सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्‍वरको राज्यले शासन गर्दै छ!

 अध्याय १

“तपाईंको राज्य आओस्‌”

“तपाईंको राज्य आओस्‌”

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्‍वरको राज्यबारे येशूले के सिकाउनुभयो

१, २. येशूका तीन जना प्रेषितलाई यहोवाले के भन्‍नुभयो र तिनीहरूले के गरे?

यहोवा परमेश्‍वरले कुनै कुरा अह्राउनुभयो भने तपाईं के गर्नुहुन्छ? उहाँले अह्राउनुभएको काम जतिसुकै गाह्रो भए तापनि त्यो गर्न के तपाईं इच्छुक हुनुहुन्‍न र?

इस्वी संवत्‌ ३२ को निस्तार चाडको केही समयपछि येशूका तीन प्रेषित पत्रुस, याकूब र यूहन्‍नालाई परमेश्‍वरले एउटा काम अह्राउनुभयो। (मत्ती १७:१-५ पढ्‌नुहोस्‌) “एउटा अग्लो डाँडामा” येशूसँगै हुँदा तिनीहरूले दर्शनमा उहाँलाई स्वर्गका महिमित राजाको रूपमा देखे। पत्रुसलाई त्यो दर्शन वास्तविक लाग्यो। त्यसैले तिनले त्यस दर्शनमा भाग लिन खोजे। पत्रुसले बोल्दै गर्दा तिनीहरूलाई बादलले ढाक्यो। त्यसपछि पत्रुस र तिनका साथीहरूले एउटा आवाज सुने। त्यो आवाज यहोवा परमेश्‍वरको थियो। थोरै मानिसले मात्र उहाँको आवाज सुन्‍ने सुअवसर पाएका छन्‌। येशू आफ्नो छोरा हो भनेर घोषणा गर्नुभएपछि यहोवाले तिनीहरूलाई स्पष्टै यसो भन्‍नुभयो: “उनको कुरा सुन।” प्रेषितहरूले त्यसै गरे। तिनीहरूले येशूको कुरा सुने र अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिए।—प्रेषि. ३:१९-२३; ४:१८-२०.

येशूले सबैभन्दा धेरै परमेश्‍वरको राज्यको विषयमा कुरा गर्नुभयो

३. हामीले किन येशूको कुरा सुन्‍नुपर्छ? हामीले कुन विषय राम्ररी बुझ्नुपर्छ?

“उनको कुरा सुन” भन्‍ने शब्दहरू हाम्रै फाइदाको लागि बाइबलमा लेखिएका हुन्‌। (रोमी १५:४) किन? किनभने येशू यहोवाको प्रवक्‍ता हुनुहुन्छ। त्यसैले उहाँ यहोवाको तर्फबाट बोल्नुहुन्छ। यहोवा हामीले जे-जे सिकोस्‌ भन्‍ने चाहनुहुन्थ्यो येशूले त्यही-त्यही कुरा सिकाउनुभयो। (यूह. १:१, १४) येशूले सबैभन्दा धेरै परमेश्‍वरको राज्यको विषयमा कुरा गर्नुभयो। परमेश्‍वरको राज्य भनेको स्वर्गमा स्थापित मसीही सरकार हो। यो, येशू ख्रीष्ट अनि उहाँका १,४४,००० सह-शासक मिलेर बनेको छ। यो महत्त्वपूर्ण विषय हामीले राम्ररी बुझ्नुपर्छ। (प्रका. ५:९, १०; १४:१-३; २०:६) तर सबैभन्दा पहिला, येशूले किन परमेश्‍वरको राज्यको विषयमा धेरै कुरा गर्नुभयो, बुझौं।

“मनमा जे प्रशस्त छ, . . . ”

४. येशू परमेश्‍वरको राज्यमा धेरै चासो लिनुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौं?

