अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय सात

तिनी ‘परमप्रभुको सामने बढ्न लागे’

तिनी ‘परमप्रभुको सामने बढ्न लागे’

१, २. कस्तो अवस्थामा शमूएलले इस्राएलीहरूसित कुरा गरिरहेका थिए? शमूएलले तिनीहरूलाई किन पश्‍चात्ताप गर्न उत्प्रेरित गर्नुपर्ने थियो?

शमूएलले बोलाएको कारण आज इस्राएलीहरू गिलगालमा भेला भएका छन्‌। दशकौंदेखि अगमवक्ता र न्यायकर्ताको रूपमा सेवा गरेका यी व्यक्ति गिलगालमा भेला भएका ती मानिसहरूको अनुहार सरसरती हेर्छन्‌। यो कुरा मे वा जून महिनातिरको हुनुपर्छ। सुख्खा मौसम पनि सुरु भइसकेको छ। गहुँ पाकेर त्यहाँको खेत पहेंलपुर देखिन्छ। त्यहाँ भेला भएका मानिसहरू शमूएललाई टुलुटुलु हेरिरहेका छन्‌। अब शमूएल तिनीहरूलाई कसरी मनाउन सक्थे?

अवस्था कत्तिको गम्भीर बनेको छ भनेर ती मानिसहरूलाई थाहै छैन। हामीलाई शासन गर्ने राजा चाहियो भनेर तिनीहरूले माग गरेका थिए। यस्तो माग गरेर तिनीहरूले आफ्ना परमेश्वर यहोवा र अगमवक्ता शमूएलको घोर अनादर गरेका छन्‌ भनेर तिनीहरूलाई पत्तै छैन। वास्तवमा तिनीहरूले यहोवालाई आफ्नो राजाको रूपमा इन्कार गरेका छन्‌! तिनीहरूले गरेको यस्तो गम्भीर गल्तीको पश्‍चात्ताप गर्न शमूएल तिनीहरूलाई कसरी उत्प्रेरित गर्न सक्थे?

भ्रष्ट मानिसहरूमाझ बस्नुपरे पनि यहोवाप्रति विश्वासी भइरहन सकिन्छ भनेर शमूएलको बाल्यकालको विवरणबाट सिक्न सक्छौं

३, ४. (क) शमूएलले किन आफ्नो बाल्यकालबारे बताए? (ख) शमूएलको विश्वासको उदाहरण हाम्रो लागि पनि किन फाइदाजनक छ?

अब शमूएल बोल्न थाल्छन्‌। तिनी मानिसहरूलाई भन्छन्‌: “म चाहिं वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ।” हिउँजस्ता सेता तिनका कपालले तिनको कुरालाई अझै सशक्त बनाइरहेको छ। तिनी अझै यसो भन्छन्‌: “म ता मेरा बालककालदेखिनै तिमीहरूका अगुवा भएर आएको छु।” (१ शमू. ११:१४, १५; १२:२) शमूएल अहिले वृद्ध भइसकेका भए तापनि तिनले आफ्नो बाल्यकाललाई बिर्सेका छैनन्‌। आफू सानो छँदादेखिको कुरा तिनलाई झलझली याद आइरहेको छ। जवान छँदा गरेका असल निर्णयहरूले गर्दा नै तिनी जीवनभर विश्वासी रहन सके र यहोवामा समर्पित जीवन बिताउन सके।

शमूएलले यहोवाप्रति विश्वास खेती गर्नुका साथै त्यसलाई बलियो बनाइराख्नु परेको  थियो। अविश्वासी र अवफादार मानिसहरूको बीचमा बस्नुपरेको भए तापनि तिनीचाहिं विश्वासी रहे। यहोवाप्रति विश्वास खेती गर्न अहिले पनि कहाँ सजिलो छ र! हामी पनि अविश्वासी र भ्रष्ट मानिसहरूको बीचमा छौं। (लूका १८:८ पढ्नुहोस्) त्यसोभए शमूएलले बसालेको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? तिनको बाल्यकालदेखिको विवरण विचार गरौं।

‘सानैदेखि यहोवाको सेवामा लागिरहे’

५, ६. शमूएलको बाल्यकाल अरू बालकको भन्दा कसरी फरक थियो? आफ्नो छोराको हेरचाह राम्रोसँग हुनेछ भनेर तिनका आमाबाबु किन ढुक्क थिए?

