेमको उत्कृष्ट नमुना देखिन्छ। रूथले नाओमीलाई गर्ने प्रेम असाध्यै गहिरो थियो र वफादार पनि। त्यसैले त नाओमी जताजता जान्थिन्‌, रूथ पनि त्यतैत्यतै जान तयार थिइन्‌। मृत्युबाहेक अरू केले तिनीहरूलाई छुटाउन सक्थ्यो र! नाओमीका मानिसहरू तिनका आफ्नै मानिसहरू हुने थिए। मोआबमा भएका सबै कुरा त्याग्न रूथ तयार थिइन्‌—त्यहाँका देवीदेवतासमेत। रूथको विचार ओर्पाको भन्दा फरक थियो। नाओमीका परमेश्वरलाई आफ्नै परमेश्वर बनाउन तिनी मनदेखि नै राजी भइन्‌।

१८ यी दुई विधवा अझै हिंडिरहेका छन्‌; बेतलेहेम पुग्न कोसौं यात्रा गर्न बाँकी नै छ। एउटा अनुमानअनुसार यो यात्रा पूरा गर्न तिनीहरूलाई लगभग एक हप्ता लागेको हुनुपर्छ। एकअर्काको मनको घाउमा मलहम लगाउँदै तिनीहरूले आफ्नो दुःख भुल्न खोजे होलान्‌।

१९. तपाईंको विचारमा रूथले देखाएको वफादार प्रेम हामी परिवारमा, मित्रहरूमाझ अनि मण्डलीमा कसरी देखाउन सक्छौं?

१९ अहिले पनि थुप्रै मानिसहरूलाई दुःखकष्टको ओइरो नै लागेको छ। हामी बाँचिरहेको समयलाई बाइबलले “असाध्यै कठिन समय” भनेको छ। यस्तो समयमा हामीले पनि आफ्ना प्रियजनहरू गुमाउनुपर्ने हुन्छ र दुःख खप्नुपर्ने हुन्छ। (२ तिमो. ३:१) रूथमा भएको गुण अहिले हाम्रो समयमा झन्‌ धेरै चाहिन्छ। वफादार प्रेम यस्तो प्रेम हो, जुन आफ्नो उद्देश्य पूरा नहोउन्जेल टाँसिइरहन्छ वा छोडेर जाँदैन। त्यसैले यो गुण अहिलेको अन्धकारमय संसारमा हामीलाई नभई हुँदैन। वैवाहिक सम्बन्धमा, पारिवारिक सम्बन्धमा, मित्रतामा, ख्रीष्टियन मण्डलीमा यो गुणको निकै खाँचो छ। (१ यूहन्ना ४:७, ८, २० पढ्‌नुहोस्) यस्तो प्रेम खेती गऱ्यौं भने हामीले रूथको उल्लेखनीय उदाहरण पछ्याइरहेका हुन्छौं।

 रूथ र नाओमी बेतलेहेममा

२०-२२. (क) मोआबमा बसेको बेला नाओमीको जीवनमा कस्तो परिवर्तन आयो? (ख) आफूमाथि आइपरेको दुःखकष्टबारे नाओमीको सोचाइ कस्तो थियो? (याकूब १:१३ पनि हेर्नुहोस्)

२० वफादार प्रेम गर्छु भन्न जति सजिलो छ, गर्न त्यत्ति नै गाह्रो छ। रूथले नाओमीप्रति मात्र होइन तर आफूले उपासना गर्न चाहेको परमेश्वर यहोवाप्रति पनि वफादार प्रेम देखाउने मौका पाइन्‌।

२१ अन्ततः यी दुई स्त्री यरूशलेमबाट लगभग १० किलोमिटर दक्षिणतिर पर्ने बेतलेहेममा पुग्छन्‌। कुनै समय नाओमी र तिनको परिवार त्यस इलाकाका हुनेखानेहरूमै गनिन्थे र तिनीहरूलाई सबैले चिन्थेजस्तो देखिन्छ। किनभने नाओमी फर्केको खबर तुरुन्तै फैलिन्छ। उनलाई देख्ने आइमाईहरू यसो भन्न थाल्छन्‌: “के यिनी नाओमी नै हुन्‌?” मोआबमा बसेको बेला नाओमीको जीवनमा थुप्रै उथलपुथल भएको देखिन्छ। उनको रूपरङ्‌गमा वर्षौंदेखि उनले भोगेको कष्ट झल्किन्छ।—रूथ १:१९.

२२ आफ्ना नातेदारहरूलाई र पुराना छिमेकीहरूलाई नाओमी आफ्नो जीवनमा घटेको नमीठो घटना बताउँछिन्‌। उनी आफ्नो नाम नाओमी होइन मारा राख भन्छिन्‌। किनभने नाओमीको अर्थ “मीठो” हो; माराको अर्थ “तीतो।” बिचरी नाओमी! दुःखकष्ट परमेश्वरले नै ल्याइदिनुभएको हो भनेर उनले सोचिन्‌। तिनीभन्दा अघिका विश्वासी जन अय्यूबले पनि एकपटक त्यस्तै सोचेका थिए।—रूथ १:२०, २१; अय्यू. २:१०; १३:२४-२६.