येशू परमेश्‍वरको राज्यमा धेरै चासो लिनुहुन्थ्यो। हामी किन यसो भन्‍न सक्छौं? येशू आफैले यसो भन्‍नुभयो: “मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ती १२:३४) हामी जुन कुरालाई महत्त्वपूर्ण ठान्छौं त्यही विषयमा  बोल्छौं। येशू मौका पाउनेबित्तिकै परमेश्‍वरको राज्यबारे कुरा गर्नुहुन्थ्यो। मत्तीदेखि यूहन्‍नाको पुस्तकमा परमेश्‍वरको राज्यबारे १०० चोटि भन्दा धेरै उल्लेख गरिएको छ जसमध्ये प्रायजसो त येशूले नै भन्‍नुभएका कुराहरू हुन्‌। उहाँ प्रचार गर्दा सधैं परमेश्‍वरकै राज्यको विषयमा कुरा गर्नुहुन्थ्यो। उहाँ यसो भन्‍ने गर्नुहुन्थ्यो: “मैले अरू सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) मृत्युबाट ब्यूँतिसकेपछि पनि येशूले चेलाहरूसित परमेश्‍वरकै राज्यबारे कुरा गर्नुभयो। (प्रेषि. १:३) पक्कै पनि येशू परमेश्‍वरको राज्यको धेरै मोल गर्नुहुन्थ्यो। त्यसैले उहाँ यसबारे कुरा नगरी बस्न सक्नुभएन।

५-७. (क) यहोवा पनि त्यस राज्यमा धेरै चासो राख्नुहुन्छ भनेर बुझाउन उदाहरण दिनुहोस्‌। (ख) हामी पनि परमेश्‍वरको राज्यमा चासो राख्छौं भनेर कसरी देखाउन सक्छौं?

यहोवा पनि त्यो राज्यमा धेरै चासो राख्नुहुन्छ। हामी किन यसो भन्‍न सक्छौं? यहोवाले आफ्नो एक मात्र प्यारो छोरालाई पृथ्वीमा पठाउनुभयो। येशूले भन्‍नुभएका अनि सिकाउनुभएका सबै कुराको स्रोत यहोवा नै हुनुहुन्छ। (यूह. ७:१६; १२:४९, ५०) येशूले पृथ्वीमा बिताउनुभएको जीवन र उहाँको प्रचारकार्यबारे मत्तीदेखि यूहन्‍नामा जे-जति लेखिए त्यसको स्रोत पनि यहोवा नै हुनुहुन्छ। यसको अर्थ के हो, एकछिन विचार गर्नुहोस्‌ त।

हामी सबैले आफैलाई सोध्नुपर्छ: ‘के परमेश्‍वरको राज्यमा म पनि चासो लिन्छु?’

कल्पना गर्नुहोस्‌, तपाईं आफ्नो परिवारको फोटोहरू एल्बममा राख्दै हुनुहुन्छ। तर फोटो धेरै छ र ती सबै एल्बममा अटाउँदैनन्‌। तपाईं के गर्नुहुन्छ? कुन-कुन राख्ने भनेर छान्‍नुहुन्छ नि, होइन र? एक अर्थमा मत्तीदेखि यूहन्‍नासम्मको चारवटा पुस्तक पनि फोटो एल्बम जस्तै छ र यो हेरेर हामी येशूलाई अझ राम्ररी चिन्‍न सक्छौं। यहोवाले ती चारवटा पुस्तकका लेखकहरूलाई येशूले पृथ्वीमा भन्‍नुभएको र गर्नुभएको सबै कुरा लेख्न लगाउनुभएन। (यूह. २०:३०; २१:२५) यहोवाको पवित्र शक्‍ति पाएर तिनीहरूले येशूको शिक्षा र कामबारे जेजति लेखे त्यसले हामीलाई उहाँको प्रचारकार्यको उद्देश्‍य बुझ्न मदत गर्छ। साथै यहोवाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनी बुझ्न पनि त्यसले मदत गर्छ। (२ तिमो. ३:१६, १७; २ पत्रु. १:२१) मत्तीदेखि यूहन्‍नाको पुस्तकमा येशूले परमेश्‍वरको राज्यबारे सिकाउनुभएका कुराहरू प्रशस्तै पाइन्छन्‌। त्यसैले त्यो राज्यमा यहोवा धेरै चासो राख्नुहुन्छ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। यहोवा हामीले उहाँको राज्यबारे सबै कुरा थाह पाओस्‌ भनेर चाहनुहुन्छ!

हामी सबैले आफैलाई सोध्नुपर्छ: ‘के परमेश्‍वरको राज्यमा म पनि चासो लिन्छु?’ लिन्छौं भने, येशूले परमेश्‍वरको राज्यबारे भन्‍नुभएका कुराहरू सुन्‍न हामी इच्छुक हुनेछौं। साथै त्यो राज्यको महत्त्व अनि त्यो राज्य कहिले र कसरी आउनेछ भनेर बुझ्न पनि इच्छुक हुनेछौं।

“तपाईंको राज्य आओस्‌”—कसरी?

