सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्‍वरको राज्यले शासन गर्दै छ!

 अध्याय ५

राजाले परमेश्‍वरको राज्यबारे थप कुरा बताउनुहुन्छ

राजाले परमेश्‍वरको राज्यबारे थप कुरा बताउनुहुन्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्‍वरको राज्य, यसका शासक अनि प्रजा र यस राज्यप्रति वफादार हुनुपर्नेबारे परमेश्‍वरका जनहरूले महत्त्वपूर्ण कुराहरू बुझे

१, २. येशू किन हाम्रो बुद्धिमान्‌ गाइड हुनुहुन्छ?

कल्पना गर्नुहोस्‌, एक अनुभवी गाइड तपाईंलाई एउटा सुन्दर सहर घुमाउँदैछन्‌। तपाईं पहिला कहिल्यै त्यो सहरमा जानुभएको छैन। अनि तपाईंसँगै भएका अरू पर्यटकहरू पनि त्यहाँ कहिल्यै गएका छैनन्‌। त्यसैले, त्यो गाइडले भनेको एक-एक कुरा तपाईं कान ठाडो पारेर सुन्‍नुहुन्छ। बेलाबेलामा खुलदुली लागेर तपाईं अनि तपाईंसँगै घुमिरहेका अरू पर्यटकहरू त्यो सहरबारे गाइडलाई सोध्नुहुन्छ। तर तिनले तुरुन्त केही जवाफ दिंदैनन्‌। घुम्दै जाँदा तपाईंले बुझ्न खोज्नुभएको ठाउँ देखिन थालेपछि मात्र तिनले त्यसबारे बताउन थाल्छन्‌। तपाईं ती गाइड कत्ति बुद्धिमान्‌ रहेछन्‌ भनेर महसुस गर्नुहुन्छ। किनभने तिनी कुनै कुरा हतार गरेर बताउँदैनन्‌ बरु तपाईंलाई जुन बेला जुन कुरा बताउँदा ठीक हुन्छ, त्यतिबेला मात्र तिनले त्यो कुरा बताउँछन्‌।

अहिले साँचो ख्रीष्टियनहरू ती पर्यटकहरू जस्तै छन्‌। हामी “साँचो जग भएको” सबैभन्दा सुन्दर सहर अर्थात्‌ परमेश्‍वरको राज्यबारे चासो लिएर सिक्दैछौं। (हिब्रू ११:१०) येशू यस पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई डोऱ्‍याउनुभयो र परमेश्‍वरको राज्यबारे गहिरा-गहिरा कुराहरू सिकाउनुभयो। तर के उहाँले तिनीहरूको हरेक प्रश्‍नको जवाफ दिनुभयो? के उहाँले त्यस राज्यबारे सबै कुरा एकै खेपमा बताउनुभयो? अहँ, उहाँले त्यसो गर्नुभएन। बरु उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्‌ तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” (यूह. १६:१२) येशू सबैभन्दा बुद्धिमान्‌ गाइड हुनुहुन्छ। त्यसैले उहाँले आफ्ना चेलाहरूलाई तिनीहरूले बुझ्न नसक्ने कुराहरू बताएर अलमलमा पार्नुभएन।

३, ४. (क) येशूले आफ्ना वफादार चेलाहरूलाई परमेश्‍वरको राज्यबारे कसरी सिकाइरहनुभएको छ? (ख) यस अध्यायमा हामी कुन कुरा विचार गर्नेछौं?

यूहन्‍ना १६:१२ मा उल्लिखित कुरा येशूले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रातमा भन्‍नुभएको थियो। उहाँले आफ्नो मृत्युपछि पनि आफ्ना वफादार चेलाहरूलाई परमेश्‍वरको राज्यबारे सिकाइरहने आश्‍वासन दिंदै हुनुहुन्थ्यो। तर यो कसरी सम्भव हुन सक्थ्‌यो? उहाँले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो: ‘पवित्र शक्‍तिले सत्य राम्ररी बुझ्न मदत गरेर तिमीहरूलाई डोऱ्‍याउनेछ।’ * (यूह. १६:१३) पवित्र शक्‍ति हामीलाई डोऱ्‍याउने गाइड हो अनि त्यसले आफूखुसी गर्दैन। आफ्ना अनुयायीहरूले परमेश्‍वरको राज्यबारे जुन बेला जुन कुरा सिक्नु उचित हुन्छ येशूले पवित्र शक्‍ति चलाएर त्यही बेला त्यही कुरा सिकाउनुहुन्छ।

