अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्यले शासन गर्दै छ!

 अध्याय १६

यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने

यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

हाम्रा सभाहरूमा भएका छाँटकाँट र सभाहरूको महत्त्व

१. एक ठाउँमा भेला हुँदा चेलाहरूले कस्तो मदत पाए? तिनीहरूलाई किन मदत चाहिएको थियो?

येशूलाई ब्यूँताइएको केही समयपछि उहाँका चेलाहरू एक-अर्कालाई प्रोत्साहन दिन एक ठाउँमा भेला भएका थिए। तर शत्रुहरूको डरले गर्दा तिनीहरू ढोका थुनेर बसेका थिए। यति नै बेला येशू तिनीहरूको माझमा उभिनुभयो र भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।” येशूको कुरा सुनेपछि ती चेलाहरूले धेरै हौसला पाए। (यूहन्ना २०:१९-२२ पढ्‌नुहोस्) पछि पनि चेलाहरू एक ठाउँमा भेला भएका थिए। त्यतिबेला यहोवाले तिनीहरूमाथि पवित्र शक्ति खन्याउनुभयो। यस घटनापछि तिनीहरूले प्रचारको काममा लागिरहन धेरै मदत पाए।—प्रेषि. २:१-७.

२. (क) यहोवा हामीलाई कसरी शक्ति दिनुहुन्छ? हामीलाई किन यसको खाँचो पर्छ? (ख) पारिवारिक उपासना किन धेरै महत्त्वपूर्ण छ? (फुटनोट र पृष्ठ १७५ मा “ पारिवारिक उपासना” शीर्षक भएको पेटी हेर्नुहोस्।)

आज हामीले पनि प्रथम शताब्दीका भाइबहिनीले जस्तै चुनौतीहरूको सामना गर्नुपर्छ। (१ पत्रु. ५:९) कहिलेकाहीं हामीमध्ये कोही-कोही मानिसको डरको पासोमा फस्न सक्छौं। यहोवाले दिनुहुने शक्तिविना हामी प्रचारको काममा सधैं लागिरहन सक्दैनौं। (एफि. ६:१०) यहोवाले हामीलाई यस्तो शक्ति सभाहरूमार्फत दिनुहुन्छ। अहिले हामी हप्ताको दुई वटा सभामा उपस्थित हुन्छौं। ती हुन्‌: जनसभा र प्रहरीधरहरा अध्ययन। साथै हामी हप्ताको बीचतिर अर्को सभामा पनि उपस्थित हुन्छौं। त्यो हो, हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य। * साथै हामी वर्षमा चारवटा जमघटबाट लाभ उठाउँछौ। ती हुन्‌: अधिवेशन, दुइटा सम्मेलन र ख्रीष्टको मृत्युको स्मरणार्थ। यी सबै सभाहरूमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ? अहिले हाम्रो समयमा कहिलेदेखि सभाहरू सञ्चालन गर्न थालियो? अनि सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?

किन एक ठाउँमा भेला हुने?

३, ४. यहोवा आफ्ना जनहरूबाट के चाहनुहुन्छ? उदाहरण दिनुहोस्।

सुरुदेखि नै यहोवा आफ्ना जनहरूले एक ठाउँमा भेला भएर उहाँको उपासना गरून्‌ भन्ने चाहनुहुन्थ्यो। उदाहरणको लागि, ईसापूर्व १५१३ मा यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा हप्ताको एक चोटि विश्राम दिन मान्नू भनिएको थियो। यसो गर्दा तिनीहरूले सपरिवार मिलेर यहोवाको उपासना गर्न र व्यवस्थाका कुराहरू सिक्न सक्थे। (व्यव. ५:१२; ६:४-९) यो आज्ञा मान्दा इस्राएलीहरूको पारिवारिक सम्बन्ध बलियो भयो र इस्राएल राष्ट्र पनि आध्यात्मिक रूपमा शुद्ध र सुदृढ भयो। तर इस्राएलीहरूले यहोवाको उपासना गर्न एक ठाउँमा  भेला हुनुपर्ने आज्ञालगायत व्यवस्थामा दिइएका अरू आज्ञा पालन नगर्दा तिनीहरूले परमेश्वरको अनुमोदन गुमाए।—लेवी १०:११; २६:३१-३५; २ इति. ३६:२०, २१.

