अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय तेइस

तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके

तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके

१. पत्रुसको जिन्दगीको सबैभन्दा नमीठो क्षण कुन हुनुपर्छ?

पत्रुस त्यो क्षण कहिल्यै भुल्न सक्दैनन्‌। येशूसित आँखा जुध्दा तिनी खङ्ग्रङ्गै भएका थिए। उहाँको आँखामा रिस वा असन्तुष्टिको भाव झल्किएकोले पो हो कि? त्यो त हामी ठ्याक्कै भन्न सक्दैनौं। किनभने परमेश्वरबाट प्रेरणा पाएर लेखिएको पुस्तकमा यति मात्र बताइएको छ: “प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो।” (लूका २२:६१) त्यसरी आँखा जुधेपछि पत्रुसले असाध्यै दोषी महसुस गरे। येशूले पत्रुसबारे जे भविष्यवाणी गर्नुभएको थियो अहिले तिनले त्यही गरेका थिए। हुन त तिनले आफ्नो ज्यानै गए पनि त्यसो गर्दिनँ भनेका थिए तर अहिले त्यसको ठीक उल्टो भयो। तिनले आफ्नो गुरुलाई चिनेकै छैनसमेत भने। पत्रुसको लागि यो नै सायद जिन्दगीको सबैभन्दा नमीठो क्षण थियो।

२. पत्रुसले कस्तो पाठ सिक्नुपर्थ्यो? तिनको जीवनबाट हामी पनि के सिक्न सक्छौं?

तर आशाको दियो नै निभिसकेको चाहिं थिएन। पत्रुससित बलियो विश्वास थियो, तिनीसँग आफ्नो गल्ती सच्याउने मौका थियो। तिनी अझै पनि येशूबाट ठूलो पाठ सिक्न सक्थे। त्यो थियो, क्षमा दिने पाठ। हामी सबैले त्यो पाठ सिक्नुपर्छ। यस्तो कठिन अवस्थामा परेका पत्रुसले क्षमासम्बन्धी कस्तो पाठ सिके, आउनुहोस् हेरौं।

सिक्नुपर्ने कुरा थुप्रै थियो

३, ४. (क) पत्रुसले येशूलाई कस्तो प्रश्न सोधे? त्यतिबेला पत्रुसले आफूबारे के सोचिरहेको हुनुपर्छ? (ख) त्यस समाजमा फैलिएको मनोभावले पत्रुसलाई पनि असर गरेको थियो भनेर येशूले कसरी देखाउनुभयो?

करिब छ महिनाअघि आफ्नो घर कफर्नहुममा छँदा पत्रुसले येशूलाई यस्तो प्रश्न सोधेका थिए: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” आफू एकदमै उदार भइरहेको छु भनेर पत्रुसले त्यतिबेला सोचिरहेका थिए होलान्‌। किनभने त्यतिबेलाका धर्मगुरुहरू तीन पटकसम्म क्षमा दिनुपर्छ भनेर सिकाउँथे। तर येशूले पत्रुसलाई जवाफ दिनुभयो: “म भन्छु, सात पटक होइन, सतहत्तर पटकसम्म।”—मत्ती १८:२१, २२.

पाप गर्ने व्यक्तिले कति पटकसम्म पाप गर्छ, त्यसको रेकर्ड राख्नुपर्छ भनेर येशूले सिकाइरहनुभएको थियो कि? त्यसो त होइन। पत्रुसले भनेको ७ लाई येशूले ७७ बनाइदिनुभयो। यसको मतलब प्रेमले उत्प्रेरित हुँदै कुनै हिसाब नराखी क्षमा दिनुपर्छ भनेर उहाँ सिकाउँदै हुनुहुन्थ्यो। (१ कोरि. १३:४, ५) त्यतिबेलाका मानिसहरू व्यापारीले खातामा  हिसाब राखेझैं हिसाब राखेर क्षमा दिने गर्थे। पत्रुसलाई पनि त्यस समाजमा फैलिएको निर्दयी मनोभावले असर गरिरहेको छ भनेर येशू देखाउँदै हुनुहुन्थ्यो। तर परमेश्वरको अनुकरण गर्न चाहने व्यक्ति केही पटक होइन बारम्बार क्षमा दिन तयार हुनुपर्छ।—१ यूहन्ना १:७-९ पढ्नुहोस्।

५. क्षमा दिनु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा हामीलाई कहिले महसुस हुन्छ?

