सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय सोह्र

बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी

बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी

१-३. (क) राजाको सिंहासनसामु जाँदा एस्तरलाई कस्तो लागिरहेको थियो? (ख) एस्तर त्यसरी आउँदा राजाले कस्तो प्रतिक्रिया देखाए?

एस्तर राजाको सिंहासनतिर बिस्तारै अघि बढ्छिन्‌। तिनको मुटु यत्ति छिटो कहिल्यै धड्‌केको थिएन। शूशनको त्यो दरबारमा रहेको बैठकमा सबै जना चुपचाप लागेर एस्तरतिर हेरिरहेका छन्‌। त्यहाँ यत्ति सन्नाटा छ कि आफूले बिस्तारै चालेको पाइलाको आवाज र आफ्नो पोसाक सरसराएको आवाजसमेत एस्तर स्पष्टसित सुन्न सक्छिन्‌। दरबारका खम्बाहरू निकै आकर्षक छन्‌ र लबानोनदेखि ल्याइएको देवदारका काठ कुँदेर बनाइएका दलिनहरू पनि भव्य छन्‌। तर अहिले त्यस्ता कुराहरूको सुन्दरतामा डुबेर अलमलिने बेला थिएन। यतिखेर एस्तर आफ्नो सारा ध्यान सिंहासनमा विराजमान राजा अहासूरसतिर लगाउँछिन्‌ किनभने तिनको जीवन र मरण अहिले उनकै हातमा छ।

अहासूरसले आफ्नो राजदण्ड एस्तरतिर पसारेका छन्‌ र उनी उत्सुक हुँदै एस्तरलाई हेरिरहेका छन्‌। राजदण्ड पसार्नु राजाको लागि कुनै ठूलो कुरा त थिएन। तर यही सानो सङ्‌केतले एस्तरको ज्यानै जोगिएको थियो। अनुमतिबिना नै राजासामु उपस्थित भएर तिनले ठूलो गल्ती गरेकी थिइन्‌ तर राजदण्ड पसारेर राजाले एस्तरलाई क्षमा गरेको सङ्‌केत दिए। सिंहासनको अगाडि पुगेपछि एस्तर लामो सास फेर्दै राजदण्डको टुप्पो छुन्छिन्‌।—एस्त. ५:१, २.

राजाले कृपा देखाउँदा एस्तरले आफूलाई धन्यकी सम्झिन्‌

राजा अहासूरसको हरेक कुराले उनको शक्ति र सम्पन्नताको बयान गरिरहेको थियो। त्यतिबेलाका फारसी राजाहरूको पोसाकको मोल मात्रै पनि अहिलेको हिसाबमा अरबौं रुपैयाँ हुन आउँछ। जेहोस्, एस्तरले भने राजाको आँखामा मायाको भाव देख्न सक्थिन्‌। हो, राजा तिनलाई माया गर्थे। राजाले भने, “रानी एस्तर, तिमी के चाहन्छौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”—एस्त. ५:३.

४. एस्तरले कस्तो गाह्रो काम गर्न बाँकी नै थियो?

आफ्नो जातिको ज्यान जोगाउन राजासामु उपस्थित भएर एस्तरले निकै बलियो विश्वास र ठूलो साहस देखाइसकेकी थिइन्‌। हुन त अहिलेसम्म सबै कुरा योजनाअनुसारै अघि बढिरहेको थियो। तर अझै गाह्रो काम गर्न बाँकी नै थियो। राजाले सबैभन्दा बढी विश्वास गरेको मानिस वास्तवमा एकदमै दुष्ट छन्‌ र तिनले राजालाई छक्याएर एस्तरका सबै मानिसहरूलाई मार्ने षड्‌यन्त्र रचिरहेका छन्‌ भनेर एस्तरले राजालाई बुझाउनुपर्थ्यो। तर यी घमन्डी राजालाई एस्तरले कसरी मनाउन सक्थिन्‌? एस्तरले देखाएको विश्वासबाट हामी के सिक्न सक्छौं?

