अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय बाह्र

तिनले परमेश्वरबाट सान्त्वना पाए

तिनले परमेश्वरबाट सान्त्वना पाए

१, २. एलियाको सबैभन्दा अविस्मरणीय दिनमा के-कस्ता घटना घटे?

एलिया दौडिरहेका छन्‌। कालो बादल मडारिरहेको छ। मुसलधारे पानी परिरहेको छ। अनि झन्‌झनै अँध्यारो हुँदै गइरहेको छ। यी वृद्ध भविष्यवक्ताले यिज्रेलसम्म पुग्न अझै लामो बाटो पार गर्नुपर्ने छ। तैपनि तिनी नथाकीकन दगुरिरहन्छन्‌ किनभने तिनीमाथि “परमप्रभुको हात” छ। तिनले अहिले जत्तिको बलियो पहिला कहिल्यै महसुस गरेका थिएनन्‌। हुन पनि, तिनी राजा आहाबको रथलाई उछिनेर निकै अघि पुगिसकेका थिए, घोडाहरूभन्दा पनि छिटो!—१ राजा १८:४६ पढ्नुहोस्।

एलिया सुनसान बाटोमा दगुर्दैछन्‌। तिनका परेलाबाट पानीका थोपाहरू तपतप झरिरहेका छन्‌। तिनीले दिनभरिका घटनाहरू झलझली सम्झिरहेका छन्‌। यो एलियाको परमेश्वर यहोवा र साँचो उपासनाको महान्‌ विजय थियो। दगुर्दा दगुर्दै अब त कर्मेल डाँडा पनि ओझेलमा परिसकेको छ। हो, त्यही डाँडामा यहोवाले बाल उपासनाविरुद्ध शक्तिशाली र चमत्कारपूर्ण प्रहार गर्नुभएको थियो र त्यसलाई झूटो साबित गर्न एलियालाई प्रयोग गर्नुभएको थियो। बालका सयौं भविष्यवक्ताहरू एक नम्बरका ठग साबित भए र उनीहरूलाई सजायस्वरूप मृत्युदण्ड दिनु जायज थियो। त्यो घटना घटिसकेपछि एलियाले साढे तीन वर्षसम्म चलेको खडेरी अन्त गर्न यहोवालाई बिन्ती चढाए। अनि बल्ल पानी पऱ्यो!—१ राजा १८:१८-४५.

३, ४. (क) यिज्रेलतिर जाँदै गर्दा एलिया किन आशावादी भएको हुनुपर्छ? (ख) हामी कुन-कुन प्रश्न विचार गर्नेछौं?

मुसलधारे पानीमा छप्ल्याङछुप्लुङ गर्दै एलिया ३० किलोमिटर पर रहेको यिज्रेलतिर दौडँदैछन्‌। बल्ल सबै कुरा ठीक हुने भयो जस्तो तिनलाई लागेको हुनुपर्छ। बालका सबै भविष्यवक्ताहरू नाश भइसकेकोले अब चाहिं पक्कै केही परिवर्तन हुन्छ भन्ने एलियालाई लाग्यो होला। यो सब आफ्नै आखाँले देखेकोले आहाब पनि परिवर्तन हुनुपर्थ्यो। उनले बाल उपासना त्याग्नुपर्थ्यो, आफ्नी पत्नी ईजेबेललाई सही बाटोमा ल्याउनुपर्थ्यो र यहोवाका सेवकहरूको खेदो गर्न छोड्नुपर्थ्यो। उनीसामु अरू कुनै विकल्प थिएन।

‘एलिया यिज्रेलसम्मै आहाबको अगिअगि दगुरे’