येशूको कुरा सुनेपछि पत्रुसले उहाँसँग विवाद गरेनन्‌। तर येशूले भनेको कुरा पत्रुसको मनसम्म पुग्यो त? क्षमा दिनु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा कहिलेकाहीं हामी आफैलाई क्षमा चाहिएको बेला महसुस हुन्छ। अब हामी फेरि येशूको मृत्यु हुनुअघिका केही घटनाहरूलाई ध्यान देऔं। येशू त्यस्तो दुःखद घडीमा भएको बेला पत्रुसले थुप्रै गल्ती गरे। तिनलाई आफ्नो गुरुबाट क्षमा चाहिएको थियो।

थुप्रै पटक क्षमा पाए

६. चेलाहरूलाई नम्रताबारे पाठ सिकाउँदा पत्रुसले कस्तो प्रतिक्रिया देखाए? तैपनि येशूले तिनीसित कस्तो व्यवहार गर्नुभयो?

येशूको मृत्यु हुनुभन्दा अघिल्लो रातको कुरा हो। यो एउटा विशेष रात हो। येशूले आफ्ना प्रेषितहरूलाई अझ थुप्रै कुरा सिकाउन बाँकी नै छ। जस्तै: नम्र हुनुपर्ने विषयमा। चेलाहरूको खुट्टा धोइदिएर येशूले नम्रता देखाउनुभयो। त्यस समयमा नोकरहरूमध्ये पनि सबैभन्दा तुच्छचाहिंले यस्तो काम गर्ने गर्थे। सुरुमा त पत्रुसले येशूलाई किन त्यसरी खुट्टा धुन खोज्नुभएको भनेर सोधे। तिनले आफ्नो खुट्टा धुन दिनै मानेनन्‌। तर पछिचाहिं खुट्टामात्र होइन, हात र टाउकोसमेत धोइदिनुहोस् भने! पत्रुसको कुरा सुनेर येशू रिसाउनुभएन तर आफूले चेलाहरूको खुट्टा धोइदिनुको कारण र त्यसको अर्थ बुझाउनुभयो।—यूह. १३:१-१७.

७, ८. (क) पत्रुसले अरू के-कस्ता गल्ती गरे? (ख) येशू कसरी दयालु र क्षमाशील भइरहनुभयो?

केही समयपछि नै पत्रुसले अर्को गल्ती गरे। प्रेषितहरू आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर विवाद गर्न थाले। त्यस विवादमा पत्रुस पनि मुछिएका थिए। मानव घमन्डको कस्तो लाजमर्दो प्रदर्शन! त्यस्तो बेला पनि येशूले दयालु हुँदै तिनीहरूलाई सच्याउनुभयो। तिनीहरू येशूप्रति वफादार भइरहेकोमा उहाँले तिनीहरूको प्रशंसासमेत गर्नुभयो। तर तिनीहरूले उहाँलाई त्याग्नेछन्‌ भनेर पनि येशूले भविष्यवाणी गर्नुभयो। पत्रुसले चाहिं मर्नुपरे पनि येशूसँगै मर्छु भनेर हत्त न पत्त जवाफ दिए। त्यही रात भाले दुई चोटि बास्नुअघि पत्रुसले उहाँलाई तीन पटक इन्कार गर्नेछन्‌ भनेर येशूले फेरि भविष्यवाणी गर्नुभयो। पत्रुसले तुरुन्तै त्यसको खण्डन गरे। त्यतिमात्र होइन, अरू सबै प्रेषितहरूभन्दा आफू वफादार साबित हुनेछु भनेरसमेत दाबी गरे।—मत्ती २६:३१-३५; मर्कू. १४:२७-३१; लूका २२:२४-२८; यूह. १३:३६-३८.

पत्रुसलाई देखेर अबचाहिं येशूको धीरजको बाँध फुट्न लागेको थियो कि? वास्तवमा आफू गाह्रो अवस्थामा भए पनि उहाँले आफ्ना त्रुटिपूर्ण चेलाहरूमा भएका असल कुराहरू हेर्नुभयो। पत्रुसले त्याग्नेछन्‌ भनेर येशूलाई थाह थियो। तैपनि उहाँले यसो भन्नुभयो: “तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु र तिमी  पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।” (लूका २२:३२) पत्रुसले आफ्नो गल्तीको पश्‍चात्ताप गर्नेछन्‌ र तिनी वफादार भएर फेरि यहोवाको सेवामा लाग्नेछन्‌ भन्ने कुरामा येशू ढुक्क हुनुहुन्थ्यो। कत्ति दयालु र क्षमाशील मनोवृत्ति!