अब यहोवाको पवित्र शक्‍तिले साँचो ख्रीष्टियनहरूलाई उहाँको राज्यसम्बन्धी अझ धेरै कुरा कसरी सिकाउँदैछ भन्‍ने कुरा विचार गरौं। पहिला, परमेश्‍वरको  राज्यले कहिलेदेखि शासन गर्न थाल्यो भन्‍ने विषयमा हाम्रो बुझाइ कसरी स्पष्ट हुँदै गयो, त्यो छलफल गरौं। त्यसपछि त्यस राज्यका शासकहरू र प्रजाको चिनारी र आशाबारे बुझ्नेछौं। अन्त्यमा, परमेश्‍वरको राज्यप्रति वफादार हुनुमा के-के समावेश छ भन्‍ने कुरा ख्रीष्टका अनुयायीहरूले कसरी स्पष्टसँग बुझे, त्यो केलाउनेछौं।

सन्‌ १९१४ बारे स्पष्ट बुझाइ

५, ६. (क) बाइबल विद्यार्थीहरूले परमेश्‍वरको राज्यको स्थापना र कटनी कार्यबारे कुन गलत कुरा बुझिरहेका थिए? (ख) परमेश्‍वरका जनहरूको बुझाइ गलत थियो भन्दैमा के येशूले तिनीहरूलाई डोऱ्‍याउनुभएन भन्‍न मिल्छ?

बाइबल विद्यार्थीहरूले धेरै वर्षअघि देखि सन्‌ १९१४ मा बाइबलको एउटा महत्त्वपूर्ण भविष्यवाणी पूरा हुनेछ भन्दै आएका थिए। यसबारे हामीले अध्याय २ मा छलफल गरिसक्यौं। त्यतिखेर बाइबल विद्यार्थीहरूको बुझाइ यस्तो थियो: ख्रीष्टको उपस्थिति सन्‌ १८७४ मा सुरु भयो अनि सन्‌ १८७८ देखि उहाँले स्वर्गमा शासन गर्न थाल्नुभयो र अक्टोबर १९१४ मा मात्रै त्यो राज्य पूर्णतया स्थापित हुनेछ। तिनीहरूको विचारमा कटनी कार्य सन्‌ १८७४ देखि १९१४ सम्म चल्ने थियो र सबै अभिषिक्‍त जनहरूलाई स्वर्गमा जम्मा गरिसकेपछि टुङ्‌गिने थियो। तिनीहरूको यस्तो बुझाइ गलत थियो। के यसको मतलब येशूले आफ्ना वफादार जनहरूलाई पवित्र शक्‍तिमार्फत डोऱ्‍याइरहनु भएको थिएन?

त्यसो त पटक्कै होइन! अनुच्छेद १ को उदाहरण फेरि विचार गर्नुहोस्‌। पर्यटकहरू आफैले केही अड्‌कल काटे वा पूरै कुरा नबुझी प्रश्‍न सोधे र गाइडले उत्तिखेरै केही पनि जवाफ दिएन भने ती गाइड नै भरपर्दो छैनन्‌ भन्‍न मिल्छ र? मिल्दैन! त्यसैगरि परमेश्‍वरका जनहरूले उहाँको उद्देश्‍यबारे बुझ्ने प्रयास गरेका छन्‌ तर पवित्र शक्‍तिले त्यसबारे सत्य कुरा प्रकट गर्ने बेला नभइसकेको हुनाले कहिलेकाहीं तिनीहरूको बुझाइ गलत साबित भएको छ। तैपनि येशूले तिनीहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। त्यसैले परमेश्‍वरप्रति वफादार रहन चाहनेहरूले नम्र भई आफ्नो गल्ती स्वीकार्छन्‌ र आफ्नो दृष्टिकोण सच्याउँछन्‌।—याकू. ४:६.

७. सन्‌ १९१९ पछि सत्यको ज्योति कसरी झन्‌-झन्‌ चम्किंदै गयो?