कामकुरा आफूले सोचेजस्तो हुँदा मानिसको आशा बढ्नु स्वाभाविकै हो। त्यस्तो बेला आफ्नो अवस्था राम्रो हुँदै जान्छ जस्तो लाग्न सक्छ, आफूलाई पिरोलिरहेका समस्याहरू समेत हट्नेछन्‌ जस्तो लाग्न सक्छ। एलियाले पनि त्यस्तो सोचेका भए त्यसमा हामीले  छक्क मान्नु पर्दैन किनभने तिनी “हामीजस्तै मानिस नै थिए।” (याकू. ५:१७) तर वास्तवमा भन्ने हो भने एलियाका समस्याहरू सिद्धिएका थिएनन्‌। केही घण्टापछि नै एलिया अत्यन्तै भयभीत र निरुत्साहित हुन्छन्‌। यहाँसम्म कि, तिनलाई मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। तर किन? अनि यहोवाले यी भविष्यवक्तालाई विश्वासी र साहसी भइरहन कसरी मदत गर्नुभयो? आउनुहोस्, हेरौं।

समयले कोल्टो फेर्छ

५. कर्मेल डाँडामा भएको घटना देखिसकेपछि के आहाबले यहोवालाई आदर गर्न सिके? हामी यो कुरा कसरी थाह पाउन सक्छौं?

आहाब यिज्रेलमा भएको आफ्नो दरबारमा पुग्छन्‌। त्यहाँ पुगेपछि के उनी परिवर्तन भए र पश्‍चात्ताप गरे? बाइबल विवरण यसो भन्छ: “एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले ईजेबेललाई सुनाइदिए।” (१ राजा १९:१) याद गर्नुहोस्, त्यस दिनको घटनाबारे बताउँदा आहाबले एलियाका परमेश्वर यहोवाबारे केही पनि बताएनन्‌। आहाबले ती चमत्कारपूर्ण घटनालाई केवल एक जना मानिस अर्थात्‌ “एलियाले गरेका” काम सम्झे। स्पष्ट छ, उनले यहोवा परमेश्वरको आदर गर्न सिकेका थिएनन्‌। उनकी दुष्ट पत्नी ईजेबेलले चाहिं कस्तो प्रतिक्रिया देखाइन्‌?

६. ईजेबेलले एलियालाई कस्तो सन्देश पठाइन्‌? त्यसको मतलब के थियो?

ईजेबेल रिसले चूर भइन्‌! रिसले रन्थनिएकी ईजेबेलले एलियालाई यस्तो सन्देश पठाइन्‌: “जसरी तैंले तिनीहरूको प्राण लिइस् त्यसरीनै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिइनँ भने देवताहरूले मलाई त्यसै गरून्‌, अँ, त्यसभन्दा पनि बढी गरून्‌।” (१ राजा १९:२) यो ज्यान मार्ने धम्की थियो। मतलब, बालका भविष्यवक्ताहरूको ज्यान लिने एलियालाई भोलिसम्ममा खतम पार्न सकिनँ भने आफै मर्नेछु भनी ईजेबेलले कसम खाएकी थिइन्‌। ठूलो आँधी चलेको त्यस रात एलिया साधारण ठाउँमा बास बसिरहेका थिए। त्यति नै बेला ईजेबेलका सन्देशवाहकले तिनलाई ब्यूँझाउँछन्‌ र ईजेबेलको धम्की सुनाउँछन्‌। त्यो सुनेर एलियालाई कस्तो लाग्यो होला!

निराशा र डरले छोप्दा

७. ईजेबेलको धम्कीले एलियालाई कस्तो असर गऱ्यो? एलियाले के गरे?

बाल उपासनाविरुद्धको युद्ध सिद्धियो भन्ठानेर एलिया दङ्ग परेका भए तिनको आशा चकनाचुर हुने थियो। ईजेबेल परिवर्तन भएकी थिइनन्‌। ईजेबेलको आदेशबमोजिम यहोवाका थुप्रै भविष्यवक्ताहरूको हत्या भइसकेको थियो। अब पालो एलियाको थियो। ईजेबेलको धम्कीले एलियालाई कस्तो असर गऱ्यो? बाइबल यसो भन्छ: “एलिया डराए।” ईजेबेलले आफूलाई कस्तो क्रूर तरिकामा मार्ने होलिन्‌ भनेर एलियाले कल्पना गरेका थिए कि? सायद त्यस्तै सोचाइमा डुबेको कारण तिनको साहस हरायो। जेहोस्, एलिया “आफ्नो प्राण बचाउनलाई भागे।”—१ राजा १८:४; १९:३.

