सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्यले शासन गर्दै छ!

 अध्याय ६

प्रचार गर्ने मानिसहरू—प्रचारकहरू राजीखुसी आफैलाई अर्पण गर्छन्‌

प्रचार गर्ने मानिसहरू—प्रचारकहरू राजीखुसी आफैलाई अर्पण गर्छन्‌

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

राजाले प्रचारकहरूको दल जम्मा गर्नुहुन्छ

१, २. येशूले कुन महत्त्वपूर्ण कामबारे भविष्यवाणी गर्नुभयो? कस्तो महत्त्वपूर्ण प्रश्न खडा हुन्छ?

राजनैतिक नेताहरू यो गर्छु, त्यो गर्छु त भन्छन्‌ तर आफूले बोलेको कुरा पूरा गर्दैनन्‌। असल मनसाय भएको नेताले समेत आफूले गरेको सबै प्रतिज्ञा पूरा गर्न सक्दैन। तर खुसीको कुरा मसीही राजा येशू ख्रीष्ट आफूले गरेको हरेक प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ।

सन्‌ १९१४ मा येशू राजा हुनुभयो। त्यसपछि झन्डै १,९०० वर्षअघि उहाँ आफैले गर्नुभएको भविष्यवाणी पूरा गर्न थाल्नुभयो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ती २४:१४) उहाँको उपस्थितिको बेलामा यो भविष्यवाणी पूरा हुनेथियो। तर एउटा महत्त्वपूर्ण प्रश्न खडा हुन्छ: स्वार्थी, निष्ठुर अनि ईश्वरमाथि विश्वास नगर्ने मानिसहरूको बिगबिगी हुने अन्तको दिनमा राजाले राजीखुसी प्रचार गर्न तयार मानिसहरूको दल कसरी जम्मा गर्नुहुने थियो? (मत्ती २४:१२; २ तिमो. ३:१-५) हामीले यस प्रश्नको जवाफ थाह पाउनु आवश्यक छ किनभने यसमा सबै साँचो ख्रीष्टियनहरू मुछिएका छन्‌।

३. येशू कुन कुरामा विश्वस्त हुनुहुन्थ्यो? उहाँ कसरी यत्ति विश्वस्त हुन सक्नुभयो?

येशूको भविष्यवाणी फेरि एक चोटि पढ्‌नुहोस्। “प्रचार गरिनेछ” भन्ने येशूका शब्दहरूबाट के उहाँ विश्वस्त हुनुहुन्थ्यो भनेर देखिन्छ? पक्कै देखिन्छ! हो, अन्तको दिनमा आफूलाई राजीखुसीले समर्थन गर्ने मानिसहरू हुनेछन्‌ भनेर येशू ढुक्क हुनुहुन्थ्यो। उहाँ कसरी यत्ति विश्वस्त हुन सक्नुभयो? उहाँको बुबाले गर्दा। (यूह. १२:४५; १४:९) आफ्ना उपासकहरूले आफैलाई राजीखुसी अर्पण गर्छन्‌ भन्ने कुरामा यहोवा विश्वस्त हुनुहुन्थ्यो र त्यो कुरा येशूले पृथ्वीमा आउनुअघि आफ्नै आँखाले देख्नुभएको थियो। उहाँले आफ्ना बुबाजस्तै विश्वस्त हुन सिक्नुभयो। आफ्ना उपासकमाथि यति विश्वस्त भएको कुरा यहोवाले कसरी देखाउनुभयो, आउनुहोस् विचार गरौं।

“तिम्रो प्रजाले राजीखुशीले आफैलाई अर्पण गर्नेछन्‌”

४. यहोवाले इस्राएलीहरूलाई कुन काममा सघाउन आग्रह गर्नुभयो? तिनीहरूले के गरे?