२३. रूथलाई कुन कुराको चिन्ता लाग्न थाल्यो? मोशाको व्यवस्थामा गरिबहरूको लागि कस्तो प्रबन्ध गरिएको थियो? (फुटनोट पनि हेर्नुहोस्)

२३ यी दुई स्त्री बेतलेहेममा बसोबास गर्न थाल्छन्‌। अब आफ्नो र आफ्नी प्यारी सासूको हेरचाह कसरी गर्ने होला भनेर रूथ सोच्न थाल्छिन्‌। यहोवाले इस्राएलमा भएका आफ्ना जनको लागि दिनुभएको व्यवस्थामा गरिबहरूको लागि मायालु प्रबन्ध छ भनेर तिनले बुझिन्‌। कटनीको समयमा गरिबहरू खेतमा गएर खेतालाको पछि-पछि लाग्दै तिनीहरूले छोडेका सिलाबाला र खेतको कुना-कुनामा छोडिएको अन्न बटुल्न सक्थे। *लेवी १९:९, १०; व्यव. २४:१९-२१.

२४, २५. बोअजको खेतमा सिलाबाला बटुल्ने अनुमति पाएपछि रूथले के गरिन्‌? सिलाबाला बटुल्ने काम कस्तो हुन्थ्यो?

 २४ यो जौ काट्‌ने मौसम हो। अहिलेको अङ्‌ग्रेजी मितिअनुसार जौ काट्‌ने समय अप्रिल महिनामा पर्छ। कसले सिलाबाला बटुल्न देला भनेर हेर्न रूथ खेततिर जान्छिन्‌। तिनले आफ्ना ससुरा एलिमेलेकका धनाढ्‌य नातेदार बोअजको खेतमा सिलाबाला बटुल्ने अनुमति पाउँछिन्‌। हुन त मोशाको व्यवस्थाअनुसार तिनीसित सिलाबाला बटुल्ने अधिकार थियो। तैपनि तिनले सिलाबाला बटुल्न पाउँछु कि भनेर खेतालाका नाइकेलाई सोधिन्‌। अनुमति पाएपछि तिनले आलेटाले नगरी काम थालिहाल्छिन्‌।—रूथ १:२२–२:३, ७.

२५ कल्पना गर्नुहोस्, रूथ खेतालाहरूको पछि-पछि लागिरहेकी छिन्‌। पत्थरको हँसियाले जौ काट्‌दै खेतालाहरू अघि बढिरहेका छन्‌। तिनीहरूले खसालेको वा छोडेको बाला टिप्दै जान्छिन्‌ रूथ। तिनी बालाहरू जम्मा पारेर बिटा कस्छिन्‌ र चुट्‌न मिल्ने ठाउँमा थुपार्छिन्‌। यो काम बिस्तारै गर्नुपर्छ, थकाइलाग्दो हुन्छ र मध्यदिनमा त झनै गाह्रो! तर रूथ काममा खटिरहन्छिन्‌। निधारबाट तपतपी चुहिरहेको पसिना पुछ्दा र साधारण खाजा खान खेतालाहरूको लागि बनाइएको छाप्रोमा एकछिन टुसुक्क बस्दा मात्र तिनी आफ्नो काम रोक्छिन्‌।

रूथ आफ्नो लागि अनि नाओमीको लागि कडा परिश्रम गर्न र तुच्छ देखिने काम गर्न पनि तयार भइन्‌

२६, २७. बोअज कस्ता मानिस थिए? उनले रूथसित कस्तो व्यवहार गरे?

२६ अरूले आफूलाई याद गरून्‌ भनेर रूथले आशा गरेकी थिइनन्‌। तर तिनलाई अरूले याद गर्छन्‌। बोअजले तिनलाई देख्छन्‌ र तिनी को हुन्‌ भनेर खेतालाको नाइकेलाई सोध्छन्‌। खेतालाहरूमध्ये कोही एक दिनको लागि मात्र काम गर्न आएका ज्यामी थिए भने कोही चाहिं विदेशीहरू। तैपनि उनी सबै खेतालाहरूलाई अभिवादन गर्छन्‌। उनी सबैलाई यसरी अभिवादन गर्छन्‌: “परमप्रभु तिमीहरूसँग होऊन्‌।” खेतालाहरूले  पनि उनलाई त्यसरी नै जवाफ फर्काउँछन्‌। यहोवाका भक्त यी वृद्ध पुरुष रूथप्रति बुबाले देखाउनेजस्तै चासो देखाउँछन्‌।—रूथ २:४-७.