सन्‌ १९१९ पछि सत्यको ज्योति झन्‌-झन्‌ चम्किंदै गयो। फलस्वरूप परमेश्‍वरका जनहरूले उहाँको राज्यको स्थापनाबारे अझ राम्ररी बुझ्दै गए। (भजन ९७:११ पढ्‌नुहोस्‌) सन्‌ १९२५ मा “राष्ट्रको जन्म” शीर्षक भएको एउटा महत्त्वपूर्ण लेख प्रहरीधरहरा-मा प्रकाशित भयो। स्वर्गमा परमेश्‍वरको स्त्रीले एउटा छोरा जन्माउनेछ भनेर प्रकाश १२ मा गरिएको भविष्यवाणी सन्‌ १९१४ मा मसीही राज्य स्थापित भएपछि पूरा भयो भनेर साबित गर्ने धर्मशास्त्रीय आधारहरू यो लेखमा दिइएको थियो। * उक्‍त लेखमा पहिलो विश्‍व युद्धतिर बाइबल विद्यार्थीहरूले भोग्नुपरेको अचाक्ली विरोध अनि यातना नै राजा नियुक्‍त हुनेबित्तिकै येशूले सैतानलाई स्वर्गबाट पृथ्वीमा फालिदिनुभएको छ र “आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ” भन्‍ने कुराको प्रमाण हो भनेर बताइएको थियो।—प्रका. १२:१२.

८, ९. (क) परमेश्‍वरको राज्य महत्त्वपूर्ण छ भन्‍ने कुरा कसरी प्रस्ट हुँदै गयो? (ख) हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

त्यसैगरि बाइबल विद्यार्थीहरूले परमेश्‍वरको राज्यको महत्त्वबारे पनि अझ राम्ररी बुझ्दै गए। फिरौतीको बलिदानमार्फत हामीले पाउने उद्धार भन्दा परमेश्‍वरको राज्य अझ महत्त्वपूर्ण छ भनेर सन्‌ १९२८ देखि प्रहरीधरहरा-मा जोड दिन थालियो। यो उचित छ किनभने यहोवाले मसीही राज्य चलाएर आफ्नो नाम पवित्र पार्नुहुनेछ, आफ्नो सार्वभौमिकता उच्च पार्नुहुनेछ र मानिसजातिको लागि आफूले राखेको सम्पूर्ण उद्देश्‍य पूरा गर्नुहुनेछ।

 मसीही राज्यमा ख्रीष्टसँगै अरू कसले शासन गर्नेछ? त्यस राज्यको प्रजा को हुनेछ? अनि ख्रीष्टका चेलाहरू कुन काममा व्यस्त हुनुपर्छ? यी विषयहरू पनि बाइबल विद्यार्थीहरूले अझ राम्ररी बुझ्दै गए।

कटनी कार्यद्वारा अभिषिक्‍त जनहरूलाई बटुलिन्छ

१०. परमेश्‍वरका जनहरूले १,४४,००० बारे के कुरा बुझिसकेका थिए?

१० ख्रीष्टका १,४४,००० वफादार अनुयायीहरूले उहाँसँगै स्वर्गमा शासन गर्नेछन्‌ भनेर सन्‌ १९१४ सुरु हुनुभन्दा दशकौं अघि बाइबल विद्यार्थीहरूले बुझिसकेका थिए। * तिनीहरूले १,४४,००० प्रतीकात्मक नभई वास्तविक सङ्‌ख्या हो र इस्वी संवत्‌ प्रथम शताब्दीदेखि यिनीहरूलाई बटुल्ने काम सुरु भयो भनेर बुझेका थिए।

११. ख्रीष्टकी दुलहीका सम्भावित सदस्यहरूले पृथ्वीमा छँदा आफूले गर्नुपर्ने कामबारे के कुरा स्पष्टसँग बुझे?

११ ख्रीष्टकी दुलहीका सम्भावित सदस्यहरूले पृथ्वीमा छँदा गर्नुपर्ने कामबारे नि? येशूले प्रचारकार्यलाई जोड दिनुभएको थियो र प्रचारकार्य अनि बाली काट्‌ने समयबीच गहिरो सम्बन्ध छ भनेर देखाउनुभएको थियो भनी तिनीहरूले बुझेका थिए। (मत्ती ९:३७; यूह. ४:३५) तर तिनीहरूले बाली काट्‌ने समय ४० वर्ष लामो हुनेछ र सबै अभिषिक्‍त जनलाई स्वर्गमा जम्मा गरेपछि टुङ्‌गिनेछ भनेर सोचेका थिए। बाइबल विद्यार्थीहरूले केही वर्षसम्म यस्तै धारणा राखेका थिए भनेर हामीले अध्याय २ मा सिकिसक्यौं। तर ४० वर्ष बितिसक्दा पनि बाली काट्‌ने काम भने सिद्धिएन। त्यसैले, यसबारे अझ स्पष्टसँग बुझ्नु आवश्‍यक भयो। बाली काट्‌ने काम सन्‌ १९१४ मा सुरु भयो भनेर हामीले अहिले आएर बुझ्यौं। त्यो समय सामा अर्थात्‌ नक्कली ख्रीष्टियनहरूलाई अलग पारेर गहुँ अर्थात्‌ वफादार अभिषिक्‍त ख्रीष्टियनहरूलाई बटुल्ने समय थियो। यसरी येशू ख्रीष्टसँगै स्वर्गमा शासन गर्ने आशा भएकाहरूमध्ये पृथ्वीमा बाँकी भएका अभिषिक्‍त जनहरूलाई बटुल्न थालियो!