९, १०. (क) गेत्समनीको बगैंचामा येशूले पत्रुसलाई कसरी सच्याउनुभयो? (ख) पत्रुसको उदाहरणले हामीलाई के सम्झाउँछ?

पछि गेत्समनीको बगैंचामा पनि येशूले पत्रुसलाई पटक-पटक सच्याउनुपरेको थियो। बगैंचाको एकातिर गएर प्रार्थना गर्नुअघि येशूले पत्रुस, याकूब र यूहन्नालाई जागा रहनू भन्नुभएको थियो। त्यतिबेला येशू एकदमै विचलित हुनुभएको थियो, उहाँलाई चेलाहरूको साथ चाहिएको थियो। तर पत्रुस र अरू चेलाहरूलाई बारम्बार सम्झाउँदा पनि तिनीहरू भुसभुसी निदाइरहे। चेलाहरू किन त्यसरी निदाइरहेका थिए भनेर येशूले बुझ्नुभयो र क्षमा दिंदै तिनीहरूलाई यसो भन्नुभयो: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”—मर्कू. १४:३२-४१.

१० एकछिन पछि नै एउटा भीड त्यहाँ आइपुग्छ। उनीहरू राँको बालेर, तरवार भिरेर अनि लाठोहरू लिएर आएका छन्‌। होसियार र बुद्धिमानी भएर कदम चाल्नुपर्ने बेला आएको थियो। तर केही विचारै नपुऱ्याई पत्रुस आफ्नो तरवार थुत्छन्‌ र प्रधान पुजारीको दास माल्कसको कान च्वाट्टै पारिदिन्छन्‌। येशू शान्त हुँदै पत्रुसलाई सच्याउनुहुन्छ। उहाँ माल्कसको कान जस्ताको तस्तै पारिदिनुहुन्छ। आफ्ना चेलाहरूले अबदेखि हिंसाको मार्ग पछ्याउन मिल्दैन भनेर पनि उहाँ बताउनुहुन्छ। यो सिद्धान्त अहिलेका ख्रीष्टियनहरूलाई पनि लागू हुन्छ। (मत्ती २६:४७-५५; लूका २२:४७-५१; यूह. १८:१०, ११) पत्रुसले पहिले नै थुप्रै गल्ती गरिसकेका थिए र तिनलाई येशूबाट क्षमा चाहिएको थियो। हामी पनि बारम्बार पाप गर्छौं भनेर पत्रुसको उदाहरणले हामीलाई सम्झाउँछ। (याकूब ३:२ पढ्नुहोस्) हामीले गल्ती नै नगरेको दिन कुन होला र? हो, हामीलाई हरेक दिन यहोवाबाट क्षमा चाहिन्छ। पत्रुसको कुरा गर्ने हो भने तिनको गल्ती त्यति मात्रै थिएन। अहिलेसम्म नगरेको एउटा भयङ्कर गल्ती तिनले गर्नै लागेका थिए।

पत्रुसको भयङ्कर गल्ती

११, १२. (क) येशू गिरफ्तार भएपछि पत्रुसले केही हदसम्म साहस देखाए भनेर हामी किन भन्न सक्छौं? (ख) पत्रुस आफूले भनेजति वफादार हुन सकेनन्‌, किन?

११ येशू भीडसँग तर्क गर्न थाल्नुहुन्छ। यदि उनीहरूले उहाँलाई खोजेका हुन्‌ भने चेलाहरूलाई चाहिं छोडिदेओ भनेर उहाँ भन्नुहुन्छ। भीडले येशूलाई बाँध्दा पत्रुस लाचार भएर हेरिरहन्छन्‌। त्यसपछि पत्रुस भाग्छन्‌। अरू चेलाहरू पनि कुलेलाम ठोक्छन्‌!