शमूएलको बाल्यकाल अरू बालकको भन्दा फरक तरिकाले बित्यो। आमाको दूध छुटेपछि सायद तीन वर्षको हुँदा वा त्यसको केही समयपछि तिनले शीलोमा रहेको यहोवाको पवित्र बासस्थानमा सेवा गर्न थाले। बासस्थान तिनको घर रामाबाट ३० किलोमिटरभन्दा टाढा थियो। तिनका आमाबाबु एल्काना र हन्नाले आफ्नो सानो छोरालाई विशेष सेवाको लागि बासस्थानमा नाजिरीको रूपमा अर्पण गरे। * शमूएलले त्यहाँ जीवनभर यहोवाको सेवा गर्नुपर्थ्यो। यसको अर्थ के शमूएललाई तिनका आमाबाबुले त्यागेका थिए?

अहँ! थिएनन्‌। शीलोमा आफ्नो छोराको हेरचाह राम्रोसँग हुनेछ भनेर तिनीहरूलाई थाह थियो। शमूएलले प्रधान पुजारी एलीसँगै काम गर्ने भएकोले शमूएलको हेरचाह गर्ने प्रबन्ध पनि उनले पक्कै मिलाउने थिए। बासस्थानमा हुने विभिन्न काममा सघाउने स्त्रीहरू पनि त्यहाँ हुन्थे।—प्रस्थ. ३८:८; न्याय. ११:३४-३९ NRV.

७, ८. (क) शमूएलका आमाबाबु हरेक वर्ष तिनलाई कसरी प्रोत्साहन दिन्थे? (ख) हन्ना र एल्कानाबाट अहिलेका आमाबाबुले के सिक्न सक्छन्‌?

हन्ना र एल्कानाले आफ्नो जेठो छोरालाई बिर्सने त कुरै थिएन। किनभने शमूएल नै तिनीहरूको प्रार्थनाको जवाफ थिए। एउटा छोरा दिनुहोस् भनेर हन्नाले परमेश्वरसँग बिन्ती गरेकी थिइन्‌। छोरा पाएमा उसलाई सदाको लागि यहोवाको पवित्र सेवामा चढाउने बाचा पनि तिनले गरेकी थिइन्‌। हन्ना हरेक वर्ष शीलो जाँदा आफ्नो छोराको लागि बासस्थानमा लगाउने कोट सिलाएर लैजान्थिन्‌। आमाबाबु यसरी भेट्न आउँदा ती बालक पक्कै पनि फुरुङ्ङ पर्थे। यहोवाको बासस्थान जस्तो अति पवित्र ठाउँमा सेवा गर्न पाउनु कत्ति ठूलो सुअवसर हो भनेर आफ्ना आमाबाबुले मायालु तरिकामा सम्झाउँदा र सिकाउँदा शमूएलको खुसीको सीमा नै रहँदैनथ्यो।

आजका आमाबाबुले पनि हन्ना र एल्कानाबाट धेरै कुरा सिक्न सक्छन्‌। धेरैजसो आमाबाबुहरू छोराछोरीलाई यहोवासित घनिष्ठ बनाउनुभन्दा तिनीहरूलाई चाहिने भौतिक कुराहरू जुटाइदिनमै बढ्ता ध्यान दिन्छन्‌। शमूएलका आमाबाबुले यहोवासित आफ्नो परिवारको सम्बन्ध बलियो बनाउने कुरालाई प्राथमिकता दिएका थिए। शमूएल यहोवाको नजरमा असल मानिस बन्नुमा तिनका आमाबाबुको ठूलो हात थियो।—हितोपदेश २२:६ पढ्नुहोस्।

९, १०. (क) बासस्थान कस्तो थियो र त्यसलाई शमूएल कस्तो ठान्थे? (फुटनोट पनि हेर्नुहोस्) (ख) शमूएलको जिम्मेवारी के-के थियो? आजका जवानहरूले शमूएलको अनुकरण कसरी गर्न सक्छन्‌?

