अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

 अध्याय आठ

तिनले निराशाको बाबजुद धैर्य गरे

तिनले निराशाको बाबजुद धैर्य गरे

१. शीलोमा किन रुवाबासी भइरहेको थियो?

शमूएल दुःखी छन्‌। शीलोको अवस्था सहिनसक्नु छ। पूरै सहर आँसुले भिजेको छ। थुप्रै घरहरूमा रुवाबासी भइरहेको छ। आफ्नो बुबा, श्रीमान्‌, छोराहरू र दाजुभाइहरू अब कहिल्यै घर फर्कने छैनन्‌ भन्ने समाचार पाएपछि त्यहाँका आइमाई र बालबच्चाको हालत कस्तो भयो होला! केही समयअघिमात्र युद्धमा ४,००० इस्राएलीहरूको मृत्यु भएको थियो। अहिले फेरि पलिश्तीहरूसितको युद्धमा लगभग ३०,००० इस्राएलीहरू मारिएका छन्‌।—१ शमू. ४:१, २, १०.

२, ३. कस्ता दुःखद घटनाहरूले गर्दा शीलोको महिमा हरायो?

यो त दुःखको सुरुवात मात्र थियो। प्रधान पुजारी एलीका दुष्ट छोरा होप्नी र पीनहास शीलोबाट करारको पवित्र सन्दूक बोकेर पलिश्तीहरूसित युद्ध गर्न गएका थिए। त्यो सन्दूक बासस्थानको महापवित्रस्थानमा राखिन्थ्यो। त्यो बहुमूल्य सन्दूक परमेश्वरको उपस्थितिको चिन्ह थियो। करारको त्यो सन्दूकले जन्तरको जस्तो काम गर्छ र जिताउँछ भन्ने मूर्खतापूर्ण सोचाइ राखेर इस्राएलीहरूले त्यसलाई युद्धमा लगेका थिए। तर पलिश्तीहरूले त्यो सन्दूक खोसे अनि होप्नी र पीनहासलाई पनि मारे।—१ शमू. ४:३-११.

शताब्दीयौंदेखि करारको सन्दूक शीलोको बासस्थानमा राखिएको थियो। त्यसकारण मानिसहरू बासस्थानलाई महिमित स्थानको रूपमा हेर्थे। तर अब भने अवस्था त्यस्तो रहेन। करारको सन्दुक खोसिएको समाचार सुनेपछि ९८ वर्ष पुगेका एली आफू बसिरहेको ठाउँबाट पछिल्तिर लडे अनि मरे। त्यही दिन विधवा भएकी एलीकी बुहारी सुत्केरी बेथाले गर्दा मरिन्‌। मर्नुअघि उनले भनिन्‌: “इस्राएलबाट महिमा हरायो।” शीलोको महिमा अब कहिल्यै फर्कने थिएन।—१ शमू. ४:१२-२२.

४. यस अध्यायमा हामी कुन कुरा छलफल गर्नेछौं?

शमूएलले यति ठूलो निराशाको सामना कसरी गर्ने थिए? यहोवाको सुरक्षा अनि अनुमोदन गुमाएका ती मानिसहरूलाई मदत दिनु साँच्चै चुनौतीपूर्ण काम थियो। के शमूएलसँग यस्तो काम गर्न चाहिने बलियो विश्वास थियो? हामीले पनि कहिलेकाहीं आफ्नो विश्वासको जाँच हुने कठिनाइ अनि निराशाको सामना गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा शमूएलबाट हामी के सिक्न सक्छौं, अब हेरौं।

 तिनले “परमेश्वरको स्तर स्थापित गरे”

५, ६. शमूएलले बिताएको २० वर्षको अवधिबारे बाइबलमा के बताइएको छ? त्यतिबेला शमूएल केमा व्यस्त थिए?