१२ येशूलाई केरकार गर्न सबैभन्दा पहिला भूतपूर्व प्रधान पुजारी हन्नासको घरमा लगिन्छ। पत्रुस र यूहन्ना पनि हन्नासको घरअगाडि नै रोकिन्छन्‌। येशूलाई हन्नासको घरबाट कैयाफाकहाँ लैजाँदा पत्रुस र यूहन्ना “टाढै रहेर” येशूलाई पछ्याउँछन्‌। (मत्ती २६:५८; यूह. १८:१२, १३) वास्तवमा पत्रुस डरछेरुवा थिएनन्‌। येशूलाई समातेर लगिंदा पछिपछि लाग्न साहस चाहिन्थ्यो। किनभने भीड हातहतियारले सुसज्जित थियो। त्यही भीडमा भएको एक जनालाई पत्रुसले आक्रमणसमेत गरेका थिए। तैपनि पत्रुसले जुन हदसम्म येशूप्रति वफादार हुनेछु भनेर बताएका थिए, त्यो हदसम्म तिनी वफादार हुन सकिरहेका थिएनन्‌।  किनभने तिनले त उहाँसँगसँगै मर्न पनि तयार छु भनेर घमन्ड गरेका थिए!—मर्कू. १४:३१.

१३. येशूलाई पछ्याउने एक मात्र तरिका कुन हो?

१३ आज पनि थुप्रै मानिसहरू पत्रुसले जस्तै “टाढै रहेर” येशूलाई पछ्याउँछन्‌। आफू ख्रीष्टियन हुँ भनेर सकेसम्म अरूले थाह नपाऊन्‌ भन्ने तिनीहरू चाहन्छन्‌। तर येशूलाई पछ्याउने एक मात्र तरिका, जतिसक्दो उहाँको नजिक हुनु हो भनेर तिनै पत्रुसले पछि लेखे। त्यसो गर्न जस्तोसुकै अवस्थामा पनि हामीले उहाँको उदाहरण अनुकरण गर्नुपर्छ।—१ पत्रुस २:२१ पढ्नुहोस्।

१४. येशूको पुर्पक्ष भइरहेको रात पत्रुस के गर्दै थिए?

१४ पत्रुस होसियार भएर येशूलाई पछ्याइरहेका थिए। येशूलाई पछ्याउँदै तिनी यरूशलेममा रहेको एउटा ठूलो घरको ढोकासम्मै पुगे। त्यो घर त्यतिबेलाका धनी र शक्तिशाली प्रधान पुजारी कैयाफाको थियो। त्यस्तो ठूलो घरको बीचमा चोक हुन्थ्यो र अगाडिपट्टि ठूलो ढोका हुन्थ्यो। पत्रुस त्यो ढोकासम्म पुगे तर तिनलाई भित्र पस्न दिइएन। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यूहन्नाचाहिं भित्र पसिसकेका थिए। यूहन्ना फेरि बाहिर निस्के, ढोकेलाई मनाए र पत्रुसलाई भित्र लगे। पत्रुस र यूहन्ना सँगसँगै थिएनन्‌ जस्तो देखिन्छ। अनि पत्रुसले घरभित्र पसेर आफ्नो गुरुको नजिकै बस्ने कुनै प्रयास पनि गरेका थिएनन्‌। तिनी चोकमै उभिइरहे। त्यो चिसो रातमा दासहरू चोकमा आगो ताप्दै थिए र येशूलाई झूटा आरोप लगाउनेहरू आऊजाऊ गरेको हेरिरहेका थिए।—मर्कू. १४:५४-५७; यूह. १८:१५, १६, १८.

१५, १६. पत्रुसले येशूलाई तीन पटक इन्कार गर्नेछन्‌ भनेर येशूले गर्नुभएको भविष्यवाणी कसरी पूरा भयो?

१५ पत्रुस भित्र पस्दा एउटी केटीले देखेकी थिई। आगोको उज्यालोले गर्दा उसले पत्रुसलाई राम्ररी देख्न सक्थी। उसले पत्रुसलाई चिनिहाली। पत्रुसलाई औंल्याउँदै उसले भनी: “तपाईं पनि त गालीली येशूसँगै हुनुहुन्थ्यो नि!” अचम्मको कुरा, पत्रुसले येशूलाई चिनेकै छैन भने! त्यतिमात्र होइन, त्यो केटीले भनेको कुरा नबुझेको बहानासमेत बनाए। अरूले नदेखून्‌ भनेर त्यसपछि पत्रुस पालेघर नजिकै गए। तर अर्की एउटी नोकर्नीले देखिहाली। त्यसले पनि यसो भनी: “यो मानिस नासरी येशूसँगै थियो।” कसम खाँदै पत्रुसले भने: “मैले त्यो मानिसलाई चिनेकै छैन!” (मत्ती २६:६९-७२; मर्कू. १४:६६-६८) यसरी दोस्रो पटक येशूलाई इन्कार गरेपछि भाले बासेको हुनुपर्छ। भाले बासेको आवाज पत्रुसको कानमा पर्न त पऱ्यो होला। तर यतिबेला तिनको ध्यान निकै खलबलिएको हुनाले केही घण्टाअघि मात्र येशूले गर्नुभएको भविष्यवाणी तिनले सम्झन सकेनन्‌।