साहसी भइरहन चाहन्छौं भने डर लाग्ने कुराहरूबारे सोचिरहनु हुँदैन

८. (क) पत्रुसको समस्या कसरी एलियाको जस्तै थियो? (ख) हामी एलिया र पत्रुसको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं?

 मानिसको डरको पासोमा पर्ने विश्वासी पुरुष एलिया मात्र थिएनन्‌, अरू पनि थिए। शताब्दीयौंपछि, प्रेषित पत्रुसले पनि यस्तै अवस्थाको सामना गरेका थिए। उदाहरणको लागि येशूले पत्रुसलाई आफूसँगै पानीमा हिंड्ने आज्ञा दिंदा तिनी “आँधी चलिरहेको देखेर” डराए। त्यसपछि तिनको साहस गुम्यो र तिनी डुब्न थाले। (मत्ती १४:३० पढ्नुहोस्) पत्रुस र एलियाको उदाहरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हामी साहसी भइरहन चाहन्छौं भने डर लाग्ने कुराहरूबारे सोचिरहनु हुँदैन। हामीले आशा र बलको स्रोतमा ध्यान केन्द्रित गर्नुपर्छ।

“बस भयो!”

९. एलिया कहाँ भागे र भाग्दाखेरि तिनको अवस्था कस्तो थियो?

डरले थुरथुर भएका एलिया दक्षिण-पश्‍चिम हुँदै १५० किलोमिटर पर यहूदाको दक्षिणी सीमानामा रहेको सहर बेर्शेबामा पुगे। तब आफ्नो चाकरलाई त्यहीं छोडेर तिनीचाहिं उजाडस्थानभित्र पसे। विवरणले बताएअनुसार तिनी “एक दिनको बाटो” हिंडे। तिनी बिहान झिसमिसेमै हिंड्न थालेको दृश्य हामी कल्पना गर्न सक्छौं। सायद तिनले केही खानेकुरा पनि बोकेका थिएनन्‌। निराश भएका अनि डराएका एलिया टन्टलापुर घाममा उजाडस्थानमा हिंडिरहे, हिंडिरहे। घामको रातो लालीले बिदाइ गर्नै लाग्दा तिनी लखतरान भइसकेका थिए। थकाइले चूर भएकोले तिनी अम्लिसोको झाडीमुनि थचक्क बसे। त्यो उजाडस्थानमा ओत लाग्ने अरू कुनै ठाउँ पनि त थिएन!—१ राजा १९:४.

१०, ११. (क) एलियाले यहोवालाई गरेको प्रार्थनाको अर्थ के थियो? (ख) परमेश्वरप्रति भक्त अरू व्यक्तिहरूले पनि निरुत्साहित भएको बेला कस्तो भाव व्यक्त गरेका थिए, अनुच्छेदमा दिइएको बाइबल पदको आधारमा बताउनुहोस्।

१० सबै आस गुमाइसकेका छन्‌ एलियाले। त्यसैले मर्न पाए बेस हुन्थ्यो भन्दै तिनी प्रार्थना गर्छन्‌। तिनी भन्छन्‌: “म मेरा अघि-अघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!” हो, तिनका पिता-पुर्खाहरू मरिसकेको हुँदा तिनीहरूको हड्डी मात्र चिहानमा बाँकी थियो अनि तिनीहरूले कसैलाई केही मदत गर्न सक्दैनन्‌ भनी एलियालाई थाह थियो। (उप. ९:१०) एलियाले पनि आफूलाई त्यस्तै बेकार ठाने। त्यसैले तिनी यसरी कराए: “बस भयो!” यस्तो अवस्थामा बाँचेर कुनै फाइदा छैन भनेर एलियाले सोचे।

११ परमेश्वरप्रति भक्त मानिससमेत यत्तिको निरुत्साहित भएको देख्दा के हामीले अचम्म मान्नुपर्छ? अहँ पर्दैन। बाइबलमा उल्लिखित केही विश्वासी पुरुष तथा स्त्रीले असाध्यै दुःखी भएको कारण मर्न पाए हुन्थ्यो भनेका थिए। जस्तै: रिबेका, याकूब, मोशा र अय्यूब।—उत्प. २५:२२, २३; ३७:३५; गन्ती ११:१३-१५; अय्यू. १४:१३.