यतिबेला बाइबल विवरणले नयाँ मोड लिन्छ। अबको विवरणमा शमूएलबारे होइन तर पवित्र सन्दूकबारे उल्लेख गरिएको पाउँछौं। सन्दूक खोसेर लगेपछि पलिश्तीहरूले कस्तो दुःख भोग्नुपऱ्यो र त्यो फर्काउन उनीहरू कसरी बाध्य भए, त्यसबारे बाइबल बताउँछ। बाइबलमा शमूएलबारे फेरि लेखिएको विवरणलाई नियाल्दा लगभग २० वर्ष बितिसकेको हुन्छ। (१ शमू. ७:२) त्यो २० वर्ष शमूएलले कसरी बिताए? बाइबलबाटै त्यसको भेउ पाउन सकिन्छ।

युद्धले गर्दा शोकमा डुबेका मानिसहरूलाई शमूएलले कसरी सान्त्वना दिए?

बाइबल हामीलाई यसरी बताउँछ: “आफ्नो जीवनभरिनै शमूएल इस्राएलका न्यायकर्त्ता भए।” (१ शमू. ७:१५-१७) पछि शमूएलले हरेक वर्ष इस्राएलका तीन सहरमा भ्रमण गर्ने चलन सुरु गरे। यसरी हरेक वर्ष भ्रमण गर्दा तिनी विभिन्न समस्या सुल्झाउने र प्रश्नका जवाफ दिने गर्थे। त्यसपछि तिनी आफ्नो घर रामामा फर्कने गर्थे। कुरा प्रस्ट छ, शमूएल सधैं व्यस्त रहिरहन्थे र त्यो २० वर्षको समयावधिमा पनि तिनी थुप्रै काममा व्यस्त थिए।

बीस वर्षको समयावधिमा शमूएल के गर्दै थिए भनेर बाइबलले बताएको छैन; तर तिनी यहोवाको सेवामै व्यस्त थिए भनेर हामी पक्का हुन सक्छौं

७, ८. (क) इस्राएलीहरूलाई प्रोत्साहन दिंदै २० वर्ष बिताइसकेपछि शमूएलले तिनीहरूलाई कस्तो सन्देश सुनाए? (ख) शमूएलको कुरा सुनेपछि मानिसहरूले के गरे?

एलीका छोराहरूको अनैतिक काम र भ्रष्ट आचरणले गर्दा मानिसहरूको विश्वास कमजोर हुँदै गइरहेको थियो। सायद त्यसैकारणले गर्दा थुप्रै मानिस मूर्तिपूजामा लागे। मानिसहरूलाई यहोवाको सेवा गर्न प्रोत्साहन दिंदै २० वर्ष बिताइसकेपछि शमूएलले तिनीहरूलाई यो सन्देश सुनाए: “यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कन्छौ भने तिमीहरूका पूजा-कोठाहरूबाट पराई देवताहरू र अश्तारोत देवीहरूलाई निकालिदेऊ, आफ्ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क औ उहाँको मात्र सेवा गर, र उहाँले तिमीहरूलाई पलिश्तीहरूको हातबाट मुक्त गर्नुहुनेछ।”—१ शमू. ७:३.

“पलिश्तीहरूको हातबाट” इस्राएलीहरूले धेरै अत्याचार भोगिरहेका थिए। इस्राएली सेनालाई सजिलै जित्न सकेकोले पलिश्तीहरूले अब परमेश्वरका जनलाई जे गरे पनि हुन्छ भनेर सोच्न थालेका थिए। तर यहोवातर्फ फर्किने हो भने मात्र पनि परिस्थिति बदलिनेछ भनेर शमूएलले तिनीहरूलाई बताए। के तिनीहरू फर्कन इच्छुक थिए? तिनीहरूले आ-आफ्नो मूर्तिहरू फ्याँके र “परमप्रभुको मात्र सेवा गर्न लागे।” यो देखेर शमूएल ज्यादै खुसी भए। शमूएलले यरूशलेमको उत्तरतिरको पहाडी भेगको सहर मिस्पामा मानिसहरूलाई भेला गरे। मानिसहरू एकसाथ भेला भए, उपवास बसे र मूर्तिपूजा गरेर घोर पाप गरेकोमा पश्‍चात्ताप गरे।—१ शमूएल ७:४-६ पढ्नुहोस्।

यहोवाका पश्‍चात्तापी जनहरू मिस्पामा भेला भइरहेका छन्‌ भन्ने कुरा थाह पाएपछि पलिश्तीहरूले आक्रमण गर्ने मौका यही हो भन्ठाने

९. पलिश्तीहरूले कस्तो मौका छोपे? त्यस्तो खतरा आइपर्दा इस्राएलीहरूले के गरे?