यहोवाले मोशालाई बासस्थान अर्थात्‌ पाल बनाउने निर्देशन दिनुहुँदा के भएको थियो, सम्झनुहोस्। त्यो पाल इस्राएल राष्ट्रको लागि उपासनाको केन्द्र हुनेथियो। यहोवाले मोशामार्फत सबैलाई यो काममा सघाउन आग्रह गर्नुभयो। मोशाले इस्राएलीहरूलाई यसो भने: “राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको  भेटीको रूपमा त्यो ल्याओस्।” यो सुनेर इस्राएलीहरूले के गरे? तिनीहरू “दिनहुँ बिहानैपिच्छे स्वेच्छाले ... भेटी ल्याउँथे।” तिनीहरूले यत्ति धेरै सामान ल्याए कि तिनीहरूलाई “अझै सामान ल्याउन मनाई गरियो!” (प्रस्थ. ३५:५; ३६:३,) यहोवाले देखाउनुभएको भरोसालाई इस्राएलीहरूले तोडेनन्‌।

५, ६. भजन ११०:१-३ अनुसार यस युगको अन्तको दिनमा समेत आफ्ना उपासकहरूले के गर्नेछन्‌ भनेर यहोवा र येशू विश्वस्त हुनुहुन्थ्यो?

यस युगको अन्तको दिनमा समेत कुनै करकापविना मानिसहरूले उहाँको उपासना गर्नेछन्‌ भनेर के यहोवा विश्वस्त हुनुहुन्थ्यो? हुनुहुन्थ्यो! येशू ख्रीष्टले शासन गर्न थाल्नुभएपछि के हुनेछ भनेर यहोवाले दाऊदलाई लेख्न लगाउनुभएको थियो। दाऊदले यो कुरा लेख्दा पृथ्वीमा येशूको जन्म हुन अझ १,००० भन्दा धेरै वर्ष बाँकी नै थियो। (भजन ११०:१-३ पढ्‌नुहोस्) हो, भर्खरै नियुक्त भएका राजा येशूका थुप्रै विरोधीहरू हुनेथिए। तर ती राजाका समर्थकहरू पनि थुप्रै हुनेथिए। तिनीहरूले कुनै करकापविना राजाको सेवा गर्नेथिए। कलिलो उमेरकाहरूले समेत आफूलाई खुसीसाथ अर्पण गर्नेथिए। उहाँका समर्थकहरूको सङ्‌ख्या यत्ति ठूलो हुनेथियो कि तिनीहरूलाई बिहान जमिनलाई पूरै भिजाउने शीतसित तुलना गरिएको छ। *

परमेश्वरको राज्यलाई राजीखुसीले समर्थन गर्नेहरू शीतजस्तै धेरै छन्‌ (अनुच्छेद ५ हेर्नुहोस्)

भजन ११० मा बताइएको भविष्यवाणी आफूमा पूरा हुन्छ भनेर येशूलाई थाह थियो। (मत्ती २२:४२-४५) त्यसैले सारा संसारभरि सुसमाचार प्रचार गर्ने काममा राजीखुसी आफैलाई अर्पण गर्ने वफादार समर्थकहरू हुनेछन्‌ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो। इतिहासले के देखाउँछ? के राजाले साँच्चै यस अन्तको दिनमा राजीखुसी प्रचार गर्ने मानिसहरूको दल जम्मा गर्नुभएको छ?

‘ईश्वरीय सन्देश सुनाउनु नै मेरो सुअवसर अनि कर्तव्य हो’

७. आफ्ना चेलाहरूलाई एउटा ठूलो कामको लागि तयार पार्न येशूले राजा हुनेबित्तिकै के गर्नुभयो?