येशूले बसाल्नुभएको नमुनालाई पनि विचार गर्नुहोस्। उहाँ आफ्नो आदतअनुसार प्रत्येक हप्ता विश्राम-दिनमा सभाघर जानुहुन्थ्यो। (लूका ४:१६) येशू ब्यूँतनुभएपछि चेलाहरूले विश्राम दिन मान्नुपर्दैन थियो। तैपनि तिनीहरू एक ठाउँमा भेला हुन छोडेनन्‌। (प्रेषि. १:६, १२-१४; २:१-४; रोमी १४:५; कल. २:१३, १४) प्रथम शताब्दीका ख्रीष्टियनहरूले त्यस्ता सभाहरूबाट निर्देशन र प्रोत्साहन पाए। साथै तिनीहरूले प्रार्थना, टिप्पणी र स्तुतिगानमार्फत परमेश्वरलाई प्रशंसाको बलिदान चढाए।—कल. ३:१६; हिब्रू १३:१५.

येशूका चेलाहरू एकअर्कालाई प्रोत्साहन र हौसला दिन एक ठाउँमा भेला हुन्थे

५. हामी किन साप्ताहिक सभा र वार्षिक सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन्छौं? (पृष्ठ १७६ मा “ परमेश्वरका जनहरूलाई एकतामा बाँध्ने वार्षिक जमघट” शीर्षक भएको पेटी पनि हेर्नुहोस्।)

त्यसैगरि हामी साप्ताहिक सभा र वार्षिक सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित भएर परमेश्वरको राज्यलाई समर्थन गर्छौं। साथै त्यहाँ हामीले पवित्र शक्ति पाउँछौं अनि बोली र कामद्वारा आफ्नो विश्वास प्रकट गरेर अरूलाई प्रोत्साहन दिन्छौं। अझ महत्त्वपूर्ण कुरा हामीले यस्ता जमघटहरूमा प्रार्थना, टिप्पणी र स्तुतिगानद्वारा यहोवाको उपासना गर्ने मौका पाउँछौं। अहिले हाम्रो सभा सञ्चालन गर्ने तरिका इस्राएलीहरू र प्रथम शताब्दीका ख्रीष्टियनहरूको भन्दा फरक छ। तर एक ठाउँमा भेला हुनु अझै पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिले हाम्रो समयमा कहिलेदेखि सभाहरू सञ्चालन गर्न थालियो?

“प्रेम र सुकर्म” गर्न उत्साहित बनाउने साप्ताहिक सभाहरू

६, ७. (क) सभाहरूको उद्देश्य के हो? (ख) बाइबल विद्यार्थीहरूले कसरी सभाहरू सञ्चालन गरिरहेका थिए?

भाइ चार्ल्स टेज रसलले परमेश्वरको वचनमा भएका सत्य कुराको खोजी गर्न थाल्दा आफू जस्तै सत्य खोजिरहेका अरूसँग एक ठाउँमा भेला हुनुपर्ने खाँचो महसुस गरे। सन्‌ १८७९ मा भाइ रसलले यस्तो लेखे: “हामी पिट्‌सबर्गका केही  साथीहरू मिलेर बाइबल अध्ययन गर्ने एउटा समूह बनाएका छौं। हामी हरेक आइतबार बाइबलको अध्ययन गर्न भेला हुन्छौं।” प्रहरीधरहरा-का पाठकहरूलाई पनि एक ठाउँमा भेला हुन प्रोत्साहन दिइयो। सन्‌ १८८१ सम्ममा पेन्सिलभेनियाको पिट्‌सबर्गमा हरेक आइतबार र बुधबार सभा सञ्चालन हुन थालिसकेको थियो। नोभेम्बर १८९५ को अङ्‌ग्रेजी अङ्‌कको प्रहरीधरहरा-मा त्यस्ता सभाहरू सञ्चालन गर्नुको उद्देश्य बताइएको थियो। त्यो थियो, “ख्रीष्टियन प्रेम र सङ्‌गति” विकास गर्ने अनि उपस्थित भएकाहरूले एकअर्कालाई प्रोत्साहन दिने।हिब्रू १०:२४, २५ पढ्‌नुहोस्।