तर मानिसहरू मिस्पामा भेला भइरहेका छन्‌ भन्ने कुरा थाह पाएपछि पलिश्तीहरूले  आक्रमण गर्ने मौका यही हो भन्ठाने। त्यहाँ भेला भएका यहोवाका उपासकहरूको नामोनिसान मेटाउन उनीहरूले सेना पठाए। यस्तो खतरनाक अवस्था आउँदैछ भनेर इस्राएलीहरूले सुने। तिनीहरू अत्तालिए र यहोवालाई प्रार्थना गरिदिन शमूएललाई बिन्ती गरे। शमूएलले प्रार्थना गरे र बलिदान पनि चढाए। त्यो पवित्र जमघट भइरहेको बेला पलिश्ती सिपाहीहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। यहोवाले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। यहोवा रिसले गर्जनुभयो। उहाँ “पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले धेरै बेरसम्म गर्जनुभयो।”—१ शमू. ७:७-१०.

१०, ११. (क) यहोवाले पलिश्तीहरूविरूद्ध पठाउनुभएको गर्जन सानोतिनो थिएन भनेर हामी किन भन्न सक्छौं? (ख) मिस्पामा सुरु भएको युद्धको नतिजा कस्तो भयो?

१० के ती पलिश्तीहरू चट्याङ पर्दा तर्सिएर आफ्नी आमाको पछाडि लुक्न जाने स-साना नानीहरूजस्तै थिए त? कहाँ हुनु! उनीहरू त बहादुर सिपाहीहरू थिए। उनीहरूको मन ढुङ्गाजस्तै कठोर थियो। तर त्यस्तो गर्जन सायद उनीहरूले पहिला कहिल्यै सुनेका थिएनन्‌। के त्यो “सोर” कानै खाने किसिमको थियो? त्यो सोर सफा निलो आकाशबाट आएको थियो? अथवा पहाडहरूबाट आएको प्रतिध्वनि पो थियो कि? कुरा जे भए पनि ती पलिश्तीहरूको सातोपुत्लो उड्यो। आक्रमण गर्न आएका ती पलिश्तीहरू उल्टै आक्रमणको सिकार भए। मिस्पाबाट इस्राएलीहरू ओइरिए र पलिश्तीहरूमाथि खनिए। तिनीहरूले पलिश्तीहरूलाई खेद्नसम्म खेदे। तिनीहरूले यरूशलेमको दक्षिण-पश्‍चिमतिर निकै टाढासम्म ती पलिश्तीहरूलाई खेदे।—१ शमू. ७:११.

११ त्यो युद्ध इस्राएलीहरूको लागि एउटा ऐतिहासिक मोड थियो। शमूएल न्यायकर्ता रहुन्जेल पलिश्तीहरूले इस्राएलीहरूलाई फेरि आक्रमण गरेनन्‌। पहिला युद्धमा गुमाएका सहर परमेश्वरका जनहरूले एकपछि अर्को गर्दै फिर्ता पाए।—१ शमू. ७:१३, १४.

१२. शमूएललाई “परमेश्वरको स्तर स्थापित” गर्ने व्यक्ति भनेर किन भनिएको हो? के-कस्ता गुणले गर्दा शमूएल सफल भए?

१२ धेरै शताब्दीपछि प्रेषित पावलले शमूएललाई “परमेश्वरको स्तर स्थापित” गर्ने वफादार भविष्यवक्ता र न्यायकर्ताहरूको सूचीमा समावेश गरे। (हिब्रू ११:३२, ३३) हुन पनि परमेश्वरको नजरमा जे असल अनि सही छ, त्यसैअनुसार गर्न शमूएलले इस्राएलीहरूलाई मदत गरे। निराशाजनक अवस्थामा पनि वफादार भई आफ्नो काममा लागिरहेर यहोवाले कदम चाल्ने समय पर्खेकोले तिनी सफल भए। तिनले कृतज्ञ मनोभाव पनि देखाए। मिस्पामा विजय हासिल गरेपछि यहोवाले आफ्ना जनलाई मदत गर्नुभएको कुरा सम्झिरहनको लागि शमूएलले त्यहाँ एउटा स्मारक खडा गरे।—१ शमू. ७:१२.