बाली काट्‌ने समय सन्‌ १९१४ मा सुरु भयो (अनुच्छेद ११ हेर्नुहोस्‌)

१२, १३. अन्तिम दिनमा येशूले बताउनुभएको दस कन्या र तोडाको दृष्टान्त कसरी पूरा भएको छ?

१२ येशू ख्रीष्टले सन्‌ १९१९ देखि विश्‍वासी र बुद्धिमान्‌ दासलाई प्रचारकार्यमा जोड दिन निरन्तर डोऱ्‍याउनुभयो। वास्तवमा उहाँले प्रचार गर्ने काम प्रथम शताब्दीमै दिनुभएको थियो। (मत्ती २८:१९, २०) यो काम पूरा गर्न आफ्ना अभिषिक्‍त चेलाहरूसित कस्तो गुण हुनुपर्छ भनेर पनि येशूले बताउनुभयो। जस्तै दस कन्याको दृष्टान्त बताउनुहुँदा येशूले तिनीहरू आध्यात्मिक तवरमा जागा र सचेत रहनुपर्छ भनेर जोड दिनुभयो। बाइबलमा येशूलाई दुलहा र उहाँका वफादार १,४४,००० अभिषिक्‍त चेलाहरूलाई दुलहीको रूपमा चित्रण गर्नुका साथै स्वर्गमा भएको विवाहबारे वर्णन गरिएको छ। तिनीहरू जागा र सचेत रहेमा मात्र आफ्नो विवाह भोजमा  सामेल हुन सक्थे। (प्रका. २१:२) त्यसैगरि तोडाको दृष्टान्त बताउनुहुँदा येशूले आफ्ना अभिषिक्‍त चेलाहरूले प्रचार गर्ने काम पूरा गर्न कडा मेहनत गर्नेछन्‌ भनेर बताउनुभयो।—मत्ती २५:१-३०.

१३ अभिषिक्‍त जनहरू जागा भएर बसेका छन्‌ र तिनीहरूले कडा मेहनत पनि गरेका छन्‌ भन्‍ने कुरा बितेको सय वर्षमा प्रमाणित भइसकेको छ। जागा रहेको कारण तिनीहरूले अवश्‍य इनाम पाउनेछन्‌! तर, के बाली काट्‌ने बेलामा १,४४,००० वर्गका बाँकी सदस्यलाई मात्रै जम्मा गरिने थियो त?

परमेश्‍वरको राज्यले पार्थिव प्रजा बटुल्न थाल्छ!

१४, १५. टुंगिएको रहस्य किताबमा कुन चार समूहबारे चर्चा गरिएको थियो?

१४ प्रकाश ७:९-१४ मा बताइएको “ठूलो भीड” को होला भन्‍ने विषयमा वफादार जनहरूले वर्षौंदेखि चासो राख्दै आएका छन्‌। तर येशूले यो ठूलो समूह को हो भनेर नखुलाउनु भएसम्म यस विषयमा हामीले थुप्रै अनुमान लगाएका थियौं, जुन अहिले हामीले बुझेको सरल र स्पष्ट बुझाइभन्दा कोसौं पर थिए।