८. येशूले सिकाउनुभएको प्रार्थनाले परमेश्‍वरको राज्यको महत्त्वबारे के बताउँछ?

येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनालाई विचार गर्नुहोस्‌। सरल तर गहकिला शब्दहरू चलाएर येशूले परमेश्‍वरको राज्यको महत्त्व र यसले गर्ने कुराहरू बताउनुभयो। त्यो प्रार्थनामा सात वटा कुराको लागि बिन्ती  गरिएको छ। सुरुको तीन वटा कुरा यहोवाको उद्देश्‍यसित सम्बन्धित छन्‌। ती हुन्‌, उहाँको नाम पवित्र पार्ने, उहाँको राज्य ल्याउने र उहाँको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा गर्ने। (मत्ती ६:९, १० पढ्‌नुहोस्‌) यी तीनवटा कुराको आपसमा गहिरो सम्बन्ध छ। परमेश्‍वरको राज्य नै त्यो माध्यम हो जसले उहाँको नाम पवित्र पार्नेछ र उहाँको इच्छा पूरा गर्नेछ।

९, १०. (क) परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गरेपछि के हुनेछ? (ख) बाइबलमा प्रतिज्ञा गरिएको कुनचाहिं कुरा पूरा भएको तपाईं हेर्न चाहनुहुन्छ?

परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गरेपछि के हुनेछ? “तपाईंको राज्य आओस्‌” भनेर हामीले प्रार्थना गर्नुको मतलब परमेश्‍वरको राज्यले निर्णायक कदम चालोस्‌ भनेर बिन्ती गर्नु हो। परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गरेपछि आफ्नो पूरै अधिकार चलाउनेछ। यसले मानव सरकारलगायत दुष्ट संसारलाई हटाउनेछ र न्यायले बास गर्ने नयाँ संसार स्थापित गर्नेछ। (दानि. २:४४; २ पत्रु. ३:१३) साथै यस राज्यले पूरै पृथ्वीलाई प्रमोदवन बनाउनेछ। (लूका २३:४३) परमेश्‍वरको सम्झनामा हुनेहरूलाई फेरि ब्यूँताइनेछ र तिनीहरूको आफ्ना प्रिय जनहरूसित पुनर्मिलन हुनेछ। (यूह. ५:२८, २९) आज्ञाकारी मानिसहरू त्रुटिरहित हुनेछन्‌ र तिनीहरूले अनन्त जीवनको आनन्द उठाउनेछन्‌। (प्रका. २१:३-५) बल्ल, परमेश्‍वरको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा हुनेछ! के तपाईं यी कुराहरू पूरा भएको हेर्न चाहनुहुन्‍न र? नबिर्सनुहोस्‌, तपाईंले हरेक चोटि परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नुहुँदा ती अनमोल कुराहरू पूरा होऊन्‌ भनेर बिन्ती गरिरहनुभएको हुनेछ।

१० येशूले आफ्नो प्रार्थनामा भन्‍नुभएका कुराहरू परमेश्‍वरको राज्यले अहिले पूरा गरिसकेको छैन भन्‍ने कुरा त प्रस्टै छ। आखिर, मानिसहरूले नै सरकारहरू चलाइरहेका छन्‌ र न्यायले बास गर्ने नयाँ संसार पनि स्थापित भइसकेको छैन। तर एउटा राम्रो समाचार छ। परमेश्‍वरको राज्य स्थापित भइसक्यो! यसबारे हामी अर्को अध्यायमा छलफल गर्नेछौं। यस अध्यायमा भने परमेश्‍वरको राज्य कहिले स्थापित हुनेछ र त्यसले पृथ्वीमा कहिले शासन गर्नेछ भन्‍नेबारे येशूले के भन्‍नुभयो, त्यो बुझौं।

परमेश्‍वरको राज्य कहिले स्थापित हुने थियो?

११. परमेश्‍वरको राज्यको स्थापनाबारे येशूले के भन्‍नुभयो?