१३. (क) शमूएलको अनुकरण गर्न चाहन्छौं भने हामीले कस्ता गुणहरू विकास गर्नुपर्छ? (ख) तपाईंको विचारमा शमूएलका जस्तै गुणहरू कहिलेदेखि विकास गर्नु राम्रो हो?

१३ के तपाईं पनि “परमेश्वरको स्तर स्थापित” गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने शमूएल  जस्तै धीरजी हुनुहोस् र नम्रता अनि कृतज्ञताको मनोभाव विकास गर्नुहोस्। (१ पत्रुस ५:६ पढ्नुहोस्) हामीमध्ये कसलाई पो यस्ता गुण नचाहिएला र? शमूएलले सानैदेखि यस्ता गुण आफूमा विकास गरे र त्यसलाई जीवनमा प्रयोग गरे। पछि गएर तिनको लागि यो मदतकारी साबित भयो। किनभने आफ्नो जीवनको अन्ततिर तिनले ठूलो निराशाको सामना गर्नुपऱ्यो। यिनै राम्रा गुणले त्यसबेला तिनलाई सँभाल्यो।

“तपाईंका छोराहरू तपाईंका चालमा हिंड्दैनन्‌”

१४, १५. (क) वृद्ध अवस्थामा पुगेका शमूएललाई कस्तो निराशजनक परिस्थिति आइलाग्यो? (ख) के एलीलाई जस्तै शमूएललाई पनि गैर-जिम्मेवार बुबा भन्न मिल्छ? प्रस्ट पार्नुहोस्।

१४ शमूएलबारे लेखिएको अन्तिम विवरण पढ्दा त्यतिबेलासम्म तिनी वृद्ध भइसकेका थिए भनेर हामी थाह पाउँछौं। त्यसबेलासम्म तिनका दुई छोरा योएल र अबियाह पनि हुर्किसकेका थिए। तिनले आफ्ना छोराहरूलाई न्यायको काममा आफूलाई मदत गर्ने जिम्मेवारी सुम्पे। तर दुःखको कुरा, ती छोराहरूले शमूएलको भरोसालाई तोडे। शमूएल इमानदार र परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस भए तापनि तिनका छोराहरूले भने न्याय बिगारेर घूस लिए। तिनीहरूले आफ्नो स्वार्थको लागि ओहदाको दुरुपयोग गरे।—१ शमू. ८:१-३.

१५ एक दिनको कुरा हो, इस्राएलका बूढा-प्रधानहरू यी वृद्ध भविष्यवक्तासामु गुनासो गर्न आए। तिनीहरूले भने: “तपाईंका छोराहरू तपाईंका चालमा हिंड्दैनन्‌।” (१ शमू. ८: ४, ५) के शमूएललाई यो कुरा पहिल्यै थाह थियो? विवरणले यसबारे केही बताएको छैन। तर एलीलाई जस्तै शमूएललाई पनि गैर-जिम्मेवार बुबा भनेर दोष लगाउने कुनै ठाउँ छैन। खराब काम गरे तापनि आफ्ना छोराहरूलाई नसच्याएकोले र यहोवालाई भन्दा छोराहरूलाई बढी सम्मान गरेकोले परमेश्वरले एलीलाई हप्काउनुभयो अनि सजाय दिनुभयो। (१ शमू. २:२७-२९, NRV) यहोवाले एलीको जस्तो गल्ती शमूएलमा भेट्टाउनुभएन।

छोराहरू विद्रोही हुँदा शमूएलले कसरी त्यस्तो अवस्थाको सामना गरे?

१६. (क) छोराछोरी विद्रोही हुँदा आमाबाबुले कस्तो पीडा खप्नुपर्ने हुन्छ? (ख) तिनीहरूले शमूएलको उदाहरणबाट केही हदसम्म भए पनि सान्त्वना र डोऱ्याइ पाउन सक्छन्‌, कसरी?

