अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरबाट आएको सुसमाचार!

 पाठ १३

धर्महरूलाई के हुनेछ?

धर्महरूलाई के हुनेछ?

१. के सबै धर्म असल छन्‌?

सबै धर्ममा असल मानिसहरू छन्‌। त्यस्ता मानिसहरूलाई परमेश्वर चिन्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। यो एउटा सुसमाचार हो। तर दुःखको कुरा, धर्मको नाममा मानिसहरूले खराब कामहरू गरिरहेका छन्‌। (२ कोरिन्थी ४:३, ४; ११:१३-१५) समाचारहरूअनुसार केही धर्महरू आतङ्कवाद, जातीय-संहार, युद्ध र बाल-दुर्व्यवहारमा समेत मुछिएका छन्‌। यस्तो अवस्था देखेर परमेश्वरमा विश्वास राख्नेहरूको मन कत्ति रुन्छ!मत्ती २४:३-५, ११, १२ पढ्नुहोस्।

साँचो धर्मले परमेश्वरको महिमा गर्छ भने झूटो धर्मले उहाँलाई दुःखी बनाउँछ। झूटो धर्मले बाइबलमा नभएका गलत शिक्षाहरू सिकाउँछ। जस्तै, परमेश्वरबारे र मरिसकेकाहरूको अवस्थाबारे। तर यहोवा परमेश्वर मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाऊन्‌ भन्ने चाहनुहुन्छ।इजकिएल १८:४; १ तिमोथी २:३-५ पढ्नुहोस्।

२. धर्महरूलाई के हुनेछ?

खुसीको कुरा, परमेश्वरलाई प्रेम गर्छु भन्ने तर वास्तवमा सैतानको संसारलाई प्रेम गर्ने धर्महरूदेखि उहाँ झुक्किनुहुन्न। (याकूब ४:४) बाइबलमा सबै झूटा धर्महरूलाई “महान्‌ बेबिलोन” भन्ने नाम दिइएको छ। नूहको समयको जलप्रलयपछि झूटो धर्म सुरु भएको एउटा प्राचीन सहर बेबिलोनको नामबाट यो नाम आएको हो। मानिसजातिलाई छक्याउने र थिचोमिचो गर्ने धर्महरूलाई अब छिट्टै नै अचानक परमेश्वरले नाश गर्नुहुनेछ।प्रकाश १७:१, २, ५, १६, १७; १८:८ पढ्नुहोस्।

तर झूटो धर्ममा छरिएर रहेका संसारभरिका इमानदार मानिसहरूलाई परमेश्वरले बिर्सनुभएको छैन। उहाँले त्यस्ता व्यक्तिहरूलाई बाइबलबारे सत्य कुरा सिकाएर झूटो धर्मबाट निस्कन मदत गरिरहनुभएको छ।मीका ४:२,  पढ्नुहोस्।

साँचो धर्मले मानिसहरूलाई एकताबद्ध पारिरहेको छ

 ३. इमानदार मानिसहरूले के गर्नुपर्छ?

सत्य जान्न चाहने र असल काम गर्न चाहने मानिसहरूको यहोवा ख्याल राख्नुहुन्छ। झूटो धर्म त्याग्न उहाँ तिनीहरूलाई आग्रह गर्नुहुन्छ। परमेश्वरलाई प्रेम गर्ने मानिसहरू उहाँलाई खुसी पार्नको लागि आफ्नो जीवनमा परिवर्तन गर्न तयार हुन्छन्‌।प्रकाश १८:४ पढ्नुहोस्।

प्रथम शताब्दीमा येशूका चेलाहरूबाट इमानदार मानिसहरूले सुसमाचार सुन्दा तिनीहरूले खुसीसाथ त्यो स्वीकारे। तिनीहरूले जीवन बिताउने नयाँ तरिका अर्थात्‌ उद्देश्य र आशासहितको आनन्दित जीवन बिताउने तरिका यहोवाबाट सिके। तिनीहरू हाम्रो लागि राम्रो उदाहरण हुन्‌। किन? किनभने तिनीहरूले यहोवालाई आफ्नो जीवनमा पहिलो स्थान दिएर सुसमाचार स्वीकारे।१ थिस्सलोनिकी १:८, ९; २:१३ पढ्नुहोस्।

झूटो धर्म त्यागेर आउनेहरूलाई यहोवा आफ्नो परिवारमा स्वीकार्नुहुन्छ। तपाईंले उहाँको मायालु निम्तो स्वीकार्नुभयो भने तपाईं उहाँसित मित्रता गाँस्न सक्नुहुन्छ, उहाँको उपासकहरूसँग नयाँ र मायालु सम्बन्ध गाँस्न सक्नुहुन्छ र अनन्त जीवन पाउन सक्नुहुन्छ।मर्कूस १०:२९, ३०; २ कोरिन्थी ६:१७, १८ पढ्नुहोस्।

४. परमेश्वरले सबैतिर कसरी आनन्द छर्नुहुनेछ?

झूटो धर्मको विनाश हुँदैछ भन्ने कुरा सुसमाचार हो। त्यसपछि संसारभरिका सबैले थिचोमिचोबाट छुटकारा पाउनेछन्‌। झूटो धर्मले फेरि कहिल्यै मानिसजातिलाई गलत बाटोमा लैजाने र विभाजित पार्नेछैन। सबै मानिसहरू एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुनेछन्‌।प्रकाश १८:२०, २१; २१:३, ४ पढ्नुहोस्।

 

अझ बढी सिक्नुहोस्

परमेश्वरले स्वीकार्नुहुने उपासना

साँचो धर्म मान्नेहरू को हुन्‌, तिनीहरूलाई चिनाउने छ वटा विशेषता विचार गर्नुहोस्।

परमेश्वरको साँचो उपासना गर्नुहोस्

अरूलाई आफ्नो विश्वासबारे बताउँदा तपाईंलाई के-कस्ता चुनौती आउन सक्छन्‌? अरूलाई धक्का नपुग्नेगरि कसरी तपाई त्यसो गर्न सक्नुहुन्छ?