१५ सन्‌ १९१७ मा प्रकाशित अङ्‌ग्रेजी भाषाको टुंगिएको रहस्य भन्‍ने किताबमा “स्वर्ग जाने दुई समूह र पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका दुई समूह” छन्‌ भनेर बताइएको थियो। यी चार समूहमा को-को पर्थे? स्वर्ग जाने पहिलो समूहमा ख्रीष्टसँगै शासन गर्ने १,४४,००० पर्थे। दोस्रो समूहमा चाहिं ठूलो भीड पर्थ्यो। त्यतिबेला, चर्चमा जाने नाम मात्रको ख्रीष्टियनहरू यो ठूलो भीडमा पर्छन्‌ भन्‍ने धारणा थियो, जससित विश्‍वास त थियो तर जसले वफादारीको जाँच हुँदा बलियो अडान लिन सकेनन्‌। त्यसैले तिनीहरू स्वर्ग जाने दोस्रो समूहमा पर्ने थिए। पृथ्वीमा सधैंभरि बाँच्ने मौका पाउने पहिलो समूहमा अब्राहाम, मोशाजस्ता “प्राचीन समयका उदाहरणीय मानिसहरू” पर्थे। तिनीहरूले पृथ्वीमा सधैंभरि बाँच्ने मौका पाएका दोस्रो समूह अर्थात्‌ बाँकी सम्पूर्ण मानिसजातिमाथि अख्तियार चलाउने थिए।

१६. सन्‌ १९२३ र १९३२ मा हामीले के बुझ्यौं?

१६ पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर अहिले हामीले यस विषयमा प्रस्टसित बुझेका छौं। एकपछि अर्को गर्दै आध्यात्मिक ज्योति झन्‌-झन्‌ चहकिलो हुँदै जाँदा हामीले क्रमिक रूपमा अझ सरल अनि स्पष्ट जानकारी हासिल गऱ्‍यौं। जस्तै, सन्‌ १९२३ मै प्रहरीधरहरा-मा स्वर्ग जाने कुनै इच्छा नभएका मानिसहरूको समूहबारे बताइएको थियो। यिनीहरू ख्रीष्टको शासन सुरु भएपछि पृथ्वीमा बस्नेछन्‌ भनेर उक्‍त प्रहरीधरहरा-मा उल्लेख गरिएको थियो। त्यसैगरि सन्‌ १९३२ मा प्रकाशित एउटा प्रहरीधरहरा-मा यहोनादाबको विषयमा छलफल गरिएको थियो, जसले परमेश्‍वरले अभिषेक गर्नुभएका राजा येहूलाई झूटो उपासना उखेलेर फ्याँक्न मदत गरेका थिए। (२ राजा १०:१५-१७) उक्‍त लेखमा यहोनादाबले आधुनिक समयमा मानिसहरूको एउटा समूहलाई चित्रण गर्छ भनेर बताइएको थियो। साथै, यहोवाले तिनीहरूलाई “आरमागेडोनको युद्धमा जोगाउनुहुनेछ” अनि तिनीहरू पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌ भनेर पनि बताइएको थियो।।

१७. (क) सन्‌ १९३५ मा हामीले पाएको चहकिलो आध्यात्मिक ज्योति के थियो? (ख) ठूलो भीडबारे नयाँ अनि स्पष्ट जानकारी पाउँदा वफादार ख्रीष्टियनहरूले कस्तो प्रतिक्रिया देखाए? (“ चैनको सास” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१७ सन्‌ १९३५ मा अमेरिकाको वासिङ्‌टन डी. सी.-मा भएको अधिवेशनमा हामीले एउटा चहकिलो आध्यात्मिक ज्योति पायौं। त्यस अधिवेशनमा ठूलो भीडले पृथ्वीमा बाँच्ने आशा भएका मानिसहरूको समूहलाई बुझाउँछ भनेर प्रस्ट पारियो। यो समूह नै येशूले बताउनुभएको भेडा र बाख्राको दृष्टान्तको भेडा हो भनेर पनि  उक्‍त अधिवेशनमा छर्लङ्‌ग पारियो। (मत्ती २५:३३-४०) येशूले उल्लेख गर्नुभएको “अरू भेडा”-मा ठूलो भीड पर्छ भनेर पनि बताइयो, जसबारे येशूले यसो भन्‍नुभएको थियो: “तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ।” (यूह. १०:१६) उक्‍त अधिवेशनमा भाइ रदरफोर्डले “पृथ्वीमा सधैंभरि बाँच्न चाहनेहरू कृपया उभिनुहोस्‌” भनेर आग्रह गर्दा आधाभन्दा धेरै श्रोताहरू उभिएका थिए। त्यसपछि तिनले यसो भने, “हेर्नुहोस्‌! ठूलो भीड!” आफूले साँचेको भावी आशाबारे अझ राम्ररी बुझ्न पाउँदा धेरै जना असाध्यै खुसी भए।

१८. ख्रीष्टका अनुयायीहरूले कसलाई जम्मा गर्ने काममा ध्यान दिए र नतिजा कस्तो भयो?