 शमूएल बढ्दै गएको र शीलो वरिपरिका डाँडाहरू हुँदो डुलिरहेको कल्पना गर्नुहोस्। डाँडाबाट तल हेर्दा शीलो सहर र वरपरको इलाका देखिन्थ्यो। त्यहाँबाट यहोवाको बासस्थान देख्दा शमूएल साह्रै रमाउँथे होलान्‌; तिनको छाती गर्वले फुल्थ्यो होला। यहोवाको त्यो बासस्थान एउटा अत्यन्तै पवित्र ठाउँ थियो। * मोशाको नेतृत्वमा झन्डै ४०० वर्षअगाडि बनाइएको त्यो बासस्थान संसारभरिमै एकमात्र यस्तो ठाउँ थियो जहाँ यहोवालाई पवित्र उपासना चढाइन्थ्यो।

१० शमूएल बासस्थानमा सेवा गर्न अत्यन्तै रमाउँथे। बाइबल विवरण यसो भन्छ: “शमूएल सानै बालक थिए, र मलमलको एपोद लाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे।” (१ शमू. २:१८) शमूएल बासस्थानका पुजारीहरूलाई सघाउँथे भन्ने कुरा पुजारीहरूले लगाउने बाहुलाबिनाको कोट तिनले पनि लगाएको कुराले सङ्केत गर्छ। हुन त शमूएल पुजारीको परिवारका थिएनन्‌ तैपनि तिनले बिहान बासस्थानको चोकको ढोका खोल्ने र एलीको हेरचाह गर्ने जिम्मेवारी पाएका थिए। आफूले पाएको काममा तिनी रमाइरहेका थिए। तर पछि एकपटक तिनको हृदय एकदमै विचलित भयो। किनकि यहोवाको घरमा घोर दुष्ट काम भइरहेको थियो।

भ्रष्टताको बीचमा शुद्धता

११, १२. (क) होप्नी र पीनहासको मुख्य समस्या के थियो? (ख) होप्नी र पीनहासले बासस्थानमा के-कस्ता दुष्ट कामहरू गरिरहेका थिए? (फुटनोट पनि हेर्नुहोस्)

११ सानो छँदा नै शमूएलले दुष्टता र भ्रष्टाचार देखे। एलीका दुई छोराहरू थिए। तिनीहरूको नाम होप्नी र पीनहास थियो। तिनीहरूबारे शमूएलको विवरण यसो भन्छ: “एलीका छोराहरू दुष्ट थिए, र परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन।” (१ शमू. २:१२, १३) यस पदमा एलीका छोराहरूबारे दुईवटा कुरा बताइएका छन्‌ र ती एकअर्कासित सम्बन्धित छन्‌। होप्नी र पीनहासमा यहोवाप्रति कुनै श्रद्धा नभएकोले नै तिनीहरू “दुष्ट” भएका थिए अर्थात्‌ मौलिक भाषाअनुसार “व्यर्थका सन्तान” भएका थिए। यहोवाको सही स्तर र उहाँका नियमहरूको तिनीहरूलाई कुनै वास्ता थिएन। यही कारणले गर्दा तिनीहरूले एकपछि अर्को दुष्ट काम गर्न थाले।

१२ पुजारीहरूको काम र बासस्थानमा बलिदान चढाउने तरिकाबारे यहोवाले स्पष्ट निर्देशन दिनुभएको थियो। यसरी तोकेरै निर्देशन दिनु उपयुक्त थियो। ती बलिदानहरू मानिसजातिलाई पापको क्षमा दिन यहोवाले गर्नुभएको प्रबन्ध थियो। ती बलिदानहरूकै आधारमा मानिसहरू उहाँको नजरमा असल ठहरिने थिए र उहाँको आशिष्‌ तथा निर्देशन पाउन योग्य हुने  थिए। तर होप्नी र पीनहासले अरू पुजारीहरूलाई ती बलिदानहरूको घोर अनादर गर्न सिकाइरहेका थिए। *

१३, १४. (क) बासस्थानमा भइरहेको दुष्ट कामले सीधासादा मानिसहरूलाई कस्तो असर गरिरहेको थियो? (ख) बुबाको रूपमा र प्रधान पुजारीको रूपमा एली किन सफल भएनन्‌?