२७ बोअज रूथलाई “ए मेरी छोरी” भनेर बोलाउँछन्‌ र सिलाबाला बटुल्न यहीं आइरहनू भन्छन्‌। जवान खेतालाहरूले नहेपून्‌ भनेर आफ्नै घरका जवान स्त्रीहरू नजिकै बसेर सिलाबाला बटुल्ने सुझाव पनि उनी दिन्छन्‌। दिउँसो रूथलाई खाना खाने व्यवस्था पनि मिलाइदिन्छन्‌। (रूथ २:८, ९, १४ पढ्‌नुहोस्) सबैभन्दा ठूलो कुरा त उनी रूथको प्रशंसा गर्छन्‌ र तिनलाई प्रोत्साहन दिन्छन्‌। कसरी?

२८, २९. (क) रूथले कस्तो नाम कमाएकी थिइन्‌? (ख) रूथले जस्तै तपाईं यहोवामा कसरी शरण लिन सक्नुहुन्छ?

२८ एउटी विदेशीलाई किन यत्ति धेरै दया देखाउनुभएको भनेर रूथ बोअजलाई सोध्छिन्‌। रूथले आफ्नी सासू नाओमीको खातिर गरेका कामहरू आफूले सुनेको कुरा बोअज बताउँछन्‌। सायद नाओमीले बेतलेहेमका आइमाईहरूसामु आफ्नी प्यारी बुहारीको प्रशंसा गर्दै कुरा गरेकी थिइन्‌ होली। एक कान दुई कान मैदान हुँदै यो कुरा बोअजसम्म पुगेको हुनुपर्छ। रूथले यहोवाको उपासना गर्न थालेकी छिन्‌ भनेर पनि बोअजलाई थाह छ। किनभने उनले यसो भने: “परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌। जसको छत्रछायामनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले तिमीले पाउनुपर्ने सबै कुरा देऊन्‌।”—रूथ २:१२.

२९ बोअजका यी शब्दहरूले रूथलाई कत्ति प्रोत्साहन दियो होला! सानो बचेराले माउको पखेटामुनि शरण लिएझैं रूथले यहोवा परमेश्वरमा शरण लिने निर्णय गरेकी थिइन्‌। बोअजले प्रोत्साहन दिएकोले रूथ उनलाई धन्यवाद दिन्छिन्‌। त्यसपछि साँझ नपरून्जेल तिनी आफ्नो काममा लागिरहन्छिन्‌।—रूथ २:१३, १७.

३०, ३१. नम्रता, परिश्रम र कृतज्ञताबारे हामी रूथबाट के सिक्न सक्छौं?

३० आर्थिक सङ्‌कट परेको अहिलेको समयमा रूथको उदाहरण हाम्रो लागि साँच्चै नै उत्कृष्ट छ। तिनी अरूको मुख ताकेर बसिनन्‌। अरूले मदत गर्न खोज्दा तिनले भाउ खोजिनन्‌। आफूले माया गर्ने मानिसको खातिर घण्टौं काममा घोटिन रूथ सर्माइनन्‌। यतिसम्म कि तिनी सानोतिनो काम गर्न पनि पछि हटिनन्‌। सुरक्षित भएर काम गर्नको लागि असल साथीहरूमाझ रहने सल्लाह पाउँदा रूथले त्यसलाई खुसीसाथ स्वीकारिन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त, तिनी आफ्नो शरणस्थान अर्थात्‌ मायालु बुबा यहोवा परमेश्वरप्रति सधैं विश्वासी रहिन्‌।

३१ यदि हामीले पनि रूथको जस्तै वफादार प्रेम देखायौं अनि तिनको नम्रता, परिश्रम र कृतज्ञता अनुकरण गऱ्यौं भने हाम्रो विश्वास पनि अरूले अनुकरण गर्न सक्छन्‌। तर यहोवाले रूथ र नाओमीको हेरचाह कसरी गर्नुभयो? अर्को अध्यायमा हामी यो कुरा विचार गर्नेछौं।

 

^ अनु. 23 रूथको लागि यो व्यवस्था विशेष खालको थियो। किनभने आफ्नो घर मोआबमा छँदा तिनले यस्तो कुरा थाह पाएकी थिइनन्‌। पुरातन समयमा मध्यपूर्वमा विधवाहरूलाई नराम्रो व्यवहार गरिन्थ्यो। एउटा किताब यसो भन्छ: “आफ्नो श्रीमान्‌को मृत्यु भएपछि श्रीमती आफ्नो छोरामा भर पर्नुपर्थ्यो। छोरा छैनन्‌ भने कि त तिनले आफूलाई दासको रूपमा बेच्नुपर्थ्यो कि वेश्यावृत्तिमा लाग्नुपर्थ्यो वा आत्महत्या गर्नुपर्थ्यो।”