११ केही चेलाले परमेश्‍वरको राज्य तुरुन्तै आउनेछ भन्ठानेका थिए। तर त्यसो होइन भनेर येशूले भन्‍नुभयो। (प्रेषि. १:६) दुई वर्षभित्र येशूले दुइटा फरक-फरक दृष्टान्तमा के बताउनुभयो, विचार गर्नुहोस्‌।

१२. परमेश्‍वरको राज्य इस्वी संवत्‌ प्रथम शताब्दीमा स्थापित भएन भनेर गहुँ र सामाको दृष्टान्तबाट कसरी स्पष्ट हुन्छ?

१२ गहुँ र सामाको दृष्टान्त। (मत्ती १३:२४-३० पढ्‌नुहोस्‌) इस्वी संवत्‌ ३१ को वसन्त ऋतुतिर यो दृष्टान्त बताउनु भएपछि येशूले चेलाहरूलाई यसको अर्थ पनि खुलाइदिनुभयो। (मत्ती १३:३६-४३) दृष्टान्तको अर्थ यसप्रकार छ: प्रेषितहरूको मृत्युपछि दियाबलले गहुँको (“राज्यका सन्तान” अथवा अभिषिक्‍त ख्रीष्टियनहरूको) बीच-बीचमा सामा (नक्कली ख्रीष्टियनहरू) छर्ने थियो। बाली काट्‌ने समय नभएसम्म अर्थात्‌ “युगको आखिरी समय”-सम्म गहुँ र सामालाई सँगसँगै बढ्‌न दिइने थियो। बाली काट्‌ने समय सुरु भएपछि पहिला सामा बटुलिने थियो। त्यसपछि गहुँ जम्मा गरिने थियो। यसरी यस दृष्टान्तबाट  परमेश्‍वरको राज्य इस्वी संवत्‌ प्रथम शताब्दीमा होइन तर गहुँ र सामा सँगसँगै बढ्‌ने समय सिद्धिएपछि स्थापित हुने थियो भनेर बुझ्न सक्छौं। अनि हुन पनि त्यस्तै भयो, सन्‌ १९१४ मा गहुँ र सामा सँगसँगै बढ्‌ने समय सिद्धियो र बाली काट्‌ने समय सुरु भयो।

१३. स्वर्ग फर्कनेबित्तिकै आफू राजा हुनेछैन भनेर येशूले कसरी बुझाउनुभयो?

१३ चाँदीका टुक्राहरूको दृष्टान्त। (लूका १९:११-१३ पढ्‌नुहोस्‌) येशूले यो दृष्टान्त इस्वी संवत्‌ ३३ मा अन्तिम चोटि यरूशलेम जाँदै गर्दा बताउनुभएको थियो। उहाँको कुरा सुनिरहेका कोही-कोहीले यरूशलेम पुग्नेबित्तिकै उहाँले परमेश्‍वरको राज्यको स्थापना गर्नुहुनेछ भन्ठानेका थिए। तिनीहरूको सोचाइ गलत छ र परमेश्‍वरको राज्य स्थापित हुन अझ धेरै समय बाँकी छ भनेर बुझाउन येशूले आफूलाई “कुलीन घरानाको एक जना मानिस”-सित तुलना गर्नुभयो। ती मानिस ‘राज्याधिकार हासिल गर्न परदेश गएका’ थिए। * येशूको सन्दर्भमा “परदेश” भनेको स्वर्ग थियो। त्यहाँ उहाँले आफ्नो बुबाबाट राज्याधिकार पाउनुहुने थियो। तर स्वर्ग फर्कनेबित्तिकै आफू राजा हुनेछैन भनेर उहाँलाई थाह थियो। उहाँ तोकिएको समय नआउन्जेल परमेश्‍वरको दाहिने हाततिर बस्नुपर्ने थियो। हुन पनि सयौं वर्ष पर्खेपछि मात्र उहाँ राजा हुनुभयो।—भज. ११०:१, २; मत्ती २२:४३, ४४; हिब्रू १०:१२, १३.

परमेश्‍वरको राज्यले पृथ्वीमा कहिले शासन गर्नेछ?

१४. (क) चार जना प्रेषितले सोधेको प्रश्‍नको जवाफ येशूले कसरी दिनुभयो? (ख) येशूको भविष्यवाणीको पूर्तिबाट हामी उहाँको उपस्थिति र परमेश्‍वरको राज्यबारे के थाह पाउन सक्छौं?