१३ कल्पना गर्नुहोस्, त्यस्तो घोर दुष्ट काम खुलेआम भइरहेको कुरा जवान शमूएलले हेरिरहेका छन्‌। त्यस्तो कामलाई कसैले सच्याइरहेको छैन भनेर पनि तिनले बुझेका छन्‌। थुप्रै मानिसहरू बलिदान चढाउन आउँथे—गरिब, थिचोमिचोमा परेका र पिछडिएका, सबै। त्यो पवित्र बासस्थानमा बलिदान चढाएपछि मनलाई शान्ति मिल्ला र बल पाउँला भन्ने आशामा उनीहरू त्यहाँ आएका हुन्थे। तर पुजारीहरूको त्यस्तो व्यवहारले गर्दा उनीहरू झनै निराश अनि दुःखी भएर फर्कनुपर्थ्यो। त्यस्ता घटनाहरू शमूएलले कति धेरै देखे होलान्‌? त्यसमाथि बासस्थानमा सेवा गर्ने स्त्रीहरूसित होप्नी र पीनहासले यौनसम्बन्ध राखेर नैतिकताबारे यहोवाको नियमलाई अनादर गरेको कुरा सुन्दा शमूएलले कस्तो महसुस गरे होलान्‌? (१ शमू. २:२२) सायद शमूएलले यस्तो आशा गरेका थिए, ‘परिस्थिति सच्याउन एलीले केही गर्लान्‌ नि!’

एलीका छोराहरूको दुष्ट काम देखेर शमूएल कत्ति विचलित भए होलान्‌!

१४ दिन प्रतिदिन बढिरहेको नराम्रो कामलाई रोक्न सक्ने अधिकार एलीसँग थियो। बासस्थानमा जे-जस्ता काम हुन्छन्‌, ती सबैको लागि प्रधान पुजारीको हैसियतमा एली जिम्मेवार थिए। बुबा भएकोले आफ्ना छोराहरूलाई सुधार्नु उनको जिम्मेवारी पनि थियो। तिनीहरूको दुष्टताले तिनीहरू आफैलाई र अरू थुप्रैलाई पनि हानि पुऱ्याइरहेको थियो। तर एलीले न बुबाको जिम्मेवारी राम्ररी पूरा गरे, न त प्रधान पुजारीको नै। एलीले आफ्ना छोराहरूलाई साधारण हप्की मात्र दिए। (१ शमूएल २:२३-२५ पढ्नुहोस्) तर उनका छोराहरू अझै ठूलो सजाय पाउन लायकका थिए। तिनीहरूले मृत्युदण्ड पाउने खालको पाप गरेका थिए।

१५. यहोवाले एलीलाई कस्तो कडा सन्देश सुनाउनुभयो? यहोवाबाट चेतावनी पाएपछि एलीको परिवार सुध्रियो?

१५ अवस्था यत्ति गम्भीर भयो कि यहोवाले एक जना अगमवक्ता पठाउनुपर्ने भयो। बाइबलमा तिनको नाम बताइएको छैन। ‘परमेश्वरका ती जनले’ एलीलाई यहोवाको कडा न्यायको सन्देश सुनाए। अगमवक्तामार्फत यहोवाले एलीलाई यसो भन्नुभयो: “किन तँ तेरा छोराहरूलाई मलाई भन्दा बढी सम्मान गर्छस्?” त्यही दिन एलीका दुष्ट छोराहरू मर्नेछन्‌ भनेर यहोवाले बताउनुभयो। एलीको परिवारले कसैले नपाएको दुःख पाउने थियो र पुजारीवर्गको रूपमा सेवा गर्न पाउने सुअवसर पनि गुमाउने थियो। यस्तो डरलाग्दो चेतावनी पाइसकेपछि के एलीको परिवारमा कुनै सुधार आयो? बाइबल विवरण केलाउने हो भने एली र उनका छोराहरूको कानमा बतास लागेन भनेर हामी बुझ्न सक्छौं।—१ शमू. २:२७–३:१ NRV.