राजा हुनेबित्तिकै येशूले आफ्ना चेलाहरूलाई एउटा ठूलो कामको निम्ति तयार पार्न थाल्नुभयो। उहाँले सन्‌ १९१४ देखि १९१९ को सुरुसम्म निरीक्षण गर्ने र शुद्ध पार्ने काम गर्नुभयो, जसबारे हामीले यस किताबको अध्याय २ मा पढिसक्यौं। (मला. ३:१-४) त्यसपछि सन्‌ १९१९ मा उहाँले विश्वासी र  बुद्धिमान्‌ दास नियुक्त गर्नुभयो र तिनीहरूलाई उहाँको अनुयायीहरूको नेतृत्व लिने जिम्मेवारी सुम्पनुभयो। (मत्ती २४:४५) त्यस समयदेखि विश्वासी र बुद्धिमान्‌ दासले अधिवेशनका भाषणहरू र प्रकाशनहरू मार्फत हरेक ख्रीष्टियनले प्रचारकार्यमा भाग लिनुपर्छ भन्ने कुरामा बारम्बार जोड दिन थाल्यो।

८-१०. प्रचारकार्यलाई अघि बढाउन अधिवेशनहरूले कस्तो भूमिका खेल्यो? उदाहरण दिनुहोस्। (“ सुरु-सुरुका अधिवेशनहरूले प्रचारको कामलाई अघि बढाउन कसरी मदत गऱ्यो” शीर्षक भएको पेटी पनि हेर्नुहोस्।)

अधिवेशनका भाषण। बाइबल विद्यार्थीहरू आफूले बहन गर्नुपर्ने जिम्मेवारीबारे सिक्न उत्सुक थिए। त्यसैले तिनीहरू सन्‌ १९१९ को सेप्टेम्बर १ देखि ८ तारिखसम्म चलेको अधिवेशनमा भेला भए। अमेरिकाको ओहायो राज्यको सिडार प्वाइन्टमा सम्पन्न यो अधिवेशन प्रथम विश्वयुद्ध पछिको पहिलो ठूलो अधिवेशन थियो। अधिवेशनको दोस्रो दिन भाइ रदरफोर्डले श्रोताहरूलाई सीधै यसो भने: “ख्रीष्टियनहरूले गर्नुपर्ने काम भनेको ... प्रभुको राज्यको सन्देश घोषणा गर्नु हो।”

अधिवेशनको पाँचौं दिन भाइ रदरफोर्डले दिएको भाषण निकै महत्त्वपूर्ण अनि रोचक थियो। तिनले “सहकर्मीहरूको लागि” भन्ने विषयमा भाषण दिए जुन पछि प्रहरीधरहरा-मा छापियो। त्यस लेखको शीर्षक “परमेश्वरको राज्यको घोषणा” भन्ने थियो। भाइ रदरफोर्डले यसो भने: “जीवनको कुनै एउटा मोडमा पुगेपछि हरेक ख्रीष्टियनले गम्भीर भई आफैलाई यस्तो प्रश्न सोध्छ, म किन पृथ्वीमा छु? अनि त्यतिखेर उसको जवाफ यस्तो हुनुपर्छ, प्रभुले ममाथि कृपा देखाउँदै मलाई उहाँको राजदूत बनाउनुभएको छ। त्यसैले संसारलाई मैले मिलापको ईश्वरीय सन्देश सुनाउनुपर्छ र त्यो नै मेरो सुअवसर अनि कर्तव्य हो।”

१० त्यस ऐतिहासिक भाषणमा भाइ रदरफोर्डले नयाँ पत्रिकाको घोषणा गरे। त्यसको नाम सुनौलो युग (हाल ब्यूँझनुहोस्!) थियो। यो पत्रिका मानिसजातिको एक मात्र आशा परमेश्वरको राज्य हो भनेर बुझाउन प्रयोग गरिने थियो। घोषणापछि भाइ रदरफोर्डले प्रचारकार्यमा यो पत्रिका चलाउन को-को इच्छुक हुनुहुन्छ भनेर सोधे। अधिवेशनको एउटा रिपोर्टअनुसार तिनले प्रश्न सोध्नेबित्तिकै “उपस्थित ६,००० सबै जना एकैचोटि जुरुक्क उठे। मानिसहरूले एकै मनको भएर यस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर सायद कसैले सोचेकै थिएन।” * स्वर्गमा भर्खर अभिषेक हुनुभएका राजा येशू ख्रीष्टसित उहाँको राज्यको घोषणा गर्न इच्छुक समर्थकहरू थिए भन्ने कुरामा अब दुई मत रहेन।

११, १२. येशूले भविष्यवाणी गर्नुभएको सुसमाचारको प्रचारबारे सन्‌ १९२० को प्रहरीधरहरा-मा के बताइएको थियो?