धेरै वर्षसम्म बाइबल विद्यार्थीहरूको विभिन्न समूहले आ-आफ्नै तरिकाले सभा सञ्चालन गरे। उदाहरणको लागि, सन्‌ १९११ मा प्रहरीधरहरा-मा प्रकाशित अमेरिकाको बाइबल विद्यार्थीहरूको एउटा समूहको चिठीमा यस्तो लेखिएको थियो: “हामी प्रत्येक हप्ता कम्तीमा पनि पाँच वटा सभा सञ्चालन गर्छौं।” तिनीहरू सोमबार, बुधबार र शुक्रबार एक-एकपटक अनि आइतबारचाहिं दुई पटक सभा सञ्चालन गर्थे। सन्‌ १९१४ को एउटा प्रहरीधरहरा-मा अफ्रिकाका बाइबल विद्यार्थीहरूको एउटा समूहको चिठी प्रकाशित गरिएको थियो। त्यस चिठीमा यस्तो लेखिएको थियो: “हामी महिनाको दुई पटक सभा सञ्चालन गर्छौं र हाम्रा सभाहरू शुक्रबारदेखि आइतबारसम्म हुन्छ।” तर समय बित्दै जाँदा सभा सञ्चालन गर्ने तरिकामा विभिन्न छाँटकाँट गरियो। आउनुहोस्, प्रत्येक सभामा कस्ता छाँटकाँटहरू गरिए, हेरौं।

८. सुरु-सुरुमा कस्ता विषयहरूमा जनभाषण दिइन्थ्यो?

जनसभा। प्रहरीधरहरा प्रकाशित गर्न थालिएको एक वर्षपछि सन्‌ १८८० मा भाइ रसल येशूको अनुकरण गर्दै अरू सहरहरूमा प्रचार गर्न निस्किए। (लूका ४:४३) यो प्रचार यात्राको दौडान तिनले बाइबलसम्बन्धी प्रवचन दिए। यसरी तिनले जनसभाको नमुना बसाले। प्रहरीधरहरा-मा भाइ रसलको यात्राबारे घोषणा गरिनुका साथै तिनले “‘परमेश्वरको राज्यसम्बन्धी कुराहरू’ भन्ने विषयमा प्रवचन दिनेछन्‌” भनेर बताइएको थियो। सन्‌ १९११ मा विभिन्न देशमा समूहहरू अर्थात्‌ मण्डलीहरू स्थापित भइसकेको थियो। अनि प्रत्येक समूहलाई नजिकैका इलाकाहरूमा न्याय र फिरौतीजस्ता विषयहरूमा छ वटा प्रवचन दिनको लागि राम्रो वक्ता पठाउन आग्रह गरिएको थियो। प्रत्येक प्रवचनको अन्तमा अर्को हप्ताको प्रवचनको मुख्य विषय र वक्ताको नाम घोषणा गरिन्थ्यो।

९. जनसभामा कस्ता छाँटकाँटहरू गरिएका छन्‌? तपाईं यो सभालाई कसरी समर्थन गर्न सक्नुहुन्छ?

सन्‌ १९४५ को एउटा प्रहरीधरहरा-मा विश्वभरि जनसभा सुरु गर्ने अभियानबारे घोषणा गरियो। यस अभियानमा “अहिलेका जल्दोबल्दो समस्याहरू”-सित सम्बन्धित विषयमा आठ वटा बाइबलआधारित प्रवचन दिइने थियो। भाषण दिने भाइहरूले विश्वासी र बुद्धिमान्‌ दासले उपलब्ध गराएको विषयहरूमा मात्र नभई आफैले तयार पारेका विषयहरूमा पनि भाषण दिन्थे। यस्तो चलन वर्षौसम्म चल्यो। तर सन्‌ १९८१ मा सबै वक्तालाई मण्डलीबाट पाइने रूपरेखाबाट मात्र भाषण दिन निर्देशन दिइयो। * सन्‌ १९९० सम्म कुनै-कुनै जनभाष णमा श्रोताहरूलाई भाग लिन लगाउने वा प्रदर्शन देखाउने चलन थियो। तर त्यस वर्ष निर्देशनमा केही छाँटकाँट गरियो। अबउसो वक्ताले रूपरेखा भाषणको रूपमा मात्र प्रस्तुत गर्ने थिए। जनवरी २००८ मा थप छाँटकाँट गरियो। जनभाषणको समय घटाएर ४५ मिनेटबाट ३० मिनेट गरियो। हो, जनभाषण दिने तरिकामा विभिन्न छाँटकाँटहरू भएका छन्‌। तर वक्ताले राम्ररी तयार पारेर जनभाषण दिंदा अहिले पनि परमेश्वरको वचनमा श्रोताहरूको विश्वास बलियो हुन्छ र तिनीहरूले परमेश्वरको राज्यका विभिन्न पक्षको विषयमा सिक्न सक्छन्‌। (१ तिमो. ४:१३, १६) के तपाईं आफ्ना पुनःभेट तथा अरूलाई महत्त्वपूर्ण बाइबलआधारित जनभाषण सुन्न निम्तो दिनुहुन्छ?