१८ त्यतिबेलादेखि ख्रीष्टले आफ्ना चेलाहरूलाई महासङ्‌कष्ट जिउँदै पार गर्ने ठूलो भीडका सदस्यहरू जम्मा गर्ने काममा डोऱ्‍याउनुभएको छ। सुरु-सुरुमा यो कामको नतिजा सोचेजस्तो भएन। एक पटक भाइ रदरफोर्डले यसो समेत भने: “‘ठूलो भीड’ आखिर त्यति ठूलो हुँदैन जस्तो छ।” तर यहोवाले त्यसबेलादेखि बाली काट्‌ने काममा कत्ति धेरै आशिष्‌ दिनुभएको छ भनेर अहिले हामीले देखिरहेका छौं! येशू अनि पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्दै अभिषिक्‍त जनहरू र “अरू भेडा”-का सदस्यहरू येशूले भन्‍नुभएझैं “एउटै बगालको अनि एकै जना गोठालोका” भएर सँगसँगै सेवा गर्दै छन्‌।

भाइ रदरफोर्डले ठूलो भीड त्यति ठूलो हुनेछैन भन्ठानेका थिए (बायाँदेखि दायाँ: नेथन एच. नोर, जोसेफ एफ. रदरफोर्ड, हेडन सी. कभिङ्‌टन)

१९. ठूलो भीडको सङ्‌ख्या बढाउने काममा हामी कसरी योगदान पुऱ्‍याउन सक्छौं?

१९ यहोवाको उपासना गर्ने वफादार मानिसहरूमध्ये धेरैजसो प्रमोदवनमा सधैंभरि जिउनेछन्‌ र तिनीहरूमाथि ख्रीष्ट र उहाँका १,४४,००० सह-शासकले शासन गर्नेछन्‌। के हामी यस्तो स्पष्ट बुझाइ पाएकोमा खुसी छैनौं र? अनि ख्रीष्टले आफ्ना चेलाहरूलाई कसरी त्यस्तो स्पष्ट अनि सरल जानकारी हासिल गर्न मदत गर्नुभयो भनेर सोच्दा के हाम्रो मन हर्षित हुँदैन र? मानिसहरूलाई पृथ्वीमा सधैंभरि बाँच्ने आशाबारे बताउन पाउनु साँच्चै ठूलो सुअवसर हो! त्यसैले परिस्थितिले दिएसम्म हामी जोसिलो भएर प्रचारकार्यमा लागिरहौं। यसो गर्दा ठूलो भीड झन्‌झनै ठूलो हुँदै जानेछ र अझै ठूलो स्वरमा यहोवाको नाउँको प्रशंसा हुनेछ!लूका १०:२ पढ्‌नुहोस्‌।

ठूलो भीड बढ्‌दैछ

परमेश्‍वरको राज्यप्रति वफादार हुनुमा के-के समावेश छ?

२०. सैतानको सङ्‌गठन कस्ता तत्त्व मिलेर बनेको छ? ख्रीष्टियनहरू कसरी वफादार रहन सक्छन्‌?

२० परमेश्‍वरका जनहरूले उहाँको राज्यबारे बुझ्दै जाँदा त्यस राज्यप्रति वफादार हुनुमा के-के समावेश छ भनेर बुझ्नु पनि आवश्‍यक थियो। त्यसैले सन्‌ १९२२ मा प्रकाशित प्रहरीधरहरा-मा अहिले दुइटा सङ्‌गठन सक्रिय छन्‌ भनेर बताइयो। एउटा यहोवाको, अर्को सैतानको। सैतानको सङ्‌गठन व्यापारिक, धार्मिक अनि राजनैतिक तत्त्व मिलेर बनेको छ भनेर पनि उक्‍त पत्रिकामा प्रस्ट पारियो। परमेश्‍वरको राज्यका वफादार जनहरूले सैतानको सङ्‌गठनको कुनै तत्त्वसित अनुचित सम्बन्ध राखेर आफ्नो वफादारीको सम्झौता गर्नुहुँदैन। (२ कोरि. ६:१७) यसको अर्थ के हो?

२१. (क) ठूलठूला कारोबारबारे विश्‍वासी र बुद्धिमान्‌ दासले कसरी चेतावनी दिंदै आएको छ? (ख) सन्‌ १९६३ मा प्रकाशित प्रहरीधरहरा-मा “महान्‌ बेबिलोन”-बारे के बताइएको थियो?