१६ कसैले आफूलाई याद नगरून्‌ भनेर पत्रुस अझै पनि अरूको नजरबाट सकेसम्म छलिने प्रयास गरिरहेका थिए। तर केही बेरपछि चोकमा उभिरहेका केही मानिसहरू पत्रुस भएतिर आउँछन्‌। पत्रुसले आक्रमण गरेका माल्कसको एक जना आफन्त पनि त्यहाँ थियो। ऊ पत्रुसलाई भन्छ: “मैले तपाईंलाई उहाँसित बगैंचामा देखेको होइन र?” ती मानिसहरूको भनाइ गलत हो भनेर तिनी त्यस आरोपको सकेजति खण्डन गर्छन्‌। तिनी फेरि पनि कसम खान पछि पर्दैनन्‌। झूटो बोलेको भए आफूमाथि सराप आइलागोस् भनेर पनि तिनी भन्छन्‌। तिनले येशूलाई चिनेको छैन भनेको यो तेस्रो पटक हो। पत्रुसले यसरी येशूलाई  इन्कार गर्नेबित्तिकै दोस्रो पटक भाले बास्छ।—यूह. १८:२६, २७; मर्कू. १४:७१, ७२.

“प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो”

१७, १८. (क) येशूलाई इन्कार गरिसकेपछि पत्रुसले कस्तो महसुस गरे? (ख) पत्रुसले के सोचे होलान्‌?

१७ येशूलाई भर्खरै बार्दलीमा ल्याइएको थियो। उहाँ त्यहाँबाट तल चोकतिर हेर्दै हुनुहुन्थ्यो। यस अध्यायको पहिलो अनुच्छेदमा बताइएको घटना ठीक यही बेलाको हो। येशूसित पत्रुसको आँखा जुध्छ। आफ्नो गुरुलाई इन्कार गरेकोमा पत्रुस एकदमै दुःखी हुन्छन्‌ र चोकबाट निस्कन्छन्‌। आफ्नो गल्तीको कारण तिनी एकदमै व्याकुल हुन्छन्‌। तिनी सहरको बाटोतिर लाग्छन्‌। पूर्णिमाको रातको जुन पनि डुब्नै लागेको छ। पत्रुसका आँखाबाट आँसुको धारा बग्न थाल्छ। आफूले येशूलाई इन्कार गरेको कुरा तिनी झलझली सम्झन्छन्‌। तिनलाई असह्य पीडा हुन्छ र तिनी धुरुधुरु रुन थाल्छन्‌।—मर्कू. १४:७२; लूका २२:६१, ६२.

१८ आफूले गरेको गल्ती एकदमै गम्भीर रहेछ भनेर महसुस गर्दा ‘अब त कहिल्यै क्षमा पाउन सक्दिनँ होला’ भन्ने सोचाइ हाम्रो मनमा आइहाल्छ। पत्रुसले पनि आफ्नो गम्भीर गल्तीलाई येशूले क्षमा गर्नुहुन्न भनेर सोचेका थिए होलान्‌। के त्यसोभए पत्रुसले साँच्चै क्षमा पाएनन्‌ त?

पत्रुस क्षमा पाउन लायककै थिएनन्‌ त?

१९. येशूलाई इन्कार गरेकोमा पत्रुसले कस्तो महसुस गरेको हुनुपर्छ? तर तिनले हरेस खाएनन्‌ भनेर हामी कसरी भन्न सक्छौं?