 ‘बोल्ने समय’ कुन हो, तिनलाई थाह थियो

५, ६. (क) एस्तरले उपदेशक ३:१, ७ मा दिइएको सिद्धान्त कसरी लागू गरिन्‌? (ख) एस्तरले आफ्नो श्रीमान्‌सित गरेको कुरा किन बुद्धिमानी थियो?

ती सारा भारदारहरूको अगाडि नै एस्तरले हामानको पोल खोलेको भए के हुन्थ्यो? राजाले आफ्नो अपमान भएको महसुस गर्न सक्थे र हामानले पनि आफूलाई लागेको आरोपको खण्डन गर्ने मौका पाउँथे। त्यसोभए एस्तरले के गरिन्‌? शताब्दियौंअघि बुद्धिमान्‌ राजा सुलेमानले परमेश्वरको प्रेरणा पाएर यस्तो लेखेका थिए: “सबै कुराको लागि समय छ, . . . चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उप. ३:१, ७) एस्तर हुर्कंदै जाँदा तिनका धर्मपिता मोर्दकैले तिनलाई यस्ता सिद्धान्तहरू पक्कै सिकाएको हुनुपर्छ। त्यसकारण ‘बोल्ने समय’ कुन हो, विचार पुऱ्याउनुपर्छ भनेर एस्तरलाई थाह थियो।

एस्तरले भनिन्‌: “हे महाराजा, हजुरलाई असल लागे हजुरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजुरको सवारी होस्।” (एस्त. ५:४) राजाले एस्तरको कुरा मञ्जुर गरे र हामानलाई पनि बोलाउन लगाए। एस्तरले कत्ति बुद्धिमानी भएर कुरा गरिन्‌! तिनले आफ्नो श्रीमान्‌को मर्यादा राखिन्‌ र आफ्नो चिन्ताबारे बताउन उपयुक्त वातावरण तयार पारिन्‌।—हितोपदेश १०:१९ पढ्‌नुहोस्।

७, ८. एस्तरले दिएको पहिलो भोज कस्तो थियो? एस्तरले किन त्यतिबेला नै राजासित कुरा गरिनन्‌?

 एस्तरले निकै विचार पुऱ्याएर त्यो भोज तयार पारिन्‌। आफ्नो श्रीमान्‌लाई मनपर्ने मनपर्ने परिकारहरू बनाइन्‌। राजाको मन खुसी पार्न उत्तम दाखमद्य पनि जुटाइन्‌। (भज. १०४:१५) त्यो भोज खाएर अहासूरस औधी खुसी भए र एस्तरको जुनसुकै चाहना पनि पूरा गरिदिनेछु भनेर फेरि बताए। अब एस्तरले आफ्नो कुरा बताउने बेला आएको हो कि?

एस्तरलाई लाग्छ, सही समय अझै आएको छैन। त्यसैले भोलिपल्ट पनि आफूले तयार पारेको भोजमा आउन तिनले राजा र हामानलाई बिन्ती गरिन्‌। (एस्त. ५:७, ८) आफ्नो कुरा बताउन एस्तरले किन ढिला गरेकी? आफ्नो जातिको ज्यान खतरामा परेको कुरा एस्तरलाई थाह थियो। राजाको सहमतिमा प्रान्तभरिका सबै यहूदीहरूलाई नाश गर्ने एउटा उर्दी जारी गर्न हामान सफल भएका थिए। त्यत्तिका मानिसहरूको ज्यान खतरामा परेकोले एस्तरले हडबडाएर कदम चाल्न मिल्दैनथ्यो। त्यसकारण तिनले अर्को मौका पर्खिन्‌। आफ्नो श्रीमान्‌को कत्ति आदर गर्थिन्‌ भन्ने कुरा फेरि पनि देखाउने मौका तिनले पाइन्‌।

९. धीरजी हुनु कत्तिको महत्त्वपूर्ण छ? यससम्बन्धमा हामी कसरी एस्तरको अनुकरण गर्न सक्छौं?