११ प्रकाशन। अन्तको दिनमा येशूले भविष्यवाणी गर्नुभए जस्तै प्रचार गर्नु साँच्चै नै महत्त्वपूर्ण छ भनेर प्रहरीधरहरा-ले झन्‌झन्‌ जोड दिन थाल्यो। सन्‌ १९२०/२२ तिर प्रकाशित भएका केही लेखहरूलाई विचार गर्नुहोस्।

१२ मत्ती २४:१४ मा येशूले भविष्यवाणी गर्नुभएको समाचार के हो? त्यो समाचार कहिलेदेखि सुनाइने थियो? जुलाई १, १९२० को प्रहरीधरहरा-मा छापिएको “राज्यको सुसमाचार” भन्ने लेखमा त्यो समाचारबारे यसो भनिएको थियो: “पुरानो युगको अन्त र मसीही राज्यको स्थापना नै हामीले सुनाउनु पर्ने सुसमाचार हो।” यो समाचार कहिले प्रचार गर्नुपर्छ भनेर पनि त्यस लेखमा स्पष्टसँग बताइएको थियो: “यो समाचार महा विश्वयुद्ध [प्रथम विश्वयुद्ध] र ‘महासङ्‌कष्ट’-को  बीचको समयमा सुनाउनै पर्छ।” त्यसैले माथि उल्लिखित प्रहरीधरहरा-मा यस्तो जोड दिइएको थियो: ‘सारा चर्चजगत्‌मा यो सुसमाचार प्रचार गर्नुपर्ने समय अहिल्यै हो।’

१३. सन्‌ १९२१ को प्रहरीधरहरा-ले कसरी अभिषिक्त ख्रीष्टियनहरूलाई राजीखुसीले प्रचार गर्न प्रोत्साहन दियो?

१३ के सुसमाचार प्रचार गर्न परमेश्वरका जनहरूलाई करकापमा पारिने थियो? थिएन। उदाहरणको लागि, मार्च १५, १९२१ को प्रहरीधरहरा-मा छापिएको “साहसी हुनुहोस्” भन्ने लेखलाई लिनुहोस्। त्यो लेखमा अभिषिक्त ख्रीष्टियनहरूलाई राजीखुसीले प्रचार गर्न प्रोत्साहन दिइएको थियो अनि आफैलाई यस्तो प्रश्न सोध्न आग्रह गरिएको थियो: “योभन्दा ठूलो सुअवसर मैले अरू के पाएको छु र? के यो मेरो कर्तव्य पनि होइन र?” त्यस लेखमा अझै यसो भनिएको थियो: “प्रचारकार्यमा भाग लिने कामलाई सुअवसरको रूपमा लिनुभयो भने तपाईंले पनि यर्मियाले जस्तै महसुस गर्नुहुनेछ। तिनको मनमा प्रभुको वचन ‘जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै’ थियो। तिनी चुप लागेर बस्नै सकेनन्‌।” (यर्मि. २०:९) यहोवा र येशू आफ्ना राज्यका वफादार समर्थकहरूमाथि भरोसा गर्नुहुन्छ भन्ने कुरा यस्तो न्यानो प्रोत्साहनमा झल्किन्छ।

१४, १५. अभिषिक्त ख्रीष्टियनहरूले कसरी प्रचार गर्नुपर्छ भनेर सन्‌ १९२२ को प्रहरीधरहरा-मा जोड दिइयो?