१२. कठिन अवस्थामा पर्दा तपाईं कसरी एलियाको उदाहरण पछ्याउन सक्नुहुन्छ?

 १२ आज हामी “असाध्यै कठिन” समयमा बाँचिरहेका छौं। (२ तिमो. ३:१) त्यसैले थुप्रै मानिसहरू अनि परमेश्वरका विश्वासी सेवकहरू समेत कहिलेकाहीं निरुत्साहित भएकोमा हामी अचम्म मान्दैनौं। यस्तो कठिन अवस्थामा पर्नुभयो भने एलियाको उदाहरण पछ्याउनुहोस्। तिनले जस्तै मनको बह यहोवालाई पोख्नुहोस्। किनभने यहोवा नै “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३, ४ पढ्नुहोस्) के उहाँले एलियालाई सान्त्वना दिनुभयो?

यहोवाले आफ्नो भविष्यवक्तालाई सँभाल्नुभयो

१३, १४. (क) स्वर्गदूतलाई चलाएर यहोवा परमेश्वरले आफ्नो निराश भविष्यवक्तालाई कसरी मायालु चासो देखाउनुभयो? (ख) यहोवा हामी प्रत्येकलाई राम्ररी चिन्नुहुन्छ र हाम्रो सीमितता समेत बुझ्नुहुन्छ भनेर थाह पाउनु किन सान्त्वनादायी छ?

१३ यहोवाले स्वर्गबाट तल हेर्दा आफ्नो प्यारो भविष्यवक्ता उजाडस्थानमा अम्लिसोको झाडीमुनि बसेर मृत्युको भीख मागिरहेको देख्दा उहाँलाई कस्तो लाग्यो होला? जवाफ स्पष्ट छ। एलिया निदाएपछि यहोवाले तिनीकहाँ एक जना स्वर्गदूत पठाउनुहुन्छ। स्वर्गदूतले तिनलाई बिस्तारै घचघच्याउँदै यसो भन्छन्‌: “उठेर खाऊ।” एलियाले त्यसै गरे किनभने स्वर्गदूतले तिनको लागि तात्तातो फुलौरा र पानी तयार गरिदिएका थिए। के एलियाले स्वर्गदूतलाई धन्यवाद दिए? विवरणअनुसार खाई-पिई गरेपछि एलिया फेरि सुते। के तिनी बोल्नै नसक्ने गरी निराश भएका थिए? जेहोस्, स्वर्गदूतले तिनलाई दोस्रो खेप ब्यूँझाए—सायद बिहान उज्यालो हुनै लाग्दा। यस पटक पनि स्वर्गदूतले एलियालाई “उठेर खाऊ” भन्छन्‌। ती स्वर्गदूत एउटा रोचक कुरा पनि बताउँछन्‌। तिनी भन्छन्‌: “यात्रा तिम्रो निम्ति साह्रै लामो छ।”—१ राजा १९:५-७.

१४ धन्न, परमेश्वरले दिनुभएको अन्तरदृष्टिले गर्दा एलिया कहाँ जाँदैछन्‌ भनेर स्वर्गदूतलाई थाह थियो। एलियाले आफ्नै तागतको भरमा त्यति लामो यात्रा गर्न सक्नेछैनन्‌ भनेर पनि ती स्वर्गदूतलाई थाह थियो। हाम्रो मनसाय र सीमितता हामीलाई भन्दा धेरै यहोवा परमेश्वरलाई थाह छ। यस्तो महान्‌ परमेश्वरको सेवा गर्न पाउनु कस्तो सान्त्वनादायी कुरा! (भजन १०३:१३, १४ पढ्नुहोस्) त्यो भोजन खाएपछि एलियालाई के फाइदा भयो?