धीरज एकदमै दुर्लभ र अनमोल गुण हो। हुन त एस्तर निकै चिन्तित थिइन्‌ र  राजालाई सक्दो चाँडो सबै कुरा बताउन चाहन्थिन्‌। तर धीरजी हुँदै तिनले सही समयलाई पर्खिन्‌। यसबाट हामी सबैले राम्रो पाठ सिक्न सक्छौं। कुनै गलत कामलाई सच्याइहाल्नुपर्छ भनेर बेलाबेलामा हामी सबै नै महसुस गर्छौं। त्यो सच्याउने अधिकार भएको व्यक्तिलाई बताइहालुँ जस्तो त हामीलाई लाग्ला तर एस्तरको अनुकरण गर्दै हामीले पनि धैर्य धारण गर्नुपर्छ। हितोपदेश २५:१५ भन्छ: “धीरज गर्नाले राजालाई पनि मनाउन सकिन्छ, मीठो बोलीले कडा हड्डीलाई पनि गलाउन सकिन्छ।” हामीले पनि एस्तरले जस्तै सही समयलाई पर्खेर नम्रतापूर्वक आफ्नो कुरा राख्यौं भने ढुङ्‌गाजस्तो कठोर मन पनि पग्लन सक्छ। एस्तरले धीरज धरेकोमा र बुद्धि देखाएकोमा तिनका परमेश्वर यहोवाले तिनलाई आशिष्‌ दिनुभयो त?

न्याय—धीरजको फल

१०, ११. (क) पहिलो दिनको भोज सकिएर घर फर्कंदा बाटोमा घटेको कस्तो घटनाले गर्दा हामान रिसाए? (ख) श्रीमती र साथीहरूले हामानलाई कस्तो सल्लाह दिए?

१० एस्तरले धीरज धरेकोले अरू पनि थुप्रै महत्त्वपूर्ण घटना घट्‌छन्‌। पहिलो दिनको भोज सकिएपछि हामान फुरुङ्‌ङ पर्छन्‌। राजा र रानीको त्यत्रो निगाह पाएकोमा हामान  “रमाउँदै र मनमा खुसी हुँदै” घर फर्कन्छन्‌। तर दरबारको ढोकाबाट निस्कँदै गर्दा मोर्दकैसँग हामानको आँखा जुध्छ। उनी त्यही यहूदी थिए, जसले हामानलाई दण्डवत्‌ गर्न इन्कार गरेका थिए। अघिल्लो अध्यायबाट हामीले बुझेझैं मोर्दकैले हामानलाई अनादर गर्न खोजेका थिएनन्‌। आफ्नो अन्तस्करणले नदिएको कारण र परमेश्वरसित बलियो सम्बन्ध भएकोले उनले हामानलाई दण्डवत्‌ गरेका थिएनन्‌। तर हामानलाई त्यसको के वास्ता! तिनी “रिसले चूर भए।”—एस्त. ५:९.

११ मोर्दकैले गर्दा आफ्नो अपमान भएको कुरा हामान आफ्नी श्रीमती र साथीहरूलाई बताउँछन्‌। तिनीहरूले हामानलाई कस्तो सल्लाह दिए? बाइस मिटर भन्दा अग्लो एउटा खम्बा तयार पार्ने अनि राजासित अनुमति मागेर मोर्दकैलाई त्यसैमा झुन्ड्याउने! हामानलाई त्यो सल्लाह मनपऱ्यो। त्यस्तो खम्बा तयार पार्न तिनले आदेश दिइहाले।—एस्त. ५:१२-१४.

१२. राजाले किन दैनिक घटनाहरूको विवरण भएको पुस्तक पढ्‌न लगाए? उनले के कुरा थाह पाए?

१२ त्यो रात कटाउन राजालाई निकै गाह्रो पर्छ। बाइबल यसो भन्छ: “त्यस रात राजालाई निद्रै लागेन।” त्यसकारण उनले दैनिक घटनाहरूको विवरण भएको पुस्तक मगाउँछन्‌ र ठूलो स्वरमा पढ्‌न लगाउँछन्‌। त्यो पढ्‌दै जाँदा, राजालाई मार्ने षड्‌यन्त्र गरिएको विवरण पनि आउँछ। त्यसपछि राजाले त्यो घटना सम्झन्छन्‌। ती षड्‌यन्त्रकारीहरूको पर्दाफास भएको थियो र तिनीहरूलाई फाँसी दिइएको थियो। तर त्यो षड्‌यन्त्रको पर्दाफास गर्ने मोर्दकैबारे चाहिं विवरणमा खासै केही बताइएको थिएन। राजा अचानक झस्किन्छन्‌ र मोर्दकैलाई कुनै सम्मान अथवा पद दिइयो कि दिइएन भनेर सोध्छन्‌। जवाफ के आउँछ? मोर्दकैलाई केही पनि दिइएको थिएन।—एस्तर ६:१-३ पढ्‌नुहोस्।