१६. (क) जवान शमूएलको उन्नतिबारे बाइबलमा कस्तो जानकारी दिइएको छ? (ख) के ती जानकारीहरूले तपाईंको मन छुन्छ? किन?

 १६ यस्तो भ्रष्टताले जवान शमूएललाई कस्तो असर पाऱ्यो? कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं यो नराम्रो घटना विवरणमा समेत हामी केही असल कुरा भेट्टाउन सक्छौं। त्यो हो—यहोवाको नजरमा शमूएलको वृद्धि र प्रगतिको विवरण। पहिलो शमूएल २:१८ ले बताएझैं “बालक शमूएल . . . परमप्रभुको सेवामा निरन्तर लागिरहे।” उमेरमा सानै भए तापनि तिनले आफ्नो जीवन यहोवाको सेवामै केन्द्रित गरे। सोही अध्यायको पद २१ मा अझै मन छुने विवरण दिइएको छ। त्यसमा यस्तो लेखिएको छ: “बालक शमूएल परमप्रभुको सामने बढ्नलाग्यो।” हुर्कंदै जाँदा स्वर्गका आफ्ना बुबासँगको तिनको सम्बन्ध झनै बलियो हुँदै गयो। यहोवासितको त्यस्तो घनिष्ठ सम्बन्धले जस्तोसुकै भ्रष्ट प्रभावबाट पनि शमूएललाई जोगाउने थियो।

१७, १८. (क) आफू वरपरका मानिसहरूले नराम्रो उदाहरण बसाले पनि जवान ख्रीष्टियनहरूले कसरी शमूएलको अनुकरण गर्न सक्छन्‌? (ख) शमूएलको छनौट असल थियो भनेर कुन कुराले देखाउँछ?

१७ शमूएलले चाहेको भए यसरी पनि सोच्न सक्थे: “प्रधान पुजारी र तिनका छोराहरूले त पाप गरे हुने रहेछ भने, म त झन्‌ को हुँ र? मैले जे गरे पनि के नै फरक पर्छ र?” तर चाहे अख्तियार पाएकाहरू नै किन नहोऊन्‌, अरूले पाप गऱ्यो भन्दैमा आफूले पनि त्यसै गर्ने बहाना बनाउन मिल्दैन। आज पनि थुप्रै जवान ख्रीष्टियनहरू शमूएलको अनुकरण गर्छन्‌ र आफू वरपरका मानिसहरूले नराम्रो उदाहरण बसाले पनि शमूएल जस्तै ‘यहोवाको सामने बढ्छन्‌।’

१८ शमूएलले सधैं यहोवाको आज्ञा पालन गर्ने छनौट गर्दा नतिजा कस्तो भयो? हामी यस्तो लेखिएको पाउँछौं: “बालक शमूएल बढ्दै जाँदा परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र भए।” (१ शमू. २:२६) शमूएल सबैका प्रिय थिए। सबैले नभए तापनि आदरणीय व्यक्तिहरूले भने तिनलाई मनपराउँथे। जवान शमूएल विश्वासी भएकोमा स्वयम् यहोवा पनि तिनीसित खुसी हुनुभयो। यहोवाले शीलोमा भइरहेको सबै खराब कामलाई एकदिन रोक्नुहुनेछ भनेर शमूएललाई थाह थियो। तर तिनी सोच्थे:  “कहिले?” एक रातको कुरा हो, यहोवाले शमूएललाई त्यस प्रश्नको जवाफ दिनुभयो।

“भन्नुहोस्, दासले सुन्दैछ”

१९, २०. (क) शमूएल बासस्थानमा सुतिरहेको बेला एक रात कस्तो घटना घट्यो? (ख) शमूएल एलीलाई कस्तो व्यवहार गर्थे? (ग) कसले बोलाइरहेको हो भनेर शमूएलले अन्तमा कसरी बुझे?