१५, १६. (क) यहोवाले प्रबन्ध गरिदिनुभएको खानाबाट बल पाएको कारण एलियाले के गर्न सके? (ख) यहोवाले आज आफ्ना सेवकहरूलाई सँभाल्न जुन तरिका अपनाउनुभएको छ, त्यसप्रति हामी किन कृतज्ञ हुनुपर्छ?

१५ यस्तो लेखिएको छ: “तिनी उठेर खाइ-पिई गरे। औ यही भोजनको बलले तिनी चालीस दिन र चालीस रात परमेश्वरको पर्वत होरेबसम्म हिंडेर गए।” (१ राजा १९:८) आफूभन्दा लगभग छ शताब्दीअघिका मोशा र झन्डै दस शताब्दीपछिका येशूजस्तै एलिया पनि चालीस दिन र चालीस रात उपवास बसे। (प्रस्था. ३४:२८; लूका ४:१, २) त्यो भोजन खानेबित्तिकै तिनको सबै चिन्ता फिक्री त हराएन तर त्यसले तिनलाई चमत्कारपूर्ण ढङ्गमा सँभाल्यो। कल्पना गर्नुहोस् त, ती वृद्ध मानिस त्यस उजाडस्थानमा दिनैपिच्छे, हप्तैपिच्छे गरी झन्डै साढे एक महिनासम्म भौंतारिरहे!

 १६ यहोवाले आज पनि आफ्ना सेवकहरूलाई सँभाल्नुहुन्छ। चमत्कारपूर्ण ढङ्गमा भोजनको प्रबन्ध गरेर त होइन तर त्योभन्दा महत्त्वपूर्ण तरिकामा। उहाँले आफ्ना सेवकहरूलाई आफ्नो वचनबाट भोजन दिनुहुन्छ। (मत्ती ४:४) परमेश्वरको वचन र यसमा आधारित प्रकाशनहरूबाट परमेश्वरबारे सिक्यौं भने हामी उहाँको सेवा गरिरहने बल पाउँछौं। परमेश्वरको वचनबाट त्यस्तो पोषण लिंदैमा हाम्रा समस्याहरू रातारात हराउने त होइन तर सहनै नसक्ने अवस्थाहरू आइपर्दा भने त्यसबाट हामी बल पाउँछौं। त्यसले हामीलाई “अनन्त जीवन”-तर्फ पनि डोऱ्याउँछ।—यूह. १७:३.

१७. एलिया कहाँ गए? त्यो ठाउँ किन विशेष थियो?

१७ हिंड्दा-हिंड्दै एलिया झन्डै ३२० किलोमिटर टाढा पुगिसकेका छन्‌, होरेब पर्वतमा। यो एकदमै विशेष ठाउँ हो। किनभने धेरै वर्ष पहिला यही ठाउँमा यहोवा परमेश्वर बलिरहेको पोथ्रामा मोशासामु देखा पर्नुभएको थियो र स्वर्गदूतमार्फत बोल्नुभएको थियो। अनि यही ठाउँमा पछि यहोवाले इस्राएलसित व्यवस्थाको करार बाँध्नुभएको थियो। एलिया यहाँ एउटा ओडारमा रात बिताउँछन्‌।

यहोवाले आफ्नो भविष्यवक्तालाई सान्त्वना र बल दिनुभयो

१८, १९. (क) यहोवाको स्वर्गदूतले एलियालाई कस्तो प्रश्न सोधे? एलियाले कस्तो जवाफ दिए? (ख) एलिया निरुत्साहित हुनुका तीनवटा कारण के-के हुन्‌?