१४ येशूलाई मारिनुभन्दा केही दिनअघि चार जना प्रेषितले उहाँलाई सोधे: “तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?”  (मत्ती २४:३; मर्कू. १३:४) यस प्रश्‍नको जवाफमा येशूले विभिन्‍न घटना समावेश भएको भविष्यवाणी बताउनुभयो जुन मत्ती अध्याय २४२५ मा पाइन्छ। उहाँको ‘उपस्थितिको’ चिन्हस्वरूप पृथ्वीमा हुने विभिन्‍न घटनाहरू येशूको उक्‍त भविष्यवाणीमा पाइन्छ। परमेश्‍वरको राज्यको स्थापना हुनेबित्तिकै उहाँको उपस्थिति सुरु हुने थियो र त्यो राज्यले पृथ्वीमा पूरै शासन गरेपछि उहाँको उपस्थिति टुङ्‌गिने थियो। सन्‌ १९१४ देखि येशूको भविष्यवाणी पूरा भइरहेको छ भन्‍ने कुराको हामीसामु प्रशस्तै प्रमाण छन्‌। * त्यसैले सन्‌ १९१४ मा उहाँको उपस्थिति सुरु भयो र त्यही बेला परमेश्‍वरको राज्यको स्थापना पनि भयो भनेर हामी भन्‍न सक्छौं।

१५, १६. “यो पुस्ता”-ले कसलाई बुझाउँछ?

१५ त्यसोभए परमेश्‍वरको राज्यले पृथ्वीमा कहिलेदेखि शासन गर्नेछ त? येशूले यसको स्पष्ट जवाफ दिनुभएन। (मत्ती २४:३६) तर परमेश्‍वरको राज्य नजिकै छ भनेर पक्का हुन सक्ने केही कुरा बताउनुभयो। परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्नुअघि “यो पुस्ता”-ले भविष्यवाणी पूरा भएको देख्नेछ भनेर येशूले बताउनुभयो। (मत्ती २४:३२-३४ पढ्‌नुहोस्‌) त्यसोभए “यो पुस्ता”-ले कसलाई बुझाउँछ? आउनुहोस्‌, येशूका शब्दहरू अझ राम्ररी केलाऔं।

१६ “यो पुस्ता।” के यो येशूमाथि विश्‍वास नगर्ने मानिसहरूको पुस्ता थियो? अहँ, थिएन। उहाँ कोसित कुरा गर्दै हुनुहुन्थ्यो, विचार गर्नुहोस्‌। येशूले यो भविष्यवाणी ‘उहाँकहाँ सुटुक्क आएका’ केही प्रेषितहरूलाई बताउनुभएको थियो। (मत्ती २४:३) तिनीहरू चाँडै पवित्र शक्‍तिद्वारा अभिषेक हुने थिए। प्रसङ्‌ग पनि विचार गर्नुहोस्‌। येशूले “यो पुस्ता”-बारे कुरा गर्नुअघि यसो भन्‍नुभएको थियो: “अब अन्जीरको रूखलाई दृष्टान्तको रूपमा हेरेर यो कुरा सिक: हाँगाहरू पलाएर पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ तब ऊ नजिकै, ढोकामै छ भनी जान।” येशूले भविष्यवाणी गर्नुभएका घटनाहरू उहाँमाथि विश्‍वास नगर्नेहरूले होइन तर उहाँका अभिषिक्‍त चेलाहरूले देख्ने थिए। तिनीहरूले ती सबै घटनाको अर्थ बुझ्ने थिए—येशू “नजिकै, ढोकामै” हुनुहुन्छ भन्‍ने कुरा थाह पाउने थिए। तसर्थ येशूले भन्‍नुभएको “यो पुस्ता” उहाँका अभिषिक्‍त अनुयायीहरू हुन्‌।

१७. “पुस्ता” र “यी सब कुरा”-को अर्थ के हो?

१७ “यी सब कुरा नभएसम्म . . . कुनै पनि हालतमा बितेर जानेछैन।” यो कसरी पूरा हुनेछ? यसको जवाफ पाउन हामीले यी दुई कुराको अर्थ बुझ्नुपर्छ: “पुस्ता” र “यी सब कुरा।” बाइबलमा “पुस्ता” भन्‍ने शब्दले अक्सर कुनै समय अवधिको दौडान बाँचिरहेका विभिन्‍न उमेरका मानिसहरूलाई बुझाउँछ। पुस्ताले लामो समय ढाक्दैन र यसको अन्त हुन्छ। (प्रस्थ. १:६) “यी सब कुरा”-को अर्थचाहिं येशूको उपस्थितिको बेला अर्थात्‌ सन्‌ १९१४ देखि “महासङ्‌कष्ट”-सम्म उहाँको भविष्यवाणीअनुसार पूरा हुने सबै घटनाहरू हुन्‌।—मत्ती २४:२१.