१९ मध्यरात बितिसकेको छ र बिहान हुनै लागेको छ। पालको सामदानमा बालिएको बत्ती अझै पिलपिल गर्दैछ। त्यो अन्धकार रातमा शमूएल एउटा आवाज सुन्छन्‌। कसैले नाम काढेरै तिनलाई बोलाइरहेको थियो। एलीले बोलाएका होलान्‌ भनेर शमूएल सोच्छन्‌। त्यतिबेलासम्म एली अति वृद्ध भइसकेका थिए र उनका आँखा पनि धमिला भइसकेका थिए। शमूएल उठे र “दगुरेर” वृद्ध एलीकहाँ गए। कल्पना गर्नुहोस् त, एलीलाई केही चाहियो होला भनेर शमूएल खाली खुट्टै हतारपतार दौडिरहेका छन्‌! शमूएल एलीको आदर गर्थे। उनको हेरचाह गर्न शमूएलले कुनै कसर बाँकी राखेका थिएनन्‌ भनेर थाह पाउँदा हाम्रो मनै छुन्छ नि, होइन र? एलीले जे-जस्तो पाप गरेको भए तापनि उनी अहिलेसम्म यहोवाले नियुक्त गरेको प्रधान पुजारी थिए।—१ शमू. ३:२-५.

२० शमूएलले एलीलाई यसो भन्दै उठाए: “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” एलीले ‘मैले बोलाएको छैन’ भनेर शमूएललाई सुत्न पठाए। तर बारम्बार यस्तो भइरह्यो। किन यस्तो भइरहेको हो भनेर अन्तमा एलीले बुझे। आफ्ना जनहरूलाई सन्देश दिन यहोवाले कुनै दर्शन देखाउने वा भविष्यवाणी गराउने काम लगभग बन्दै भइसकेको थियो। यस्तो हुनुको कारण त छर्लङ्गै छ! तर यहोवाले फेरि सन्देश दिन थाल्नुभयो भनेर एलीले बुझे। अहिले यहोवा शमूएलसँग बोल्दै हुनुहुन्थ्यो। एलीले शमूएललाई फेरि सुत्न पठाए र अब कसैले बोलाएको आवाज आयो भने कसरी जवाफ दिने भनेर पनि सिकाए। शमूएलले त्यसै गरे। केही समयपछि नै तिनले “शमूएल, शमूएल” भनेर बोलाएको आवाज सुने। तिनले यस्तो जवाफ दिए, “भन्नुहोस्, दासले सुन्दैछ।”—१ शमू. ३:१, ५-१०.

२१. आज हामी यहोवाको कुरा कसरी सुन्न सक्छौं? यहोवाको कुरा सुन्नु किन महत्त्वपूर्ण छ?

२१ शीलोमा आफ्नो कुरा सुन्ने सेवक आखिर यहोवाले पाउनुभयो। शमूएलले जीवनभर यहोवाको कुरा सुने। के तपाईं पनि सधैं यहोवाको कुरा सुन्ने गर्नुहुन्छ? यहोवा हामीसँग चमत्कारपूर्ण ढङ्गमा कहिले बोल्नुहोला भनेर हामीले कुरिराख्नु पर्दैन। किनकि अहिले परमेश्वर हामीसँग सधैं बोलिरहनुभएको छ। हो, उहाँको वचन बाइबलमार्फत। हामी जति धेरै उहाँको कुरा सुन्ने गर्छौं र त्यसअनुसार जीवन बिताउँछौं, हाम्रो विश्वास पनि त्यति नै बलियो हुँदै जानेछ। शमूएलको जीवनमा पनि त्यस्तै भयो।

डर लागे पनि शमूएलले वफादार भई यहोवाको न्याय एलीलाई सुनाए

२२, २३. (क) यहोवाले शमूएलमार्फत एलीलाई सुनाएको सन्देश कसरी पूरा भयो? (ख) शमूएलको कस्तो नाम चल्दै गयो?