१८ सायद स्वर्गदूतमार्फत यहोवा एलियालाई होरेबमा आफ्नो “वचन” सुनाउनुहुन्छ। उहाँ एलियालाई यस्तो सरल प्रश्न सोध्नुहुन्छ: “हे एलिया, तँ किन यहाँ छस्?” यो प्रश्न मायालु ढङ्गमा सोधिएको हुनुपर्छ किनभने एलियाले यसलाई आफ्नो भावना पोखाउने आग्रहको रूपमा लिए। अनि तिनले मनको बह साँच्चै पोखे पनि! तिनले भने: “परमप्रभु सेनाहरूका परमेश्वरको निम्ति मेरो ठूलो जोशले गर्दा हो। इस्राएलका मानिसहरूले तपाईंका करार त्यागे। तपाईंका वेदीहरू भत्काइदिए र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारे। केवल म मात्रै बाँकी रहेको छु, र तिनीहरू मेरो प्राण लिन चाहन्छन्‌।” (१ राजा १९:९, १०) एलिया निरुत्साहित हुनुका कम्तीमा पनि तीनवटा कारण तिनका शब्दहरूबाट प्रकट हुन्छ।

१९ पहिलो, एलियाले आफ्नो काम बेकार गयो भन्ठाने। तिनले वर्षौंदेखि “ठूलो जोशले” यहोवाको सेवा गरेका थिए। परमेश्वरको पवित्र नाम र उहाँको उपासनालाई अरू सबै कुराभन्दा उच्च स्थानमा राखेका थिए। तैपनि अवस्था झन्‌झन्‌ खस्कँदै गएको एलियाले देखे। मानिसहरू अझै पनि अविश्वासी र विद्रोही थिए अनि झूटो उपासना तीव्र गतिमा फैलिरहेको थियो। दोस्रो, एलियाले एक्लो महसुस गरे। यहोवाको सेवा गर्ने व्यक्ति इस्राएलमा आफू एक जना मात्र बाँकी रहेजस्तै गरी तिनले भने, “केवल म मात्रै बाँकी रहेको छु।” तेस्रो, एलिया डराए। तिनका थुप्रै सङ्गी भविष्यवक्ताहरू मारिएका थिए अनि अब तिनकै पालो हो भन्ने तिनलाई लागेको थियो। यस्ता भावनाहरू पोखाउन एलियालाई सजिलो त थिएन। तैपनि घमन्डी हुँदै वा निरुत्साहित हुँदै तिनले आफ्नो भावना मनमै गुम्साएर राखेनन्‌। परमेश्वरलाई प्रार्थनामार्फत आफ्नो भएभरको वेदना पोखाएर तिनले सबै विश्वासी मानिसको लागि राम्रो उदाहरण बसाले।—भज. ६२:८.

२०, २१. (क) एलियाले होरेब पर्वतमा भएको ओडारको मुखबाट कस्तो दृश्य देखे? (ख) शक्तिशाली कार्यहरू गरेर यहोवाले एलियालाई कस्तो पाठ सिकाउनुभयो?

 २० एलियाको डर र चिन्ता हटाउन यहोवाले के गर्नुभयो? स्वर्गदूतले एलियालाई ओडारको मुखमा उभिन भने। स्वर्गदूतले भनेअनुसारै तिनले गरे। तर के हुन लागिरहेको छ, तिनलाई केही थाह थिएन। ठूलो बतास चल्यो! त्यो बतासले गर्दा निस्केको आवाज कानै खाने गर्जनजस्तै सुनिएको हुनुपर्छ किनभने त्यसले गर्दा पहाडहरू फुटे र चटानहरू चिरिए। तेज बतास चल्दा एलियाले आँखा छोपेको अनि जनावरको भुत्लाबाट बनेको आफ्नो लुगा हावाले उडाउला भनेर च्याप्प समातेको दृश्य कल्पना गर्नुहोस्। भुइँचालोले गर्दा अचानक जमिन हल्लिन थाल्छ। एलियाको खुट्टाले कहिले यता टेक्छ त कहिले उता, सँभाल्नै मुस्किल! बल्लतल्ल के उभिएका थिए अचानक आगो दन्किन थाल्छ। त्यो आगोको रापबाट जोगिन तिनी फेरि ओडारभित्र पस्छन्‌।—१ राजा १९:११, १२.