१०-१२. (क) प्रहरीधरहरा अध्ययनमा कस्ता छाँटकाँटहरू गरिए? (ख) तपाईंले आफूलाई कस्ता प्रश्न सोध्नुपर्छ?

१० प्रहरीधरहरा अध्ययन। वाचटावर सोसाइटीले मण्डलीहरूमा भाषण दिन र प्रचारकार्यमा अगुवाइ लिन भाइहरू पठाउने गर्थ्यो। तिनीहरूलाई आज हामी परिभ्रमण निरीक्षकहरू भनेर चिन्छौं। सन्‌ १९२२ मा ती भाइहरूले सभामा प्रहरीधरहरा-को अध्ययन गर्न पनि सुझाव दिए। यसै सुझावअनुसार सुरु-सुरुमा हप्ताको बीचमा वा आइतबार प्रहरीधरहरा अध्ययन गरिन्थ्यो।

प्रहरीधरहरा अध्ययन, घाना, १९३१

११ जून १५, १९३२ अङ्‌कको प्रहरीधरहरा-मा अध्ययन सञ्चालन गर्ने विषयमा थप निर्देशन दिइएको थियो। बेथेलमा प्रहरीधरहरा अध्ययन कसरी सञ्चालन गरिन्छ भनेर बताउँदै मण्डलीमा पनि एक जना भाइले अध्ययन सञ्चालन गर्नुपर्छ भनेर त्यस लेखमा बताइएको थियो। अनुच्छेद पढ्‌नको लागि तीन जना भाइहरूलाई सबैभन्दा अगाडिको सिटमा बस्न र पालैपालो पढ्‌न सुझाव दिइएको थियो। त्यतिबेला अध्ययन लेखहरूमा प्रश्नहरू हुँदैन थियो। त्यसैले सञ्चालन गर्ने भाइले छलफल गरिरहेको विषयमा प्रश्न सोध्न श्रोतालाई आग्रह गर्नुपर्थ्यो। त्यसपछि तिनले श्रोतालाई नै ती प्रश्नहरूको जवाफ दिन लगाउँथे। छलफल गरिरहेको विषयमा अझै थप कुरा बुझाउनुपरेमा सञ्चालक आफैलाई “छोटो-मीठो” जवाफ दिन निर्देशन दिइएको थियो।

 १२ सुरु-सुरुमा प्रत्येक मण्डलीमा आफ्नो धेरैजसो सदस्यले जुनचाहिं प्रहरीधरहरा छान्थे, त्यसैबाट अध्ययन गर्ने चलन थियो। तर अप्रिल १५, १९३३ को प्रहरीधरहरा-मा सबै मण्डलीलाई यही मितिको प्रहरीधरहरा-बाट अध्ययन गर्नुपर्छ भनियो। अध्ययन आइतबारका दिन सञ्चालन गर्नुपर्छ भनेर सन्‌ १९३७ मा निर्देशन दिइयो। अक्टोबर १, १९४२ को प्रहरीधरहरा-मा थप छाँटकाँटबारे बताइएको थियो। यस छाँटकाँट पछि अहिले जसरी प्रहरीधरहरा अध्ययन सञ्चालन गरिन्छ त्यसरी नै सञ्चालन गर्न थालियो। पहिलो छाँटकाँट, अध्ययन लेखका प्रश्नहरू प्रत्येक पानाको मुन्तिर हुनेथिए र अध्ययन सञ्चालकले ती प्रश्नहरू सोध्नुपर्ने थियो। दोस्रो, यो सभा एक घण्टाको हुनुपर्छ भनेर बताइएको थियो। साथै अनुच्छेदबाटै पढेर जवाफ दिनुको सट्टा “आफ्नै शब्दमा” जवाफ दिन प्रोत्साहन दिइएको थियो। विश्वासी र बुद्धिमान्‌ दासले ठीक समयमा दिने आध्यात्मिक भोजनको मुख्य स्रोत अहिले पनि प्रहरीधरहरा अध्ययन नै हो। (मत्ती २४:४५) त्यसैले आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘के म हरेक हप्ता प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्छु? के म टिप्पणी दिने कोसिस गर्छु?’