१३, १४. (क) हामानको योजना असफल हुने लक्षण कसरी देखिन थाल्यो? (ख) श्रीमती र साथीहरूले हामानलाई कस्तो सल्लाह दिए?

१३ राजालाई छटपटी हुन्छ। त्यो भूल सच्याउन के गर्न सकिन्छ भनेर उनी सोच्न थाल्छन्‌। त्यस विषयमा राम्रो सल्लाह दिने कोही छ कि भनेर उनी सोध्छन्‌। त्यसबेला राजाको दरबारअगाडि अरू कोही नभएर हामान नै आइरहेका हुन्छन्‌। हामान कहिले राजालाई भेटूँला र मोर्दकैलाई झुन्ड्याउने अनुमति मागूँला भनेर एकाबिहानै राजदरबारअगाडि आएका हुन सक्छन्‌। तर हामानले आफ्नो बिन्ती बिसाउन नपाउँदै राजा तिनलाई सोध्छन्‌: ‘राजाको मन जित्ने मानिसलाई कसरी सम्मान गर्नुपर्ला?’ त्यो मानिस आफू नै हुँ भन्ने हामानलाई लाग्छ। त्यसैले सकेसम्म ठूलो सम्मान दिनुपर्छ भनेर तिनी बताउँछन्‌। हामान भन्छन्‌: ‘त्यस्तो मानिसलाई शाही पोसाक पहिराइयोस्, राजाका सबैभन्दा माननीय भारादारहरूमध्ये एक जनाले तिनलाई राजाकै घोडामा सवार गराऊन्‌, शूशन सहरको वरिपरि घुमाऊन्‌ र सबैले सुन्नेगरि तिनको जयजयकार गरियोस्।’ तर त्यसरी सम्मान पाउने मानिस त्यही यहूदी मोर्दकै हो भनेर थाह पाउँदा हामानको अनुहार कस्तो भयो होला! फेरि सम्मान गर्ने जिम्मा राजाले कसलाई दिए? अरू कसैलाई होइन, हामानलाई नै!—एस्त. ६:४-१०.

१४ मन नलागी-नलागी भए पनि हामानले त्यो काम गर्नै पर्ने भयो। त्यसपछि तिनी  विचलित हुँदै घरतिर दौडे। त्यो सुन्नेबित्तिकै तिनकी श्रीमती र साथीहरू अशुभ लक्षण देखापरेको ठान्छन्‌। यदि यस्तै हुँदै जाने हो भने मोर्दकैविरुद्धको षड्‌यन्त्र सफल हुँदैन जस्तो तिनीहरूलाई लाग्छ।—एस्त. ६:१२, १३.

१५. (क) एस्तरले धीरज धरेकोले कस्तो राम्रो नतिजा निस्क्यो? (ख) “परमेश्वरको बाटो” हेर्नु किन बुद्धिमानी हो?

१५ एस्तरले धैर्य गर्दै अर्को एक दिन पर्खिन्‌। नतिजा कस्तो भयो? हामानले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने अवस्था आयो। विचार गर्नुहोस् त, राजा अहासूरस रातभर सुत्न नसक्नुमा यहोवाकै हात थिएन होला र? (हितो. २१:१) बाइबलले हामीलाई “परमेश्वरको बाटो” हेर्न त्यसै प्रोत्साहन दिएको होइन। (मीका ७:७ पढ्‌नुहोस्) परमेश्वरले कदम चाल्ने समयलाई धैर्य गर्दै पर्ख्यौं भने हामीले सोचेको भन्दा कता हो कता राम्रो तरिकामा उहाँले हाम्रा समस्याहरू समाधान गरिदिनुहुनेछ।

तिनी बोल्न डराइनन्‌

१६, १७. (क) एस्तरको ‘बोल्ने समय’ कहिले आयो? (ख) पहिलेकी रानी वश्तीभन्दा एस्तर कसरी फरक थिइन्‌?