१४ साँचो ख्रीष्टियनहरूले कसरी राज्यको सुसमाचार प्रचार गर्नुपर्थ्यो त? यस विषयमा अगस्त १५, १९२२ अङ्‌कको प्रहरीधरहरा-मा एउटा छोटो तर प्रभावकारी लेख छापिएको थियो। “प्रचारकार्य आवश्यक” शीर्षक भएको उक्त लेखमा अभिषिक्त ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरिएको थियो: “मानिसहरूको ढोका-ढोकामा जानुहोस्। स्वर्गको राज्य नजिकै छ भनेर बताउने सन्देश देखाउनुहोस् अनि तिनीहरूसित कुरा गर्नुहोस्।”

१५ परमेश्वरको राज्यको सुसमाचार सुनाउनु नै ख्रीष्टियनले पाएको सुअवसर र कर्तव्य हो भनेर येशू ख्रीष्टले सन्‌ १९१९ देखि विश्वासी र बुद्धिमान्‌ दासमार्फत बारम्बार जोड दिनुभएको छ भन्ने कुरा स्पष्ट छ। त्यसोभए सुरु-सुरुका बाइबल विद्यार्थीहरूले यस्तो प्रोत्साहनलाई कसरी लिए त?

“वफादार ख्रीष्टियनहरूले स्वेच्छाले ... सुनाउनेछन्‌”

१६. केही निर्वाचित एल्डरहरूले सबैले प्रचार गर्नुपर्छ भन्ने कुरालाई कसरी लिए?

१६ सन्‌ १९२० र १९३० को दशकमा कसै-कसैले सबै अभिषिक्त ख्रीष्टियनहरूले प्रचार गर्नुपर्छ भन्ने कुराको विरोध गरे। यसबारे नोभेम्बर १, १९२७ को प्रहरीधरहरा-मा यस्तो टिप्पणी गरिएको थियो: “अहिले मण्डलीमा यस्ता एल्डरहरू पनि छन्‌, ... जो आफू पनि प्रचारमा जाँदैनन्‌ र अरूलाई पनि प्रचारमा जान प्रोत्साहन दिंदैनन्‌। ... साँचो ख्रीष्टियनले मानिसहरूको घर-घरमा गएर परमेश्वर, उहाँको राजा र राज्यको सन्देश सुनाउनुपर्छ भनेर सुझाव दिंदा तिनीहरू त्यसको खिसी गर्छन्‌।” यसरी प्रचारकार्यको विरोध गर्नेहरूबारे उक्त लेखमा सीधै यसो भनिएको थियो: “वफादार ख्रीष्टियनहरूले त्यस्ता मानिसहरूसित सङ्‌गत गर्नुहुँदैन र तिनीहरू एल्डरको जिम्मेवारी बहन गर्न योग्य छैनन्‌ भनेर बताउनुपर्ने समय आएको छ।” *

१७, १८. विश्वासी र बुद्धिमान्‌ दासले दिएको निर्देशनलाई थुप्रै भाइबहिनीले कसरी लिए? बितेका सय वर्षमा लाखौंले विश्वासी र बुद्धिमान्‌ दासको निर्देशनलाई कसरी लिंदै आएका छन्‌?

१७ खुसीको कुरा विश्वासी र बुद्धिमान्‌ दासले दिएको निर्देशनलाई थुप्रै भाइबहिनीले जोसिलो भई पालन गरे। राज्यको सन्देश सुनाउने कामलाई तिनीहरूले सुअवसर ठाने। मार्च १५, १९२६ को प्रहरीधरहरा-मा यस विषयमा यसो  भनिएको थियो: “वफादार ख्रीष्टियनहरूले स्वेच्छाले राज्यको सुसमाचार सुनाउनेछन्‌।” वफादार ख्रीष्टियनहरूले भजन ११०:३ मा बताइएझैं मसीही राजालाई राजीखुसीले समर्थन गरे।

१८ बितेको सय वर्ष यता हाम्रा लाखौं भाइबहिनीले राजीखुसीले राज्यको सुसमाचार घोषणा गरिरहेका छन्‌। तिनीहरूले प्रचार गर्न के-कस्ता तरिका अपनाएका छन्‌, कस्ता साधनहरू चलाएका छन्‌ अनि ती सबैको नतिजा कस्तो भएको छ, यसपछिका अध्यायहरूमा हामी छलफल गर्नेछौं। तर पहिले यस्तो स्वार्थी संसारमा पनि हाम्रा लाखौं भाइबहिनीले किन स्वेच्छाले राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌, त्यो बुझौं। अनि आफैलाई पनि यस्तो प्रश्न सोधौं: ‘म किन सुसमाचार प्रचार गर्दैछु?’