१३, १४. मण्डली बाइबल अध्ययन कसरी सञ्चालन हुन थाल्यो? यो सभाको कुन कुरा तपाईंलाई मन पर्छ?

१३ मण्डली बाइबल अध्ययन। सन्‌ १८९५/९६ तिर अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर सहरका भाइ एच. एन. रानले सहस्र वर्षीय प्रभात भन्ने अङ्‌ग्रेजी किताब अध्ययन गर्न “प्रभात समूह” सुरु गर्ने सुझाव दिए। त्यतिबेलासम्म त्यस किताबका केही खण्डहरू प्रकाशित भइसकेका थिए। सुरु-सुरुमा यी सभा परीक्षणको रूपमा सञ्चालन गर्न थालियो र यी प्रायजसो बाइबल विद्यार्थीहरूको घरमै हुने गर्थ्यो। सेप्टेम्बर १८९५ सम्ममा अमेरिकाको थुप्रै सहरमा प्रभात समूह सञ्चालन भइसकेको थियो। त्यसैले त्यस महिनाको प्रहरीधरहरा-मा सबै बाइबल विद्यार्थीहरूलाई यो सभा सञ्चालन गर्न सुझाव दिइयो। सञ्चालक भाइ राम्रोसँग पढ्‌न सक्ने हुनुपर्छ भनेर पनि बताइएको थियो। तिनले एउटा वाक्य पढेपछि उपस्थित श्रोतालाई टिप्पणी गर्न मौका दिनुपर्थ्यो। यसरी एउटा-एउटा वाक्य पढेर अनुच्छेद छलफल गर्न सिद्धिएपछि तिनले अनुच्छेदमा दिइएको शास्त्रपद पढ्‌नुपर्थ्यो। पूरै अध्याय छलफल गरिसकेपछि उपस्थित सबै जनाले पालैपालो छलफल गरिएको विषयवस्तुबारे छोटकरीमा टिप्पणी दिनुपर्थ्यो।

१४ यस सभाको नाम पटक-पटक परिवर्तन भयो। यस सभालाई बाइबल अध्ययन गर्ने बिरियालीहरूको समूह भनियो। होसियारीसाथ धर्मशास्त्र जाँच्ने प्रथम शताब्दीका बिरियालीहरूलाई सम्झँदै यो नाम राखिएको थियो। (प्रेषि. १७:११) पछि यो सभालाई मण्डली पुस्तक अध्ययन भन्न थालियो। अहिले यस सभालाई मण्डली बाइबल अध्ययन भनिन्छ। अहिले यो सभा पहिले जस्तो फरक-फरक समूहमा नभई राज्यभवनमै सञ्चालन हुन्छ। दशकौंको दौडान अध्ययनको लागि विभिन्न किताब, पुस्तिका र कहिलेकाहीं प्रहरीधरहरा-का लेखहरू समेत प्रयोग गरियो। सभा सञ्चालन गर्न सुरु भएदेखि नै उपस्थित सबैलाई यस सभामा भाग लिन प्रोत्साहन दिइएको थियो।  यस सभाले बाइबलले सिकाउने कुरा अझ गहिरिएर बुझ्न हामीलाई मदत गर्छ। के तपाईं नियमित रूपमा यस सभाको लागि तयारी गर्नुहुन्छ? के तपाईं यो सभामा भाग लिने कोसिस गर्नुहुन्छ?

१५. ईश्वरतान्त्रिक सेवा स्कुलको उद्देश्य के थियो?

