अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

 पाठ १०

पारिवारिक उपासना भनेको के हो?

पारिवारिक उपासना भनेको के हो?

दक्षिण कोरिया

ब्राजिल

अस्ट्रेलिया

गिनी

सबै परिवारले यहोवासित र एकअर्कासित घनिष्ठ सम्बन्ध गाँसेको उहाँ चाहनुहुन्छ। त्यसैले परिवारहरूलाई एकसाथ समय बिताउनू भनी उहाँले धेरै अघि आज्ञा दिनुभएको थियो र त्यो आज्ञा अझै परिवर्तन भएको छैन। (व्यवस्था ६: ६, ७) त्यसैले यहोवाका साक्षीहरू पूरै परिवार मिलेर उपासना गर्न हरेक हप्ता केही समय छुट्टयाउँछन्‌। यसरी भेला हुँदा तिनीहरू आफ्नो खास आवश्यकतासित सम्बन्धित बाइबलका विषयबारे आरामसित बसेर छलफल गर्छन्‌। तपाईं एक्लै बस्नुहुन्छ भने पनि उपासनाको लागि समय छुट्टयाएर बाइबलसम्बन्धी कुनै एउटा विषयमा अध्ययन गर्नुभयो भने समयको सदुपयोग हुनेछ।

यहोवासित अझ नजिक हुने समय। “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:८) यहोवाको लिखित वचन बाइबलबाट उहाँको व्यक्तित्व र व्यवहारबारे सिक्दै जाँदा उहाँलाई अझ राम्रोसँग चिन्न सक्छौं। पारिवारिक उपासनाको सुरुवात गर्ने एउटा सजिलो तरिका सँगै बसेर ठूलो स्वरले बाइबल पढ्‌नु हो। उदाहरणको लागि, ‘जीवन र प्रचारकार्य’ सभाको तालिकामा हरेक हप्ता बाइबल पढाइको लागि छुट्टयाइएको भाग पढ्‌न सकिन्छ। परिवारका सबै सदस्य मिलेर पालैपालो पढ्‌न र त्यसबाट आफूले सिकेको कुरा सँगै छलफल गर्न सकिन्छ।

परिवारका सदस्यहरूसित अझ घनिष्ठ हुने समय। परिवार मिलेर बाइबल अध्ययन गर्दा श्रीमान्‌-श्रीमती अनि आमाबुबा-छोराछोरीबीचको बन्धन बलियो हुन्छ। यो सबैको लागि रमाइलो समय हुनुपर्छ अनि परिवारका सबै सदस्यलाई ‘यो दिन कहिले आउला’ जस्तो लाग्नुपर्छ। आमाबुबाले छोराछोरीको उमेरलाई विचार गरेर विभिन्न व्यावहारिक विषयहरू छलफल गर्न सक्छन्‌। जस्तै: प्रहरीधरहरा ब्यूँझनुहोस् मा भएको कुनै लेख अथवा हाम्रो वेबसाइट jw.org मा भएको कुनै सामग्री प्रयोग गर्न सक्छन्‌। छोराछोरीले स्कूलमा भोगिरहेको समस्याबारे कुराकानी गरेर त्यसको सामना गर्ने तरिकाबारे छलफल गर्न सकिन्छ। साथै JW ब्रोडकास्टिङ (tv.jw.org) हेर्ने र सिकेको कुरा संगै छलफल गरे कसो होला? सभाहरूमा गाइने गीतको अभ्यास पनि गर्न सकिन्छ। अनि पारिवारिक उपासना सिद्धिएपछि हल्का खाजा खाएर रमाइलो गर्न सकिन्छ।

पारिवारिक उपासना भनेको हरेक हप्ता पूरै परिवार मिलेर यहोवाको उपासना गर्ने विशेष समय हो। यसो गर्दा सबै जना परमेश्वरको व्यवस्थामा रमाउन सक्नेछन्‌। अनि यहोवाले तपाईंको प्रयासमा प्रशस्त आशिष्‌ दिनुहुनेछ।—भजन १:१-३.

  • पारिवारिक उपासनाको लागि हामी किन समय छुट्टयाउँछौं?

  • पारिवारिक उपासना सबैको लागि रमाइलो बनाउन आमाबुबाले के गर्न सक्छन्‌?

अझ बढी सिक्नुहोस्

परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?

येशूले देखाउनुभएको प्रेमको उदाहरण श्रीमान्‌, श्रीमती, आमाबुबा अनि छोराछोरीले अनुकरण गर्न सक्छन्‌। हामी उहाँबाट के सिक्न सक्छौं?