१९ उसै त पत्रुस दुःखी भइरहेका थिए, झन्‌ भोलिपल्ट येशूमाथि भएको कठोर व्यवहार देख्दा तिनलाई कत्ति छटपटी भयो होला! त्यस दिन येशूले घण्टौंसम्म सास्ती भोग्नुभयो र साँझतिर उहाँ मर्नुभयो। पृथ्वीमा येशूको जीवनको अन्तिम क्षणमा उहाँको पीडामाथि झनै पीडा थपिदिएकोमा पत्रुसले आफैलाई कत्ति धिक्कारे होलान्‌! पत्रुस जति नै निराश भए पनि तिनले हरेस खाएनन्‌। त्यसपछि पत्रुसले तुरुन्तै अरू चेलाहरूसँगै सङ्गत गर्न थाले भनेर बाइबल विवरणले बताएको हुनाले तिनी निराश भइरहेनन्‌ भनेर हामी पक्का हुन सक्छौं। (लूका २४:३३) त्यो कठिन रातमा येशूलाई छोडेर भागेकोमा पक्कै पनि सबै चेलाहरू पछुताइरहेका थिए। यस्तो अवस्थामा तिनीहरूले एकअर्काबाट सान्त्वना पाए।

२०. पत्रुसले गरेको बुद्धिमानी निर्णयबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

२० यसरी पत्रुसले बुद्धिमानी निर्णय गरे। परमेश्वरका कुनै सेवकले गल्ती गरेपछि आफ्नो गल्तीलाई सच्याउन तिनले सक्दो प्रयास गरे भने परमेश्वर क्षमा दिन तयार हुनुहुन्छ। चाहे त्यो गम्भीर गल्ती नै किन नहोस्। (हितोपदेश २४:१६ पढ्नुहोस्) अत्यन्तै निराश भएको बेलामा पनि सँगी चेलाहरूसँगै भेला भएर पत्रुसले साँचो विश्वास देखाए। यदि कोही व्यक्ति केही कारणले दुःखी भएको छ वा पश्‍चात्तापी भावना देखाएको छ भने उसलाई एक्लै बसूँ जस्तो लाग्न सक्छ। तर त्यस्तो अवस्थामा एक्लिनु घातक हुन सक्छ। (हितो. १८:१) आध्यात्मिक  रूपमा बल पाउन सङ्गी विश्वासीहरूसित सङ्गत गर्नु नै बुद्धिमानी कदम हो।—हिब्रू १०:२४, २५.

२१. सँगी चेलाहरूसँगै भएकोले पत्रुसले कस्तो खबर सुन्न पाए?

२१ पत्रुस सँगी चेलाहरूसँगै भएकोले नै तिनले एउटा अचम्मलाग्दो खबर सुन्न पाए। त्यो खबर थियो: येशूको लास चिहानमा छैन! पत्रुस र यूहन्ना दौडँदै चिहानतिर जान्छन्‌। पत्रुसभन्दा जवान भएकोले होला, चिहानमा यूहन्ना छिटो पुग्छन्‌। येशूको लास राखेर चिहानको मुख ठूलो ढुङ्गाले बन्द गरिएको थियो। अहिले चिहानको मुख खुल्लै देखेर यूहन्ना भित्र छिर्न हिचकिचाउँछन्‌। दौडँदै आएकोले स्वाँस्वाँ भइरहेको भए पनि पत्रुसचाहिं सरासर चिहानभित्र पस्छन्‌। चिहान साँच्चै रित्तो थियो!—यूह. २०:३-९.

२२. पत्रुसको शङ्का र निराशा कसरी हट्यो?

२२ येशू पुनर्जीवित हुनुभयो भनेर पत्रुसले विश्वास गरे त? सुरुमा त तिनलाई पत्यारै लागेन। येशू पुनर्जीवित हुनुभयो भनेर घोषणा गर्न स्वर्गदूतहरूसमेत आएका थिए भनेर केही विश्वासी स्त्रीले तिनलाई बताइसकेका थिए। तैपनि तिनले विश्वास गरेका थिएनन्‌। (लूका २३:५५–२४:११) तर त्यस दिनको अन्त सम्ममा त पत्रुसको शङ्का र निराशा सबै हट्यो। येशू अहिले शक्तिशाली स्वर्गदूतको रूपमा जीवित हुनुहुन्छ भनेर तिनी पक्का भए। उहाँ सबै चेलाहरूसामु देखा पर्नुभयो। तर सुरुमा उहाँ पत्रुसकहाँ मात्र देखा पर्नुभयो। त्यस दिनको घटनाबारे चेलाहरूले यसरी बताए: “यो साँचो हो, प्रभु ब्यूँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!” (लूका २४:३४) पछि प्रेषित पावलले पनि त्यो विशेष दिनबारे लेखे। येशू “केफास र त्यसपछि बाह्रै जनाकहाँ देखा पर्नुभयो” भनेर तिनले बताए। (१ कोरि. १५:५) पत्रुसलाई ‘केफास’ र ‘सिमोन’ पनि भनिन्थ्यो। त्यही दिन पत्रुस एक्लै भएको बेला उहाँ तिनीकहाँ देखा पर्नुभएको हुनुपर्छ।