२२ त्यो रात शमूएलको जीवनको एउटा अविस्मरणीय रात थियो। त्यस रातदेखि यहोवासँग तिनको विशेष सम्बन्ध गाँसियो। तिनी यहोवा परमेश्वरका अगमवक्ता र उहाँको तर्फबाट बोल्ने व्यक्ति नियुक्त भए। यहोवाले दिनुभएको सन्देश एलीलाई सुनाउन शमूएल सुरुमा त डराए। त्यो सन्देशमा एलीको परिवारविरुद्ध न्यायदण्डको कुरा थियो र त्यो चाँडै पूरा हुनेवाला थियो। तर शमूएलले साहस बटुले। एलीले पनि नम्रतापूर्वक स्वीकारे। यहोवा परमेश्वरले भनेझैं भयो। इस्राएलीहरू र पलिश्तीहरूको लडाइँ भयो। त्यही दिन होप्नी र पीनहास मारिए। यहोवाको पवित्र  सन्दुक शत्रुहरूले लगे भन्ने खबर सुन्नासाथ एली पनि मरे।—१ शमू. ३:१०-१८; ४:१-१८.

२३ विश्वासी अगमवक्ताको रूपमा शमूएलको नाम चल्दै गयो। बाइबल विवरण भन्छ, “परमप्रभु तिनीसँग हुनुभयो।” शमूएलले गरेका कुनै पनि भविष्यवाणी फेल खाएन।—१ शमूएल ३:१९ पढ्नुहोस्।

“शमूएलले परमप्रभुलाई पुकारे”

२४. केही समयपछि इस्राएलीहरूले कस्तो निर्णय गरे? त्यो किन ठूलो पाप थियो?

२४ के इस्राएलीहरूले शमूएलको नेतृत्व स्वीकारे र यहोवाका विश्वासी जन बने? अहँ! त्यसो गरेनन्‌। केही समयपछि तिनीहरूले एउटा तुच्छ अगमवक्ताको अधीनमा बसदैनौं भनेर निर्णय गरे। तिनीहरूले वरपरका देशहरूमा भएझैं आफूहरूमाथि शासन गर्न पनि राजा चाहिन्छ भन्न थाले। यहोवाको निर्देशनअनुसार नै शमूएलले तिनीहरूको माग पूरा गरिदिए। तर राजाको माग गरेर इस्राएलीहरूले कत्ति ठूलो पाप गरिरहेका छन्‌ भन्ने कुरा शमूएलले तिनीहरूलाई बुझाउनुपर्ने थियो। तिनीहरूले कुनै मानिसलाई होइन यहोवालाई इन्कार गरिरहेका थिए! त्यसैले शमूएलले तिनीहरूलाई गिलगालमा जम्मा हुने आदेश दिए।

शमूएलले विश्वासका साथ यहोवालाई प्रार्थना गरे, जवाफस्वरूप उहाँले गर्जन पठाउनुभयो

२५, २६. राजाको माग गरेर इस्राएलीहरूले कत्ति ठूलो पाप गरेका छन्‌ भन्ने कुरा बुझ्न वृद्ध शमूएलले कसरी मदत गरे?

२५ अब पहिलो अनुच्छेदमा बताइएको घटनामै फर्कौं। विद्रोही इस्राएलीहरूलाई सम्झाइबुझाइ गर्न शमूएललाई धौधौ परिरहेको छ। वृद्ध शमूएल आफूले देखाएको सत्यनिष्ठाबारे इस्राएलीहरूलाई सम्झाउँदैछन्‌। त्यसपछिको बाइबल विवरण यसो भन्छ: “शमूएलले परमप्रभुलाई पुकारे।” शमूएलले यहोवालाई गर्जन पठाइदिनुहोस् भनेर बिन्ती गर्छन्‌।—१ शमू. १२:१७, १८.

२६ गर्जन? त्यो पनि त्यस्तो सुख्खा मौसममा? त्यस्तो त पहिला कहिल्यै भएको थिएन। सायद कोही-कोहीलाई त त्यो कुरा असम्भव जस्तो पनि लाग्यो होला। यदि त्यस्तो लागेको भए तिनीहरू हेरेको हेऱ्यै भए होलान्‌। किनभने आकाशमा अचानक कालो बादल मडारिन थाल्यो र अन्धकार छायो। हुरी चल्यो, खेतमा भएको गहुँ बतासले सोतर भयो, बिजुली चम्कियो र डरलाग्दो गर्जन सुनियो। दरदरी पानी पर्न थाल्यो। त्यहाँ भेला भएका इस्राएलीहरू नि? “सबै मानिसहरू परमप्रभु र शमूएलसँग भयभीत भए।” कत्ति ठूलो पाप गरेका रहेछौं भनेर अन्ततः तिनीहरूले बुझे।—१ शमू. १२:१८, १९.