१८, १९. (क) येशूले भन्‍नुभएको “यो पुस्ता”-मा को-को पर्छन्‌? (ख) हामी के निष्कर्षमा पुग्न सक्छौं?

१८ त्यसोभए येशूले भन्‍नुभएको “यो पुस्ता”-मा को-को पर्छन्‌? यो पुस्तामा अभिषिक्‍त जनहरूको दुई समूह पर्छ र तिनीहरूले एउटै समय अवधिमा सेवा  गरेको हुनुपर्छ। पहिलो समूहमा ती अभिषिक्‍त जनहरू पर्छन्‌ जसले सन्‌ १९१४ मा येशूको भविष्यवाणी पूरा हुन थालेको देखे। दोस्रो समूहमा चाहिं पहिलो समूहका यी अभिषिक्‍त जनहरू जीवित छँदा अभिषेक भएका अरू ख्रीष्टियनहरू पर्छन्‌। दोस्रो समूहका कोही-कोहीले महासङ्‌कष्टको सुरुवात देख्नेछन्‌। यी दुई समूहलाई एउटै पुस्ता भन्‍न सकिन्छ किनभने अभिषिक्‍त ख्रीष्टियनको रूपमा तिनीहरूले केही समयको लागि एउटै समय अवधिमा सेवा गरे। *

१९ त्यसोभए हामी के निष्कर्षमा पुग्न सक्छौं? येशू राजकीय शक्‍तिका साथ उपस्थित हुनुभएको चिन्ह हामी संसारभरि प्रस्टै देख्छौं। साथै “यो पुस्ता”-मा पर्ने अभिषिक्‍त जनहरूमध्ये जो-जो जीवित छन्‌, तिनीहरूको उमेर ढल्कँदै छ। तिनीहरूमध्ये कोही-कोही महासङ्‌कष्ट सुरु नभएसम्म जीवितै रहनेछन्‌। त्यसैले परमेश्‍वरको राज्यले पृथ्वीमा चाँडै शासन गर्नेछ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। “तपाईंको राज्य आओस्‌” भनेर येशूले सिकाउनुभएको प्रार्थना पूरा भएको देख्न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ!

२०. यस किताबले कुन महत्त्वपूर्ण विषय ढाक्नेछ? यसपछिको अध्यायमा कुन कुरा बुझ्नेछौं?

२० यहोवाले आफ्नो छोराबारे भन्‍नुभएको यो कुरा कहिल्यै नबिर्सौं: “उनको कुरा सुन।” हामी साँचो ख्रीष्टियन भएकोले उहाँको यो निर्देशन पालन गर्न तयार छौं। परमेश्‍वरको राज्यबारे येशूले सिकाउनुभएको एक-एक कुरा बुझ्न हामी असाध्यै इच्छुक छौं। यस राज्यले के-के गरिसक्यो र भविष्यमा के गर्नेछ भन्‍ने कुरा बुझ्नु आवश्‍यक छ। यस किताबमा यही विषय छलफल गरिनेछ। यसपछिको अध्यायमा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित हुँदा के-कस्ता रोमाञ्चकारी घटनाहरू भए भनेर बुझ्नेछौं।

^ अनु. 13 येशूको दृष्टान्त सुनिरहेका श्रोताहरूले महान्‌ हेरोदका छोरा अर्खिलाउसलाई सम्झेका हुन सक्छन्‌। हेरोदले आफ्नो मृत्युअघि यहूदा र त्यस वरपरका ठाउँको शासकको रूपमा अर्खिलाउसलाई आफ्नो उत्तराधिकारी छानेका थिए। तर अर्खिलाउसले शासन सुरु गर्नुअघि सम्राट्‌ अगस्तसको अनुमति पाउन रोमसम्म लामो यात्रा गर्नुपर्थ्यो।

^ अनु. 18 सन्‌ १९१४ मा “प्रसववेदनाको सुरुवात” देख्ने अभिषिक्‍त जनहरूको पहिलो समूहका सबैको मृत्यु भएपछि अभिषेक भएको दाबी गर्ने ख्रीष्टियनहरू “यो पुस्ता”-मा पर्दैनन्‌।—मत्ती २४:८.