पत्रुसलाई येशूबाट क्षमा चाहिएको थियो; हामीमध्ये कसलाई पो हरेक दिन क्षमा चाहिंदैन र!

२३. अहिले हामी ख्रीष्टियनहरूले गम्भीर गल्ती गरेका छौं भने पत्रुसको विवरण सम्झनु किन राम्रो हुन्छ?

२३ यसरी दुई जनाको भेट भएपछि के-कस्तो कुरा भयो, त्यो त बाइबलमा लेखिएको छैन। जे-जति भयो त्यो त येशू र पत्रुसलाई मात्र थाह छ। आफ्नो मायालु प्रभुलाई फेरि जीवित देख्न पाउँदा पत्रुसलाई कत्ति खुसी लाग्यो होला। उहाँसामु आफ्नो दुःख अनि पश्‍चात्ताप व्यक्त गर्न पाउँदा तिनको मन खुसीले कत्ति गद्गद भयो होला! यतिबेला पत्रुसलाई चाहिएको सबैभन्दा ठूलो कुरा भनेकै क्षमा थियो। अनि येशूजस्तो महान्‌ व्यक्तिले तिनलाई मनैदेखि क्षमा दिनुभएन होला र? अहिले हामी ख्रीष्टियनहरूले पनि गम्भीर गल्ती गरेका छौं भने पत्रुसको विवरण सम्झनु राम्रो हुन्छ। ‘मलाई त परमेश्वरले कहिल्यै क्षमा दिनुहुन्न’ भनेर हामीले सोच्नु हुँदैन। किनभने आफ्नो बुबा यहोवाले “प्रशस्त गरी क्षमा” गर्नुहुन्छ भनेर येशूले आफ्नो उदाहरणबाट प्रस्टै देखाउनुभयो।—यशै. ५५:७.

क्षमा दिएको थप प्रमाण

२४, २५. (क) पत्रुसले राती गालील समुद्रमा माछा मार्दा के भयो? (ख) येशूले चमत्कार गरेपछि पत्रुसले के गरे?

२४ येशूले आफ्ना प्रेषितहरूलाई गालीलमा जान भन्नुभयो। त्यहाँ गएर तिनीहरूले फेरि  येशूलाई भेट्न सक्थे। गालील पुगेपछि पत्रुस समुद्रमा गएर माछा मार्ने विचार गर्छन्‌। तिनीसित अरू पनि जान्छन्‌। पहिला-पहिला पनि तिनको धेरैजसो समय यहीं बित्थ्यो। अहिले फेरि तिनी यहीं छन्‌। डुङ्गाहरूको चाइँचाइँ-चुइँचुइँ आवाज, समुद्रका अनेकौं तरङ्गहरू र माछा मार्ने खस्रो जाल पत्रुसको लागि कुनै नौलो कुरा थिएन। तर रातभरि जाल हाने पनि एउटै माछा पर्दैन!—मत्ती २६:३२; यूह. २१:१-३.

पत्रुस समुद्रमा झ्वाम्म हाम फालेर पौडँदै किनारातिर जान्छन्‌

२५ बिहानीको झिसमिसे उज्यालोमा किनाराबाट कसैले बोलाएको आवाज सुनिन्छ। डुङ्गाको अर्कोतिर जाल हान भनेर ती व्यक्तिले भनिरहेका छन्‌। तिनीहरूले त्यसै गर्छन्‌। जालभरि माछै माछा! १५३ वटा! ती व्यक्ति को हुन्‌, पत्रुस थाह पाइहाल्छन्‌। तिनी समुद्रमा  झ्वाम्म हाम फाल्छन्‌ र पौडँदै किनारातिर जान्छन्‌। किनारामा पुगेपछि येशूले आफ्ना ती वफादार साथीहरूलाई कोइलाको भुङ्ग्रोमा पोलेको माछा दिनुहुन्छ। यतिबेला येशू पत्रुसलाई विशेष ध्यान दिंदै कुरा गर्नुहुन्छ।—यूह. २१:४-१४.