१६ आफ्ना छोराहरूको दुष्ट कामबारे थाह पाएपछि शमूएलले महसुस गरेको लाज, चिन्ता वा निराशाबारे बाइबलले केही बताएको छैन। तर तिनले कस्तो महसुस गरे होलान्‌ भन्ने कुरा त्यस्तै परिस्थिति भोगेका थुप्रै आमाबाबुले राम्ररी बुझ्न सक्छन्‌। अन्धकार छाएको आजको समयमा आमाबाबुको अख्तियार र अनुशासनको विद्रोह गर्ने मनोभाव जताततै फैलिएको छ। (२ तिमोथी ३:१-५ पढ्नुहोस्) यस्तै प्रकारको भावनात्मक पीडा भोगिरहेका आमाबाबुहरूले शमूएलको उदाहरणबाट केही हदसम्म सान्त्वना र डोऱ्याइ पाउन सक्छन्‌। शमूएलका छोराहरू वफादार रहेनन्‌; तर तिनले आफ्नो विश्वास अलिकता पनि ढलपल हुन दिएनन्‌। कहिलेकाहीं आमाबाबुले जति सम्झाइ-बुझाइ गरे पनि र अनुशासन दिए पनि छोराछोरीले टेरपुच्छर लगाउँदैनन्‌। तर त्यस्तो बेला पनि आमाबाबुको असल उदाहरणले तिनीहरूको मन छुन सक्छ भन्ने कुरा नबिर्सनुहोस्। अनि शमूएलले आफ्नो बुबा यहोवालाई खुसी बनाएझैं आजका आमाबाबुहरूले पनि यहोवा परमेश्वरको मनलाई खुसी बनाउन सक्छन्‌—हरबखत!

“हामीमाथि . . . एउटा राजा नियुक्त गरिदिनुहोस्”

१७. इस्राएलका बूढा-प्रधानहरूले शमूएलसित कस्तो माग गरे? त्यो सुनेर शमूएललाई कस्तो लाग्यो?

१७ आफ्नो लोभ अनि स्वार्थले कुन हदसम्म असर पार्न सक्छ भनेर शमूएलका छोराहरूले सोचेका पनि थिएनन्‌। पछि गएर इस्राएलका बूढा-प्रधानहरूले शमूएललाई यसो भने: “अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एउटा राजा नियुक्त गरिदिनुहोस्।” यस्तो माग सुन्दा शमूएलले आफू तिरस्कृत भएको महसुस गरे कि? हुन पनि तिनले यहोवाको तर्फबाट दशकौंसम्म ती मानिसहरूको न्याय गर्ने काम गरिरहेका थिए। तर अब भने तिनीहरूले आफ्नो न्याय गरिदिन शमूएलजस्तै मामुली भविष्यवक्ता मात्र होइन, एक जना राजा चाहे। छिमेकी देशहरूमा राजाले शासन गरिरहेको देखेर इस्राएलीहरूले पनि राजाको माग गरे! यो सुनेर शमूएललाई कस्तो लाग्यो होला? विवरण भन्छ, तिनी “दुःखी भए।”—१ शमू. ८:५, ६.

१८. (क) यहोवाले शमूएललाई भनेको कुराबाट शमूएलले कस्तो सान्त्वना पाए? (ख) इस्राएलीहरूले गरेको पाप कत्तिको गम्भीर थियो भनेर यहोवाको भनाइबाट कसरी देखियो?

१८ यसबारे शमूएलले प्रार्थना गर्दा यहोवाले के भन्नुभयो, विचार गर्नुहोस्: “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्‌। तिनीहरूले ता मलाई नै इन्कार गरेका हुन्‌, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्‌।” यहोवाको कुरा सुनेर शमूएलले कत्ति सान्त्वना पाएको हुनुपर्छ! ती मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्वरको त्यस्तो घोर अपमान कसरी गर्न सकेका! मानव राजाले इस्राएलीहरूमाथि शासन  गर्न थालेपछि तिनीहरूले कत्ति ठूलो मोल चुकाउनुपर्नेछ भनी चेतावनी दिन यहोवाले शमूएललाई आज्ञा दिनुभयो। यहोवाको आज्ञाअनुसारै शमूएलले चेतावनी दिए। तर पनि तिनीहरूले यसरी जिद्दी गरिरहे: “होइन, हामीमाथि राजा हुनैपर्छ।” आफ्ना परमेश्वरको आज्ञा सधैं पालन गर्ने शमूएलले यसपटक पनि उहाँले चुन्नुभएको एक जना व्यक्तिलाई राजा अभिषेक गरे।—१ शमू. ८:७-१९.