“राज्यलाई ... पहिलो स्थान दिइरहो”

१९. “राज्यलाई ... पहिलो स्थान दिइरहो” भनेर येशूले दिनुभएको सल्लाह हामी किन पालन गर्छौं?

१९ येशूले आफ्ना अनुयायीहरूलाई “राज्यलाई ... पहिलो स्थान दिइरहो” भनेर सल्लाह दिनुभएको थियो। (मत्ती ६:३३) हामी किन यो सल्लाह पालन गर्छौं? किनभने परमेश्वरको राज्यको महत्त्व हामीले बुझेका छौं। यो राज्यले परमेश्वरको उद्देश्य पूरा गर्ने काममा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर हामीलाई थाह छ। परमेश्वरको राज्यबारे बाइबलले सिकाउने सत्य कुराहरू पवित्र शक्तिले कसरी क्रमिक रूपमा प्रकट गऱ्यो, हामीले अघिल्लो अध्यायमा सिकिसक्यौं। पवित्र शक्तिले प्रकट गरेका यस्ता अनमोल सत्यले हाम्रो मनमा गहिरो छाप पारेको हुनाले हामी त्यो राज्यलाई पहिलो स्थान नदिई बस्नै सक्दैनौं।

लुकाइराखेको धन फेला पार्दा खुसी भएको मानिसजस्तै ख्रीष्टियनहरू पनि परमेश्वरको राज्यबारे सत्य कुरा सिक्न पाएकोमा खुसी छन्‌ (अनुच्छेद २० हेर्नुहोस्)

२०. राज्यलाई पहिलो स्थान दिइरहो भन्ने सल्लाहलाई ख्रीष्टियनहरूले कसरी लिनेछन्‌ भन्ने कुरा येशूले बताउनुभएको लुकाइराखेको धनको दृष्टान्तमा कसरी देखिन्छ?

२० परमेश्वरको राज्यलाई पहिलो स्थान दिनू भन्ने सल्लाहलाई आफ्ना अनुयायीहरूले कसरी लिनेछन्‌ भनेर येशूलाई थाह थियो। उहाँले बताउनुभएको एउटा दृष्टान्त विचार गर्नुहोस्। (मत्ती १३:४४ पढ्‌नुहोस्) येशूले सुनाउनुभएको त्यो दृष्टान्तमा एक जना खेतालाले कुनै मानिसको खेत जोत्दा लुकाइराखेको धन फेला पार्छ। त्यो धन धेरै किम्मती छ भनेर उसले देख्छ। त्यसपछि उसले के गर्छ? “ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।” हामी यो दृष्टान्तबाट के पाठ सिक्न सक्छौं? परमेश्वरको राज्यबारे बाइबलले सिकाउने सत्य कुराको मोल बुझेपछि हामी त्यसलाई पहिलो स्थान दिन्छौं। भनाइको मतलब, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न जस्तोसुकै त्याग गर्नुपरे तापनि हामी खुसीसाथ त्यस्तो त्याग गर्छौं। *

२१, २२. यहोवाका वफादार उपासकहरूले कसरी उहाँको राज्यलाई पहिलो स्थान दिन्छन्‌? परमेश्वरको राज्यलाई पहिलो स्थान दिने एउटा दम्पतीको उदाहरण बताउनुहोस्।