२१ विश्‍वासी र बुद्धिमान्‌ दासले तयार पारेको प्रकाशनहरूमा ठूलठूला कारोबारमा हुने भ्रष्टाचारको पर्दाफास गरिंदै आएको छ र परमेश्‍वरका जनहरूलाई चारैतिर व्याप्त भौतिकवादको पासोमा नपर्न चेतावनी पनि दिइँदै आएको छ। (मत्ती ६:२४) त्यसैगरि हाम्रा प्रकाशनहरूमा सैतानको सङ्‌गठनको अर्को तत्त्व अर्थात्‌ झूटो धर्मको पनि पर्दाफास गरिंदै आएको छ। जस्तै, सन्‌ १९६३ मा प्रकाशित प्रहरीधरहरा-मा “महान्‌ बेबिलोन”-ले चर्चजगत्‌ मात्र नभई झूटो धर्मको विश्‍व साम्राज्यलाई नै चित्रण गर्छ भनेर बताइएको थियो। यसप्रकार, परमेश्‍वरका जनहरू चाहे जुनसुकै  जाति वा संस्कृतिका होऊन्‌, तिनीहरू सबैले महान्‌ बेबिलोनबाट ‘निस्केर आउन’ र सबै झूटा धार्मिक रीतिथितिबाट मुक्‍त हुन मदत पाएका छन्‌। यसबारे हामी यस किताबको अध्याय १० मा अझ राम्ररी बुझ्नेछौं।—प्रका. १८:२,.

२२. प्रथम विश्‍वयुद्धको दौडान परमेश्‍वरका थुप्रै जनहरूले रोमी १३:१ मा दिइएको आज्ञालाई कसरी बुझेका थिए?

२२ सैतानको सङ्‌गठनको राजनैतिक तत्त्वबारे नि? के साँचो ख्रीष्टियनहरूले राष्ट्रहरूबीच हुने युद्ध अनि कलहमा भाग लिन मिल्थ्यो? ख्रीष्टको अनुयायीले अरूको ज्यान लिनु हुँदैन भनेर प्रथम विश्‍वयुद्धको दौडान बाइबल विद्यार्थीहरूले बुझेका थिए। (मत्ती २६:५२) तर धेरैजसो बाइबल विद्यार्थीहरूले रोमी १३:१ मा उल्लिखित “उच्च अख्तियारवाला”-को अधीनमा बस्नुको अर्थ राम्ररी बुझेका थिएनन्‌। त्यसैले सेनामा भर्ती हुनु, जङ्‌गी पोसाक लगाउनु र हातहतियार समेत भिर्नु जायज हो तर शत्रुको ज्यान लिने आदेश पाउँदा भने साँचो ख्रीष्टियनले हावामा गोली फायर गर्नुपर्छ भन्‍ने उनीहरूको बुझाइ थियो।

२३, २४. दोस्रो विश्‍वयुद्धको दौडान रोमी १३:१ लाई हामीले कसरी बुझेका थियौं? ख्रीष्टका चेलाहरूले बाइबलको कुन सिद्धान्त अझ राम्ररी बुझे?

२३ सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्धको आगो सल्किंदै गइरहेको बेला प्रहरीधरहरा-मा तटस्थतासम्बन्धी गहिरो छलफल गरिएको एउटा लेख प्रकाशित भयो। त्यस लेखमा सैतानको इसारामा नाच्ने राष्ट्रहरूबीच हुने कुनै पनि युद्ध वा कलहमा ख्रीष्टियनहरूले भाग लिनु हुँदैन भनेर प्रस्ट पारिएको थियो। त्यतिखेर ठ्याक्कै यस्तै निर्देशन चाहिएको थियो। यसरी ख्रीष्टका अनुयायीहरू दोस्रो विश्‍वयुद्धमा भाग लिने राष्ट्रहरूमाथि लागेको रक्‍तदोषबाट बचे। तर सन्‌ १९२९ देखि हाम्रा प्रकाशनहरूमा रोमी १३:१ मा उल्लिखित उच्च अख्तियारवालाहरूले संसारका शासक नभई यहोवा र येशूलाई बुझाउँछ भनेर बताउन थालियो। तर वास्तवमा सही कुरा के हो, त्यो बुझ्न भने बाँकी नै थियो।