२६, २७. (क) येशूले पत्रुसलाई तीन पटक कस्तो मौका दिनुभयो? (ख) पत्रुसलाई मनैदेखि क्षमा दिएको कुरा येशूले कसरी देखाउनुभयो?

२६ “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” भनेर येशू पत्रुसलाई सोध्नुहुन्छ। येशूले जालभरि भएको माछातिर देखाउँदै यो प्रश्न सोधेको हुनुपर्छ। माछा मार्ने काममै लाग्ने वा येशूलाई पछ्याउने भनेर पत्रुस दोधारमा थिए कि? पत्रुसले येशूलाई तीन पटक इन्कार गरेका थिए। अब अरू चेलाहरूसामु उहाँलाई प्रेम गरेको कुरा स्वीकार्ने मौका पनि येशूले पत्रुसलाई तीन पटक नै दिनुहुन्छ। त्यो प्रेम कसरी देखाउने भनेर त्यसपछि येशू बताउनुहुन्छ: अरू सबै कुरालाई भन्दा पवित्र सेवालाई प्राथमिकता दिएर अनि उहाँका वफादार अनुयायीहरूलाई खुवाएर, बलियो बनाएर र हेरचाह गरेर।—लूका २२:३२; यूह. २१:१५-१७.

२७ येशू र उहाँको बुबाको नजरमा पत्रुस अझै पनि योग्य छन्‌ भन्ने कुरा अब पक्का भयो। येशूको निर्देशन पाएर पत्रुसले मण्डलीमा महत्त्वपूर्ण भूमिका खेल्ने थिए। येशूले मनैदेखि क्षमा दिनुभयो भन्ने कुराको कस्तो सशक्त प्रमाण! येशूले यसरी कृपा देखाएकोमा तिनी कृतज्ञ भए र आफ्नो गल्तीबाट ठूलो पाठ सिके।

२८. पत्रुसले आफ्नो नामअनुसारको काम गरे, कसरी?

२८ आफूले पाएको जिम्मेवारी पत्रुसले वफादार भएर पूरा गरिरहे। येशूले आफ्नो मृत्यु हुनुअघि दिएको आज्ञा पालन गर्दै पत्रुसले आफ्ना भाइहरूलाई बलियो बनाए। तिनले दयालु र धीरजी हुँदै येशूका अनुयायीहरूको हेरचाह गरे र तिनीहरूलाई खुवाए। सिमोनले आफ्नो नामअनुसारै काम पनि गरे। तिनलाई येशूले पत्रुस अर्थात्‌ चट्टान नाम दिनुभएको थियो। तिनी चट्टानजस्तै स्थिर भए, बलियो भए र मण्डलीको लागि भरपर्दो साबित भए। पत्रुसले लेखेका दुईवटा मायालु पत्रले त्यसको प्रमाण दिन्छ। पत्रुसका ती पत्रहरू बाइबलको अनमोल भाग बनेका छन्‌। क्षमा दिने विषयमा येशूबाट सिकेको पाठ पत्रुसले कहिल्यै बिर्सेनन्‌ भनेर पनि ती पत्रहरूबाट देखिन्छ।—१ पत्रुस ३:८, ९; ४:८ पढ्नुहोस्।

२९. हामी कसरी पत्रुसको विश्वास र येशूको कृपा अनुकरण गर्न सक्छौं?

२९ हामीले पनि पत्रुसले जस्तै पाठ सिक्नुपर्छ। हामी थुप्रै गल्ती गर्छौं, तर के परमेश्वरसँग दिनदिनै क्षमा माग्छौं? यहोवाले क्षमा दिनुभएको छ भनेर स्वीकार गर्छौं? यहोवाले क्षमा दिएपछि हामी उहाँको नजरमा सफा हुन्छौं भनेर विश्वास गर्छौं? हामीले अरूलाई क्षमा दिने गरेका छौं कि छैनौं? छौं भने हामीले पत्रुसको विश्वास र येशूको कृपा अनुकरण गरिरहेका हुन्छौं।