१९, २०. (क) शमूएलले कस्तो मनोभाव राख्दै शाऊललाई इस्राएलको राजा अभिषेक गरे? (ख) यहोवाका जनलाई शमूएलले कसरी मदत दिइरहे?

१९ यहोवाले राजा छान्न लगाउँदा शमूएलले कस्तो मनोभाव देखाए? इस्राएलीहरूप्रति द्वेष राखेर झारा टार्ने हिसाबले मात्र आज्ञा पालन गरे कि? के तिनी निराशाले शिथिल भए? वा रिसले मुरमुरिए? त्यस्तो परिस्थितिमा थुप्रै मानिसले त्यसै गर्थे होलान्‌ तर शमूएल त्यस्ता थिएनन्‌। तिनले शाऊललाई राजा अभिषेक गरे र उनलाई स्वयम् यहोवाले रोज्नुभएको हो भनेर स्वीकारे। तिनले शाऊललाई चुम्बन गरेर आफूले नयाँ राजालाई स्वागत गरेको र उनको अधीनमा रहेको कुरा देखाए। त्यसपछि तिनले मानिसहरूलाई यसो भने: “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर! यो जम्मै जातिमा तिनीजस्तै अरू कोही छैन।”—१ शमू. १०:१, २४.

२० शमूएलले यहोवाले चुन्नुभएको मानिसको कमीकमजोरीमा होइन बरु उनमा भएको असल कुरामा ध्यान केन्द्रित गरे। तिनले दोधारे मानिसहरूको अनुमोदन पाउनुभन्दा यहोवाप्रतिको सत्यनिष्ठा कायम राख्ने कुरालाई महत्त्व दिए। (१ शमू. १२:१-४) साथै परमेश्वरसितको सम्बन्ध बिर्गान सक्ने खतराहरूदेखि जोगिन उहाँका जनलाई सल्लाह दिने र तिनीहरूलाई यहोवाप्रति वफादार रहिरहन प्रोत्साहन दिने आफ्नो जिम्मेवारीलाई तिनले वफादार भई पूरा गरे। शमूएलको सल्लाहले मानिसहरूको मन छोयो र तिनीहरूले शमूएललाई आफ्नो खातिर प्रार्थना गरिदिन बिन्ती गरे। तिनले इस्राएलीहरूलाई मनै छुने जवाफ दिए: “तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिं कहिले नआओस्। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु।”—१ शमू. १२:२१-२४.

कहिल्यै पनि अरूको डाह गर्नु हुँदैन र रिसले मुरमुरिनु हुँदैन भनेर हामी शमूएलको उदाहरणबाट सिक्न सक्छौं

२१. अरूले विशेष जिम्मेवारी वा सुअवसर पाउँदा हामी केहीगरि निराश भयौं भने शमूएलबाट के सिक्न सक्छौं?

२१ अरूले विशेष जिम्मेवारी वा सुअवसर पाउँदा के तपाईं कहिल्यै निराश हुनुभएको छ? त्यस्तो बेला कहिल्यै पनि ईर्ष्याले नजलौं, रिसले नमुरमुरिऔं। शमूएलको उत्कृष्ट उदाहरणले हामीलाई यही पाठ सिकाउँछ। (हितोपदेश १४:३० पढ्नुहोस्) परमेश्वरले आफ्ना प्रत्येक वफादार सेवकहरूलाई इनामदायी र सन्तोषजनक जिम्मेवारी दिन सक्नुहुन्छ—प्रशस्त मात्रामा!

 “तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्?”

२२. शाऊललाई देख्दा शमूएल प्रभावित हुनु किन ठिकै थियो?

२२ शाऊल वास्तवमै राजा हुन लायकका थिए। त्यसैले शमूएल पनि उनीदेखि प्रभावित भए। उनी हेर्नमा अग्ला र सुन्दर देखिन्थे; उनी साहसी र चलाख थिए। तैपनि उनमा त्यस कुराको कुनै घमन्ड थिएन। (१ शमू. १०:२२, २३, २७) त्यसका साथै उनीसित अर्को एउटा बहुमूल्य वरदान पनि थियो। त्यो हो—स्वतन्त्र इच्छा। अनि यो वरदानको प्रयोग गरेर उनले आफ्नो जीवनमा कस्तो मार्ग रोज्ने र कस्तो निर्णय गर्ने भनी आफैले छनौट गर्न सक्थे। (व्यव. ३०:१९) के उनले त्यो वरदानको सदुपयोग गरे?