१६ राजालाई अझै पर्खाउनु हुँदैन भनेर अब एस्तर सोच्छिन्‌। दोस्रो पटकको भोजमा तिनले सबै कुरा बताउनुपर्छ। तर कतिखेर? नभन्दै त्यो समय आइपुग्छ। एस्तर के चाहन्छिन्‌, त्यो बताउन राजा फेरि पनि आग्रह गर्छन्‌। (एस्त. ७:२) बल्ल एस्तरको ‘बोल्ने समय’ आयो।

१७ कल्पना गर्नुहोस्, आफ्नो कुरा बताउनुअघि एस्तर मनमनै प्रार्थना गर्छिन्‌। त्यसपछि तिनी राजालाई यस्तो बिन्ती गर्छिन्‌: “यदि मैले महाराजाको निगाह प्राप्त गरेकी छु, औ यदि महाराजाको मर्जी भए बिन्ती यही छ कि मेरो आफ्नो ज्यान र मेरो जातिको ज्यान जोगाइदिनुहोस्।” (एस्त. ७:३) निर्णय गर्ने राजाको अधिकारको सम्मान गर्दै एस्तरले कुरा गरिन्‌। आफ्नो श्रीमान्‌लाई जानाजानी होच्याउने पहिलेकी रानी वश्तीभन्दा कत्ति फरक!  (एस्त. १:१०-१२) साथै हामानजस्तो मूर्खलाई आफ्नो विश्वासपात्र बनाएकोमा एस्तरले राजाको धज्जी उडाउन पनि खोजिनन्‌। बरु आफ्नो जीवन नै खतरामा परेकोले आफूलाई जोगाइदिन बिन्ती गरिन्‌।

१८. एस्तरले राजालाई आफ्नो समस्या कसरी बताइन्‌?

१८ त्यस्तो बिन्ती सुन्दा राजा छाँगाबाट खसेझैं भए। कसले गर्दा रानीको जीवनै खतरामा पऱ्यो? एस्तर अझै यसो भन्छिन्‌: “किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँ-निशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्त्री सबैलाई दासत्वमा बेच्ने कुरो मात्र भएको भएता म चूप्पै लागिरहने थिएँ। किनभने त्यसो भए हाम्रो दशा महाराजाको हितमा हानि पुऱ्याउने किसिमको हुनेथिएन।” (एस्त. ७:४) एस्तरले आफ्नो समस्या खुलेरै बताएको याद गर्नुहोस्। दासत्वमा मात्रै बेचिने कुरा भएको भए त चुप लागेर बस्ने थिएँ भनेर एस्तर बताउँछिन्‌। तर सारा यहूदीहरूलाई नाश पार्ने त्यो षड्‌यन्त्रले स्वयम् राजालाई नै ठूलो हानि पुऱ्याउने थियो।

१९. अरूको मन जित्ने तरिकाले कुरा गर्ने हो भने एस्तरले जस्तै हामीले पनि के गर्नुपर्छ?

१९ कुरा गर्दा कसरी अरूको मन जित्न सकिन्छ भनेर हामी एस्तरबाट सिक्न सक्छौं। कहिलेकाहीं कुनै गम्भीर समस्याबारे आफूले माया गरेको व्यक्तिलाई वा अख्तियारप्राप्त व्यक्तिलाई समेत बताउनुपर्ने हुन सक्छ। यस्तो बेला एस्तरले जस्तै धैर्य गर्दै, आदर देखाउँदै अनि खुलेर कुरा गऱ्यौं भने नतिजा पक्कै राम्रो हुनेछ।—हितो. १६:२१, २३.

२०, २१. (क) एस्तरले कसरी हामानको पर्दाफास गरिन्‌? रानीको कुरा सुनेर राजाले कस्तो प्रतिक्रिया देखाए? (ख) आफ्नो पर्दाफास भएपछि हामानले के गरे?