एलियालाई सान्त्वना र प्रोत्साहन दिन यहोवाले आफ्नो विस्मयकारी शक्ति चलाउनुभयो

२१ एलियासामु घटेका यी प्रत्येक भयानक घटनामा यहोवाको उपस्थिति थिएन भनेर बाइबल विवरण बताउँछ। यहोवा बाल देवताजस्तो हुनुहुन्न भनेर एलियालाई थाह थियो। बालका उपासकहरू आफ्नो देवतालाई “बादलमा चढ्ने,” अर्थात्‌ पानी पार्ने प्रकृतिका देव मान्थे। तर त्यो सब झूट थियो। प्रकृतिमा पाइने भयानक शक्तिको साँचो स्रोत यहोवा हुनुहुन्छ तर आफूले बनाएको कुनै पनि कुराभन्दा उहाँ कता हो कता महान्‌ हुनुहुन्छ। स्वर्गमा समेत उहाँ अटाउनुहुन्न! (१ राजा ८:२७) एलियालाई ती घटनाहरूले कसरी मदत गऱ्यो? तिनी डराउनुको कारण सम्झनुहोस्। तिनी आहाब र ईजेबेलसित डराएका थिए। तर विस्मयकारी शक्तिको स्रोत यहोवा आफ्नो साथमा भएकोले एलिया डराउनुपर्ने कुनै कारण थिएन।—भजन ११८:६ पढ्नुहोस्।

२२. (क) एलिया बेकारको मान्छे होइनन्‌ भनेर “मधुर आवाज”-ले तिनलाई कसरी आश्वासन दियो? (ख) त्यो “मधुर आवाज”-को स्रोत को हुनुपर्छ? (फुटनोट हेर्नुहोस्)

२२ आगो गएपछि सन्नाटा छायो अनि एलियाले एउटा “मधुर आवाज” सुने। त्यो आवाजले एलियालाई तिनको भावना फेरि व्यक्त गर्न भन्यो। तिनले दोस्रो पटक पनि आफ्नो मनको बह पोखे। * त्यसले गर्दा तिनले अझ हलुका महसुस गरे होलान्‌। अब त्यो “मधुर आवाज”-ले भनेको कुराद्वारा एलियाले अझ बढी सान्त्वना पाए भन्ने कुरामा कुनै शङ्का छैन। यहोवाले एलियालाई तिनी बेकारको मान्छे होइनन्‌ भन्ने आश्वासन दिनुभयो। कसरी? इस्राएलमा बाल उपासनाविरुद्ध  लड्ने भावी योजनाबारे परमेश्वरले एलियालाई थुप्रै कुरा बताउनुभयो। स्पष्ट छ, एलियाको काम बेकार गएको थिएन किनभने परमेश्वरको उद्देश्य जोडतोडले अघि बढिरहेको थियो। साथै, त्यस उद्देश्यमा एलियाको पनि भूमिका थियो किनभने यहोवाले तिनलाई केही खास निर्देशन दिएर थप जिम्मेवारी पूरा गर्न अह्राउनुभयो।—१ राजा १९:१२-१७.

२३. एलियाले एक्लो महसुस गरिरहँदा यहोवाले कसरी मदत गर्नुभयो?

२३ तर एलियाले एक्लोपनाको सामना कसरी गरे? यहोवाले तिनलाई दुई तरिकामा मदत गर्नुभयो। पहिलो, उहाँले तिनको उत्तराधिकारीको रूपमा एलीशालाई अभिषेक गर्नू भन्नुभयो। यी जवान मानिस वर्षौंसम्म एलियाको साथी र सहयोगी हुने थिए। कस्तो व्यावहारिक मदत! दोस्रो, यहोवाले यस्तो रोमाञ्चकारी सन्देश सुनाउनुभयो: “बालको सामने आफ्नो घुँडा नटेक्ने, जसका ओठले त्यसलाई चुम्बन गरेको छैनौ, तिनीहरूका सात हजार जनालाई म इस्राएलमा बचाइराख्नेछु।” (१ राजा १९:१८) एलिया एक्लो थिएनन्‌। बालको उपासना गर्न इन्कार गर्ने हजारौं विश्वासी मानिसबारे सुन्दा तिनको मन पक्कै गद्गद भएको हुनुपर्छ। एलियाले विश्वासी भई उहाँको सेवा गरिरहेको देख्दा तिनीहरूलाई पनि निकै मदत मिल्ने थियो। साथै प्रायजसो मानिसहरू यहोवाविरुद्ध खडा भइरहेको बेलासमेत उहाँप्रति वफादार भएर एलियाले बसालेको राम्रो उदाहरणबाट तिनीहरूले प्रोत्साहन पाउने थिए। यहोवाको दूतद्वारा परमेश्वरको यस्तो “मधुर आवाज” सुन्न पाउँदा एलियाको मन छोएको हुनुपर्छ।