२१ राज्यका वफादार सेवकहरू मुखले मात्र होइन कामले पनि परमेश्वरको राज्यलाई पहिलो स्थान दिन्छन्‌। राज्यको प्रचारकार्यलाई टेवा पुऱ्याउन तिनीहरू आफ्नो जीवन समर्पण गर्छन्‌ र आफूसित भएको क्षमता र स्रोतसाधन चलाउँछन्‌। पूर्ण-समय प्रचार गर्न थुप्रै भाइबहिनीले ठूलठूला त्याग गरेका छन्‌। परमेश्वरको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिनेहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ। राजीखुसीले प्रचार गर्ने जति सबैले यो कुरा आफैले अनुभव गरेका छन्‌। एउटा दम्पतीको उदाहरण विचार गर्नुहोस्।

२२ एभरी र लभिनिया ब्रिस्टोले सन्‌ १९२० को दशकको अन्ततिर अमेरिकाको दक्षिणी भागमा अग्रगामी सेवा गर्न थाले। अग्रगामी सेवा गर्दा आफूले बटुलेको  अनुभव सम्झिंदै लभिनियाले वर्षौंपछि यसो भनिन्‌: “मेरो श्रीमान्‌ र मैले निकै वर्षसम्म आनन्दित भएर अग्रगामी सेवा गऱ्यौं। कहिलेकाहीं हामीसित पेट्रोल अथवा खानेकुरा किन्ने पैसा समेत हुँदैन थियो। तैपनि यहोवाले हामीलाई चाहिने कुरा कुनै न कुनै तरिकामा सधैं जुटाइदिनुहुन्थ्यो। अभावमा परेर हामीले कहिल्यै अग्रगामी सेवा छोड्‌नु परेन। यहोवाले हाम्रो आवश्यकता सधैं पूरा गर्नुभयो।” फ्लोरिडाको पेन्साकोलामा सेवा गर्दा खेरिको एउटा घटना लभिनिया कहिल्यै बिर्सिदिनन्‌। तिनीहरूको पैसा र रासन दुवै रित्तिनै लागेको थियो। एक दिन आफू बसिरहेको ठाउँमा फर्कंदा तिनीहरूले ढोकामा दुइटा ठूला झोला भेट्टाए। झोलामा टन्न खानेकुराको साथै एउटा कागजको टुक्रो पनि थियो। त्यो कागजको टुक्रोमा यस्तो लेखिएको थियो: “तपाईंहरूलाई धेरै माया गर्ने पेन्साकोला मण्डलीको तर्फबाट।” आफूहरूले पूर्ण समय सेवामा बिताएका ती वर्षहरू सम्झँदै लभिनियाले यसो भनिन्‌: “यहोवाले सधैं हाम्रो ख्याल राख्नुहुन्छ। उहाँले हामीलाई कहिल्यै निराश पार्नुहुन्न।”

२३. परमेश्वरको राज्यबारे बाइबलबाट सिकेको सत्य कुरालाई तपाईं कत्तिको अनमोल ठान्नुहुन्छ? तपाईंले के गर्ने निर्णय गर्नुभएको छ?

२३ हामी सबैको परिस्थिति एउटै छैन। त्यसैले प्रचारकार्यमा सबैले उत्तिकै समय बिताउन सक्दैन। तर हामी सबैले तनमनले सुसमाचार प्रचार गर्न सक्छौं अनि त्यसलाई सुअवसरको रूपमा लिन सक्छौं। (कल. ३:२३) परमेश्वरको राज्यबारे बाइबलबाट सिकेको सत्य कुरालाई हामी अनमोल ठान्छौं। त्यसैले परिस्थितिले दिएसम्म राज्यको प्रचार गर्न हामी जस्तोसुकै त्याग गर्न तयार हुन्छौं। के तपाईंले पनि त्यसै गरिरहनुभएको छ?

२४. अन्तको दिनमा परमेश्वरको राज्यले हासिल गरेको सबैभन्दा ठूलो सफलतामध्ये एउटा के हो?