१५ ईश्वरतान्त्रिक सेवा स्कुल। यो स्कुल कसरी सुरु भयो, त्यसबारे मुख्यालयमा सेवा गरिरहेका भाइ क्यारी बार्बरले यसो भने: “फेब्रुअरी १६, १९४२ सोमबार बेलुकी ब्रूक्लिन बेथेलमा सेवा गरिरहेका सबै भाइहरूलाई एउटा स्कुलमा भाग लिन निर्देशन दिइयो। अहिले यस स्कुललाई हामी ईश्वरतान्त्रिक सेवा स्कुल भनेर चिन्छौं।” परिचालक निकायको सदस्य भाइ बार्बरअनुसार यो स्कुल “आधुनिक समयका यहोवाका जनहरूको उल्लेखनीय पक्ष थियो।” यो स्कुलले भाइबहिनीहरूलाई सिकाउने र प्रचार गर्ने काममा प्रगति गर्न धेरै मदत गऱ्यो। त्यसैले सन्‌ १९४३ देखि ईश्वरतान्त्रिक सेवा स्कुलको पाठ्यक्रम भन्ने अङ्‌ग्रेजी पुस्तिका विश्वभरिका सबै मण्डलीहरूमा उपलब्ध गराइयो। जून १, १९४३ को प्रहरीधरहरा-मा ईश्वरतान्त्रिक सेवा स्कुलको उद्देश्य परमेश्वरका  जनहरूलाई “उहाँको राज्यको उद्‌घोषकको रूपमा अझै सुसज्जित बनाउनु हो” भनेर बताइएको थियो।—२ तिमो. २:१५.

१६, १७. ईश्वरतान्त्रिक सेवा स्कुलमा हामी सिपालु वक्ता बन्ने तरिकाका साथै अरू के सिक्थ्यौं, बताउनुहोस्।

१६ हाम्रा भाइहरूलाई मानिसहरूको ठूलो समूहअगाडि बोल्न सुरु-सुरुमा असाध्यै डर लाग्क्थ्यो। भाइ क्लेटन वुडवर्थ जुनियरलाई पनि भाषण दिन असाध्यै गाह्रो भएको थियो। तिनको बुबा सन्‌ १९१८ मा भाइ रदरफोर्ड र अरूसँगै झूटो आरोपमा झ्यालखानामा परेका थिए। सन्‌ १९४३ मा पहिलो पटक सेवा स्कुलमा भाग लिंदाको अनुभव भाइ वुडवर्थ यसरी सुनाउँछन्‌: “मञ्चमा उक्लनेबित्तिकै म लाजले रातोपिरो हुन्थें। मेरो जिब्रो लरबरिन्थ्यो, मुख सुख्खा हुन्थ्यो र बोली पटक्कै फुट्‌दैन थियो।” तर भाइ क्लेटनले प्रगति गरे अनि थुप्रै भाषण दिने सुअवसर पाए। सेवा स्कुलबाट तिनले भाषण कसरी दिने भन्ने कुरा मात्र सिकेनन्‌। तिनले यो स्कुलबाट नम्र हुनु र यहोवामाथि भरोसा राख्नु महत्त्वपूर्ण छ भनेर पनि सिके। भाइ वुडवर्थ भन्छन्‌: “वक्ता सिपालु छन्‌ भने भाषण राम्रो हुने नत्र नहुने होइन रहेछ भनेर मैले सिकें। यदि  वक्ताले राम्ररी तयारी गर्नुका साथै यहोवामा सारा भरोसा राखेका छन्‌ भने भाषण राम्रो हुन्छ र श्रोताहरूले पनि त्यसबाट लाभ उठाउन सक्छन्‌।”

१७ सन्‌ १९५९ मा बहिनीहरूलाई पनि ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिन निम्तो दिइयो। बहिनी एड्‌ना बाउअर सम्मेलनमा भएको घोषणा सम्झँदै यसो भन्छिन्‌: “बहिनीहरू घोषणा सुनेपछि यत्ति खुसी भएका थिए कि तिनीहरूको उत्साह म अझै झलझली सम्झन्छु। अब हामी बहिनीहरूको लागि पनि सुअवसरको ढोका खोलिएको थियो।” धेरै वर्षसम्म थुप्रै दाजुभाइ दिदीबहिनीले ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिने र यहोवाबाट सिक्ने सुअवसर पाए। आज पनि हामी मध्यहप्ताको सभाबाट यस्तै तालिम पाउँछौं।यशैया ५४:१३ पढ्‌नुहोस्।

१८, १९. (क) आज हामी प्रचार गर्न कस्तो व्यावहारिक निर्देशन पाउँछौं? (ख) हामी सभाहरूमा किन गीत गाउँछौं? (“ गीत गाउनु” शीर्षक भएको पेटी हेर्नुहोस्।)

