सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

 पाठ १४

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

अमेरिका

गिलियड स्कूल, प्याटर्सन, न्यु योर्क

पानामा

यहोवाको सङ्‌गठनले ईश्वरतान्त्रिक शिक्षा दिंदै आएको वर्षौं भइसक्यो। पूर्ण समय प्रचार गर्नेहरूको लागि विशेष तालिमको प्रबन्ध गरिन्छ। यस तालिमले तिनीहरूलाई “सेवाको काम राम्ररी पूरा” गर्न मदत गर्छ।—२ तिमोथी ४:५

अग्रगामी सेवा स्कूल। नियमित अग्रगामीको रूपमा सेवा गरेको पहिलो वर्ष बितेपछि अग्रगामीहरूलाई छ दिने तालिम दिइन्छ। यो तालिम नजिकैको राज्यभवनमा दिइन्छ। यस तालिमको उद्देश्य, अग्रगामीहरूलाई यहोवासितको सम्बन्ध अझै बलियो बनाउन, प्रचारकार्यमा अझै सिपालु हुन र यहोवाको सेवामा जोसका साथ लागिरहन मदत गर्नु हो।

राज्य प्रचारकहरूका लागि स्कूल। यो तालिम दुई महिनाको हुन्छ। आत्मत्यागी मनोभाव देखाउँदै आवश्यकता बढी भएको ठाउँमा जान इच्छुक अनुभवी अग्रगामीहरूको लागि यो तालिमको प्रबन्ध गरिएको हो। तिनीहरूले सबैभन्दा महान्‌ प्रचारक येशू ख्रीष्टको अनुकरण गर्दै “म हाजिर छु। मलाई पठाउनुहोस्” भनिरहेका हुन्छन्‌। (यशैया ६:८; यूहन्ना ७:२९) आफ्नो घर छोडेर टाढा बस्दा सरल जीवन बिताउनुपर्ने हुन सक्छ। नयाँ ठाउँको रहनसहन, हावा-पानी र खाना आफ्नो घरतिरको भन्दा धेरै फरक हुन सक्छ। नयाँ भाषासमेत सिक्नुपर्ने हुन सक्छ। अविवाहित भाइ, बहिनी वा विवाहित जोडी, जो २३ देखि ६५ वर्षबीचका छन्‌, तिनीहरूले यस तालिममा भाग लिन सक्छन्‌। यस तालिमले आफ्नो जिम्मेवारी पूरा गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न अनि यहोवा र उहाँको सङ्‌गठनको लागि अझै उपयोगी हुने सीपहरू विकास गर्न मदत गर्छ।

गिलियड स्कूल। हिब्रू भाषामा “गिलियड” शब्दको अर्थ हो, “साक्षीको थुप्रो।” सन्‌ १९४३ मा गिलियड स्कूल सुरु भएदेखि यसबाट तालिमप्राप्त ८,००० भन्दा धेरै प्रचारकहरू मिसनरीको रूपमा “पृथ्वीको कुना-कुनासम्म” पठाइएका छन्‌ र तिनीहरूले निकै सफलता हासिल गरेका छन्‌। (प्रेषित १३:४७) पेरूमा मिसनरीहरू आउनुअघि एउटा पनि मण्डली थिएन। तर अहिले त्यहाँ एक हजारभन्दा धेरै मण्डली छन्‌। जापानमा मिसनरीहरूले सेवा गर्न थाल्दा त्यहाँ यहोवाका साक्षीको सङ्‌ख्या दस जना पनि थिएन। अहिले त्यहाँ २,००,००० भन्दा धेरै यहोवाका साक्षीहरू छन्‌। गिलियड स्कूलमा पाँच महिनासम्म बाइबलको गहिरो अध्ययन गरिन्छ। विशेष अग्रगामी, मिसनरी, शाखा कार्यालयमा सेवा गर्नेहरू र क्षेत्रीय निरीक्षकहरूलाई यस स्कूलमा भाग लिन निम्तो दिइन्छ। संसारभरि भइरहेको ईश्वरतान्त्रिक गतिविधिलाई टेवा पुऱ्याउन चाहिने विस्तृत तालिम यसबाट तिनीहरूले पाउँछन्‌।

  • अग्रगामी सेवा स्कूलको उद्देश्य के हो?

  • राज्य प्रचारकहरूका लागि स्कूलबाट क-कसले तालिम पाउन सक्छन्‌?