बाइबलको शिक्षाअनुसार चल्यौं भने एक अर्थमा त्यो हाम्रो लागि ‘मधुर आवाजजस्तै’ हुन्छ

२४, २५. (क) आज हामी कसरी यहोवाको “मधुर आवाज” सुन्न सक्छौं? (ख) यहोवाले दिनुभएको सान्त्वना एलियाले स्वीकारे भनेर हामी किन पक्का हुन सक्छौं?

२४ एलियाजस्तै हामी पनि प्रकृतिका भयानक कुराहरू देखेर अवाक् हुन सक्छौं। त्यस्तो हुनु उचित पनि हो। प्रकृतिमा सृष्टिकर्ताको शक्ति छर्लङ्गै देखिन्छ। (रोमी १:२०) आफ्ना विश्वासी सेवकहरूलाई मदत गर्न यहोवा अहिले पनि असीमित शक्ति चलाउन रुचाउनुहुन्छ। (२ इति. १६:९) तर परमेश्वर हामीसित अझ विस्तृत तवरमा उहाँको वचन बाइबलमार्फत बोल्नुहुन्छ। (यशैया ३०:२१ पढ्नुहोस्) बाइबलको शिक्षाअनुसार चल्यौं भने एक अर्थमा त्यो हाम्रो लागि “मधुर आवाज”-जस्तै हुन्छ। किनभने यसैमार्फत यहोवा आज हामीलाई सच्याउनुहुन्छ, प्रोत्साहन दिनुहुन्छ अनि उहाँको प्रेम पाएको कुरामा ढुक्क बनाउनुहुन्छ।

२५ के यहोवाले होरेब पर्वतमा दिनुभएको सान्त्वना एलियाले स्वीकारे? अवश्य स्वीकारे! तिनी तुरुन्तै काममा लागे, फेरि साहसी भए अनि झूटो उपासनाविरुद्ध खडा हुने विश्वासी भविष्यवक्ता साबित भए। त्यसरी नै हामीले पनि परमेश्वरको प्रेरित वचन अर्थात्‌ “धर्मशास्त्रबाट पाइने सान्त्वना”-लाई मनमा लियौं भने एलियाको विश्वास अनुकरण गर्न सक्नेछौं।—रोमी १५:४.

^ अनु. 22 यो “मधुर आवाज”-को स्रोत र १ राजा १९:९ मा उल्लिखित यहोवाको “वचन” सुनाउने दूत एउटै हुनुपर्छ। यसैको पद १५ मा ती दूतलाई बुझाउन “परमप्रभु” भन्ने शब्द चलाइएको छ। त्यसैले यो शब्दले हामीलाई यहोवाले उजाडस्थानमा इस्राएललाई डोऱ्याउन चलाउनुभएको दूतबारे याद गराउँछ। उहाँले ती दूतबारे यसो भन्नुभएको थियो: “तिनैमा मेरो नाउँ छ।” (प्रस्था. २३:२१) ती दूत येशू नै हुनुहुन्थ्यो भनेर त हामी ठोकुवा गर्न सक्दैनौं। तर येशूले स्वर्गमा छँदा यहोवाका सेवकहरूको लागि विशेष प्रवक्ता भएर “वचन”-को रूपमा पूरा गर्नुभएको भूमिका उल्लेखनीय छ।—यूह. १:१.