२४ समयको दौडान ख्रीष्टका अनुयायीहरूले पवित्र शक्‍तिको मदत पाएर यस  विषयमा सही कुरा बुझे। सन्‌ १९६२ मा नोभेम्बर १५ र डिसेम्बर १ अङ्‌कको प्रहरीधरहरा-मा रोमी १३:१-७ बारे छलफल गरिएको दुइटा उल्लेखनीय लेखहरू प्रकाशित भए। अन्ततः परमेश्‍वरका जनहरूले ख्रीष्टले बताउनुभएका यी चिरपरिचित शब्दहरूको अर्थ बुझे: “जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।” (लूका २०:२५) साँचो ख्रीष्टियनहरू सरकारहरूको अधीनमा बस्नुपर्छ तर त्योभन्दा पनि मुख्य कुरा परमेश्‍वरको अधीनमा बस्नुपर्छ भन्‍ने सही निष्कर्षमा तिनीहरू पुगे। साँचो ख्रीष्टियनहरूले उच्च अख्तियारवालाहरू यस संसारका शासकहरू हुन्‌ र तिनीहरूको अधीनमा बस्नुपर्छ भनेर बुझे। संसारका अख्तियारवालाहरूले हामीलाई यहोवा परमेश्‍वरको स्तर विपरीत काम गर्न नलगाएसम्म हामी तिनीहरूको अधीनमा बस्छौं। परमेश्‍वरको स्तर विपरीत काम गर्न लगाएमा हामी प्रेषितहरूले जस्तै जवाफ दिन्छौ: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।” (प्रेषि. ५:२९) परमेश्‍वरका जनहरूले कसरी तटस्थता कायम राखेका छन्‌, यस किताबको अध्याय १३१४ मा सविस्तार छलफल गर्नेछौं।

अनन्त जीवनको आशाबारे अरूलाई बताउन पाउनु साँच्चै ठूलो सुअवसर हो!

२५. पवित्र शक्‍तिको डोऱ्‍याइले गर्दा हामीले परमेश्‍वरको राज्यबारे कस्ता कुराहरू बुझ्यौं?

२५ बितेको सय वर्षमा हामीले परमेश्‍वरको राज्यबारे सिकेका कुराहरू विचार गर्नुहोस्‌। हामीले परमेश्‍वरको राज्य स्वर्गमा कहिले स्थापित भयो र यो राज्य कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्यौं। वफादार मानिसहरूसामु दुई वटा आशा छन्‌ भनेर पनि हामीले सिक्यौं, एउटा स्वर्गीय आशा र अर्को पार्थिव आशा। यसबाहेक साँचो ख्रीष्टियनहरू सरकारहरूको अधीनमा बस्नुपर्छ तर त्योभन्दा पनि मुख्य कुरा परमेश्‍वरको राज्यप्रति वफादार हुनुपर्छ भनेर हामीले छर्लङ्‌ग हुनेगरि थाह पायौं। अब आफैलाई सोध्नुहोस्‌, ‘येशू ख्रीष्टले आफ्नो विश्‍वासी र बुद्धिमान्‌ दासलाई नडोऱ्‍याउनुभएको भए के मैले त्यस्ता अनमोल सत्य कुराहरू थाह पाउने थिएँ होला र?’ ख्रीष्ट र पवित्र शक्‍तिलाई हाम्रो गाइडको रूपमा पाउनु हाम्रो लागि साँच्चै धेरै खुसीको कुरा हो!

^ अनु. 3 एउटा किताबअनुसार यस पदमा ‘डोऱ्‍याउनु’ भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ “बाटो देखाउनु” हो।

^ अनु. 7 यस अघि प्रकाश अध्याय १२ मा यूहन्‍नाले देखेको दर्शनले रोमी साम्राज्यको गैर ख्रीष्टियन धर्म र क्याथोलिक चर्चबीच भएको युद्धलाई चित्रण गर्छ भन्ठानिन्थ्यो।

^ अनु. 10 सन्‌ १९१४ सम्ममा धर्म परिवर्तन गरेर साँचो ख्रीष्टियन बनेका जन्मजात यहूदीहरू नै १,४४,००० हुन्‌ भनेर सन्‌ १८८० जून अङ्‌कको प्रहरीधरहरा-मा बताइएको थियो। तर पछि सन्‌ १८८० को अन्ततिर यस विषयमा अर्को बुझाइ प्रकाशित भयो जुन अहिलेसम्म खासै परिवर्तन भएको छैन।