२३. शाऊलले कस्तो अनमोल गुण गुमाउन थाले? उनको अहङ्कार कसरी बढ्दै गयो?

२३ एउटा तीतो वास्तविकता के हो भने, आफ्नो हातमा शक्ति आएपछि धेरै जसो मानिसहरू थाहै नपाई आफूलाई माथि-माथि उचाल्न थाल्छन्‌ र नम्रता भन्ने गुणलाई चटक्कै बिर्सन्छन्‌। केही समय नबित्दै शाऊल पनि अहङ्कारी हुन थाले। यहोवाले शमूएलमार्फत दिनुभएका आज्ञाहरू उनले जानाजानी उल्लङ्घन गरे। एक चोटिको कुरा हो, शाऊल अधीर भए अनि शमूएलले चढाउनुपर्ने बलिदान आफैले चढाए। शमूएलले शाऊललाई कडा हप्की दिनै पर्ने भयो। शासन गर्ने अधिकार उनको घरानाबाट खोसिनेछ भनेर शमूएलले भविष्यवाणी गरे। आफूले पाएको अनुशासनबाट पाठ सिक्नुको सट्टा शाऊल झन्‌-झन्‌ अनाज्ञाकारी हुँदै गए।—१ शमू. १३:८, ९, १३, १४.

२४. (क) अमालेकीहरूसँगको युद्धमा शाऊल कसरी अनाज्ञाकारी भए? (ख) आफ्नो गल्ती औंल्याइदिंदा शाऊलले कस्तो मनोवृत्ति देखाए? त्यसपछि यहोवाले कस्तो निर्णय सुनाउनुभयो?

२४ अमालेकीहरूमाथि आक्रमण गर्न यहोवाले शमूएलमार्फत शाऊललाई निर्देशन दिनुभयो। यहोवाको त्यस निर्देशनअनुसार अमालेकीहरूका दुष्ट राजा अगागलाई पनि नाश गर्नुपर्ने थियो। तर शाऊलले अगागलाई जिउँदै राखे र नाश गर्नुपर्ने लुटका असल-असल मालहरू पनि जोगाइराखे। शमूएलले उनको गल्ती औंल्याइदिए। शाऊल कत्ति अहङ्कारी हुन थालेका थिए भन्ने कुरा त्यतिखेर प्रकट भयो। गल्ती स्वीकारेर नम्र हुँदै आफूलाई सुधार्नुको सट्टा उनले तर्कवितर्क गरे, बहाना बनाए, सफाइ दिए, कुरा मोड्न खोजे र आफ्नो गल्तीको दोष अरू मानिसहरूमाथि थोपर्न खोजे। लुटका केही माल यहोवालाई नै बलिदान चढाउनका लागि जोगाइराखेको हो भनी तर्क गर्दै शाऊलले आफूले पाएको अनुशासनलाई हल्का बनाउन खोजे। त्यतिखेर शमूएलले यसो भने: “आज्ञापालन बलिदानभन्दा उत्तम हो।” शमूएलका यी शब्दहरू आज पनि चिरपरिचित छन्‌। साहसी भएर शमूएलले उनलाई हप्काए र यहोवाको यस्तो निर्णय सुनाए: शाऊलबाट उसको राज्य खोसिनेछ र उनीभन्दा असल मानिसलाई दिइनेछ। *१ शमू. १५:१-३३.

२५, २६. (क) शमूएलले किन शाऊलको लागि शोक गरे? यहोवाले शमूएललाई कसरी सच्याउनुभयो? (ख) यिशैको घरमा गएपछि शमूएलले कस्तो पाठ सिके?