२० अहासूरस झोक्किंदै सोध्छन्‌: ‘यस्तो काम गर्ने को हो, त्यो कहाँ छ?’ त्यसपछि हामानतिर औंला तेर्स्याउँदै एस्तरले यसो भनिन्‌: “त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो।” एकछिन त चारैतिर मौनता छाउँछ। हामान डरले निलोकालो हुन्छन्‌। त्यसै त झनक्क रिसाइहाल्ने राजा, त्यसमाथि आफूले त्यत्ति धेरै विश्वास गरेको हामानले आफ्नी प्यारी रानीलाई  मार्न छल गरेर कानुन बनाएको थाह पाउँदा त उनी रिसले आगो भए होलान्‌! रिसलाई काबूमा राख्न उनी रन्थनिंदै बगैंचातिर जान्छन्‌।—एस्त. ७:५-७.

एस्तरले साहसी हुँदै दुष्ट हामानको पोल खोलिन्‌

२१ आफ्नो पर्दाफास भएकोले हामान डराउँछन्‌ र पलङमा बसिरहेकी रानीको पाउ पर्छन्‌। राजा बगैंचाबाट फर्केर आउँदा हामानलाई एस्तरको पलङमा देख्छन्‌। त्यसपछि उनी झनै रिसाउँछन्‌ र दरबारभित्रै रानीको इज्जत लुट्‌न खोजेको आरोप लगाउँछन्‌। अब राजाले आफूलाई बाँकी नछोड्‌ने भए भनेर हामान महसुस गर्छन्‌। राजाले हामानको अनुहार छोप्न लगाउँछन्‌ र दरबारबाट बाहिर निकाल्ने आदेश दिन्छन्‌। त्यहीबेला राजाका एक जना भारदारले हामानको योजनाबारे राजालाई बताउँछन्‌। मोर्दकैलाई झुन्ड्याउन हामानले एउटा ठूलो खम्बा ठड्‌याएको कुरा ती भारदारले राजालाई सुनाइदिन्छन्‌। त्यही खम्बामा हामानलाई झुन्ड्याइदिनू भनेर राजा झोक्किंदै आदेश दिन्छन्‌।—एस्त. ७:८-१०.

२२. कहिल्यै हरेस नखान र आफ्नो विश्वासलाई कहिल्यै ढलपल हुन नदिन एस्तरको उदाहरणले हामीलाई कसरी मदत गर्छ?

२२ अहिले यो संसार अन्याय नै अन्यायले भरिएको छ। त्यसैले धेरैलाई यस्तो लाग्छ: न्याय पाउनु भनेको त आकाशको फल आँखा तरी मर भनेझैं हो। के तपाईंले पनि कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? अन्याय व्याप्त हुँदासमेत एस्तरले कहिल्यै हरेस खाइनन्‌, आफ्नो विश्वासलाई कहिल्यै ढलपल हुन दिइनन्‌। तिनले सही मौका विचार गर्दै साहसी भएर कुरा गरिन्‌ र बाँकी कुरा यहोवाको हातमा छोडिदिइन्‌। हामीले पनि त्यसै गर्नुपर्छ नि, होइन र? यहोवा अहिले पनि परिवर्तन हुनुभएको छैन। दुष्टहरूले खनेको खाल्डोमा तिनीहरूलाई नै जाक्न यहोवा जान्नुहुन्छ। उहाँले हामानलाई पनि त्यसै गर्नुभयो।—भजन ७:११-१६ पढ्‌नुहोस्।

एस्तरको निस्स्वार्थी कदम—यहोवा र उहाँका मानिसहरूको लागि

२३. (क) राजाले मोर्दकै र एस्तरलाई कस्तो इनाम दिए? (ख) याकूबले मर्नुअघि बिन्यामीनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (“भविष्यवाणी पूरा हुन्छ” शीर्षकको पेटी हेर्नुहोस्)

२३ अन्ततः राजाले मोर्दकै को हुन्‌ भनेर चिने। तिनी राजाको जीवनको रक्षा गर्ने वफादार सेवक मात्र होइनन्‌ तर आफ्नी प्यारी रानी एस्तरलाई हुर्काउने धर्मपिता पनि हुन्‌ भनेर तिनले बुझे। राजाले हामानको सट्टामा मोर्दकैलाई प्रधानमन्त्री नियुक्त गरे। हामानको घर र तिनको सारा जायजेथा राजाले एस्तरलाई दिए। एस्तरले ती सबै मोर्दकैलाई सुम्पिइन्‌।—एस्त. ८:१, २.