१८ सेवा सभा। सन्‌ १९१९ मै क्षेत्र सेवालाई अझ व्यवस्थित बनाउन सभाहरू सञ्चालन गर्न सुरु भइसकेको थियो। त्यतिबेला सबै जना त्यस सभामा उपस्थित हुँदैन थिए। प्रकाशन बाँड्‌ने काममा भाग लिनेहरू मात्र उपस्थित हुन्थे। सन्‌ १९२३ मा महिनाको एकचोटि सेवा सभा सञ्चालन गरियो र सबै जनालाई उपस्थित हुन प्रोत्साहन दिइएको थियो। सन्‌ १९२८ मा मण्डलीहरूलाई हरेक हप्ता सेवा सभा सञ्चालन गर्न भनियो र सन्‌ १९३५ मा सबै मण्डलीहरूले अङ्‌ग्रेजी भाषाको निर्देशक भन्ने प्रकाशनमा (पछि यसलाई जानकारी भनियो, हाल यसलाई हाम्रो राज्य सेवा भनिन्छ) दिइएको निर्देशनबमोजिम सेवा सभा सञ्चालन गर्नुपर्छ भनेर प्रहरीधरहरा-मा बताइएको थियो। त्यसपछि चाँडै यो सभा प्रत्येक मण्डलीमा नियमित रूपमा सञ्चालन हुन थाल्यो।

१९ आज हामी हप्ताको बीचतिर हुने सभामा प्रचारको लागि व्यावहारिक सल्लाह पाउँछौं। (मत्ती १०:५-१३) यदि अभ्यास पुस्तिका पाइरहनुभएको छ भने, के तपाईं यो पढ्‌नुहुन्छ? अनि प्रचारमा जाँदा यसमा दिइएका सुझावहरू लागू गर्नुहुन्छ?

वर्षकै सबैभन्दा महत्त्वपूर्ण सभा

प्रथम शताब्दीदेखि नै येशूका चेलाहरू उहाँको मृत्युको स्मरणार्थ उत्सव मनाउन वर्षको एक चोटि भेला हुँदै आएका छन्‌ (अनुच्छेद २० हेर्नुहोस्)

२०-२२. (क) हामी किन येशूको मृत्युको वार्षिकी मनाउँछौं? (ख) हरेक वर्ष स्मरणार्थ उत्सवमा उपस्थित भएर तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

२० येशूले आफ्ना चेलाहरूलाई आफ्नो मृत्युको सम्झना गर्न अह्राउनुभयो। तिनीहरूले उहाँ नआएसम्म यसो गर्नुपर्थ्यो। येशूको मृत्युको स्मरणार्थ निस्तार चाडजस्तै एउटा वार्षिक उत्सव हो। (१ कोरि. ११:२३-२६) हरेक वर्ष यस सभामा लाखौं मानिस उपस्थित हुन्छन्‌। यो उत्सवले अभिषिक्त ख्रीष्टियनहरूलाई परमेश्वरको राज्यको सङ्‌गी उत्तराधिकारी हुन आफूले पाएको महान्‌ सुअवसरको सम्झना गराउँछ। (रोमी ८:१७) साथै यस उत्सवले अरू भेडाहरूको मनमा परमेश्वरको राज्यको राजाप्रति गहिरो आदर जगाउँछ र तिनीहरूलाई वफादार हुन उत्प्रेरित गर्छ।—यूह. १०:१६.

२१ भाइ रसल र तिनका सहयोगीहरूले प्रभुको साँझको भोजको महत्त्व बुझेका थिए। तिनीहरूलाई यो उत्सव वर्षको एकचोटि मात्र मनाउनुपर्छ भनेर पनि थाह थियो। अप्रिल १८८० अङ्‌कको प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “धेरै वर्षदेखि हामीमध्ये धेरै जनाले पिट्‌सबर्गमा निस्तार चाड [स्मरणार्थ] मान्दै आएका छौं अनि हाम्रो प्रभुको शरीर र रगतको प्रतीक खाँदै आएका छौं।”  पछि स्मरणार्थ उत्सवको मौका छोपेर त्यही बेला अधिवेशन पनि गर्ने चलन सुरु भयो। सन्‌ १८८९ मा पहिलो पटक त्यस्ता कार्यक्रमको रेकर्ड राखियो र त्यतिबेला २२५ जना उपस्थित भए र २२ जनाले बप्तिस्मा गरे।