२४ बितेको सय वर्ष यता परमेश्वरको राज्यको राजाले मत्ती २४:१४ को भविष्यवाणी साँच्चै पूरा गर्नुभएको छ। तर यो भविष्यवाणी पूरा गर्न उहाँले कसैलाई जबरजस्ती गर्नुपरेन। स्वार्थले भरिएको यस संसारबाट अलग भएपछि उहाँका अनुयायीहरूले आफै अघि सरेर राज्यको प्रचारकार्यमा भाग लिए। अहिले तिनीहरूले सारा संसारभरि राज्यको प्रचार गरिरहेका छन्‌। येशूले स्वर्गमा शासन गर्दै हुनुहुन्छ भनेर साबित गर्ने चिह्नको यो एउटा भाग हो। साथै यस युगको अन्तको दिनमा परमेश्वरको राज्यले हासिल गरेको सबैभन्दा ठूलो सफलता पनि हो।

^ अनु. 5 बाइबलमा शीतले प्रशस्ततालाई बुझाउँछ।—उत्प. २७:२८; मीका ५:७.

^ अनु. 10 जसलाई काम सुम्पिइएको छ भन्ने अङ्‌ग्रेजी पर्चामा यसो लेखिएको थियो: “सुनौलो युग पत्रिका घरघरमा गएर राज्य सन्देश सुनाउने अभियानमा प्रयोग गरिनेछ। ... साथै सन्देश सुनाइसकेपछि घरधनी ग्राहक बनोस् वा नबनोस्, एक प्रति सुनौलो युग सबै घरमा दिनुहोस्।” त्यस पछिका वर्षहरूमा भाइबहिनीहरूलाई सुनौलो युग प्रहरीधरहरा-को ग्राहक बनाउन प्रोत्साहन दिइयो। फेब्रुअरी १, १९४० देखि यहोवाका जनहरूलाई यी पत्रिकाहरू वितरण गर्न र वितरण गरिएको सङ्‌ख्या रिपोर्ट गर्न आग्रह गरियो।

^ अनु. 16 त्यसबेला मण्डलीले भोट हालेर एल्डर छान्ने गर्थ्यो। त्यसैले प्रचारकार्यको विरोध गर्ने मान्छेलाई मण्डलीले भोट नदिन पनि सक्थ्यो। एल्डरहरूलाई कहिलेदेखि ईश्वरतान्त्रिक प्रबन्धअनुसार नियुक्त गर्न थालियो, त्यसबारे अध्याय १२ मा छलफल गरिनेछ।

^ अनु. 20 येशूले यस्तै कुरा असल मोती खोज्दै हिंड्‌ने व्यापारीको दृष्टान्तमा पनि बताउनुभयो। त्यस व्यापारीले त्यो मोती भेट्टाएपछि आफूसित भएको सबै थोक बेच्छ र त्यो किन्छ। (मत्ती १३:४५, ४६) हामी परमेश्वरको राज्यबारे सत्य कुरा विभिन्न तरिकामा सिक्न सक्छौं भन्ने कुरा यी दुई दृष्टान्तहरूले बताउँछ। कसैले आफूले खोज्नै नपरी सत्य भेट्टाउँछ भने अरूले चाहिं यसलाई खोजेर पाउँछ। तर हामीले सत्यलाई जुनसुकै तरिकामा पाएका किन नहोऔं, हामी राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिन राजीखुसीले त्यागहरू गर्न तयार छौं।

अझ बढी सिक्नुहोस्

प्रहरीधरहरा—अध्ययन संस्करण

के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

हाम्रो जोसिलो प्रचारकार्य र असल आचरणले मानिसहरूलाई परमेश्वरतर्फ कसरी खिच्छ भनेर यस लेखमा छलफल गरिएको छ।

प्रहरीधरहरा—अध्ययन संस्करण

दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्

ढल्कँदो उमेरका ख्रीष्टियनहरूसामु सेवा विस्तार गर्न सक्ने कस्तो विशेष मौका छ?