२४, २५. (क) हामानको पर्दाफास भए पनि एस्तर किन ढुक्क भएर बस्न सकिनन्‌? (ख) आफ्ना मानिसहरूको लागि एस्तरले फेरि पनि कसरी आफ्नो जीवन खतरामा पारिन्‌?

 २४ अब आफू र आफ्नो प्यारो दाइको ज्यान जोगिइहाल्यो भनेर के एस्तर ढुक्क भएर बसिन्‌? तिनी स्वार्थी भएकी भए त त्यसै गर्थिन्‌ होली। हामानले सबै यहूदीहरूलाई नाश गर्न जारी गरेको उर्दी फारस साम्राज्यको कुना-कुनासम्म पुगिसकेको थियो। यहूदीहरूलाई नाश गर्ने उपयुक्त समय पत्ता लगाउन हामानले चिट्ठा हालेका थिए, जसलाई पूर भनिन्थ्यो। (एस्त. ९:२४-२६) यो सम्भवतः प्रेतवादसित सम्बन्धित थियो। त्यो दिन आउन अझै केही महिना बाँकी नै थियो तर समय बित्न कति बेर लाग्छ र! विनाशको त्यो दिनलाई कसैगरि टार्न सकिन्थ्यो कि?

२५ अनुमतिबिना नै एस्तर फेरि एक पटक राजाकहाँ देखा पर्छिन्‌। आफ्नो जीवन नै खतरामा पर्ने भए पनि एस्तर फेरि यो निस्स्वार्थी कदम चाल्छिन्‌। त्यो विनाशकारी उर्दीलाई रद्द गरेर आफ्नो जातिको ज्यान जोगाइदिन तिनी राजासामु रूँदै बिन्ती गर्छिन्‌। तर फारसी कानुन रद्द गर्न मिल्दैनथ्यो। (दानि. ६:१२, १५) त्यसकारण राजाले एस्तर र मोर्दकैलाई अर्को एउटा उर्दी जारी गर्ने अधिकार दिन्छन्‌। त्यो उर्दीअनुसार विनाशको त्यो दिनमा यहूदीहरूले आफ्नो सुरक्षाको लागि लड्‌ने अधिकार पाउने थिए। यहूदीहरूलाई यो खुसीको खबर सुनाउन सन्देशवाहकहरू साम्राज्यको कुना-कुनासम्म जान्छन्‌। यहूदीहरूमाझ बल्ल एउटा आशा पलायो। (एस्त. ८:३-१६) त्यसपछि सबै यहूदीहरू आफ्नो रक्षा गर्न हतियार भिर्छन्‌ र युद्धको लागि तयार हुन्छन्‌। नयाँ उर्दी नआएको भए तिनीहरूले त्यसो गर्न कहाँ पाउँथे र! मुख्य कुरा, के “सेनाहरूका परमप्रभु” यहोवा आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो?—१ शमू. १७:४५.

एस्तर र मौर्दकैले फारस साम्राज्यभरिका यहूदीहरूलाई सन्देश पठाए

२६, २७. (क) यहूदीहरूलाई यहोवाले कुन हदसम्म विजयी तुल्याउनुभयो? (ख) हामानका छोराहरू मारिएपछि कुन भविष्यवाणी पूरा भयो?

 २६ आखिर त्यो दिन आइपुग्यो। परमेश्वरका जनहरू तम्तयार थिए। फारसका थुप्रै अफिसरहरूसमेत यहूदीहरूको पक्षमा लड्‌न तयार थिए किनकि मोर्दकै प्रधानमन्त्री भएको कुरा तिनीहरूले सुनेका थिए। यहोवाको मदतले गर्दा यहूदीहरूले ठूलो विजय हासिल गरे। शत्रुहरूले फेरि आक्रमण गर्ने मौका नपाऊन्‌ भन्ने यहोवा चाहनुहुन्थ्यो। त्यसैले तिनीहरूलाई निमिट्‌यान्नै पार्न उहाँले मदत गर्नुभयो। *एस्त. ९:१-६.