२२ अहिले हाम्रो अधिवेशन र स्मरणार्थ उत्सव एकैचोटि हुने गर्दैन। तर हामी आफ्नो इलाकामा बस्ने सबैलाई स्थानीय राज्यभवन वा भाडामा लिइएको कार्यक्रम स्थलमा स्मरणार्थ उत्सव मनाउन निम्तो दिन्छौं। सन्‌ २०१३ मा एक करोड नब्बे लाख मानिसले येशूको मृत्युको वार्षिकी मनाए। सबैभन्दा पवित्र यस साँझमा आफू मात्र होइन तर अरूलाई पनि सँगै उपस्थित हुन निम्तो दिन पाउनु हाम्रो निम्ति ठूलो सुअवसर हो। के तपाईं हरेक वर्ष सकेसम्म धेरैलाई स्मरणार्थको निम्तो दिन जोडतोडले लाग्नुहुन्छ?

सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?

२३. एक ठाउँमा भेला हुनुपर्ने आज्ञालाई तपाईं कसरी लिनुहुन्छ?

२३ यहोवाका वफादार सेवकहरू एक ठाउँमा भेला हुनुपर्ने निर्देशनलाई बोझको रूपमा लिंदैनन्‌। (हिब्रू १०:२४, २५; १ यूह. ५:३) राजा दाऊद यहोवाको भवनमा जान पाउँदा रमाउँथे। (भज. २७:४) तिनी परमेश्वरलाई प्रेम गर्ने मानिसहरूसँगै मिलेर उहाँको उपासना गर्न पाउँदा रमाउँथे। (भज. ३५:१८) येशूलाई पनि विचार गर्नुहोस्। उहाँ बाल्यकालदेखि नै आफ्नो बुबाको घरमा रहन औधी इच्छा गर्नुहुन्थ्यो।—लूका २:४१-४९.

एक ठाउँमा भेला हुन हामीले देखाएको उत्कट इच्छाबाट हामीलाई परमेश्वरको राज्य कत्तिको वास्तविक लाग्छ भन्ने कुरा स्पष्ट हुन्छ

२४. सभामा उपस्थित हुँदा हामीले कस्तो मौका पाउँछौं?

२४ सभामा उपस्थित हुँदा हामी यहोवालाई प्रेम गर्छौं र आफ्ना भाइबहिनीको उत्थान गर्न चाहन्छौं भन्ने कुरा देखिन्छ। साथै परमेश्वरको राज्यको प्रजाको रूपमा कसरी जीवन बिताउने भनेर सिक्न चाहेको कुरा पनि हामीले देखाइरहेका हुन्छौं। हाम्रा सभा, सम्मेलन तथा अधिवेशनहरूबाट हामी यहोवाको प्रजा बन्न तालिम पाउँछौं। साथै यी सभाहरूले परमेश्वरको राज्यको महत्त्वपूर्ण काम अर्थात्‌ राजा येशू ख्रीष्टको चेला बनाउने र तिनीहरूलाई प्रशिक्षण दिने काममा लागिरहन हामीलाई आवश्यक बल दिन्छ र यस कामको लागि सिपालु बनाउँछ। (मत्ती २८:१९, २० पढ्‌नुहोस्) हो, एक ठाउँमा भेला हुन हामीले देखाएको उत्कट इच्छाले हामीलाई परमेश्वरको राज्य कत्तिको वास्तविक लाग्छ भनेर देखाउँछ। त्यसैले हामी सधैं हाम्रा सभाहरूको कदर गरौं!

^ अनु. 2 प्रत्येक परिवार र व्यक्तिलाई मण्डलीका साप्ताहिक सभाहरूका साथै पारिवारिक उपासना वा व्यक्तिगत अध्ययनको लागि समय दिन प्रोत्साहन दिइएको छ।

^ अनु. 9 सन्‌ २०१३ सम्मको कुरा गर्नुपर्दा मण्डलीहरूमा १८० वटा भन्दा धेरै जनभाषणको रूपरेखा पठाइएको छ।

अझ बढी सिक्नुहोस्

पारिवारिक उपासना—यसलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?

विभिन्न देशका केही परिवारले कसरी पारिवारिक उपासना गरिरहेका छन्‌, पढ्नुहोस् र त्यसै गर्ने कोसिस गर्नुहोस्।