 २५ शाऊलले गरेको गलत कामले गर्दा शमूएल ज्यादै निराश भए। त्यस विषयमा तिनले रातभरि यहोवालाई पुकारे। त्यस मानिसको लागि शमूएलले शोकसमेत गरे। शमूएलले शाऊलमा कत्ति धेरै योग्यता र कत्ति धेरै असल गुणहरू देखेका थिए। तर ती सब क्षणभरमै खरानी भए! शाऊल, अब पहिलेका शाऊल रहेनन्‌! उनका असल गुणहरू बिलाउन थालेका थिए र उनी यहोवाविरुद्ध चल्न थालेका थिए। त्यस उप्रान्त शमूएलले शाऊललाई कहिल्यै भेट्न चाहेनन्‌। पछि दयालु हुँदै यहोवाले शमूएललाई पनि सच्याउनुभयो। यहोवाले शमूएललाई यसो भन्नुभयो: “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेतलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।”—१ शमू. १५:३४, ३५; १६:१.

२६ त्रुटिपूर्ण मानिसहरू सधैं वफादार रहन सक्दैनन्‌। त्यसकारण आफ्नो उद्देश्य पूरा गर्न यहोवा त्यस्ता मानिसहरूमा भर पर्नुहुन्न। कुनै व्यक्ति अवफादार भयो भने यहोवा आफ्नो इच्छा पूरा गर्न अर्को व्यक्ति खोज्नुहुन्छ। त्यसैले वृद्ध शमूएल शाऊलको लागि शोक गर्न छोड्छन्‌। यहोवाको निर्देशन पाएपछि शमूएल बेतलेहेममा भएको यिशैको घरमा जान्छन्‌। त्यहाँ तिनले यिशैका केही छोराहरूलाई भेट्छन्‌। तिनीहरू हेर्दैमा खाइलाग्दा देखिन्थे। तर यिशैका छोराहरूको बाहिरी रूप नहेर्नू भनेर यहोवाले सुरुमै शमूएललाई सम्झाउनुभयो। (१ शमूएल १६:७ पढ्नुहोस्) अन्तमा शमूएलले यिशैका कान्छा छोरालाई भेट्छन्‌। यहोवाले छानेको व्यक्ति तिनी नै थिए—दाऊद!

यहोवाले चाहनुभयो भने जस्तोसुकै निराशालाई आशामा र दुःखलाई आशिष्‌मा बदल्न सक्नुहुन्छ भनेर शमूएलले बुझे

२७. (क) विश्वास बलियो बनाउँदै लैजान शमूएललाई कुन कुराले मदत गऱ्यो? (ख) शमूएलले बसालेको उदाहरण तपाईंलाई कस्तो लाग्छ?

२७ शाऊलको सट्टामा दाऊदलाई राजा नियुक्त गर्ने यहोवाको निर्णय सही थियो भनेर शमूएलले आफ्नो जीवनको अन्तिम वर्षहरूमा अझ प्रस्टै देखे। शाऊल झन्‌झन्‌ डाही हुँदै गए। त्यही दुर्गुणले गर्दा उनले दाऊदलाई मार्न खोजे र अन्तमा धर्मत्यागीसमेत बने। तर दाऊदले भने साहस, सत्यनिष्ठा, विश्वास र वफादारीजस्ता मनमोहक गुणहरू देखाए। आफ्नो जीवनको अन्ततिर शमूएलको विश्वास झनै बलियो भयो। यहोवाले चाहनुभयो भने जस्तोसुकै निराशालाई आशामा र दुःखलाई आशिष्‌मा बदल्न सक्नुहुन्छ भनेर शमूएलले बुझे। तिनले उदाहरणीय जीवन बिताए र लगभग एक सय वर्षको उमेरमा तिनको मृत्यु भयो। यी वफादार मानिसलाई गुमाउनुपर्दा सारा इस्राएलीहरू शोकमा डुबे। तिनीहरू यसरी शोकमा डुब्नु स्वाभाविकै थियो। आज यहोवाका सेवकहरूले आफैलाई यस्तो प्रश्न सोध्नु बेस हुन्छ, ‘के म शमूएलको विश्वासको अनुकरण गर्छु?’

^ अनु. 24 शमूएल आफैले अगागलाई मृत्युदण्ड दिए। अगाग र तिनको परिवारका कुनै पनि सदस्य दयाको योग्य थिएनन्‌। शताब्दियौंपछि परमेश्वरका जनहरूको नामोनिशान मेटाउन खोज्ने व्यक्ति “अगागी हामान” पनि आगागकै वंशको थियो।—एस्त. ८:३; यस किताबको अध्याय १५ र १६ हेर्नुहोस्।