२७ दुष्ट हामानका दस जना छोराहरू पनि युद्धमा मारिए। तिनीहरू जिउँदै भएको भए हामानको घरमा मोर्दकै कसरी सुरक्षित रहन सक्थे र? (एस्त. ९:७-१०) तिनीहरू मारिंदा बाइबलको एउटा भविष्यवाणी पूरा भयो। परमेश्वरका जनहरूका दुष्ट शत्रु अमालेकीहरूको नामोनिसान रहनेछैन भनेर यहोवाले पहिल्यै बताइसक्नुभएको थियो। (व्यव. २५:१७-१९) त्यो श्रापित जातिको बाँकी रहेका सन्तान हामानका छोराहरू नै हुनुपर्छ।

२८, २९. (क) यहोवाले किन एस्तर र तिनका मानिसहरूलाई युद्धमा भाग लिने अनुमति दिनुभयो? (ख) एस्तरको उदाहरण आज हाम्रो लागि किन आशिष्‌ साबित भएको छ?

२८ जवान छँदै बिचरी एस्तरले कत्ति ठूलो जिम्मेवारी उठाउनुपऱ्यो। शत्रुहरूसित युद्ध गर्ने र तिनीहरूलाई मृत्युदण्ड दिने उर्दी जारी गर्नुपर्ने! यो चानचुने काम थिएन! तैपनि यहोवा आफ्ना जनहरूलाई नाश हुनदेखि जोगाउन चाहनुहुन्थ्यो। आखिर इस्राएल राष्ट्रबाटै प्रतिज्ञा गरिएका मसीह आउने थिए। सारा मानिसजातिको एक मात्र आशा भनेकै मसीह थिए। (उत्प. २२:१८) मसीह अर्थात्‌ येशू पृथ्वीमा आउनुभएपछि भने उहाँले आफ्ना अनुयायीहरूलाई युद्धमा भाग लिइरहनु अब जरुरी छैन भनेर बताउनुभयो। यो कुरा थाह पाउँदा आज परमेश्वरका जनहरू औधी खुसी छन्‌।—मत्ती २६:५२.

२९ तर ख्रीष्टियनहरू आध्यात्मिक युद्धमा भने भाग लिन्छन्‌। यहोवाप्रतिको हाम्रो विश्वासलाई तहसनहस पार्न सैतान जोडतोडले लागिरहेको छ। (२ कोरिन्थी १०:३, ४ पढ्‌नुहोस्एस्तरको उदाहरण हाम्रो लागि कत्ति प्रोत्साहनदायी! एस्तरले जस्तै हामीले पनि बुद्धिमानी हुँदै र धीरज धर्दै अरूसित कुरा गर्न सकौं, साहसी हुन सकौं र निस्स्वार्थ भावका साथ परमेश्वरका जनहरूको पक्षमा खडा हुन सकौं। त्यसो गऱ्यौं भने हामी पनि एस्तरजस्तै विश्वासी साबित हुनेछौं।

^ अनु. 26 यहूदीहरूले आफ्ना शत्रुलाई पूर्णतया नाश गर्न सकून्‌ भनेर राजाले अर्को एक दिन पनि युद्ध गर्ने अनुमति दिए। (एस्त. ९:१२-१४) त्यो ठूलो विजयको खुसीयालीमा यहूदीहरूले एउटा चाड मनाए। यहूदीहरूमाझ त्यो चाड अहिलेसम्म पनि प्रचलित छ। यहूदी पात्रोको अदार महिनामा मनाइने त्यो चाड अङ्‌ग्रेजी पात्रोअनुसार फेब्रुअरीको अन्तदेखि मार्चको सुरुतिर पर्न आउँछ। त्यस चाडलाई पूरीम भनिन्छ। हामानले इस्राएलीहरूलाई नाश पार्न हालेको चिट्ठाको नामबाटै त्यो चाडको नाम राखिएको हो।