२७. शमूएलको विश्वास अनुकरण गर्नेहरूका लागि यहोवा के गर्नुहुन्छ?

२७ वास्तवमा इस्राएलीहरूलाई त्यो कुरा बुझाउने शमूएल थिएनन्‌। तिनका परमेश्वर यहोवाले तिनीहरूलाई त्यो कुरा बुझाउनुभएको थियो। बाल्यावस्थादेखि वृद्धावस्थासम्मै शमूएल यहोवाप्रति विश्वासी भए। यहोवाले पनि शमूएललाई आशिष्‌ दिनुभयो। आज पनि यहोवा त्यसै गर्नुहुन्छ। शमूएलको विश्वास अनुकरण गर्नेहरूलाई उहाँ अझै पनि साथ दिनुहुन्छ।

^ अनु. 5 नाजिरीहरूले कुनै पनि किसिमको मद्य पिउनु हुँदैनथ्यो र आफ्नो कपाल पनि काट्नु हुँदैनथ्यो। धेरैजसो नाजिरीहरूले कुनै निश्‍चित समयसम्मको लागि मात्र यस्तो बाचा गर्थे। तर शिमशोन, शमूएल र बप्तिस्मा गराउने यूहन्ना जस्ता केही व्यक्तिहरू मात्र जीवनभर नाजिरी भए।

^ अनु. 9 बासस्थान लगभग १३ मिटर लामो र ४.५ मिटर चौडा थियो। यो बासस्थान भित्रपट्टि काठ प्रयोग गरेर बनाइएको एउटा ठूलो पालघर जस्तै देखिन्थ्यो। तर यसमा प्रयोग गरिएका निर्माण सामग्रीहरू अत्यन्तै उच्चकोटीका थिए। जस्तै:- सिलको छाला, बुट्टेदार कपडाहरू, सुन र चाँदीले मोहोरिएका महँगा काठहरू आदि। बासस्थान वरिपरि लगभग ४४.५ मिटर लामो र २२ मिटर चौडा चोक थियो। त्यहाँ बलिदान चढाउनको लागि अत्यन्तै आकर्षक वेदी थियो। पछि पुजारीहरूको लागि भनेर बासस्थानको छेउछाउमा अरू कोठाहरू पनि बनाइयो। शमूएल पनि त्यस्तै एउटा कोठामा बस्ने गर्थे जस्तो देखिन्छ।

^ अनु. 12 बाइबल विवरणमा तिनीहरूले गरेको घोर अनादरको दुइटा उदाहरण पाइन्छ। पहिलो कुरा, बलिदान चढाइएका जनावरहरूको कुनचाहिं भाग पुजारीहरूले पाउनेछन्‌ भनेर स्पष्ट नियम दिइएको थियो। (व्यव. १८:३) तर बासस्थानका दुष्ट पुजारीहरूले भने मनपरी गरिरहेका थिए। ती पुजारीहरूले आफ्ना सेवकहरूलाई एउटा ठूलो काँटा लिएर मासु उमालिरहेको कराहीमा घोच्न लगाउँथे र छानी-छानीकन राम्रो मासुचाहिं लिएर जान्थे। दोस्रो कुरा, मानिसहरूले बलिदानलाई वेदीमा जलाउन ल्याउँदा ती दुष्ट पुजारीहरूले आफ्ना सेवकलाई पठाएर बलिदान दिने मानिसबाट काँचै मासु जबरजस्ती लिन लगाउँथे। जनावरको बोसो यहोवालाई चढाउन नपाउँदै तिनीहरू त्यसो गर्थे।—लेवी ३:३-५; १ शमू. २:१३-१७.